सुन प्रिये
बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस्
ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस्
तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी
शीतल गर्नु उचीत हो अधिक ताप् गर्दो छ सूर्यै सरि ।
म भानुभक्त
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया।।
बालाजि
यति दिन पछि मैले आज बालाजि देख्याँ,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।।१।।
याँहाँ बसेर कविता यदि गर्न पाऊँ,
यस्देखि सोख अरु थोक म के चिताऊँ।
उस्माथि झन् असल सुन्दरि एक् नचाऊँ,
खैंचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ।।२।।
घाँसी
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।