हत्केलामा च्यापेर
एक मुठ्ठी सपना
उभिएको छु मृत्युको अघिल्तिर
जीवनको के भर !
खसेजस्तै आकाशबाट उल्कापिण्ड
खस्नेछन् दुवै आँखाको सौन्दर्य
र, मारिनेछु म
जसरी मारिन्छन् मानिसहरू
दुःखलाई साक्षी राखेर चलेको
यही मुटु खोज्दै
कुनै दिन घुस्नेछ घृणाको धारिलो चक्कु
मेरो छातीको बायाँ भाग थर्थराउँदै च्यातिनेछ
र, बिथोलिनेछन् प्रेमका केही सुकिला अनुहार
पीडाका घाउमा डुबेर
जीवनको मूल्य सकिनेछ
र, रित्तिनेछन् मेरो भागमा शेष रहेका खुशी
कुनै गोलीले रोज्नेछ मेरो कञ्चटको बाटो
मस्तिष्कमा अचानक बन्द हुनेछ विचारको यात्रा
त्यो कल्पनाको गहिराइ
रोकिनेछ सम्झनाको आँसु
बन्द हुनेछन् सपना देख्ने यी दुई आखा
र, एकसाथ रोकिनेछ
सुख र दुखको यो अविराम नृत्य
कुनै हत्याराको आतङ्कित अनुहारजस्तो
देखिनेछ आफ्नै स्वाभिमान
दिनदहाडै बन्दुक ताकेर उभिनेछ
आफैँले गरेको प्रेम
मध्यरातमा छुरा देखाएर भाग्छ त्यो अटुट विश्वास
लाग्छ— कविता लेखेकै कारण मारिनेछु म
प्रेम गरेकै कारण रोकिनेछ मुटुको चाल
सोच्नु काफी छ
यस्तै केही सोच्दासोच्दै एक दिन मारिनेछु म
जसरी मारिन्छन् मानिसहरू ।
००