पूर्वबैंकर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ । पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो ।
बुद्ध परिनिर्वाणलगत्तै सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छन् । यो पुस्तक पनि पालि त्रिपिटकका आधारमा लेखिएको छ । त्यसैले यस पुस्तकले बुद्ध, उनको धार्मिक मन्तव्य र तत्कालीन परिस्थितिबारे प्रामाणिक जानकारी दिन्छ । बुद्धका विषयमा कतिपय अतिरञ्जित शास्त्रीय वर्णनको चिरफार गरी लेखिएको यस पुस्तकले तथ्य र तर्कका आधारमा वास्तविकता उजागर गर्ने प्रयास गरेको छ ।
स्नातकोत्तरको शोधपत्र उनले पालि त्रिपिटककै एउटा लघु आकारको ग्रन्थ ‘सुत्तनिपात’लाई आधार बनाएर बुद्धकालीन समाजको एउटा सानो घेराको दिग्दर्शन गराउने हिसाबले लेखेका थिए । ‘यस पुस्तकको बीजरुप त्यसै शोधपत्रमा निहित रहेको मान्दा हुन्छ,’ लेखक पौड्याल भन्छन्, ‘त्यस बेलै शोधपत्रका जाँचकीमध्ये एक जनाले यसलाई पुस्तकाकारमा प्रकाशन गर्दा राम्रो हुने सुझाएका थिए ।
६०/७० पृष्ठको बुद्धकालीन सीमित विषय मात्रै समाविष्ट त्यस शोधपत्रको प्रकाशनले न पाठकको धीत मर्थ्यो, न मलाई नै सन्तुष्टि मिल्थ्यो । त्यसैले मैले यसै विषयलाई आधार बनाएर सम्पूर्ण पालि त्रिपिटक सरसर्ती अध्ययन गर्ने विचार गरें । यसो गर्दा मात्रै त्रिपिटकमा लिखित प्रामाणिक जानकारी उपलब्ध हुन सक्थ्यो ।’
पुस्तकमा लेखकले बुद्धकालीन समाजका सबै पक्षको उद्घाटन मात्र गरेका छैनन्, बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या गरी तिनलाई सरल भाषाशैलीमा प्रस्तुत पनि गरेका छन् । लामो अनुसन्धान गरी यो पुस्तक लेखिएको छ ।









