झम्सीखेल स्थित ज्ञान मण्डल भवनको पहिलो तल्लामा ‘नृत्य आँगन’ नामक कत्थक सिकाइने कक्षा छ । कत्थक नाच्दै र सिकाउँदै दुई दशक बिताएकी सुबिमा श्रेष्ठको कर्मथलो यही ‘नृत्य आँगन’ नै हो । उनी यहाँ शास्त्रीय सङ्गीतको तालमा कत्थक सिकाइरहेकी हुन्छिन् । त्यहाँ साना नानीहरूको साथमा विभिन्न क्षेत्रमा अब्बल व्यक्तित्वहरू पनि कत्थक सिक्दै छन् ।
झन्डै दुई दशक कत्थक सिकाउनमा बिताएकी सुबिमा कत्थक नृत्य गर्नेहरूलाई कथा वाचनको राम्रो ज्ञान हुनुपर्ने बताउँछिन्। उनका अनुसार , कथाको मर्म बुझ्नु, त्यसलाई सही ढङ्गबाट, जीउ र अनुहारको सही हाउभाउका साथ प्रस्तुत गर्न सक्नु नै कत्थकको खुबी हो । उनी भन्छिन्, नाच्नु भनेको आफैमा हराउनु हो, यो यस्तो कला हो, जसमा सङ्गीतको ताल र लयमा डुबेर त्यसको भावलाई शरीरका अङ्ग–अङ्गबाट अभिव्यक्त गर्नुपर्छ । सुबिमा शास्त्रीय नृत्यमा लखनउको भात खण्डे महाविद्यालयकी विशारद पनि हुन्।
नेपालकै एक कुशल कत्थक नर्तकीको पहिचान बनाएकी सुबिमाले थुप्रै सोलो परर्फमेन्स गरेकी छिन् । अहिलेसम्म कतिलाई कत्थक सिकाइसकिन् भन्ने उनलाई नै याद छैन। शास्त्रीय नृत्यका राम्रा नर्तक–नर्तकी कम भएको नेपालमा उनी बढीभन्दा बढी नर्तकीहरु जन्माउने काम गरिरहेकी छन् । भन्छिन्, “दुई–चार महिना सिकेर शास्त्रीय नृत्यमा पोख्त नहुने भएकोले यो क्षेत्रमा हातमा गन्न सकिने कलाकार छन् । यसको लागि यस प्रति लगाव, ध्यान र समय पनि खर्चिनु पर्छ । उनले धेरैलाई कत्थक सिकाएर नर्तकी बनाए पनि कलाकार बनाउन नसकेको गुनासो छ । अहिले आज सिकेर भोलि स्टेजमा जान खोज्नेहरूको जमात छ, जसलाई साधना बारे ज्ञानै छैन ।
अहिले नृत्य आँगनमा महिनामा एक पटक कत्थक भेला कार्यक्रम आयोजना गर्दे आएकी छिन् । कत्थकको सेरोफेरोको कुराकानी, अनुभव, अन्तर्क्रिया, अरू विधाका सङ्गीत क्षेत्रको प्रस्तुति तथा साङ्गीतिक यात्राको अनुभव सुन्ने, सुनाउने माहौल बनाएकी छिन् । सुबिमा श्रेष्ठसँग उनको कत्थक यात्रा र कत्थकमा नेपाली को अवस्थामा केन्द्रित भएर गरिएको कुराकानी :
बाल्यकालदेखि नै नाच्नु हुन्थ्यो कि पछि आएको रुचि हो ?
मलाई नाच्न चाहिँ मन पर्थ्यो । तर खुल्न नसक्ने । मेरी माइली बहिनी सिपालु थिइन्। गीत सुन्नासाथ जुरुक्क उठेर कम्मर मर्काउन, खुट्टा हल्लाउन थालिहाल्थिन्। आफन्तहरू आउँदा जहिल्यै उनकै नाचको फर्माइस हुन्थ्यो। एक पटक म पनि नाच्छु भनेर जाँदा एक जना आफन्तले मलाई हात तानेर तिमी बस, बहिनीले नाच्छ भनेको थियो । मेरो कमजोरी नै भन्नु पर्छ, खुली हाल्न नसक्ने ।
नाच प्रतिको रुचि चाहिँ कसरी भयो ?
मेरो बुबा मिथुन चक्रवर्तीका ‘फ्यान’ थिए। घरमा प्राय: मिथुनका गीत घन्किरहेका हुन्थे। म एक्लै कोही नहुँदा लुकेर मिथुनको डान्स स्टेपहरु नाचिरहेको हुन्थेँ । मिथुनको डिस्कोवाला स्टेप गर्दागर्दै मेरा गोडाहरू सङ्गीतको ताल चिन्न सक्ने भइसकेछन्। मलाई नृत्यसँग नजानिँदो लगाव हुदैं गयो ।
मिथुनको डिस्कोवाला स्टेप नाच्ने मान्छे कसरी कत्थक नृत्य तिर ढल्किनु भयो ?
त्यो त धेरै सानो बेलाको कुरा भयो नि । मेरो काका स्व. नरेन्द्र गोपाल श्रेष्ठबाट कत्थक नाच्ने प्रेरणा पाएकी हुँ । म १० वर्ष जतिको हुँदा काकाले कत्थक नृत्य सिकिरहनु भएको थियो । बिदाको समयमा मलाई पनि उहाँको नृत्य क्लासमा लैजानु हुन्थ्यो । म चाहिँ क्लासको बाहिर बसेर हेरि रहन्थेँ । ता थइ… ता थइ…’ गर्दै कत्थक नाचिरहेका काका र अरू विद्यार्थीहरू देख्दा मलाई कत्थक नृत्यले तानिसकेको थियो । त्यस पछि त मैले अरू नृत्य सोच्दा नि सोचिन र गर्दा नि गरिन । मेरो बाल मनले नै नृत्य भनेको कत्थक नै हो भन्ने लाग्यो ।
कलेजमा नृत्य नै पढ्छु भनेर घरमा कन्भिन्स गराउन कतिको गाह्रो भयो ?
मलाई बुबाले इन्जिनियर बनाउने सोच्नु भएको थियो । तर एसएलसी पछि मैले नृत्य विषय लिएर पढ्छु भनेर घरमा प्रस्ताव राखेँ । कसैले नसोचेको कुरा भन्दा सबै चकित परे । त्यो समय नृत्यलाई मनोरञ्जनका रूपमा मात्रै हेर्ने जमाना थियो। यो पनि करिअर बन्न सक्छ भन्ने धेरैले सोचेकै थिएनन्। त्यसैले मेरो प्रस्तावमा बुबा अन्कनाउनु भयो । तर मेरो जिद्दीको अगाडी उहाँले स्वीकृति दिनु भयो ।
मैले पद्मकन्या कलेजमा नृत्य विषय लिएर आइए भर्ना भएँ । त्यहाँ गुरु हनी श्रेष्ठसँगको भेट र प्रशिक्षणपछि नृत्यप्रति मेरो रुचि झन् झन् गहिरो हुँदै गयो । ‘हनी श्रेष्ठसँग भेटेर नृत्यलाई बुझ्दै गएपछि नसा जस्तै बन्यो ।
इन्डियामा छात्रवृत्ति पाएर कत्थक पढ्ने मौका कसरी मिल्यो ?
पद्मकन्यामा दुई वर्ष पढ्दा मैले भारतीय दूतावासबाट प्राप्त हुने पाँच वर्षे ‘इन्डियन काउन्सिल फर कल्चरल रिलेसन’ (आइसिसिआर) छात्रवृत्तिबारे थाहा पाएँ ्। घरमा कसैलाई पत्तै नदिई छात्रवृत्तिमा आवेदन भरेँ । तर पहिलो पटकमा नाम निस्किएन। दोस्रो पटकमा मात्रै मैले छात्रवृत्ति पाएँ । छात्रवृत्ति पाएपछि बल्ल बुबालाई सुनाएँ । त्यसपछि घरमा कुनै रोकटोक भएन ।
सन् १९९८ अक्टोबरमा दिल्लीको श्रीराम भारतीय कला केन्द्र पुगेँ । त्यहाँ उनले सानै देखि मन बसेको कत्थक विषय नै रोजेँ ।
इन्डियामा सिकाइ कस्तो पाउनु भयो ?
इन्डियामा मैले सुरु देखि नै सिक्नु पर्यो । सिकाई नै एकदमै फरक थियो । त्यहाँको सिकाई स्कुलिङमा आधारित हुन्थ्यो । प्रोफेसनल डान्सर बनाउनको लागि नै तयार गरिन्छ । सुरुमा त सारै गाह्रो लाग्यो । त्यहाँ नेपाल लगायत रसिया, कोरिया, भियतनाम, जापान, इन्डियाकै अरू प्रान्तहरूबाट आएका विद्यार्थीहरू थिए । आ आफ्नो ठाउँबाट उत्कृष्टहरूको जमात थियो । एक प्रकारको सुन्दर र आत्मिक सम्बन्धका साथ प्रतिस्पर्धा हुन्थ्यो । भारतकी चर्चित कत्थक नर्तकी शिखा खरेबाट मैले कत्थक पढ्ने र सिक्ने मौका पाएँ । मैले इन्डियामा गुरु शिखा खरे सँग नै सही तरिकाको रियाज गर्ने सिकेँ । कत्थकको ऐतिहासिक ज्ञान र यसका विविध बान्कीहरूको सिकाइले मेरो कला निखारिँदै गयो।
इन्डियाको बसाइँ कतिको सहज थियो ?
५ वर्ष त छात्रवृत्तिमा पढेँ । त्यति बेला मलाई इन्डियाको चर्को गर्मी, भाषाको समस्याm खानपान केहीले असर गरेन । मेरो लागि खाली नाचको मात्रै जुनुन थियो । कसरी सिक्ने भन्ने मात्र थियो । तर ब्याचलर पछि कत्थकमै मास्टर गर्ने चाह भयो । नेपाल फर्केर घरमा मनाएर आमा, दिदीबहिनीले साथ दिए पछि पुन : इन्डियनमा मास्टर पढ्न गएँ । त्यति बेला पकेट खर्चको लागि घरघरमा गएर कत्थक कक्षाहरू लिन जान्थेँ । त्यहाँ कला क्षेत्रलाई सम्मान गर्थ्यो । हरेकले कलाका कुनै माध्यम सिक्नु पर्छ भन्ने धारणा पाएँ । जुन कुराहरूले मलाई कति अप्ठ्यारो र असहज कुराहरू पनि केही लागेन । कलाको कदर देख्दा दङ्ग हुन्थेँ ।
कत्थकमा मास्टर गरेर नेपाल फर्के पछि कस्तो सपना र सोच बुनेर फर्कनु भएको थियो ?
७ वर्ष मैले कत्थकै मात्रै सिकेँ । सधैँ सिकी राख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । नेपाल फर्के पछि मात्रै मलाई अव सही परीक्षा सुरु भएको महसुस भयो । म नेपाल फर्किदा सम्म पनि कत्थकमा सोलो प्रस्तुति गर्नेहरू कोही नै थिएन । पीकेमा कत्थक सिकाउन जाने होला जस्तो लाग्थ्यो ।
तपाईँ जस्तो मान्छेलाई काम पाउन त गाह्रो भएन होला ?
नेपाल फर्के पछि मैले नाम चलेका धेरै विद्यालयहरूमा प्रमाणपत्रहरू बोकेर काम माग्न गएँ । तर सबै स्कुलहरूबाट म रिजेक्ट भएँ । त्यो बेला मलाई सबैभन्दा बढी चित्त दुख्यो । डिग्री छ, आफूसँग क्षमता छ तर मेरो लागि काम थिएन । मैले स्कुलमा काम नपाउनुको कारण भनेकै मलाई कत्थक मात्रै आउँथ्यो । यहाँ नेपालमा त एक जना नृत्य शिक्षकले सबै खाले नृत्य सिकाउनु पर्छ । मलाई त अचम्म लाग्यो एक जनाले १० वटा फर्मलाई कसरी सिकाउन सक्छ ।
अहिले नेपालको विद्यालयमा सिकाइने नृत्यलाई कसरी हेरि रहनु भएको छ ?
नेपालका विद्यालयहरूमा सिकाइने, सङ्गीत र नृत्य काम छैन । खाली वर्षमा एक पटक अभिभावक दिवसको बेला स्टेजमा उभ्याउन गराइने प्राक्टिस मात्रै हो । स्किलको रूपमा लिइदैंन खाली मनोरञ्जनको लागि मात्रै नृत्यलाई लिएको देखियो । विद्यालयमा मात्रै किन अहिले समाजले नै नृत्यलाई हेर्ने नजरिया भनेको मनोरञ्जन मात्रै हो ।
जीवन यापनको लागि काम त गर्नु पर्यो , के गर्नु भयो ?
डेढ वर्ष जति त्यतिकै बित्यो । त्यति नै बेला यलमाया क्लासिकको लागि सोलो परर्फमेन्स गर्न कुरा भयो । मसँग प्राक्टिस गर्ने ठाउँ थिएन । मलाई तबलामा साथ दिनलाई स्व।गुरु होमनाथ उपाध्याय हुनुहुन्थ्यो । कहिले पशुपतिको कुनै भजन मण्डलीमा। कहिले होमनाथ सरकै घरमा गएर महिनौँ प्राक्टिस गरेँ । त्यहाँ मैले ५ सय रुपैंया पारिश्रमिक पाउने थाहा थियो । कार्यक्रम एकदमै राम्रो भयो । तर खाम लिएर ५ सय रुपैंया हातमा लिए पछि आँसु नै झर्यो । त्यत्ति बेला नै मेले सङ्कल्प गरेँ अव म ५ सय रुपैंयाको लागि नाच्दिन ।
त्यति बेला तपाईँलाई अरू कुनै काम गरेर नाचलाई साइडमा राखूँ जस्तो कहिले भएन ?
अरू केही त काम आउँदैन । जसरी भए पनि नाच्नु थियो । सुत्दा पनि नाचेको कल्पना गरेरै सुत्थेँ । मेरो सबै चिज नृत्य नै थियो । दिनमा पनि नाचेकै सपना देख्थेँ । यो स्टेजमा यसरी नाच्छु भन्ने सोच्थेँ । नाच्दा म ध्यान लिप्त हुन्छु । त्यसैले मैले नृत्यलाई बाहेक अरू केही गर्छु भन्ने कहिले सोचिन ।
त्यस पछि नै तपाईँले नृत्य आँगनको परिकल्पना गर्नु भएको हो ?
धेरै प्रयासहरू असफल भए पछि आमा, दिदीबहिनी र साथीभाइको सहयोगमा ‘नृत्य आँगन’ सञ्चालन गरेँ । लामो समय दिएर सिकेको यो शास्त्रीय नृत्यलाई नयाँ पुस्तासम्म पुर्याउने मेरो कोसिस थियो।
तपाइकोमा सिक्न आउनेहरू बढी कस्ता व्यक्तिहरू बढी छन् ?
धेरै जसो बाल्यकालमा नाच्न रुचाउनेहरू, उहिले सिक्न नपाएकाहरू व्यक्तिहरू बढी छन् । अहिले मेरोमा हर्ट सर्जन, पाइलट, इन्जिनियर, बलाकार, बैंकर, फेमस टिकटकर देखि विभिन्न क्षेत्रका महिलाहरूका साथमा साना नानीहरू पनि छन् ।
कलाकार नै बन्न सिक्न आउनेहरू चाहिँ खासै छैन होला ?
सङ्गीत र नृत्य सिक्दैमा कलाकार नै बन्नु पर्छ भन्ने छैन । कलाकार नै बन्छु भनेर आउनेहरू त छैन नै भन्दा हुन्छ । कतिपयलाई मानसिक रूपमा फ्रेस हुन्छ भनेर आउनेहरू पनि छन्, शास्त्रीय विधाका सङ्गीत, नृत्यलाई सही तरिकाले अपनाएर गर्न सक्यौँ भने मेडिटेसन पनि हो । यसले तनाव व्यवस्थापन भयो भन्नेहरू पनि छन् ।
अहिले अभिभावकहरू पनि सचेत बन्दै गएको देख्छु । आफ्ना नानीहरू ग्याजेटमा समय बिताउनु भन्दा कलाका विविध क्षेत्रको सिकाइ तिर पठाइ रहेको देख्छु । अहिलेका अभिभावकहरू आफ्ना नानीहरू जति सिके पनि सही तरिकाले सिकोस् र राम्रो गुरु सँगै सिकोस् भन्ने चाहना देखेँ । जुन सकारात्मक पक्ष पनि हो ,
कत्थकको इतिहास एक पटक बताइ दिनुस् न ?
उत्तर भारतमा बसोबास गर्ने एक समुदायले आफ्नो शरीरका अङ्गहरूको हाउभाउबाट मन्दिरमा धार्मिक कथा वाचन गर्थ्यो। यही प्रस्तुतिले पछि कत्थक नृत्यको रूप लियो। यो भारतका आठ शास्त्रीय नृत्यमध्ये एक हो । नेपालमा पनि राजा–महाराजाको मनोरञ्जन निम्ति भारतबाट नर्तक–नर्तकी बोलाएर दरबारमा कत्थक देखाउने गरिन्थ्यो।
कत्थक नृत्यमा घुँगरुको महत्त्व कस्तो छ ?
कत्थकमा खुट्टामा लगाउने घुँगरुको पनि ठुलो महत्त्व हुन्छ। यो नर्तकीको गहना मात्र होइन, अभिन्न अङ्ग नै हो । घुँगरुको छनछन र खुट्टाको चालले हामी तबलाको तालसँग सुर गाँसिरहेका हुन्छौँ। कत्थकको लागि यसको विशिष्ट महत्त्व छ ।
कत्थक नृत्यमा पहिरनको पनि आफ्नै नियम छ नि हैन ?
शारीरिक चालसँगै कत्थकमा नर्तक–नर्तकीले लगाउने पहिरन र शृङ्गारको पनि ठुलो महत्त्व छ । कत्थकमा लेहेंगा चोली, अंगरवा लगायतको पहिरन हुन्छ ।
कत्थकमा नियम र अनुशासन कडा हुन्छ हो ?
सङ्गीतको नियमहरू पालना गरेरै कत्थकको रूप आएको हो । यसको लागि सङ्गीत भित्र भएको नियम र जीवन जिउने नियम र अनुशासन दुवै उत्तिकै आवश्यक हुन्छ ।
एक जना राम्रो कत्थक नाच्नको लागि अरू केके जान्न जरुरी हुन्छ ?
कत्थकमा ताल र लयसँग शरीरको हाउभाउ घोल्नुपर्छ । यसमा नर्तक–नर्तकीको अनुग्रह, खुट्टाको चाल, हाउभाउ र नृत्यबाट कथा वाचन हुन्छ । सङ्गीतको सबै विधाको लागि लय र तालको ज्ञान उत्तिकै जरुरी हुन्छ । त्यसैले तबला पनि सिकेको छ भने सुनमा सुगन्ध थपिन्छ । मैले पनि इन्डियामा कत्थकको साथमा तबला पनि सिकेको थिएँ ।
कत्थक नाच्नेहरू धेरै छन् तर कत्थकमा अब्बल कलाकारहरू त्यति जन्मिन सकेन किन होला ?
यसलाई मनोरञ्जनका रूपमा मात्र लिनेले राम्रो प्रस्तुति दिन सक्दैन । मनैदेखि डुबेर नाच्नुपर्छ । ताल र लयमा आबद्ध भएर जीउको हाउभाउबाट प्रस्टसँग कथा भन्न सक्ने र दर्शकहरूलाई त्यही कथामा डुबाउन सक्नेहरू नै कत्थक कलाकार बन्न सक्छन् । धेरै इन्स्टिच्युटहरू छन्,जहाँ डान्सरहरू जन्माउँछन् तर कलाकार बनाउने संस्थाहरू छैन । कलाकार बन्न लाई एक दुई वर्ष सिकेर स्टेजमा गएर त हुदैंन । वर्षै सम्म सिकेर साधना गरेर जन्मने कुरा हो । कलाकारै बन्ने न त माहौल छ न त व्यवस्थापन पक्ष नै नेपालमा छ । कलाकारै जन्माउनलाई त सरकारी पोलिसि पनि चाहिन्छ नि । धेरै प्रयास पछि बल्ल ललितकला क्याम्पसमा ब्याचलरमा कत्थक राख्न पायौँ । जहाँ मैले आंशिक शिक्षकको रूपमा भत्ता मात्रै पाउँछु । घण्टाको ३ सय रुपैंया । भन्न खोजेको कुरा चाहिँ कलाकार भएर जीवनयापन गर्ने पर्याप्त आधार छैन । डान्सर बन्न सक्छन्, कलाकार बन्न र जन्माउन सक्दैनौँ ।
कत्थकलाई थेरापीको रूपमा पनि लिन थालिएको छ नि ?
सङ्गीतको हरेक माध्यम थेरापी नै हो । परापुर्वकाल देखि हाम्रो समुदायहरूमा आ आफ्नै मौलिक सङ्गीत, नृत्यहरू छन् । नेवार, तामाङ, राई, लिम्बु, थारुहरू को समुदायहरूमा दिनभरि काम गरेर आउने र साँझ नाच, गान, सङ्गीत, भजन गर्ने मण्डलीहरू छन् । थकानलाई बिर्साउने यस्ता सांस्कृतिक पक्षहरू थेरापी नै हुन् ।
तपाईँ नै भन्नुस् न विना सङ्गीत र नृत्यको कुनै जात्रा छ रु सङ्गीतलाई थेरापी भन्नु कुनै नौलो कुरा होइन । पुर्खा देखि चली आएको हो ।
कत्थकमा नेपाल अनुसार संयोजन गरी राख्नु भएको पनि छ ?
हो, मेले नेवारी धिमेसँग पनि कत्थक गरेँ । गतलाङमा गएर तामाङ समुदायमा रिसर्च गरेर डान्स पिस तयार पारेँ । तामाङ स्या ब्रो नृत्यलाई कत्थकमा कोलाब्रेसन गरेँ । विभिन्न समुदायको सङ्गीतमा कत्थकसँग संयोजन गरेर काम गर्ने रहर छ ।
तस्बिरहरु : सुविमाको फेसबुक वालवाट