राज्य व्यवस्थाको सुरुआत भइसकेपछि किल्ला र दरबारहरु निर्माण गर्ने परिपाटीको पनि उद्भव भएको मानिन्छ । बलियो किल्ला र दरबार निर्माण गर्दा मात्र त्यो राज्य अथवा राजा सुरक्षित हुनसक्छ भन्ने भावनाबाटै किल्ला, गढ तथा दुर्गहरुको निर्माण गर्ने परिपाटीको सुरुआत भएको हो ।
किल्लासँग सम्बन्धित गढ र दुर्ग शब्दको एउटै अभिप्राय हुन्छ, जो किल्लाबन्दी शहर वा दरबारको रुपमा व्यवहृत भएको देखापर्छ । ‘गढ’ शब्दको अर्थमा वामन शिवराम आप्टेद्वारा सम्पादित संस्कृत हिन्दीकोशमा खाई, रुकावट, पर्दा भनिएको पाइन्छ । शब्दकल्प द्रुममा ‘कोट्ट’ शब्दलाई कुट्टति विप्रक्षोऽस्मिन् अत्र वा कुट्ट+अधिकरणे घञ् (किल्ला गढ इत्यादि) व्याख्या गरेको पाइन्छ । अमरकोशमा किल्लाको रुपमा दण्डव्यूह, चक्रव्यूह आदि नाम पनि उल्लेख गरिएका छन् ।
यसरी किल्लाको महत्वको बारेमा जानकारी मिल्न आउँछ । बृहद् हिन्दी कोशमा किल्लाको व्याख्या गर्दा ‘त्यो लम्वा चौडा भवन जसको भित्रबाट रक्षात्मक युद्ध गरिन्छ’ भन्दै यसलाई जनाउने शब्दमा गढ, दुर्गको उल्लेख भएको छ । मानसारमा किल्लालाई शिविर, वाहिनी मुख, स्थानीय, द्रोङ्ग, संविद्ध, कोलक, निगम र स्कन्धावार शब्दबाट उल्लेख गरिएको छ । यस प्रकार किल्लालाई जनाउने शब्दहरुमा समुच्च रुपमा भन्दा दुर्ग, कोट्ट, गढी प्रयुक्त भएका छन् । गढीकै समकक्षमा ‘आड’ हरुको निर्माण आधुनिक कालमा आएर मात्र देखा पर्न थालेको पाइन्छ । खास गरेर आडहरु युद्धको मुठभेडकै क्रममा मात्र निर्माण गरिन्थे । अस्थाई आडहरु खाल्डो खनेर अथवा ढिस्को उठाएर बनाइन्थे भने स्थाई आडहरु ढुङ्गाद्वारा गढीकै रुपमा निर्माण गरिन्थे ।
तिव्बती गुम्बा (जोङ्ग) हरु पनि सुरक्षात्मक किल्लाको रुपमा निर्माण गरिन्थे । किल्ला वास्तुकलाको इतिहासलाई प्रारम्भिक राज्य व्यवस्थाको सुरुआतसँग गाँस्न सकिन्छ । यसो हुँदा एक आपसमा सामूहिक रुपले मिलेर बस्नु तथा आफ्नो वासस्थान पनि बढी सुरक्षित बनाउनु पर्छ भन्ने भावना सुस्त सुस्त जागृत भएर आयो ।
समयको क्रमसँगै सुरक्षात्मक किल्लाहरु आ–आफ्नै प्रकारले आ–आफ्नै परम्परा अनुरुप निर्माण गर्न पनि थालियो । संसारका प्राचीन सभ्यताहरुमा किल्लाबन्दी गरी शहर (नगर) हरु बसाउने परम्परा थियो । संसारका महत्वपूर्ण सभ्यताहरु जस्तो नाइल उपत्यकाको सभ्यता, ग्रीकको सभ्यता र रोमको सभ्यतामा जुन विशालकाय भवनले कलाको संरचनालाई देखाउँछन्, त्यसमा सुरक्षात्मक दृष्टिकोण पनि अँगालिएको हुन्थ्यो भन्ने कुरा उत्खनन्बाट प्राप्त सामग्रीबाट थाहा पाउन त्यसबेलाको विकसित जीवनको झलकबारे थाहा हुन्छ । शहर कब्जा गर्नू, लुट गर्नु, मन्दिर र भवन तोडफोड गर्नु एक प्रकारको त्यसबेला राज्यहरुको विशेषता थियो । इजिप्टको सभ्यताताका त्यसबेलाको राजधानी मेम्फी सूर्यको प्रकाशले सुकेका ईटा र काठद्वारा निर्माण गरिएको हुनाले पछिका समयसम्म यसको स्वरुप रहन नसकेको कुरामा विद्वानहरु सहमति प्रकट गर्दछन् । सिन्धु सभ्यतामा नगर योजनाबद्ध रुपमा बनाइएको र बीचबीचमा ठूल–ठूला सडकहरु तथा ढल निकासको उचित प्रबन्ध मिलाइएको हुन्थ्यो । हरप्पाभन्दा अगाडिको समयदेखि नै यहाँ सुरक्षात्मक दृष्टिकोण अपनाइएको देखिन्छ ।
पाँच फिट चाक्ला रहेका छन् । विभिन्न प्रमाणहरुले त्यसबेलाको सुरक्षात्मक पर्खालहरु तथा किल्लाको बनावटलाई इङ्गित गरेका छन् । ऋग्वेदमा असुरलाई असभ्य र कालो वर्णको भनिएको छ, जसलाई लखेट्न गोरा वर्णका आर्यहरुले युद्ध चलाएका थिए । आर्यहरुका विरोधी सम्भर सुरक्षित किल्ला बनाइ आनन्दसँग बसेकोले इन्द्रले लडाइँ लडेको प्रसङ्ग पनि ऋग्वेदमा आउँछ । प्रत्येक पानी पर्ने दिन सम्भरको लागि किल्ला समान हुन्थ्यो र त्यसलाई इन्द्रले तहस नहस गर्ने गर्दथे । त्यसबेला किल्ला सुरक्षाको दृष्टिले महत्वपूर्ण सावित थियो भन्ने इन्द्रको सम्भरसँगको युद्धबाट झल्किन्छ । वैदिककालीन राजनीतिक अवस्थाको वारेमा यस्ता युद्ध र किल्लाको तहसनहस गर्ने परिपाटीले धेरै कुराहरु बताएका छन् ।
सम्भवत: सिन्धु सभ्यताको उत्खनन्मा प्राप्त किल्लाबन्दी अनुरुप निर्माण गरिएका शहरहरु ऋग्वैदिक आर्य र आर्यपूर्वका दास र दस्युबीच भएको लामो युद्धद्वारा तहसनहस गरिए होलान् । ऋग्वेदमा ढुङ्गाका पुरहरुलाई राजगृहको जरासन्धको बैठकको स्वरुपसँग कसैले समानता राखेका छन् । नकुँदेका ढुङ्गाहरुले बनाइएको राजगृहको किल्लाको अवशेषले कुनै न कुनै रुपमा वैदिककालीन समयको विवरणसँग मेल खाएको देखिन्छ । रामायणकालमा आउँदा राज्यहरुको अझै उन्नति भएको हुँदा त्यसबेला राज्यको सुरक्षाको लागि बनाइएका विभिन्न किल्लाहरुको उल्लेख पाइन थाल्छन् ।
शहरलाई सुरक्षा प्रदान गर्न शहरको चारैतर्फ गहिरा खाडलहरु खनिएका हुन्थे र त्यसमा पानी जम्मा गरी डरलाग्दा जलचर जनावरहरु राखिने गरिन्थ्यो, साथै किल्लाहरुका चारैतिर अग्ला पर्खालहरु र त्यसमाथि ठूला ठूला ढुङ्गा तथा काठका मुढाहरु राखिने पनि गरिन्थ्यो । पर्खालको बीचबीचमा ठूला–ठूला बलिया द्वारहरु लगाइन्थे र यी द्वारहरुको माथि धनुर्धारी सेना रक्षक बस्ने गर्दथे । पर्खालको चारैतीर पहरेदार बस्ने र ठाउँ ठाउँमा रक्षक बुर्जाहरु बनाइएका थिए, जहाँ हतियारले सु–सज्जित सेनाले पहरा दिने गर्दथे ।
वाल्मीकिले लङ्का किल्लालाई राक्षसहरुले सुरक्षा प्रदान गरेको कुराको उल्लेख गरेका छन् । लङ्काको किल्लाबन्दी विशाल र त्यहाँ राक्षसहरु बसोवास गर्छन् । लङ्कामा चार बलिया प्रवेशद्वार थिए । प्रवेशद्वारमा ठूलो ढुङ्गा र त्यसमा फलामका ‘शतग्नीस’ सहित राक्षसहरु बसोबास गरेका छन् । द्वारमा ४ वटा फलामका खिच्न हुने पुल बनेका छन् । त्यहाँ भएका पुलहरुमध्ये एउटा स्थिर पुल थियो, जो सुनका स्तम्भ सिँढीहरुले सजिएको थियो । लङ्का शहर समुद्रको निकटमै स्थित थियो । राक्षसका घोडचढी र रथ सेनाहरु समेतले चारै ढोकाको रक्षा गरेका थिए । पैदल सेना र रथ सेनाले लङ्काको रक्षा गर्ने गर्दथे । रामायणमा किल्लाको विवरण दिँदा वाल्मीकिले ‘विलास’ शब्दको पनि उल्लेख गरेका छन् । किष्किन्धा काण्डमा दुई ठाउँमा विलासको उल्लेख भएको छ । त्यसबेलाको व्यवस्थित राज्य व्यवस्थाको झलक पनि रामायणका विवरणबाट पाउन सकिन्छ । महाभारतमा आउँदा राज्यहरुको पूर्ण विकसित स्वरुप बनिसकेको हुनाले किल्ला निर्माण र यसको आवश्यकीय व्यवस्थाप्रति पनि प्रशस्त ध्यान दिएको देखिन्छ ।
राजनीतिक व्यवस्थाको सजीव विवरण महाभारतमा पाइन्छ । खास गरेर महाभारतमा १. धन्वदुर्ग (चारैतिर बालुवाले घेरिएको), २. महीदुर्ग (समतल जमिन माथि बनाइएको), ३. गिरिदुर्ग (पहाडको माथि निर्मित जसको चारैतिर पहाडले नै घेरिएको हुन्छ), ४. मनुष्यदुर्ग (फौजी किल्ला), ५. जलदुर्ग (चारैतिर पानीले घेरिएको), ६. वनदुर्ग (चारैतिर वन जङ्गलले घेरिएको) किल्लाहरुको उल्लेख पाइन्छ । महाभारतमा ६ प्रकारका किल्ला निर्माण गर्ने परम्पराले त्यस बेलाको किल्ला वास्तुकलाको निकै महत्व बढेको स्पष्ट छ । महाभारतको वर्णन अनुसार जुन नगरमा कुनै न कुनै दुर्ग बनाइएका छन्, जहाँ अन्न र अस्त्र शस्त्रको अधिकता छ, जसको चारैतिर मजबुत पर्खाल र गहिरो एवम् चौडा खाई बनेको छ, जहाँ हात्ती, घोडा र रथको संख्या बढी हुन्छ, जहाँ विद्वान र कारिगर बसेका छन्, जुन नगरमा आवश्यक वस्तुहरुको संग्रहले भण्डार भरिएको छ, जहाँ धार्मिक र कार्यकुशल मनुष्य बसेका छन्, जहाँ न्याय विचार एवम् न्यायालय प्रसिद्ध छ जहाँ कोही कसैको भय छैन, जहाँ सङ्गीत, वाद्ययन्त्रको ध्वनि फैलिन्छ, जहाँ प्रत्येक घर सुन्दर र व्याप्त रहेको छ, जहाँ शूरवीर धनाढ्य व्यक्ति निवास गर्दछन्, जहाँ वेदमन्त्रको ध्वनि गुञ्जिरहन्छ त्यस्तो नगरलाई वशमा गरेका मन्त्री र सेनाको साथ राजा निवास गर्नु पर्दछ । महाभारतको आदि पर्वमा हस्तिनापुर शहरको बारेमा उल्लेख गरिएको छ — यो शहरको किल्लाको चारैतिरको रक्षात्मक पर्खाल पनि गगनचुम्वी थियो, जहाँ धेरै द्वार, वुर्जा र ढोकाहरु बनेका थिए । महाभारतको सन्दर्भमा ज्यउपष्ल भन्दछन् — “यद्यपि शहरका सुरक्षात्मक पर्खालहरुको उल्लेख अगाडिदेखि नै पाइन्छ तापनि लडाइँसम्बन्धी कुरालाई ध्यानमा राखेर बनाइएका बलिया ढुङ्गाका पर्खालहरु र बुर्जाहरुको उल्लेख माहाकाव्यकालमा आउँदा मात्र पाउन सकिन्छ ।” बौद्ध ग्रन्थ महाउमग्ग जातकअनुसार मिथिला शहरलाई अझ सुरक्षा प्रदान गर्न तीनवटा खाईहरु बनेका थिए, यिनमा पानी रहेको खाई, हिलो रहेको खाई र सुक्खा खाई थिए ।
एकपन्न जातकमा वैशाली शहर तीन तहको पर्खालले घेरिएको उल्लेख गरिएको छ, यस्ता पर्खालहरु एकबाट अर्को केही दूरीको फरकमा निर्माण गरिएका हुन्थे ।
मिथिला शहरको वर्णनको प्रसङ्गमा चारैतिर पर्खाल र बाटाहरु बनेको उल्लेख पाइन्छ ।
बौद्ध चित्र र मूर्तिहरुबाट के भन्न सकिन्छ भने किल्लाको निर्माणमा काठ नै बढी जसो प्रयोग गरिन्थ्यो । एउटा जातकमा फलामको नगर भनिएकोले त्यो सम्भवत: प्राकारको महत्वपूर्ण भाग अथवा अयसम् पर्खालको संरक्षणमा प्रयोग गरिएको हुनुपर्छ । बौद्धकाल र त्यसपछि रचना गरिएका विभिन्न पालि ग्रन्थहरुमा पनि किल्लाको महत्वको बारेमा उल्लेख गरिएको पाइन्छ । कौटिल्यले त्यसबेलाको राजनीतिक परिवेशको बारेमा बताउँदै किल्लालाई राज्यको महत्त्वपूर्ण अङ्गका रुपमा उल्लेख गरेका छन् । कौटिल्यको अर्थशास्त्रको प्रकरण १९ अध्याय ३ मा दुर्गको निर्माण सम्बन्धी विस्तृत चर्चा गरिएको छ । यसको साथ साथै कौटिल्यले मनुष्य दुर्गभन्दा पनि प्राकृतिक दुर्गहरुलाई बढी महत्व दिएका छन् । कौटिल्यको कथनअनुसार यस्ता प्राकृतिक रुपले सुरक्षित ठाउँमा नगर बसाउनु पर्दछ । उनको अनुसार नगरको चारैतिर चार हात जतिको फरकमा तीनवटा खाइहरु क्रमश: १४, १२ र १० दण्ड अर्थात् ५६, ४८ र ४० हातको चौडाइ हुनुपर्छ भनिएको छ । खाईबाट पानी बाहिर निस्कने मार्ग हुनु पनि अनिवार्य छ । खाई खन्दा निस्केको माटोले चारैतिर प्राकार (पर्खाल) बनाउनु पर्छ । यो पर्खाल ६ दण्ड (२४ हात) उचो हुनुपर्दछ । यिनमा (१) उद्र्धचय, (२) पञ्चपृष्ठ र (३) कुम्भ कुक्षिक (अर्थात् माथि पातलो भएको तल चाक्लो रहेको र बीचमा कुम्भकार) भएको पर्दछन् । यो पर्खाल १२ हातदेखि २४ हातसम्मको उचाइ हुनुपर्दछ । प्राकार ईटा र पत्थरबाट निर्माण गर्नुपर्छ तर काठको प्रकार भने बनाउनु हुँदैन । प्राकारको अगाडि बनाइएको अट्टालिकामा जाने सिँढी पनि बनाउनु पर्छ र अट्टालिका एउटाबाट अर्को ३० दण्ड (१२० हात) को दूरीमा बनाउनु पर्छ । दुई अट्टालीकाको बीचमा बनाएको घरलाई ‘प्रतोली’ भनिएको छ र यो चौडाइभन्दा डेढ गुना लम्वाईको हुनुपर्दछ ।
अट्टालीका र प्रतोली बीचमा ‘इन्द्रकोष’ नामक एक विशिष्ट स्थान बनाउनु पर्दछ, यसभित्र सजिलै ३ जना धनुर्धारी बसेर वाण प्रहार गर्न एउटा छिद्र बनाउनु पर्दछ, जसबाट भित्रबाट बाहिर देखापरोस् तर बाहिरबाट कसैले देख्न नसकोस् । प्राकारको एक दण्ड वा दुई दण्ड (४ हात वा ८ हात) को दूरीमा ‘चार्या’ अर्थात् प्राकार माथि चढ्ने र ओर्लने स्थान बनाउनु पर्छ । बाहिरबाट छोडिएको वाणबाट सुरक्षित रहनको लागि लुक्ने आडलाई प्राधावितीका भनिन्छ ।
प्राकारदेखि बाहिर शत्रुहरुलाई बाधा पार्न त्रिशूल, किला, सर्पको काँडा र फलामको जाल बिछ्याइ दिनुपर्छ । प्रकारको दुबै भागमा बनाइएको मण्डपमाथि ६ खम्वा खडा गरेपछि मात्र द्वारको निर्माण गर्नुपर्दछ । किल्लाको भवनको बुर्जा दुई हात लम्बाई भएको हुनुपर्छ । ढोका यति ठूलो हुनुपर्छ कि चार हात्तीहरु एकै साथ प्रवेश गर्न सकून । यसरी कौटिल्यको अर्थशास्त्रले भरपूर मात्रामा किल्ला निर्माणको सजीव चित्र प्रस्तुत गरेको छ । मनुस्मृतिमा किल्लाको प्रकार १. धनुदुर्ग (चारैतिर मरुभूमि रहेको), २. महीदुर्ग (समतल माटो रहेको), ३. जलदुर्ग (चारैतिर पानीले घेरिएको), ४. वृक्षदुर्ग (चारैतिर वृक्षहरुले घेरेको), ५. नृदुर्ग (मनुष्यको हातबाट निर्मित भएको) र ६. गिरिदुर्ग (पहाडी उच्च भागमा स्थापना भएको) दिइएको छ ।
मनुस्मृतिको अनुसार यी ६ प्रकारका दुर्गहरुमध्ये प्रथम तीनमा क्रमश: मृग, मुसा, गोही तथा द्वितीय तीनमा वानर, मनुष्य र पशुपंक्षी तथा देवगण वसोवास गर्दछन् । दुर्गमा रहेको एक धनुर्धरले सय वीरसँग सामना गर्ने समर्थ हुन आउँछ भने दुर्गको एक सय सेनाले दश हजार सेनासँग युद्ध गर्न सक्छन् । मनुले राज्य व्यवस्थाको महत्वपूर्ण अङ्ग किल्लालाई निकै जोड दिई यसको महत्ताको बारेमा प्रशस्त प्रकाश पारेका छन् । याज्ञवल्क्य स्मृतिमा उल्लेख गरिएका किल्लाहरु— १. धन्वदुर्ग (जल रहित भएको किल्ला), २. महीदुर्ग (पत्थर र इँटाबाट बनाइएको), ३. जलदुर्ग (चारैतिर पानीले घेरीएको), ४. वृक्षदुर्ग (जङ्गलले युक्त), ५. नृदुर्ग (चतुरङ्गी सेना भएको) र ६. गिरिदुर्ग (पर्वतहरुले घेरिएको) छन् । पुराणकालमा आउँदा पनि किल्ला वास्तुको बारेमा उल्लेख गरिएको पाइन्छ । अग्निपुराणमा १. धनदुर्ग, २. महीदुर्ग, ३. नरदुर्ग, ४. वाक्षदुर्ग, ५. अम्वदुर्ग र ६. गिरिदुर्गको उल्लेख गरिएको छ । मत्स्यपुराणमा किल्लासम्बन्धी धेरै कुराहरुको उल्लेख गरिएको पाइन्छ । मत्स्यपुराणमा किल्लाहरुको विवरणको साथै निर्माणको बारेमा उल्लेख भएको पाइन्छ । किल्लाको बीचमा भवन बनाउनु पर्छ, यहाँ हतियारहरु राख्नु पर्दछ । भित्रबाट चारैतिर प्रवेश गर्न सकिने अरु बाटो पनि हुनुपर्छ ।
राजाको दरबार गोलाकार, चौकोर र बिषमकोणको वनाउनुपर्छ । यसको साथै मत्स्यपुराणमा किल्लाको योजनाको बारेमा प्रशस्त उल्लेख गरिएको छ । दरबारको दक्षिणतर्फको भागमा ढुकुटी राखिनु पर्छ । हात्ती राख्ने तबेलाको ढोका पूर्व वा उत्तर फर्किएको हुनुपर्छ । दक्षिण–पूर्व दिशामा भान्सा घर र अरु घरहरु पनि हुनुपर्छ । राजाको बैठकदेखि देव्रे राजपुरोहित, मन्त्री, वैदिक ज्ञाता, विद्यार्थी, भौतिक शास्त्री, गोठ र धनसारहरु हुनुपर्दछ ।
उत्तर वा दक्षिण फर्केको तबेलाको नजिकै कुखुरा, बाँदर, बाख्रा र गाईको गोठ हुनुपर्छ । किल्लाभित्र रोगहरु सर्न सक्ने भएकाले ब्राह्मण र कविराजहरु त्यहाँ बस्नु पनि जरुरी छ । किल्लाभित्र धनु, गदा, भाला, काँण, खड्ग, ढुङ्गाका टुक्राहरु, त्रिशुलहरु र लड्ने बञ्चरो किल्लाभित्र तयारीको स्थितिमा राख्नुपर्ने कुराको पनि उल्लेख गरिएको छ । त्यसबेला किल्लाको सुरक्षात्मक नीतिलाई अझ सशक्त रुपमा पालना गरिन्थ्यो । देवीपुराण अनुसार जल र गिरि दुर्ग जनसंख्या अधिक रहेको क्षेत्रमा निकै महत्त्व रहेको हुन्छ भने जनसंख्या कम रहेको क्षेत्रको लागि धन्व दुर्ग नै उत्तम हुन्छ ।
देवीपुराणमा किल्लाको चारैतिर चारवटा प्रवेश द्वारहरुमा पुल पनि हुने गर्थे र खाईलाई पुलहरुले जोडथे भनिएको छ । राजा भोजद्वारा रचित ‘युक्तिकल्पतरु’ मा किल्लालाई मुख्य २ भागमा विभाजित गरिएको छ रे— कृत्रिम र अकृत्रिम । अकृत्रिम त्यस्ता किल्ला थिए जहाँ भरपूर मात्रामा प्राकृतिक प्रतिरक्षाको प्रबन्ध गरिएको हुन्छ । कृत्रिम किल्लाको चारैतिरबाट प्रतिरक्षाको प्रबन्ध मिलाइएको हुन्थ्यो । मानसारमा शिविर, बाहिनी मुख, स्थानीय–द्रोङ्ग, संबिध, वर्धक, कोटक, निगम र स्कन्धवार पनि किल्लाहरु भनिएको छ ।
शुक्रनीतिमा पनि किल्लासम्बन्धी धेरै कुराहरुको उल्लेख गरिएको छ । शुक्रनीतिअनुसार परिखाकिल्ला चारैतिर खाई (परिखा) ले घेरिएको हुन्छ भने परिघकिल्ला चारैतिरबाट माटो, ढुङ्गा, ईंटाका पर्खालले घेरिएको हुन्छ । चारैतिरबाट सुक्खा जमिनले घेरिएकोलाई धन्वदुर्ग भनिएको छ भने जलदुर्ग पानीले घेरिएको हुन्थ्यो । यस्तै कालीदासले पनि राजधानीको रक्षा एउटा सुदृढ पर्खालद्वारा हुने गर्दथ्यो भन्ने कुरा उल्लेख गरेका छन् । किल्लाको विशाल सिंहद्वारलाई भित्रबाट आग्लो दिई बन्द गरिन्थ्यो । धर्मसूत्रमा पनि किल्लाको उल्लेख गरिएको छ । यिनमा धन्वदुर्ग, नृदुर्ग, महीदुर्ग, वारीदुर्ग, वृक्षदुर्ग र गिरिदुर्ग थिए । जायसीको ग्रन्थावलीमा पनि किल्ला सम्बन्धी कुराहरु यस्तै वर्णन क्रममा आएका देखिन्छन् । सिंहल गढमा खेल खेल्ने ठाउँ, बगैचा तथा द्वारमा घोडाहरु बाँधिएका हुन्थे । विभिन्न साहित्यिक ग्रन्थहरुले किल्लाको महत्व अनि त्यसको औचित्यबारे प्रकाश पारेका छन् । सुरक्षाको समुचित प्रबन्धले गर्दा किल्ला निर्माणले राजनीतिक र प्रशासनिक सुरक्षालाई अझ महत्व दिन सकेको हुनाले नै यसको महत्त्व पनि उच्च रहेको पाइन्छ । भारतमा गरिएका प्राचीन शहरको उत्खनन् कार्यबाट यी शहरमा सुरक्षात्मक नीतिलाई प्रश्रय दिएको कुरा यकिन हुन आउँछ । प्राचीन वैशाली नगर विषम भुजाको चतुष्कोण आकृतिको उच्च भागमा स्थापित थियो भन्ने देखिन्छ । यसै नगरको वरिपरि बनाइएका खाईहरु पनि १०० देखि १५० फिट चौडाइ रहेका छन् । किल्लाको उत्तर पश्चिमी भागमा भने साना बैठक कोठाहरु बनेका छन् ।
भारतमा ग्रीक राजदूत मेगस्थनिज अनुसार— पाटलीपुत्र नगर लगभग सवा नौ माइल र सवामाइलको चौकोरमा बनेको र यसको चारैतिरको खाइ २०० गज चौडाईको छ । काठको स्तम्भले घेरिएको भागको बीचमा वाण हान्ने प्वाल पनि बनेको छ । तक्षशिलाको उत्खनन्मा प्राप्त जानकारी अनुसार तक्षशिला नगर एउटा किल्लाबन्दी अनुरुप निर्माण गरिएको थियो भन्न सकिन्छ । त्यसबेला यहाँ बलियो माटाको भित्ताले किल्लाबन्दी गरिएको थियो । पछिल्ला प्रस्तरका पर्खालहरु प्रारम्भका शक राजाहरुका पालामा बनाइएका थिए । नयाँ पर्खाल कुँदिएका प्रस्तरबाट निर्मित छन्, जसको चौडाई १६ फिटदेखि २१ फिट ६ इञ्चसम्म रहेका छन् ।
तक्षशिलाको उत्खनन्मा पाइएको वर्गाकार बुर्जाको उचाइ २० देखि ३० फिट रहेको हुनाले बुर्जाहरु दुई तलासम्मका रहेको अनुमान हुन्छ । यस्तै श्रावस्ती, कौसाम्बी र राजगृह नगर चारैतिर इँटा र ढुङ्गाबाट नै बनाइएका थिए । शहरका द्वारहरु र बुर्जाहरु पनि ईटाबाट नै बनाइएका थिए ।
सुरक्षात्मक पर्खाल र खाईहरुबाट नगरको उच्च योजनामा किल्लाको अवधारणालाई अङ्गीकार गरेको देखिन्छ । भारतीय मुगल शासकभन्दा अगाडि धेरै राजाहरुका राज्य यहाँ अस्तित्वमा देखिन्छन् । यी राजाहरुको बारेमा केही जानकारी भए तापनि यिनीहरुका किल्ला वास्तुकलाको उदाहरण भेट्टाउन निकै गाह्रो पर्दछ । भारतमा मुगलको शासन १५ औं शताब्दीमा सुरु भएदेखि मुगलहरुले आफ्नै ढाँचा र शैली अनुरुप ती पुराना दरबार र किल्लाहरुलाई पुन: निर्माण गरेका थिए । मुगलका प्रथम शासक वावरले एकठाउँमा भनेका छन्— “१४९१ जना ढुङ्गा कुद्ने कामदार मेरो भवन आग्रा, सीक्री, विनाधोलपुर, ग्वालीयर र किउलमा काम गर्छन् ।” बावरको छोरा र उत्तराधिकारी हुमायुको पालामा पनि धेरै स्मारकहरु निर्माण गरिएका थिए । उनको बारेमा वर्णन गर्दै भनिएको छ —“सर्वप्रथम त बादशाहले आफ्ना पवित्र हातले पृथ्वीमा ईटा राख्नुभयो, त्यसपछि सबै मान्यजनहरुले एक–एक गरी त्यहाँ ढुङ्गा राखे । यसले गर्दा त्यहाँ भीड भयो कि सेना, जनता, कलाकार, डकर्मी र ज्यामीले माटो र ढुङ्गा राख्न स्थान नै पाउन सकेनन् ।” अकबरको समयमा पनि थुप्रै दरबार र किल्लाका रचनाहरुले स्थान लिएका थिए । एउटा वर्णनमा उल्लेख गरिएको छ कि सन् १५६५ मा अकबरले आग्रास्थित यमुनाको पश्चिमी किनारामा अवस्थित सिकन्दर लोदीको पुरानो ईटाबाट बनाइएको किल्ला भग्न भएको र सिकन्दरको इच्छा पूरा नहुने देखेर आदेश दिएकी यसको ठाउँमा रातो प्रस्तरबाट बनाइएको नयाँ किल्ला त्यसै जगमाथि निर्माण गरियोस् । यस कामको जिम्मा क्वासीम खाँनलाई दिइयो, जो मुख्य इन्जीनियर तथा साधारण जनताको कार्य निरीक्षक थिए । आदेशानुसार भवनको जग निकै गहिरो खनियो तथा बाह्य पर्खाल पनि तीन गज चौडा र ६० गज उचाइको बनाइयो ।
पर्खालका ढुङ्गाहरु यस्तो प्रकारले जोडिएको थियो कि त्यस बीचमा रौं पनि पस्न गाह्रो पर्दथ्यो । यसरी किल्लाको पर्खाल भित्र ५०० भवनहरु खडा गरिए र यस कार्यमा तीनदेखि चार हजार डकर्मीहरु र आठ हजार ज्यामीहरु सहित डुङ्गाहरुको पनि सहयोग लिएर फत्तेपुर सिक्रीदेखि रातारात कुँदिएका ढुङ्गाहरु ल्याइए । यो किल्लाको चारैतिर २० गज चौडा र १० गज गहिरो खाई पनि खनियो । यसरी यो किल्ला तयार हुन १५ बर्षको समय र ३५ लाख रुपियाँ खर्च लागेको थियो । यसरी आग्राको किल्ला निर्माण गरेको उल्लेख पाइएको हुनाले त्यस बेलाको कुशल कारिगरीको झलक यस किल्लाले दिनुको साथै अकबरको वास्तु रचनाप्रतिको मोह पनि अनुमान गर्न सकिन्छ । आग्रा किल्लाको बारेमा यो पनि भनिएको छ कि यस्ता पर्खालहरु अगाडि कहिल्यै बनेनन् ।
आग्रा किल्लाको साथसाथै फत्तेपुर सिक्रीको किल्लालाई पनि महत्त्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा यो पनि भनिएको छ —“यहाँका चतुर कारिगरले यसरी प्रस्तरमा छिनो चलाएका छन् कि काठ माथि जो कोहीले यस्तो कार्य गर्न मुश्किल पर्दछ ।” अकबरपछिका मुगल शासकहरुले पनि यस्ता धेरै किल्लाहरुको निर्माण गरे अथवा पुन: निर्माण गरे । यिनमा जहाँगिर, शाहजहाँ, औरङ्गजेब प्रमुख छन् ।
यिनीहरुको पालामा बनाइएका किल्लाहरु सुरक्षात्मक हुनुको साथसाथै कलाकारिता बढी आकर्षण रहेको पनि पाइन्छ । वास्तवमा मुगल शासकको यो एउटा महत्त्वपूर्ण देन नै थियो कि त्यसबेला किल्ला अनि दरबारहरु विशेष कलाकारितापूर्ण थिए ।
मुगलकालीन यस्ता शैली अनुरुप बनेका किल्लाहरु अहिले पनि भारतका विभिन्न ठाउँमा जीवितै रहेका छन् । नेपालमा यसप्रकारको विशेषता हामी पाउन नसके पनि नेपालमा किल्ला निर्माणले सुरक्षात्मक पद्धतिलाई धेरै मात्रामा जोड दिएको पाइन्छ । नेपालमा रहेका अगम्य पहाडी भू–भागहरु गिरिदुर्गाको निर्माणमा निकै सहायक सिद्ध थिए । राज्यभित्रको शासन व्यवस्थालाई सुचारु रुपले सञ्चालन गर्नको लागि त्यसलाई बलियो किल्लाबन्दीको रुपमा बाँध्नुपर्ने आवश्यकता हुन्छ । किल्ला, गढ र दुर्ग शब्दले सुरक्षित वासस्थान अथवा शहरको सुरक्षात्मक रचनालाई इङ्गित गरेको हुन्छ । जबदेखि मानव विकासको चरणमा राज्य व्यवस्था अनि त्यहाँ शासन गर्ने शासकको उदय भयो तबदेखि आक्रमण प्रत्याक्रमणका घटनाहरु देखापर्न थाले ।
मानव विकासको क्रममा समुदाय, राज्यको अवधारणाको जन्म भएपछि स्वत: शासकहरु अथवा राजाहरु बस्ने दरबार विशेष सुविधा र सुरक्षा सम्पन्न बनाउन थालियो । किल्लाहरुलाई अधिक मात्रामा सुरक्षा प्रदान गर्न र शत्रुहरुको आक्रमणबाट सुरक्षित हुन अग्ला पर्खाल, खाई तथा झाडीहरुले घेर्न थालिएको देखिन्छ ।
किल्ला निर्माण गर्नु एउटा कला हो । सबै यस कार्यमा प्रवीण होस्, यो संभव थिएन । केही यस कलाको विशेषज्ञ हुन्छन् नै । पहिले हाम्रो राज्यको धारणा यस्तो नै रहेकोले आवश्यकता, क्षमता अनुसार श्रम र अर्थ खर्च गरेर किल्ला बनाएका थिए । जुन शीप अनुसार स्थान चयन गरेर शासकले आफ्नो स्वार्थको लागि बलियो किल्ला बनाए आज ती पर्यटकीय क्षेत्रको रुपमा आफ्नो परिचय बनाएका छन् । हिजोको अस्तित्व किल्ला हेर्ने चाहना धेरैको मनमा बसेको हुन्छ । यसैगरी भीर पहरामा सो समयमा यस्तो किल्ला सहजै पक्कै बनेको थिएन किल्ला निर्माण गर्ने पूर्वजप्रति आदरभाव पलाउने गर्दछ । अब आधुनिक हतियारको कारण यस्ता किल्ला बनाउने चलन बन्द भएको छ, यस्तो लाग्दछ आज किल्लाको रुप बंकरले लिएको छ । यसकारण के भन्न सकिन्छ भने युद्धको औचित्य समाप्त भएको छैन । कारण राज्य राज्यको प्रतिस्पर्धाको मूल्य सत्ताको ममत्व हो । यसको लागि प्रभुत्व परमार्थ बन्न पुग्दछ । यसकारण निर्यातको प्रणाली बृद्धि गरेर संसारभर प्रभुत्व जमाउन ठूला राष्ट्र चाहन्छन् । आज निर्यातको यही चाहनाले कमजोर राष्ट्र सधै पीडित र रोग–जर्जर बनाइराखेका छन्, अनावश्यक सन्धी थोपरेर हलचल गर्न नपाउने बनाएका छन्
(अन्वेषक/लेखक)।