विविध विषम परिस्थितिहरुले गर्दा सुदूरपश्चिम नेपालमा इतिहास, कला र संस्कृति झल्काउने शिलालेख, ताम्रपत्र, मूर्तिहरु व्यक्तिगत प्रयोग र अन्य कारणहरुद्वारा नष्ट हुँदै गएका छन् । सुदूरपश्चिमको प्राचीन शासनको केन्द्रविन्दु अजयमेरु कोटलगायत थुप्रै कोट र देवलहरु लुप्त प्राय: भइसकेका छन् ।
विकासको परिवेश र इलेक्ट्रोनिक मिडियाले लोकजीवन प्रभावित भएको छ । यसले लोकगीत अत्यन्त प्रभावित भएको छ भने लोकगाथाहरुको प्रचलन घटेको छ ।
कुनै पनि जाति र समुदायको लोकसंस्कृति र भावात्मक परिवेश बुझ्नका लागि, जाति र समुदायको जीवन र विश्वास बुझ्नका लागि त्यस जाति वा समुदायमा प्रचलनमा रहेका लोकगाथाहरुको अध्ययन आवश्यक ठहर्दछ । लोकगाथाहरुभित्र लोकको कल्पना, लोकको विश्वास र लोकको मर्म रहेको हुन्छ । लोकबोली र लोकव्यवहारका साथै लोकजीवनका उल्लास र छटपटीहरुको विस्तृत बयान हुन्छ ।
विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न नेपालको सुदूरपश्चिमी भूखण्ड अर्थात् डोट्याली भेगको लोकजीवनमा चैत–भारत जस्ता परम्परादेखि चलिआएका लोकगाथाहरुको विशिष्ट स्थान रहेको छ । समाज र जीवनका अनुभवहरुको खजानास्वरुप यो भेगको माटोबाट उब्जेका लोकसाहित्यका अलिखित तर अजर–अमर रचनाहरुका अधिकांश विधाखण्ड धार्मिक परम्परा बोकेका, वेद र पुराणहरुका स्वरलहरीबाट निस्केका लोकलहरी हुन् । श्रुतिपरम्पराबाट आएका यी लोकगाथाहरु अलिखित भएर पनि लोककण्ठमा प्रतिनिधित्व र जीवित छन् । डोट्याली लोकसाहित्यका विभिन्न विधाहरुमध्ये लोकजीवन र लोकविश्वासको सजीव चित्रण प्रस्तुत गर्न सक्षम यी लोकगाथाहरु काव्यात्मक गुणले सम्पन्न डोट्याली लोकसाहित्यका लोककाव्य र लोकनाट्य हुन् ।
लोकगाथाहरु स्वच्छन्द र मौलिक रचना हुन् । लोकका सामूहिक सम्पत्ति हुन्, लोकका अनुपम सिर्जना हुन् र लोकजीवनका अलिखित इतिहास हुन् । भौगोलिक क्षेत्रभित्रको सांस्कृतिक परिवेशका परिचायक यी गाथाहरु मानव–सभ्यताको इतिहासका संवाहक पनि हुन् ।
भौगोलिक विकटता, आर्थिक कठिनाइ र सामाजिक पछौटेपनका बाबजुद सुदूरपश्चिमको लोकजीवनमा विभिन्न चाडपर्व र उत्सवहरुमा गाइने वा खेलिने यी गाथाहरुले लोकजीवनमा लोकरञ्जन र मनोरञ्जन प्रदान गर्दछन् । जीवनका दु:ख र पीडाहरुलाई क्षणिक भए पनि भुलाउँछन् । मर्यादित र सम्मानित जीवन बाँच्न प्रेरणा दिन्छन् ।
सुदूरपश्चिम नेपालको लोकजीवनका विभिन्न अवसरहरुमा घर मन्दिर र सामाजिक स्थलहरुमा गाइने विविध प्रकारका गाथाहरु जस्तै : देवगाथा, चरित्रगाथा, करुणगाथा, प्रेमगाथा र चारणगाथा आदि मानव–जीवनको अतीतलाई वर्णन गर्ने, मानव–गरिमा र परम्पराको बयान गर्ने अलिखित रुपमा श्रुतिपरम्परामा हस्तान्तरित लोकनाट्य र लोककाव्य हुन् ।
लोकगाथाहरुमा देवीदेवताहरुलाई प्रसन्न गर्न तथा सामाजिक मानमर्यादा बनाइराख्न घरमा अथवा मन्दिरमा गाइने जागर गाथा र फागहरु हुन् । चरित्रगाथामा समाजलाई सुमार्ग देखाउने कुलीन र मर्यादित जीवन भएका लोककल्याणकारी महापुरुष तथा अलौकिक चरित्रको गाथा वर्णन गरिन्छ । जस्तै श्रीरामको चैत, श्रीकृष्णको चैत आदि । करुणगाथाहरुमा कारुणिकता र वेदनापूर्ण जीवनका छटपटीहरुको झलकस्वरुप झोडोगाथा गाइन्छ भने प्रेमगाथाहरुमा युवायुवतीहरुबीचको प्रेमप्रसङ्ग भएका गाथाहरु गाइन्छन् । प्रेमगाथाहरु विशेषगरी रात्रिको समयमा रतेडा गीतका रुपमा गाइन्छन् जस्तै : सरु–समेरु प्रेमगाथा । दमाई, ढोली, आँजीद्वारा गाइने भडा, बर्मौ, रितुरानो (रितुगीत) तथा भाट, रैभाटद्वारा गाइने सवाई आदि चारणगाथा हुन् ।
डोट्याली भेगका लोकगाथाहरुलाई विभिन्न आधारमा वर्गीकृत गर्न सकिन्छ । तर पनि लोकगाथाहरुभित्र अन्तरनिहित विषयवस्तुको प्रकृतिका आधारमा वर्गीकरण गर्नु अथवा कथावस्तुका आधारमा गरिने विषयगत वर्गीकरण नै बढी उपयुक्त हुने देखिन्छ । किनकि प्रत्येक गाथाभित्र अन्तर्निहित विषयवस्तुमा नै गाथाको मर्म र भाव रहने गर्दछ । अत: विषयगत वर्गीकरणलाई आधार मानी डोट्याली भेगका लोकगाथाहरुलाई निम्न प्रकार वर्गीकृत गर्न सकिन्छ ।
१. देवगाथा (जागर–फाग) :
कुनै खास पुण्यकार्यका अवसरमा देवीदेवताका मन्दिरमा अथवा यज्ञ–हवनस्थलमा देवीदेवतालाई जागृत गराउन देउताहरुको प्रशंसाले भरिएका शान्तरसप्रधान जागरगाथा अथवा देवताहरुको महिमागान भएका फाग वा मन्दिरमा गाइने करुणरसप्रधान प्रबन्ध झोडागाथा यसमा पर्दछन् । यस प्रकारका देवगाथाहरुमा जागर (जागृत गान) र बैसुन्नरको फाग प्रसिद्ध छन् । यी देवगाथाहरु पौराणिक कालदेखि चलिआएका परम्परागत गाथा हुन् ।
२. चारणगाथा (भडा/सवाई) :
बिहे, ब्रतबन्ध, पासनीजस्ता शुभ अवसरमा हुड्के, दमई, औजी आदिद्वारा गाइने भट्ट/योद्धा र पाइकहरुका वीरता वर्णन भएका वीररसप्रधान भडा तथा भाट अथवा रैभाटहरुद्वारा गाइने सवाई आदि चारणगाथा हुन् । सामन्ती युगलाई चारणगाथाहरुको रचनाकाल मान्न सकिन्छ ।
३. चरित्रगाथा (चैत) :
लोकजीवनमा सदाचार, शिष्टाचार र मर्यादालाई कायम राख्न असल आचरण निर्माण गर्ने हेतुले रामायण, महाभारतजस्ता धर्मशास्त्रको आधार लिएर समाजलाई पथप्रदर्शन गर्ने, मानमर्यादा बनाई कुलीन युगपुरुषहरुको गाथालाई लोकभाषा, लोकलय र लोकशैलीमा ढालेर आफ्नोपन झल्कने गरी निर्माण गरिएका चरित्रगाथा यसमा पर्दछन् । चरित्रगाथाहरु कुनै खास जात्रा वा उत्सवका अवसरमा ढुस्को, घुमारी, चाली र ठाडो गरी विभिन्न तालहरुमा गायन गरिन्छन् । श्रीरामको चैत र श्रीकृष्णको चैत प्रमुख चरित्रगाथा हुन् । प्राचीन कालदेखि गाइँदै आएका यी चरित्रगाथाहरुको विकास क्रममा नयाँ र लघु चरित्रगाथाहरु पनि कथिएका भेटिन्छन् ।
४. प्रेमगाथा :
युवा–युवतीबीच प्रेमप्रसङ्ग भएका परम्परादेखि गायन हुँदै आएका प्रेमगाथाहरु प्राय: रतेडा (रात्रीगीत) का रुपमा गायन हुन्छन् । पे्रमगाथाहरुमा सरु–समेरुको प्रेमगाथा लोकप्रसिद्ध गाथा मानिन्छ ।