“तपाईं पनि कार्यक्रममा जाने होइन ?”
“मेरो ड्राइभरलाई सोध्नुपर्छ ।”
“के भनेको हो त्यस्तो ? के हो ड्राइभर भनेको ?” साथीलाई हेर्दै सन्ध्या खिसिक्क हाँसिन् । लज्जास्पद् हाँसोका साथमा सोधाई सुनेर प्रभाले झनै ठूलो स्वरमा निर्धक्ताका साथ भनिन् — “हो नै ड्राइभर.. .अब त मसँग जोडिएको सबै सन्दर्भको ड्राइभर ऊ नै हो ।”
पल्लो घरको बरण्डामा उभिएर सुनिरहेकी महिला खुुसुखुसु मुस्काइरहेकी देखिइन् । ‘मान्छेले गति छाडेपछि बोली पनि बेलगाम हुँदो रहेछ’ भन्ने लाग्यो सन्ध्यालाई ।
“को हो ? कोसँग गफिइँदैछ ?” भित्रबाट पुरुष स्वरले प्रश्न गर्दा प्रभाको उत्तर थियो —“साहित्यिक साथीहरु कार्यक्रममा जाने कि भनेर सोध्दैछन्, के गर्ने ?”
‘आजभोलि प्रभाको बोलीको शैली पनि फेरिएको छ, लाग्छ उनमा लज्जा नामको अवशान भइसकेको हो कि ! उनी पहिलेकी प्रभा त पक्कै पनि होइनन् ।’ मनमा लागेको यो विश्वासलाई साथमा रहेकी निशाले व्यक्त गरिन् ।
‘मेरो विश्वास गलत होइन रहेछ’ भन्ने विश्वास भयो सन्ध्यालाई ।
“भित्रै बोलाउँदा हुन्छ नि” भन्दै भित्रबाट उही पुरुष बाहिरियो । ऊ निशान्त थियो । त्यो प्रभाका लागि आदेश थियो । अब भने ऊ सन्ध्याहरुतिर हेरेर चिप्लो स्वरमा बोलाउदै थियो —“अहो ! साहित्यका देवी देवताहरु । हजुरहरुले हाम्रो घर पवित्र नबनाई कहाँ जान दिन्छौँ । कम से कम एक एक कप चिया भए पनि पिएर जानुपर्छ ।”
“हैन अहिले हामीलाई हतार छ.. भन्दा पनि गेटैमा आएर अघि अघि ऊ र पछि पछि प्रभाले ढिपी गरेपछि सन्ध्या समूह भित्रिए । उनीहरु तीनजनालाई स्थान दिए पछि निशान्त उपहारका लागि आफ्ना पुस्तकहरु लिन कोठाभित्र थियो भने प्रभा भान्सामा ।
भित्रको रुपरङ्ग पहिलाको जस्तो रहेनछ । लगभग दश बाह्र वर्षपछि प्रवेश गरेको त्यस घरमा उसबेलाकी लक्ष्मीको सट्टा प्रभा थिइन् । आँगन थिएन, बनेछ । भान्सा पनि पहिलेको स्थानभन्दा पर्तिर सरेछ । हाँपझाँप गर्नेहरु फेरिएछन् । सन्ध्याको अनुभवमा पुरानो त सम्झना मात्र थियो ।
निशाले खुसुक्क भनिन् —“सन्ध्या, मैले त धेरै थोक बदलिएको अनुभव गरेँ हौ ।”सन्ध्याले पनि खुसुक्क उत्तर दिइन् —“ओछ्यान नै अचम्भित भए पछि बाँकीको के कुरा गर्नु ।”
“नमस्ते ।” एउटा केटौले ठिटोले जम्लाहात जोडेर सम्बोधन गर्यो । तीनैजनाले जवाफ फर्काए ।
“तिमी दिपक होइनौ ?”
“हो त, आन्टीले चिन्नुभएछ ।” उसले हाँस्तै भन्यो ।
“किन नचिन्नु नि, अनुहार उही छ । उही बच्चामा देखेकी थिएँ अब भने लक्का जवान भएछौ । जुँगाको रेखी बसेको पनि गाढा भएछ ।”
ऊ छेऊमै बस्यो, भावहीन मुहार । मुस्कुराइरहने शैलीले ऊभित्रको दशा वयान गरिरहेको थियो ।
यत्तिकैमा प्रभा चिया पानी र बिस्कुट लिएर आइपुगिन् । दीपकलाई देखाएर भनिन् —“यो मेरो झट्केलो छोरो ।”
दीपक खिस्स हाँस्यो । उठेर हिँडिपनि हाल्यो । यत्तिकैमा एउटा सात, आठ वर्षको केटो प्रभासँग लेपासिन आइपुग्यो ।
“यो बाबु…?”जिज्ञाशा अभिव्यक्त भइनसक्दै प्रभाले भनिन् —“यो चैँ हाम्रो प्याउसो । नचाइकनै झुक्किएको प्रमाण ।”
“प्रभा, दीपकका आगाडि झड्केलो नभनेको भए हुन्थ्यो । उसलाई नराम्रो लागेजस्तो लाग्यो ।” निशा बोलिहाल्ने बानीले गर्दा व्यक्त भइहालिन् ।
“जा खेल्न बाबु ।” उनले लेपासिएको छोरालाई अह्राइन् । ऊ पनि गयो ।
“ए…यो त हो नै । म निशान्तसँग उसकी पहिलेकी हुँदै आकी हुँ । उतिबेरै मसँग आएको पहिलो पोइबाट जन्मिएकी छोरी र छोरो लिएर आकी हँु । ती मेरा जति निशान्तका झड्केला सन्तान र उसकी पहिलेकीबाट जन्मिएको यो मेरो झड्केलो सन्तान हुँदै हो । भन्नलाई के को शर्म ? जे हो, त्यो हो । यो प्याउसो भने हाम्रो हो । झड्केलो भन्न मिल्दैन ।
निर्धक्कताका साथ प्रभाले भनिरहँदा उनीहरुको इतिहासबारे जानकार सन्ध्याले संवादमा मुछिन आवश्यक ठानिनन् । यत्तिकैमा निशान्तले केही पुस्तकहरु उपहार दिदै भने —“आउँदै गर्नु है ।” मानौँ उसका निम्ति नयाँ केही होइन ।
यत्तिकैमा रुँदै फेरि लेपासिन आइपुगेको छोरालाई उनले के भयो, किन रोएको भनेर थुम्थुम्याउँदै सोधिन् ।
“दादा र दिदीले खेलाएनन् । पर जा भनेर धकेले ।” उसले आँसु पुछ्दै भन्यो । प्रभाले निशान्तलाई आँखा तर्दै भनिन् —“छोरो रुँदै आयो तर तिम्रो कुनै रियाक्सन देख्दिनँ । कस्तो बाउ हौ ?”
निशान्तको हाँसोसहितको भनाइ थियो —“यति सानो कुरालाई के तीलको ताड बनाएको ?”
“त्यै पनि त…।”
“कसलाई के भन्नु ? तिम्री छोरी र मेरो छोरोले हाम्रो छोरोलाई कुटे, भन्नु ?” निशान्तको रेला शैलीको भनाइले ऊ हाँसे पनि सन्ध्या समूह भने गम्भीर हुन पुगे ।
बिदावारीका निम्ति गेटसम्म आइपुग्दा लक्ष्मीका बारेमा सोध्न उचित लागेन । औचित्य पनि थिएन । एकपल्ट सन्ध्याले खानेपानी संस्थानको गेटमा नै भेटिंदा आँखाभरी आँसु भरेर लक्ष्मीले भनेकी थिइन् —“मेरो जीवनमा ग्रहण लाग्ने भो, दिदी । मनभित्रको औडाहा आज बाढी बनेर तपाईंसामु उर्लिन खोजेको छ ।” सन्ध्याले जिज्ञाशा पोख्न नपाउदै लक्ष्मीको बस आइपुगेकोले उनी बस उक्लिएर हिंडिन् । सन्ध्याको मस्तिष्कमा यस कुराले पहिलेको जस्तै आज पनि बिथोल्न खोजेको भान भयो ।
निशान्तकी पहिली श्रीमती लक्ष्मीतिर उन्मुख सोचको उडान अविराम हुने तरखरमा थियो ।