गुजुमुज्ज बस्तिमा रुमल्लिँदै
बाँच्ने उपक्रममा रन्थनिएको
एउटा सार्वभौम जनता म ।
बुझ्न सकेको छैन मैले
जीवनको महत्व
बाँच्नुको प्रयोजन !
अज्ञान, अन्जान, निरीह
विना पानीको माछाझैँ
छट्पटाउँदै बाँचिरहेको छु ।
मलाई थाहा छैन
देश कहाँ पुगिरहेको छ – उभो वा उधो ?
देश बाँचिरहेकै छ वा छैन ?
अस्तित्व नै बाँकी रहने हो वा होइन ?
मलाई होस् छैन
बाँच्ने उपक्रममा रन्थनिएको
एउटा सार्वभौम जनता म
अनभिज्ञ छु, कुइराको काग बनिरहेछुु ।
सत्ता र भत्ताको कुकुर झम्टाई
पराईको गिद्दे दृष्टि,
नेतृत्वको लम्पसार प्रवृत्ति
चोक्टा चोक्टामा माटो र पानीको
लिलामी बोलकबोलमा अल्झेको देखिरहेछु ।
र त
क्षत विक्षत बनिरहेछुु,
पानी पानी बगिरहेछुु ।
सर्वसत्ता सम्पन्न एक नागरिक म
देश हाँक्न तम्सने तथाकथित नेताहरुलाई
निर्धक्क देश सुम्पँदै
बाँच्ने परिकल्पना उन्दै
कुम्लो बोकेर समुद्रपार उडिरहेछु
अथवा
काम, माम र कर्तव्यहीन बन्दै
सुस्ताइ रहेछु म ।
आँपको गाछीमुनि
नेताहरुको खाइलाग्दो जीउ हेर्दै
आँप झर्ला र खाउँलाको आसमा
नेताको मुख ताक्दाताक्दै
निरीह प्राणी झैँ
ओँठ तालु सुकाउँदै प्राण धानिरहेछु म ।
देशको सर्वशक्तिमान् भनाउँदो
एउटा नागरिक म
किम्कर्तव्य विमूढ छटपटाउँदै
देश बिदेश भौतारिरहेछु
तैपनि
देशको वर्तमान र भविष्य खोज्न
असमर्थ र निरीह बन्दैछु
एउटा सार्वभौम जनता म ।
मित्र ! भन अब म के गरुँ
चूपचाप हेरिरहू कि
विष्फोटक नै बनूँ ? बिष्फोटक ।