बेलायतमा बसेर नेपाली साहित्य लेखिरहनु भएका सर्जक विजय हितान एक दशक देखि वातावरण साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । पेसाले भूतपूर्व गोर्खा सैनिक र हाल बेलायत सरकारमा वातावरण विज्ञको रूपमा कार्यरत उहाँ वातावरणलाई साहित्यको मुख्य विषय बनाउँदै लेख्दै हुनुहुन्छ । १८ वर्षे उमेरमा लाहुरे, २८ वर्षमा लाहुरे जीवनबाट रिटायर अनि ३० वर्षपछि उच्च शिक्षाको बाटो समाएका विजय बाँकी समय वातावरण संरक्षणकै लागि खर्च गर्न चाहिरहेका हितान साहित्यिक पुस्तकहरू पढ्न निकै रुचाउनुहुन्छ । अंग्रेजी र नेपाली साहित्यका पुस्तकहरू खोजी खोजी पढ्ने हितान संग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी :
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
चैत्र, वैशाख तिर आसाम साहित्यिक भ्रमण गरेर फर्केँ । हालै भुटानी नेपाली साहित्य सङ्गठनको निम्तोमा अमेरिका भ्रमण गरेर फर्केको छु । यी दुई साहित्यिक सम्मेलनमा त्यहाँका स्रष्टाले विविध विषयमा लेखेका पुस्तकहरू प्रेम पूर्वक उपहार दिएका छन् । ती पुस्तकहरू पढ्दै छु र म पर्यावरण साहित्य अनुरागी, लेखक र अभियन्ता भएकोले डा. गीता त्रिपाठीको पर्यावरण र नारी केन्द्रित समालोचना, डा. देवेन सापकोटाको परिश्रान्त पृथ्वी, र डा देवचन्द्र सुब्बाको नेपाली कवितामा परिवेश पढ्दै छु ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
नेपालीमा भूपीको घुम्ने मेच माथिको अन्धो मान्छे , अङ्ग्रेजीमा रेचल कार्सनको साइलेन्ट स्प्रिङ, र हिन्दी भाषाको अहिले सम्म केही पढेको छैन ।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
अरू कतिलाई बिहानको समय लेखपढको लागि उपयुक्त समय हुन सक्ला । तर म बिहान अबेला सम्म सुत्न मन पर्ने हुनाले साँझ अनि राति अबेलासम्म ओच्छ्यानमा पल्टेर पढ्न रुचाउँछु । सोमवार देखि शुक्रवार कार्यालयमा व्यस्त भइने हुनाले शनिवार र आइतबारका दिनमा बढी लेखपढ गर्छु ।
साहित्यका विविध विधा मध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
बिम्बहरूको प्रयोगका साथ सन्देश मूलक तरिकाले लेखिएको छ भने कविता नै शक्तिशाली लाग्छ । उपन्यास अलि लामो हुने हुनाले त्यहाँ भित्र विषयवस्तु धेरै हुन्छन् । त्यसर्थ उपन्यासमा शक्ति शालीपना कहिले काहीँ हराएर जान सक्छ जस्तो लाग्छ ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ? कस्ता पुस्तकहरू पढ्न बढी मन पर्थ्यो ?
विद्यार्थी कालमा साहित्यका त्यस्ता विशेष पुस्तकहरू पढेको सम्झना छैन । प्राय पाठ्यपुस्तक पढ्न र गृह कार्यमै व्यस्त हुन्थेँ । बुवाले पत्रपत्रिका र राजनैतिक तथा जातीय इतिहास विषयका पुस्तक घरमा ल्याउनु हुन्थ्यो । तिनै पढेको याद आउँछ ।
तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
जीवनको लामो समय सैनिक सेवामा बिताएको हुनाले त्यो अधबैँसे कालमा नेपाली साहित्यका त्यति किताब पढिएन भन्न मलाइ लाज लाग्दैन । सैनिक पेसाबाट निवृत्त भइसके पछि विदेशमा उच्च शिक्षा अध्ययनतिर लाग्दा पनि नेपाली साहित्यका पुस्तक चाहेर पनि पढ्ने समय भएन । यो जीवनले चालिस वसन्त नाघे पछि बल्ल म फुल टाइम नेपाली साहित्यमा लागेको हुँ । यसर्थ चालिस काटेर यता बढी पढ्न थालेको हुँ ।
धेरै पटक दोहोराएर पढेका पुस्तकहरू कुन कुन हुन् ? दोहोराएर पढ्नुका कारण खासमा के थियो ?ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
धेरै पटक दोहराएर पढेको पुस्तक सेतो बाघ,शिरीषको फूल, दमिनी भिर र उत्तर आधुनिक विमर्श हुन । सेतो बाघभित्र राणा कालिन दरवारिया जनजीवन र घटनालाई बडो कलात्मक तरिकाले प्रस्तुत गरिएको छ र आनन्द लिनै दोहराएर पढेँ । शिरीषको फुल जति चोटि पढ्दा पनि बुझिन र म जुन साहित्यिक कार्यक्रममा जान्छु र जुनै किताबमा समालोचना पढ्छु सबैले शिरीषको फूल एक उत्कृष्ट पुस्तक हो भनेको सुन्छु । त्यसैले फेरि गएर पढ्छु । तर नढाँटी भन्नपर्दा अझै पनि मैले शिरीष को फूल राम्रोसँग बुझ्न सकेको छैन । एउटा अमूर्त बिम्बै बिम्बले भरिपूर्ण कविता जस्तै लाग्छ मलाई शिरीष को फूल । दमिनी भिर पहिलो पल्ट मदन पुरस्कार नपाउँदै पढेको थिएँ कवि तथा युद्ध साहित्यकार नरेश काङमाङवाट सापट मागेर । पछि मदन पुरस्कार पायो भनेपछि किनेरै पढेँ । अनि समीक्षा लेखि दिनपर्यो भनेर अरू केहीपल्ट पढेँ । उत्तर आधुनिक विमर्श त मेरो लागि रामायण, महाभारत जस्तै हो । यस भित्रको आलोचनाको एउटा गतिलो अध्याय छ । अहिले सम्म मैले लेख्दै आएका पर्या साहित्यका कविता, निबन्ध र कथाहरू यसै पुस्तक भित्रका विचारले निर्देशित भएर आएका छन् । यसर्थ पर्यावरण साहित्यको सिद्धान्तलाई बुझ्न यो पुस्तक रिफरेन्सको रूपमा म बारम्बार पढ्ने गर्छु ।
पुस्तक पढी रहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
कुनै पुस्तक पढ्नु अघि लेखकको पृष्ठभूमिको पनि ज्ञान भयो भने उसले लेखेको पुस्तकलाई बुझ्न अझै मद्दत गर्छ जस्तो लाग्छ । एउटा कथा भित्रको पात्रहरू र परिवेशले त एक पाठकलाई पछ्याउनै पर्छ नि । पछ्याएन भने त त्यो कथा पढेर बुझिँदैन र आनन्द पनि नआउन सक्ला । सबै कथाका पात्रले र परिवेशले पछ्याउदैनन । केही कथाका पात्र र परिवेशमा डुबिन्छ कहिले काहीँ– त्यो नै पुस्तक पठनको मनोरञ्जनको क्षण हुन जान्छ ।
तपाईँको विचार पढ्नु केका लागि हो ?
जसरी खाना खानु, पेट भर्नु बाच्नुको लागि हो नि । सोही अनुरूप पढ्नु पनि आनन्दको साथै ज्ञान आर्जनको लागि हुनपर्छ जस्तो लाग्छ । यसर्थ पुस्तक पढाइले यी दुई उद्देश्य पूर्ति गरेको हुनपर्छ ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
धेरै पहिला केन्याकी ग्वाङ्ग्री मथाएको बायोग्राफि र अमेरिकी उपराष्ट्रपति अलगोरको इनकन्भेनियन्ट ट्रुथ भन्ने पुस्तक पढेँ । यी दुवै लेखक नोबेल शान्ति पुरस्कारले पुरस्कृत व्यक्तिहरू हुन । यस्ता पुस्तकले मेरो पर्यावरण संरक्षण साथै पर्या लेखनमा अनेक तरिकाले सघाएका छन्।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
म त भानु जयन्तीको साथ साथै भालु जयन्ती पनि मनाऔँ, मोती जयन्ती मात्रै किन माटो जयन्ती पनि मनाऔँ, पृथ्वीनारायण होइन पृथ्वी ग्रह जयन्ती मनाऔँ भन्ने मान्छे । अनि घोडामा चढेर गाउँघर घुम्ने महाजनको होइन अव साइकलमा चढेर कवाडी सङ्कलन गर्नेको कथा लेखिनु पर्छ, हवाई जहाजमा चढेर पाँचतारे होटेलमा बसी यो कार्यपत्र त त्यो कार्यपत्र पेस गरेँ भन्ने बारेको नियात्रा मात्रै नलेखेर राष्ट्रिय निकुञ्जमा घुमेर तम्बुमा आफैले पकाएको खाना खाएर वन्यजन्तु अवलोकन गरेको नियात्रा लेख्नु पर्छ भन्ने लेखक परेँ । नारी हक अधिकार तथा मानव हक अधिकार मात्रै होइन लोपोन्मुख वन्यजन्तु, वनस्पति र जैविक विविधता जोगाउने खालका हक अधिकारका विषयमा पनि हाम्रा कलम चलाउनु पर्छ भन्ने अभियानमा लागेको हुनाले पाठकलाई अनायोजित, मलिलो माटो, तङ सीङ, थकित पृथ्वी, परिश्रान्त पृथ्वी, ब्लु प्लानेट, पर्यावरण र नारी केन्द्रित समालोचना, नेपाली कवितामा परिवेश, स्वच्छन्द सुसेलीहरू, र करोडौँ सूर्यहरूको अन्धकार जस्ता पर्या साहित्यका पुस्तकहरू पढ्न सिफारिस गर्दछु ।
तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला?
नेपाली र अङ्ग्रेजी गरेर सबै विधाका पुस्तक तीन सयको हाराहारीमा होलान् ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक?
कमसेकम दक्षिण एसियाका लेखकहरूको किताब जसले विश्वका पाठकहरू माझ हलचल ल्यायो र नेपालकै पनि धेरै कृतिहरू छन् एक पटक पचासको दशक अधि लेखिएको सबै कृतिहरू अध्याय गर्ने मन छ ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
५ नै भन्न सक्दिन , वास्तवमा धेरै छन् अरुन्धती रोय , बिपी, पारिजात र जीवनवादी साहित्य जसले हरेक मान्छेलाई बाँच्न प्रेरित गर्छ
अध्ययन र लेखाई बाहेकका रुचि हरू के छन् ?
पर्या पर्यटन गर्न औधी रुचाउँछु । पहाड पर्वत, गाउँघर, ताल तलैया, वन्यजन्तुका निकुञ्जहरू त हिँडेर घुम्छु अथवा पदयात्रा गर्छु । सहर बजार पनि हिँडेरै घुम्न मन लाग्छ । यसरी हिडदा वनजंगल त हुने नै भो सहर बजारलाई पनि इकोलोजिकल पोइन्ट अफ भ्युबाट हेर्छु । हालै काठमान्डु घुमेर आएपछि ‘पैतलामा धुलो आँखामा तुवाँलो’ र आसाम घुमेर आएपछि ‘ पर्या साहित्यको पोको बोकेर ब्रम्हापुत्रको छेउछाउ’ नियात्रा लेखेर प्रकाशन गरेको छु ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
नेपालीमा हो भने मेरै कथा सङ्ग्रह ब्लु प्लानेट पढ्नुस् । यसमा अहिलेका जलवायु परिवर्तन, जैविक विविधता, जल थल र वायुमण्डल प्रदूषण, वन्यजन्तु चोरी सिकारी जस्ता वातावरणीय मुद्दालाई कथाको मार्फत उजागर गर्दै सचेतना फैलाउने प्रयास गरेको छु । दर्शन, समाजशास्त्र , अध्यात्म, आत्मवृत्तान्त पढे केही पक्कै फरकपन आउनेछ लेखनमा ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
युद्ध साहित्यमा आधारित ‘लाहुरेको रेलिमाई’ प्रकाशोन्मुख छ भने ब्लु प्लानेटलाइ अङ्ग्रेजीमा अनुवाद गरेर बेलायतको प्रकाशन गृहबाट प्रकाश गरौँ भन्दै छु । साथै डा गोविन्दराज भट्टराई र म मिलेर पर्या साहित्य सृजना र सिद्धान्तको पुस्तक लेख्ने योजना रहेको छ । किनकि नेपाल र पुर्वात्तर भारतका विश्व विद्यालयमा अव पर्यावरण साहित्यको पाठ्यक्रम बनेर अध्याय सुरु हुन थालेको छ । पर्या कविता प्रतियोगिता आएका कविताहरूलाई समेटेर एक सङ्ग्रह प्रकाशन गर्ने भन्ने कुरा चलिरहेछ । त्यस कार्यलाई पनि सहयोग गर्नु पर्ने छ मैले ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा र सिर्जना बिच त नङ र मासुको, अथवा आफूले जन्माएको सन्तानको सम्बन्ध रहन्छ । आफूले जस्तो सुकै साहित्यिक सिर्जना गरेको हुन्छु सबै राम्रो लाग्छ, यो खासमा खराब बानी हो तर माया लागेर आउँछ । राम्रो लेख्न कयौँ पटक रिराइट गर्न जरुरी छ । केही लेखेँ अनि छापे भने बडो जतनका साथ रेकर्ड गरेर राख्छु भलै त्यो भविष्यमा पुस्तकको रूपमा छापियोस् कि नछापियोस् । पछि फाइलभित्र पसेर दोहराएर पढ्दै रमाउँछु । कुनै व्यक्तिलाई अमर बनाइ राख्ने त आखिरमा सिर्जनाले हो जस्तो लाग्छ । तर त्यसको महत्त्व र मूल्य यही जुनीमा नहोला । त्यसको वास्तविक महत्त्व दुई तीन पुस्ता पछि बल्ल हुनसक्छ ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवनयात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मेरै पिताजी रोल मोडल हुनुहुन्थ्यो कि ! अहिले वहाँ यो धरतीमा हुनुहुन्न । वहाँ पढ्ने लेख्ने खुवै गर्नु हुन्थ्यो । त्यसको अप्रत्यक्ष प्रभाव ममा परेको हुनपर्छ त्यसैले त केही लेख्न सकेको छु । तर अहिले आएर, विशेष गरेर एक दशक अघि देखि मेरो साहित्यलाई प्रा डा गोविन्दराज भट्टराई हुन हुन्छ गल्तीहरू औंलाई दिनु हुन्छ तर राम्रो लेख्न तपाई सँग निर्मम रूपमा आलोचना गर्ने टिम हुन जरुरी छ ।