‘जीवन भनेको पौडी पोखरीझैँ हो, तिमी यसमा हाम फाल्न सक्छौ तर यो कति गहिरो छ पत्तो पाउन सक्दैनौ’ –कथाकार एकदमै प्रभावित रहेको डेनिस रोडमनको अभिव्यक्ति ।
‘जीवन पौडिनुको अर्को नाम हो । जो राम्रोसँग पौडिन सक्छन् । तिनले गहिराइ भेट्न सक्छन् । किनारामा अवतरण हुन सक्छन् । तिनीहरु जीवनमा सफल ठहरिन्छन् । जो पौडिन सक्दैनन् । पौडेर अवतरण हुने क्षमता बनाउँदैनन् । उनीहरु असफल हुने गर्दछन् ।’ यो चाहिँ कथाकारको तर्क । कथामा मात्र अभिव्यक्त होइन । उसका अन्तर्वार्ता सिरिज र मन्तव्यहरुमा प्रकट हुने अभिव्यक्ति हो ।
बुधुने खोलाको निलो दहमा पौडी खेल्न जानुअघि उसलाई आफूले बाल्यकालीन समयमा पौडी खेल्ने गरेका सिमात खोलाका दहहरुको सम्झना भएथ्यो । ती दहहरु पनि कम्ता गहिरा थिएनन् ।
एकदिन बहुत गर्मी थियो । ऊ गोरु चराउन फाँटमा आएका थियो । ऊ त्यहाँ एक्लै खेल्दै थियो । जिउमा ताप बढ्दै गयो । उसलाई पौडी खेल्न मन लाग्यो । पौडी खेल्ने सुरमा लुगा खोलेर दहमा हाम फाल्यो । एकछिन त रमाइलोसँग खेल्दै थियो । तर पानीको धारले बगाउँदै लगेर भूमरी परेको ठाउँमा उसलाई पु¥यायो । चालेर निस्किन खोज्यो । तर सकेन । झन् बल ग¥यो झन् डुबाइमा पर्दै गयो । उसले पानी खान थाल्यो । अब बाँच्न सकिएला भन्ने उसलाई आशा मरिसकेको थियो । ऊ मुख बाहिर निकालेर ‘ह्वाँ …’ गरेर रोयो । यसै क्रममा ठूलो आवाज निस्केछ । अलिक टाढा मकै गोड्दै गरेकी आफूभन्दा अलिक उमेरले दिदी पर्ने व्यक्ति त्यहाँ आइपुगिन् । उसलाई तान्दै खोला बाहिर निकालिन् । यसो हे¥यो, चिनेकै दिदी थिइन् ।
‘धन्यवाद गोपिनी दिदी’ ऊ बोल्यो ।
‘के को धन्यवाद भन्छस् ए लाटा । आज मर्थिस् । होस् पु¥याउनु छैन । दुई थप्पड दिन मन थियो, के गर्नु ?’ उनले हपारिन् । उनी थप्दै थिइन् –‘हेर् जीवनमा यस्ता थुप्रै दहहरु छन्, जसमा मुस्किलले डुब्नबाट बाँचिन्छ । सधैँ होसियारी अपनाइरहनु पर्छ ।’ दिदी आफैँ पनि एउटा निराशाको दहमा फसेकी थिइन् । सानैमा एउटा व्यक्तिसँगको प्रेममा परेकी थिइन् । पछि विवाह भयो । उनीहरुको प्रेम विवाह केही वर्ष टिक्यो । पछि लोग्नेले अर्को विवाह ग¥यो । एक्लो जीवन भोगिरहेकी थिइन् उनी । उनी निर्भीक थिइन् । कामै गरेर पनि आफ्नो जीवन निर्वाह गर्न सक्छु भन्ने आँट भएकी मान्छे थिइन् । यसैले निर्धक्क बाँचिरहेकी थिइन् । नत्र जीवनले लगेर एउटा दहमा खसालेको थियो । सो दहबाट उनी मुस्किलले उम्किएकी थिइन् ।
‘यति ठूलो संसारमा संसारको होइन आफ्नो चिन्ता गर्नुपर्छ’ भन्दै थिइन् उनी ।
‘आ–आफ्नो चिन्ता (चिन्तन ?) सबैले गर्न सकिदिए त भई नै हाल्थ्यो ।’ उसलाई पनि यसो लाग्दै थियो ।
दहबाट उनले निकालेर बचाएका कारण ऊ ती दिदीप्रति निकै कृतज्ञ बनेको थियो ।
आज पौडी खेलेर आएको नीलो दहले उसलाई फेरि एक पटक सानो बेलाको स्मरणतिर धकेल्दै थियो । एकदिन खोला तर्दातर्दै गहिरो भागमा पुग्यो । ऊ अगाडि जाँदा डुब्न थाल्यो । पछाडि फर्किंदा बालुवामा भासिने । पछि डुब्दै गएका कारण पानी खान थाल्यो । डराएर चिच्याएपछि किनारामा रहनुभएका आफ्नो बुबाले बचाएको घटना पनि सम्झिन्छ । जतिबेला बुबाको हातबाट उसले रामधुलाई भेटेको थियो । धुलाइ दिइसकेपछि उसका बुबाले सम्झाउँदै भन्नु भएको थियो – ‘जीवनमा थुप्रै भेलहरुले र भङ्गालाहरुले बगाउन खोज्छन् । त्यसबाट जोगिने प्रयत्नहरु जारी राख्नुपर्छ ।’
निलो दहको सन्दर्भ आएपछि पौडीको प्रसङ्ग हुन्छ नै भन्नेमा तपाईंहरु विना उत्सुकता प्रतीक्षारत हुनुहुन्छ । कथाको पात्र –जो पौडी खेल्न गयो, त्यो पनि कथाकार स्वयम् हो । कथाको पात्र हुनु र कथा लेख्ने पात्र हुनुमा केही फरक हुने थियो तर यहाँ त्यसो छैन ।
आज दिउँसो साथीहरुसँग ‘नीलो दह’मा पौडी खेलेर आएपछि यो दहको बारेमा उसलाई छुट्टै अनुभूति सिर्जना हुन पुग्यो । सम्भवतः कथा निर्माणको प्रक्रिया यहीँबाट सुरु भएको हुनसक्छ ।
बुधुने खोलाको शिर नजिकै रहेको यो दह देख्दा अत्यन्तै चित्ताकर्षक लाग्थ्यो । बाहिरी वातावरणमा अत्यधिक गर्मी भई रहँदा पनि यस दहको छेउछाउ आएपछि सबैले शीतलता महसुुुस गर्दथे । नाम ‘नीलो दह’ रहेछ । त्यसका किस्साहरु चाहिँ उसले पहिल्यै देखि सुन्ने गरेकै हो ।
दहको नीलो रङभित्र अर्कै आकर्षण थियो । जो कोही यो पोखरीको छेउमा आइपुगेपछि यहाँको पानी छुन, चलाइरहन, महसुस गरिरहन इच्छुक रहन्थे । जस्तो आकर्षण प्रेमिका वा पे्रमीको रहन्छ – उस्तै । हरियाली वनभित्रको एउटा कुनामा रहेको सफा र सुन्दर यो दहमा पौडिन जो कोही आतुर हुन्थे । दह नजिक पुगेपछि जो कोही सम्मोहित नभई रहन सक्दैनथ्यो । कसैले यौनिक आकर्षणसँग यस दहलाई दाँजेको पनि उसलाई जानकारी छ ।
कथा लेखक ‘राम्जी अवतार’का नामले सहरभरि परिचित छन् । उनी लेखनमा उल्टापुल्टा कुरा गरेर समय बर्बाद गर्छन् भन्ने एकथरि समीक्षकले चर्चा गर्छन् । अर्काथरि समीक्षकहरु भने अर्को तर्क राख्थे । जीवन भनेकै उल्टापुल्टा विषयहरुको सम्मिलन हो । यसको गतिमयतामा आउने उकाली ओरालीलाई लेखक प्रतिबिम्बित गर्न सफल छन् भन्ने सम्झिन्थे ।
जब उनीहरु त्यहाँ पुगे । त्यो खोलासम्म पुग्न जङ्गल छिचोल्नुपर्ने थियो । जङ्गल छिर्नु अघि टिकट काट्नुपर्ने प्रावधान बनेको रहेछ । टिकट काटेपछि त्यहाँ नीलो दहको कथा भएको ब्रोसर बाँडिँदो रहेछ । पातलो कागजमा लेखिएका थुप्रै शब्दहरुलाई उसले ध्यानपूर्वक हेरी सकेपछि बाटो लाग्नुअघि टिकट काउन्टरमा ऊ फेरी फर्कियो ।
‘यो कथा कति वास्तविक हो ?’ उसले त्यहाँ टिकट काट्ने मानिसलाई सोध्न पुग्यो ।
‘खै हामी त यो टिकटलाई पैसामा बेच्छौँ र त्यो पैसा सम्बन्धित कार्यालयमा बुझाएर कमिसन बुझ्छौँ । यो कथा पनि यस्तै कमिसनको उपज भएको भए वास्तविक नहोला नत्र त वास्तविक नै हुनुपर्छ ।’
यो अस्पष्ट उत्तरले उसलाई थप कथा जान्ने चाहना गराएको थियो ।
ऊ खुरुखुरु ब्रोसर पढ्न थाल्यो ।
कथानक यस्तो थियो ।
‘यो नीलो दहको उत्पत्ति कथा त कसैले जानेको छैन । जो जसले कथा सुने तिनले देखेदेखि नै यो दह उस्तै छ । भन्नचाहिँ यस दहमा एउटा राक्षस बस्छ । र त्यसका सन्तान पनि बस्छन् भनी सबै सुनाउँछन् । अनि यस राक्षसको परिवारको नामचाहिँ ‘संरक्षक गण’ । सम्भव छ – नामले नै तपाईंहरु अचम्मित हुनुहुन्छ । हुन चाहिँ उनीहरु – राक्षसका समूह अनि नामचाहिँ ‘संरक्षक गण’ । सबैले ‘संरक्षक गण’ नै भनी चिन्ने गरेका छन् ।
दह एकापट्टी छेउमा भीरसँग टाँसिएको छ । त्यो भिरपट्टी दहभित्र सुरुङ छ । सुरुङमा राक्षस र उसको सन्तान बस्दछन् । उनीहरु सिकार खेल्न बाहिर निस्किँदैनन् । आजसम्म न कसैले सो राक्षस र उसका सन्तानलाई प्रत्यक्ष देखेको छ । न कुनै प्रमाण फेला परेको छ । तर भनिन्छ त्यही पोखरीमा रहेका माछा, भ्यागुता र सर्पले उनीहरुको आहारा मेटिन्छ । तर त्यो दहमा एउटा रेखा छ । त्यो भन्दा भित्र गएमा राक्षसहरु मानिसलाई समेत सिकार गर्दछन् । मानिस नै भएपनि त्यो रेखा नाघेपछि कहिल्यै फर्किँदैनन् । जो हराउँछन् तिनका हाडखोर समेत भेटिँदैनन् । थोरै सङ्ख्यामा मानिस हराएको चाहिँ प्रमाणहरु छन् । आजसम्म त्यहाँ हराएकाहरु भेटिएकै छैनन् ।’
त्यहाँ पौडिनु साहसिक सम्झिने गरिन्छ । यस्तो डरलाग्दो कथा भएको नीलो दहमा पौडी नै खेल्न हिँडेपछि केही न केही मनमा असहजताचाहिँ हुँदो नै रहेछ । आज उनीहरु पनि हिँडेका छन् । तीन ओटा बाइकमा छ जना मानिस पौडी खेल्न दहतिर लागिरहेका छन् । उसको मन पनि गह्रुँङ्गो भएको छ । सबैलाई थाहा छ यसको किनारामा पौडिनुपर्छ । सीमा रेखा नाघ्नु हुँदैन । सीमा रेखा नाघ्दा राक्षसको आहारा बन्नुपर्छ ।
उनीहरुको पौडी खेलाइ पनि किनारातिरै केन्द्रित थियो । तर अन्त नुहाउनु र यहाँ नुहाउनुको छुट्टै अन्तर रहेको थियो । ऊ पनि पौडीमै व्यस्त थियो । अरु साथीहरु पनि पौडी खेलिरहेका थिए । एक्कासी उसलाई कसैले केही सोधेजस्तो लाग्यो । नजिकै हे¥यो – साथीहरु कोही नभएको महसुस भयो । ऊ पछाडि फर्कियो । यहाँ त सिङ्गै र अजङको राक्षस उभिएको थियो ।
‘तिमी को हौ ?’ उसले प्रश्न ग¥यो ।
‘म तिमीले सम्झेको राक्षस हुँ’ उत्तर आयो ।
‘अनि मैले त सीमा नाघेको छैन ।’ उसले डराउँदै बतायो ।
उसलाई पानीले भिजेको शरीर पनि धेरै तातो लाग्न थाल्यो । अब उसले आफू भिजेको पानीले हो वा पसिनाले भन्ने छुट्याउन नसक्ने अनुभव गर्दै थियो ।
‘ठीकै छ त, मैले पनि तिमीलाई खान्छु भनेको छैन । जबसम्म तिमी आफ्नो सीमामा रहन्छौ तबसम्म म त संरक्षक हुँ । जब तिमी सीमा बाहिरिन्छौ अनि म राक्षस हुँ ।’ उताबाट उत्तर आयो ।
‘अर्को कुरा सुन ।’ थप सवाल जोडियो ।
‘हजुर !’ ऊ उत्सुक बन्यो ।
‘राक्षस, मानिस र देवताबीच के फरक छ ?’ उताको प्रश्न रह्यो ।
‘ …खै !’ ऊ पन्छिन खोज्यो । यति खेरसम्ममा उसमा भएको डर भने बिस्तारै हराउँदै गइरहेको थियो ।
‘बुझेको त भन । ’ उताबाट थप रायको अपेक्षा भयोे ।
‘जो सही र आदर्श छन्, ती भगवान हुन् । जो मध्यम छन् ती मानिस हुन् र जो निकृष्ट छन् ती राक्षस हुन् ।’ यसरी उसले उत्तर प्रस्तुत ग¥यो ।
अनि उताकोे तर्क रह्यो –‘कथामा वर्णित राक्षसहरु साँच्चै राक्षस हुन् त ? तिनलाई कसरी राक्षस नामकरण गरियो ? मानव, दानव अनि राक्षस कसलाई, कसरी र को भन्ने ? यो कुराको बहस जरुरी छ । रुपमा राक्षस भनिनेहरु सारमा आफ्नो श्रममा बाँच्छन् । र देवता भन्नेहरु अरुको श्रमका भरमा जिउने गर्छन् । अरुलाई दलाउने प्रवृत्तिका हुन्छन् । मानिस त युगसँग सङ्घर्ष गरिरहेको प्रजाति हो । उसको अहिल्यै परिभाषा बनाइहाल्नु जरुरी छैन ।’
यस्ता तर्कहरु भइरहेकै बीचमा ऊ बिउँझिएझैँ भयो । अगाडिका साथीहरु पौडिरहेका नै थिए । अघि देखेझैँ भएको आकृति अचानक गायब भयो । उसले साथीहरुसँग केही देख्यौ वा देखेनौ भनी प्रश्न ग¥यो । तर केही नदेखेको उत्तर पायो ।
साथीहरुलाई कुरा सुनायो । उनीहरुले हाँसेर उडाए ।
अनि राक्षसले सुनाएको ‘देवता र राक्षस’को तर्कले भने उसलाई गहिरो संवेदनामा पु¥यायो ।
‘यो के थियो ? भ्रम वा वास्तविकता ? उसले हेल्लुसिनेसन (मनको भ्रम) बारे सुनेको थियो । जसमा मनले सम्झेको पात्र नै आँखाले देखेको महसुस हुन्छ । सम्भवतः यही भएको थियो । हेल्लुसिनेसनको प्रभाव हुन सक्छ भन्नेमा उसले मन शान्त बनायो ।
नीलो दहबाट नुहाएर फर्केपछि किस्साहरु बन्न सुरु गर्दथे । फलानोले त नीलो दह नुहाएर आएको …….कस्तो अनुभव रह्यो ? भनी सोध्न आउने पनि भेटिन्थे ।
आज बुधुनेको नीलो दहमा पौडी खेलेर आएपछि उसलाई जीवनका थुप्रै नीला दहहरुमा निर्भिक रुपमा पौडिने आँट आएको छ । यस्ता दहहरु जीवनका अनिवार्य शर्त हुन् भन्ने अनुभूति भएको छ । पौडिनुभन्दा महत्वपूर्ण पक्ष कीनारासम्मको अवतरण हो भन्ने गहिरो महसुस भएको छ । सीमाहरु जीवनका सबैभन्दा महत्वपूर्ण सुरक्षाकवच हो भन्ने आत्मानुभूति भएको छ ।
उसलाई गहिरोसँग अन्तर्बोध हुँदै थियो – ‘जीवन यस्तै अनन्त नीला दहका कथाहरुकै सिलसिला हो । मानिसले सीमा नाघ्न थालेपछि समस्याको सिर्जना हुन्छ । त्यसले अनिष्टताको सङ्केत गर्दछ । सीमाहरु सबैका अनिवार्य शर्तहरु हुन् । जीवनको सीमाले मानिसलाई कुन दिशामा अघि बढाउने भन्ने तय गर्दछ ।’
राक्षसको परिवारलाई ‘संरक्षण दल’ भनिने कुराले भने उसको दिमागमा एउटा रमाइलो झड्का छाडेको छ । विभिन्न नाममा खुलेका राजनैतिक दल र तिनका स्वभाव अनि शैलीहरुलाई जब विचरण गरिन्छ । ती पनि कतै राक्षसी अनुहार महसुस हुने । कतै सेवकको अनुहारझैँ लाग्ने । कतै आफन्ती र कतै दुस्मनझैँ लाग्ने । त्यसो हुँदै गर्दा निलो दहको कथा पनि कता–कता देशकै कथाझैँ पो लाग्ने । कथाकारको दिमागमा यस्तै तरङ्गहरु दौडिरहेथे ।