आज नाग पञ्चमी बिहानै घरको मूल ढोकामा नागको तस्बिर टाँसेर नागको पूजा गर्ने गरिँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मनाइन्छ । काठमाडौँको नाग पोखरी र टौदह, भक्तपुरको सिद्ध पोखरी लगायत देशभरका नाग दह, कुण्ड र नाग स्थानमाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।
परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको चित्र टाँस्ने गरिन्छ। यसरी नागको चित्र टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पञ्चमीको दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मानिन्छ। यस दिन नागको वासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ।
नाग पूजाको प्रचलन वैदिककादेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराह पुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो। नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो।
नाग पञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन्। जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ। एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए। ती बच्चाकी आमा आहार खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन्। रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकाले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन्। ।
संयोगले किसानकी छोरी घर बाहिर रहेकाले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।
मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडशोपचारले पूजा गरी कचौरामा दूध पनि खान दिइन्। किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी आफ्ना मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।
प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन्। यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नाग पूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ।
गुरु गोरखनाथले नौ नागको आसनमा बसी १२ वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो। गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ।
संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षातको शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ।