सताएको छ छटपटीले
दैनन्दिन क्षणक्षण
विचारलाई विवेकले
विवेकलाई समयले
आफ्नो नियन्त्रणमा लिएर
सिर्जना केही उम्रन नपाएको
कल्पनाले खुम्चनु परेको बेला
छटपटी यो अलि कष्टप्रद छ
समयको ताँतीसँगै हिँडेको यो छटपटी
गर्मीमा लू बनेर
जाडोमा बनेर चिसो सिरेटो
बन्द गर्न खोजिरहेछ मुटुको गति
घाती कसरी भनौं प्रकृतिलाई
कसरी आरोपित गरौं म
समयको चक्रमा घुम्न नजान्दा
चापाचाप दैनिकीभित्र पनि
आशाका किरण देखिँदै
हराउँदै क्षणक्षणमा
लिइरहेछ मेरो परीक्षा
मैले उत्तीर्ण हुनु छ यसमा
मैले देखाउनु छआफूलाई योग्य
साबित गर्नु छ पटकपटक
सायद यसैले हो कि !
छटपटी नै छटपटीले घेरिएर पनि
गर्नुछ मैले स्वभाविक अभिनय
खोलेर दिल हाँस्ने दिनको आशामा
बन्धक राखेर रहरहरू
पेटभरि खान पाउने सपना देखेर
खेप्नु छ मैले थुप्रै भारी खाली पेट
उठाएर जोखिम एकपछि अर्को
भन्नु छ मैले मैलाई
हिम्मत नहार्ने मान्छे हूँ
पालो कुरेर होइन
विहानीले आभा छाड्नु अगावै
खोल्नु छ मैले
प्रत्येक सम्भावनाका ढोका
त्यसैका निम्ति
लाग्नु छ अविचल
जाग्नु छ अबिरल
छटपटी
हो यो छटपटी
त्यसैका लागि
निर्माण गर्न एउटा विशेष शृङ्खला
आफ्नो युगको
आफ्नै हातबाट
यात्रा तय गर्न
उचालेर खुट्टा आफ्नै
आफैंले चुम्न
सगरमाथाको चुचुरो
यो छटपटी
मात्र भोको पेटको छटपटी होइन ।