साहित्यका बृहत् आयामका विधामा झैं फुटकर कवितामा संस्कृतिको विस्तृत चर्चा र प्रस्तुत गरिंदैन र त्यो सम्भव पनि हुँदैन । तर फुटकर कवितामा पनि प्रसङ्गवश संस्कृतिका केही पक्ष प्रस्तुत गर्न सकिन्छ । यहाँ बूँद रानाका दुई बालकवितासङ्ग्रह पुष्टकारी र खै गुजी ? भित्रका कविताहरूमा संस्कृतिको अध्ययन गरिएको छ । अध्ययन–सुविधाका लागि उक्त कविताहरूमा पाइने सांस्कृतिक पक्षलाई भौतिक वस्तु, सामाजिक व्यवहार, लोकविश्वास, पुराण र इतिहासका कुरा, बालखेल र बाललोकगीत, भाषा, सांस्कृतिक सापेक्षता र सांस्कृतिक परिवर्तनजस्ता विभिन्न शीर्षकमा बाँडेर प्रस्तुत गरिएको छ ।
भौतिक वस्तु :
बालकवि रानाका कवितामा मानवनिर्मित वस्तुहरूको उल्लेख भएको छ । उनका विभिन्न कवितामा आँटी, टौवा, धन्सार, सोली, दियालो, पाटी, डमरु, घन्टा, लौरो, खुर्पा, बन्दुक, झोलुङ्गो आदि वस्तुहरूको उल्लेख भएको छ । ती नेपाली संस्कृतिका अङ्ग हुन् ।
सामाजिक व्यवहार :
सामाजिक व्यवहारअन्तर्गत मानिसको परिवारभित्रको, नातासम्बन्धसँगको, सामाजिक रीति, चाडपर्व, पेसागत व्यवहार, पशुपन्छीसँगको व्यवहार आदिलाई लिइएको छ ।
परिवारभित्रको व्यवहारबारे कवितामा चर्चा भएको छ । खासगरी संयुक्त परिवार, त्यसभित्र युवा सदस्यले बालबालिका र वृद्धबृद्धाहरूको हेरचाह गर्ने, परिवारका अन्य सदस्यले बालबालिकाहरूप्रति गर्ने व्यवहार, पारिवारिक झगडाजस्ता कुराहरू परिवारभित्रका व्यवहार हुन् । यहाँ लोग्नेस्वास्नीको झगडामा नेपाली समाजमा के–कस्ता प्रसङ्ग उठ्छन् भन्ने सन्दर्भमा एउटा उदाहरण हेरौं :
१. मुसीलाई भन्दथ्यो
छुचुन्द्रोकी छोरी
मुसोलाई भन्दथी
चमेरोको जात
कान तानी मुसीको
रिसाउँदा मुसो
हत्तपत्त मुसीले
समाउँथी कुचो !
(राना, २०५०, मुसो र मुसी, पृ. ३)
मानिसले परिवारबाहिरका नाताका मानिससँग गर्ने व्यवहारले पनि उनका कवितामा चर्चा भएको छ । ढोग नेपाली संस्कृतिको अभिन्न अङ्ग हो । मामाले बाआमालाई ढोग गर्न चर्चा भएको यो उदाहरण हेरौं :
२. चिठ्ठी आयो मामाको
चिठ्ठी बाबा–आमाको !
ढोग आएको मामाको
ढोग बाबा–आमाको !
(राना, २०५०, चिठ्ठी आयो, पृ. १७)
नेपाली समाजमा खासगरी हिन्दूसमाजमा तेह्र दिन क्रिया बस्ने रीतिको कुरा पनि उनका कवितामा आएको छ । यो उदाहरण हेरौं :
३. तेह्र दिनका दाजुभाइ
(राना, २०५४, हब्बे तब्बे सय, पृ. १७)
४. आज हो नि औंसी
भोलि आउँछ परेवा
पर्सि भाइटीका
खबर भन्छ मलेवा
जाँतोभन्दा ढिकी
ठूलो स्वर झिकी
भट्याउने पैलो
भैलो भैलो भैलो !
(राना, २०५४, आऊ खेलौं भैलो, पृ. ३२)
रानाका कवितामा हली, जागिर, चटकेजस्ता पेसासम्बन्धी शब्दहरू परेका छन् । चटकेका बारेमा त एउटा कविता नै छ । यो उदाहरण हेरौं ?
५. डमरु डमडमडम बजायो
ऊ हेर साथी चटके आयो ।
(राना, २०५०, चटके आयो, पृ.२६)
यसबाहेक कृषि र पशुपालनका प्रसङ्ग पनि विभिन्न कवितामा आएका छन् । परेवापालनको उदाहरण (६) मा हेरौं ।
मानिसले घरपालुवा र जङ्गली पशुपन्छीहरूसँग गर्ने भिन्नभिन्न व्यवहार पनि कवि रानाका कवितामा परेका छन् । परेवालाई मानिसले पाल्ने र चारो दिएर खान बोलाउने गर्छ । त्यो कुरा यस कविताङ्शमा हेरौं :
६. कुरकुर परेवा आ ! कुरकुर !
हुरहुर परेवा जा ! हुरहुर !
(राना, २०५४, कुरकुर परेवा, पृ. ४)
यसैगरी बाच्छो र पाडालाई नेपालीहरूले माया गर्ने र चील, स्याल, चितुवा र बाघलाई मानिसले लखेट्ने गर्दछन् । यी कुराहरू पनि विभिन्न कवितामा आएका छन् ।
लोकविश्वास :
कागले समाचार ल्याउँछ, सातो जान्छ र ऐठन हुन्छ भन्ने कुरा नेपाली लोकविश्वासका कुरा हुन् । रानाका कवितामा यी कुराहरू रहेको निम्न उदाहरणले देखाउँछन् :
७. गुजी आयो !
खै गुजी ?
ऊ त्यहाँ छ ।
खै कहाँ छ ?
आँटीमाथि ।
हेर्छु है ?
सातो जान्छ ।
(राना, २०५४, खै गुजी ?, पृ. १५)
८. साथी मेरी निदरी !
आँखाभित्र गैकन
सपनीको साथमा
नल्याउनू ऐठन !
(राना, २०५०, यतै आऊ निदरी, पृ. ६)
९. बसी टौवा
काका कौवा
के छ सम्चार ?
खाली छ धन्सार ।
(राना, २०५४, काका कौवा, पृ. १६)
पुराण र इतिहासका कुरा :
रानाका कवितामा बुद्ध, दसटाउके (रावण), भरत आदि ऐतिहासिक पात्र र तिनका प्रसङ्गहरूको पनि उल्लेख छ (हेर्नू, राना, २०५४, हब्बे तब्बे सय, पृ. १७) ।
बालखेल र बाललोकगीत :
घुगुती नेपाली समाजमा प्रौढहरूले बालबालिकालाई खेलाउने खेल र यस क्रममा गाइने गीत हो । थुङ्कुताकुरी थैयाँ साना शिशुहरूलाई हातमा लिएर नचाउने खेल र त्यस क्रममा गाइने गीत पनि हो । ताते नानी ताते बालबालिकाहरूलाई भर्खर हिँड्न सिकाउँदा गाइने बालगीत हो । बामे सरी बामे बालबालिका भर्खर घस्रन सिक्दा उनीहरूलाई प्रेरित गर्न गाइने बालगीत हो । खल्र्याङखुट्टी बालबालिकाहरू आपसमा मिलेर खेल्ने खेल हो । गाउँखाने कथाको शैलीमा बालबालिका प्रश्नोत्तर गर्छन् र खेल्छन् । रानाका कवितामा यस्ता बालखेल, बालखेलगीत र बाललोकगीत परेका छन् । तिनलाई यी उदाहरणहरूमा हेरौं :
१०. घुगुती
बा–सुती
कहाँ सुती ?
गोडामा ।
कहाँ उठी ?
काखमा ।
(राना, २०५४, बा–सुती, पृ. ७)
११. ताते नानू ताने
ताते बाबू ताते
(राना, २०५४, ताते नानी ताने, पृ. १०)
१२. थुङ्कुताकुरी थैयाँ
थुङ्कुताकुरी थैयाँ ।
(राना, २०५४, थुङ्कुताकुरी थैया, पृ. ९७)
१३. बामे सरी बामे
बामे सरी बामे
भोलि टेक्ने माटो
दुवै हातले छामे !
(राना, २०५४, बामे सरी वामे, पृ. १९)
१४. दुई एकम् दुई
दुई दुना चार
केटाकेटी रमाउने
भन कुन बार ?
– शनिबार
(राना, २०५४, दुई एकम् दुई, पृ. ४३)
१५. आज शनिबार
आज पर्यो छुट्टी
आऊ साथी हो
खेलौं खल्र्याङखुट्टी
(राना, २०५०, आज पर्यो छुट्टी, पृ. २२)
भाषा :
रानाका कवितामा भाषाप्रयोगबाट पनि नेपाली संस्कृति झल्केको छ । उनको भाषाप्रयोगलाई बालशब्द, अनुकरणात्मक शब्द, जनावरलाई बोलाउने र धपाउने शब्द, शारीरिक प्रतिक्रियाबोधक शब्द र उखान गरी छुट्याउन सकिन्छ ।
क) बालशब्द :
रानाका विभिन्न कवितामा ताते, आची, बाबा, पापा, बुबु, पाइपुइ, मिठी, चाचा, नाना, कुचुङ खाया, गुजी आदि शब्दको प्रयोग भएको छ ।
ख) अनुकरणात्मक शब्द :
रानाका विभिन्न कवितामा टलल, खलल, लुगलुग, थुरथुर वा कुरकुर, पिटिक्क, चिटिक्क, फिरिरी, तिरिरी, कुखुरो काँ, खल्र्याङखुट्टी, डमडम, छमछम, ङिच्च आदि अनुकरणात्मक शब्दको प्रयोग भएको छ ।
ग) जनावरलाई बोलाउने र धपाउने शब्द :
रानाका विभिन्न कवितामा कुरकुर, हुरहुर, सुरी आदि जनावरलाई बोलाउने र धपाउने शब्दको प्रयोग भएको छ ।
घ) शारीरिक प्रतिक्रियाबोधक शब्द :
रानाका विभिन्न कवितामा जाडो, गर्मी, पीडा आदि अवस्थामा शरीरमा देखिने प्रतिक्रिया व्यक्त गर्ने शारीरिक प्रतिक्रियाबोधक शब्दको पनि प्रयोग भएको छ । यी उदाहरण हेरौं :
१६. लुगलुग काम्यो बाच्छो
थुरथुर काम्यो पाडो
आच्छु छु छु जाडो
आच्छु छु छु जाडो ।
(राना, २०५४, आच्छु छु छु जाडो, पृ. ५)
१७. आत्थो थो थो तातो
आत्थो थो थो तातो
(राना, २०५४, जाऊँ शीतलपाटीमा, पृ. ३९)
ङ) उखान :
रानाका कवितामा उखानहरूको पनि प्रयोग भएको छ । यी उदाहरण हेरौं :
१८. भनिर’न्छ
कुखुरी काँ
बुझ्यौ कि त
उसको आँ ?
(राना, २०५०, हाम्रो पाले, पृ. १०)
१९. नासो छोई पासो !
(राना, २०५०, कालो बादल सेतो पानी, पृ. २२)
२०. कमिलोलाई मूतको पहिरो ?
(राना, २०५०, गहिरो कुरा, पृ. २३)
२१. पुस गयो फासफुस
(राना, २०५४ आच्छु छु छु जाडो, पृ. ५)
२२. बलियाबाङ्गा बाघलाई
बूढाखाडा माघलाई !
(राना, २०५४, आच्छु छु छु जाडो, पृ. ५)
सांस्कृतिक सापेक्षता :
रानाका कवितामा संस्कृतिको प्रस्तुत पर्याप्त पाइए पनि संस्कृतिको मूल्याङ्कन पाइँदैन तर एक ठाउँमा उनले एउटै खेलको दुई भिन्न भाषिक समुदायमा भिन्नाभिन्नै नाउँ प्रस्तुत गर्दै हरेक कुरालाई हेर्ने संस्कृतिपिच्छे अलग–अलग दृष्टिकोण हुन्छ भन्ने देखाउन खोजेका छन् । यो उदाहरण हेरौं :
२३. ठाउँठाउँको खेलाडीले
आफ्नै नाउँ दियो
कतै भयो – गुल्ली डन्डा
कतै डन्डिबियो !
(राना, २०५०, डन्डिबियो, पृ. १८)
सांस्कृतिक परिवर्तन :
रानाका कवितामा सेल र पुष्टकारीजस्ता नेपाली समाजका परम्परागत खानेकुराहरूका साथै भर्खरै–भर्खरै नेपाली समाजमा लोकप्रिय बन्न पुगेका बिस्कुट, चाउचाउ, चकलेट, चुइँगमजस्ता खानेकुरा र परम्पराभन्दा सुधारिएका खेलसामग्रीहरू भाँडाकुटी, पिपरी, पुतली आदिको चर्चा पनि पाइन्छ । यसले उनका कवितामा सांस्कृतिक परिवर्तनको सङ्केतको पुष्टि गर्दछ । नेपाली संस्कृतिको विगत र वर्तमान मात्र होइन उनले बालबालिकालाई पढेर भोलि असल मान्छे बन्नुपर्ने सन्देशसमेत नजानिँदो गरी दिएका छन् । यो उनका कविताले देखाउन खोजेको भोलिको संस्कृति हो । सांस्कृतिक परिवर्तन देखाउने यो उदाहरण हेरौं :
२४. बिस्कुट ल्याए हाम्महुम्म एकैछिनमा छैन
‘रारा’ ल्याए सपाकसुपुक धेरैबेर हुँदैन
टफी ल्याए हातभरि च्यापच्याप लाग्छ
चुइँगमले कति भनूँ मुख मात्रै थाक्छ
ल्याइदिए भाँडाकुटी टुटीफुटी जाने
पींपीं गर्ने पिपरीले कान मात्रै खाने
रङ्गीचङ्गी पुतलीले रल्ल मलाई पार्छे
(राना, २०५० यसो भन्छिन् पुनिता, पृ. २०)
उपसंहार :
माथि विभिन्न शीर्षकहरूमा बालसाहित्य, संस्कृति र तीबीचको सम्बन्धबारेको सैद्धान्तिक चर्चा पछि बूँद रानाका कवितामा संस्कृतिको प्रयोग कस्तो छ भनेर चर्चा गरियो । उपर्युक्त समग्र अध्ययनबाट बूँद रानाका कवितामा विभिन्न ठाउँमा नेपाली संस्कृतिको प्रयोग भएको छ, यस क्रममा उनले भौतिक र अभौतिक दुवै संस्कृतिलाई कवितामा प्रयोग गरेका छन्, अभौतिक संस्कृतिअन्तर्गत सामाजिक व्यवहार, पुराण र इतिहासका कुरा, बालखेल र बाललोकगीत, लोकविश्वास र भाषिक पक्ष रहेका छन्, भाषामा बालबालिकाका शब्द, अनुकरणात्मक शब्द, जनावरलाई बोलाउने र धपाउने शब्द, शारीरिक प्रतिक्रियाबोधक शब्द र उखान रहेका छन्, उनको संस्कृतिलाई हेर्ने दृष्टिकोण सापेक्षतावादी छ, उनले विगत, वर्तमान र भविष्यको नेपाली संस्कृति समेत प्रस्तुत गरेका छन् र नेपाली संस्कृतिमा आएको परिवर्तनलाई समेत देखाएका छन् भन्ने निष्कर्ष प्राप्त भएको छ ।
स्केच कलाकार कृष्ण मर्सानी
जनमत मासिकको बूँद राना विशेष अंकवाट