जनैपूर्णिमाले सनातन वैदिक ब्राह्मणहरूलाई वर्षभरमा आत्मशुद्धिको अवसर प्रदान गर्छ । वैदिक परम्पराअनुसार वेदपाठी ब्राह्मणहरूका लागि श्रावण महिनाको पूर्णिमा सबैभन्दा ठूलो पर्व हो ।
सनातन धर्ममा दशैँ क्षेत्रीहरूको, तिहार वैश्यहरूको र फागु पूर्णिमा वा होली शूद्र एवं अन्य जन जनमानसका लागि विशिष्ट महत्वको पर्व भन्ने चलन थियो । त्यस्तै जनैपूर्णिमा अर्थात श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने श्रावणी उपाकर्म ब्राह्मणहरूको सबैभन्दा ठूलो पर्व हो ।
जनैपूर्णिमा र जनैको महत्व
जनैपूर्णिमामा व्रतबन्ध गरेका द्विजातिहरूले जनै अर्थात् यज्ञोपवित फेर्दछन् । सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ ।
धार्मिक महत्व
द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्रजस्ता नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ ।
उपनयन संस्कार भएका वा व्रतमा बाँधिएका व्यक्तिले जनै लगाउँछन् । यसले ब्रह्म (ईश्वर) को नजिक लान सहयोग गर्छ । जनै तीनवटा पवित्र डोरो, सूत्र वा धागोबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।
तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । यसलाई देवऋण, पितृऋण र ऋषिऋण अनि सत्व, रज र तमको प्रतीक पनि मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरण र तीन आश्रमका पनि प्रतीक हुन् ।
जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकी जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् ।
जनैको वैज्ञानिक महत्व
जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ । जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ । दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ । कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ । जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ ।
जनै धारण गर्ने विधि र त्यसपछिका नियम
स्नान र आचमन गरेर शुद्ध भएपश्चात् नयाँ जनै लगाउँदा यस्तो मन्त्र पढिन्छ–
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात् । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेज:।।
नयाँ जनै लगाइसकेपछि पुरानो जनै फुकाल्दा यस्तो मन्त्र पढिन्छ–
एतावद्दिन पर्यन्तं ब्रह्मत्वं धारित्वं मया । जीर्णत्वात्वत्परित्यागगच्छसूत्र यथासुखम् ।।
मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । दाहिने कानमा गंगाको वास हुने भएकाले त्यसो गरिएको हो ।
जनैलाई कम्मरमाथि राख्नुपर्छ र मैलो वा अपवित्र हुन दिनुहुँदैन ।
जनैको एक डोरो चुँडियो वा जनै लगाएको ४ महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ ।
घर वा कुलकुटुम्बमा जन्म वा मरणको सूतकपछि जनै बदल्नुपर्छ ।
जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला गायत्री जप गरेर बदल्ने नियम छ ।