मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’लाई यसवर्षको मदन पुरस्कार प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार र जगदम्बा-श्री प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशि चार/चार लाख रुपैयाँ छ ।
मैनालीको पाँचौँ पुस्तक ‘मुकाम रणमैदान’ नेपाल-अंग्रेज युद्धको इतिहास हो । यसअघि उनका ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ पुस्तक प्रकाशित छन् ।
यादव भाषाशास्त्री हुन् । सिरहाका स्थायी बासिन्दा प्राध्यापक यादवको सम्पादनमा भाषासम्बन्धी विभिन्न पुस्तक प्रकाशित छन् । उनी त्रिवि भाषा विज्ञान केन्द्रीय विभागको प्रमुखसमेत भएका थिए । त्यस्तै, उनले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञका रूपमा समेत काम गरेका छन् ।
यसअघि २०७९ सालको जगदम्बा-श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ‘ऐंठन’ उपन्यासलाई दिइएको थियो । मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बा-श्री २०४५ सालदेखि प्रदान गर्दै आइएको छ ।