कुरा बीसौँ वर्षअगाडिको हो । चैत–वैशाखको महिना, टन्टलापुर घाम लागिरहेको थियो । बाटोमा हिँड्नेहरु प्राय: छाता ओढेरै हिँडेका थिए । त्यो भीडमा ईशा पनि थिइन् । कसैले ‘‘नानी !’ भनेको सुनेर आफ्नै सुरमा हिँडेकी ईशा आवाज आएतिर फर्किन् ।
वृद्ध महिलाले अलि डराएको स्वरमा भनिन् —‘‘हेर न इमाडोलको कृष्ण मन्दिर पुगेर आएकी, घाम खप्नै नसकेर आलसतालस परेँ, छाता देखेर बोलाएकी हुँ, भैगो जाऊ ।’’
ईशाले पछाडि सरेर वृद्धालाई छाता ओढाउँदै भनिन्—‘‘हो आमा ! छाताभित्र त म यति धेरै बेचैन छु हजुरलाई झन् कति गाह्रो भयो होला ! दम पनि बढेजस्तो छ । एक्कैछिन सडकको छेउमा बसौँ, दम केही घटेपछि कहाँ जाने हो, म पुर्याइदिन्छु नि !’’
वृद्ध चुपचाप स्वाँस्वाँ गर्दै बसिन् । ईशाले छाता वृद्धातिर बढाउँदै भनिन् —‘‘आमा ! हजुरले छाता समाउनुहोस्, म कपीले हम्किदिन्छु । बूढीपाकी मान्छे, यो घाममा, फेरि दमको रोगी पनि हुनुहुँदोरहेछ’’ भन्दै वृद्धालाई हम्किन थालिन् ।
वृद्धा धेरैबेर मौन रहिन् । आँखाबाट बरबरी आँसु चुहाउँदै भनिन् —‘‘नानू ! भगवान् सायद तिमीजस्तै होलान् । कसैले देख्न नपाएको भगवान्ले कहिल्यै यी आँखाका आँसु पुछेनन् । आज तिमीलाई भेट्दा स्वयम् भगवान् नै मान्छेको रुपमा हिँड्दा रहेछन् जस्तो लाग्यो । पन्ध्रबीस वर्षको अन्तरालमा आजै हो मैले दोहोरो कुरा गर्न मान्छे पाएकी । गाउँ छोडेर सहरमा आइकन आफ्नोपन भएको मान्छे देख्नै पाएकी थिइनँ । यी मान्छेहरु मसँग बोल्न त परै जाओस् मेरो छायासम्म देखे पनि पन्छिँदै हिँड्छन् । अरु ठाउँको त कुरै छोड, स्वयम् भगवान्को मन्दिरमा पनि गरिब र धनीलाई हेर्ने आँखा फरक हुन्छन् । तिम्रो यति शान्त र मायालाग्दो मुहार देख्ता मैले साक्षात् भगवान् नै पो भेटेँ कि ! जस्तो लागिरहेछ । साँच्ची ! तिमी कताबाट आयौ ? कहाँ जाँदै थियौ ? मैले अल्मल्याएँ कि ? जाऊ, म काम नभएकी मान्छे बिस्तारै आउँला ।’’
ईशाले वृद्धाको आँखाबाट आफ्नो आँखा अर्कातिर हटाउँदै भनिन् —‘‘आमा ! म खासै ठूलो कामले हिँडेकी होइनँ । त्यही पुल्चोकसम्म साथी जमुनाको घरमा जान लागेकी हुँ । मेरो घर पनि इमाडोल नै हो । हजुर अझै एकछिन थकाइ मार्नाेस् अनि सँगै जाउँला । हजुर पुग्नुपर्ने चाहिँ कहाँ हो नि ?’’
‘‘कहाँ हुन्थ्यो र बा ! त्यही लगनखेलको पाटीमा हो । त्यहाँ पनि सुखले निदाउन दिँदैनन् । लफङ्गाहरु जीउ लुछ्न र भएको दुईचार पैसा लुट्न आउँछन् । सत्तरी वर्ष भइसक्दा पनि अधमहरुसँग अस्तित्वका लागि भीख माग्नुपर्छ । साह्रै कष्ट छ बा ! गरिबदु:खी भएर बाँच्न ।’’ वृद्धाले अन्तर्हृदयको व्यथा पोखिन् ।
‘‘पन्ध्रबीस वर्षअगाडि कहाँ हुनुहुन्थ्यो ?’’ ईशाले जिज्ञासा राखिन् ।
‘‘काठमाडौँमा आउनुअगाडि आफ्नै गाउँ तेह्रथुममा थिएँ । छोराबुहारी भनाउँदाहरु मरेपछि काठमाडौँ झरेँ । साठी वर्षसम्म त अरुको जुठा भाँडा माझेर पेट पालेँ । अब तैँले काम गर्न सक्तिनस् भनेर घरबाट निकालिदिएपछि कतै बस्ने ठाउँ नपाएर पाटीमा बस्न आएकी हुँ । पाटीमै आएकै दिन अर्काको भाँडा माझेर जोगाएको दुईचार पैसा पनि राति नै लुटेर लगे पापीहरुले । दुईचार दिन त भोकै अलपत्र परेँ । एक दिन तेह्रथुमकै दाइ पर्नेसँग भेट भयो । मलाई यस्तो अवस्था देखेर उनले दुई सय रुपियाँ दिएर गएका थिए । माइतीमा गएर दाजुभाउजूलाई मेरो पीडा सुनाइदिएछन् । त्यसपछि दाजुभाउजूले केही पैसा पठाउन थाल्नुभयो । त्यही पैसाले नै दिन ठेल्दै आएकी छु । ठाउँ फेरिए पनि कर्म फेरिएन । व्यग्रवेदनाले छाती चिरिएकै छ बा ! नरोऊँ भन्छु, जति झरे पनि आँसु निख्रिँदै निख्रिँदैन ।’’
“हजुरका छोराबुहारी मरे पनि नाति–नातिना त थिए होलान् नि ! कहाँ छन् त अचेल उनीहरु ?”
ईशाको प्रश्नले यतिखेर भने वृद्धा मुसुक्क हाँसिन् र भनिन् —‘‘नानी ! उनीहरु मरेका त छैनन्, तर मेरा लागि भने मरेजस्तै भएका छन् । त्यसैले पो मरिसके भनेकी हुँ । छोराबुहारी आफूले गरेको भूल कबुल्दै पश्चात्तापको आँसु झार्न यहाँ आएका थिए अरे, मलाई निकै खोजी गरे अरे । मैले त कहिल्यै खोजी गरिनँ, भेटेकी भए पनि तिनीहरुको मुख हेर्दिनँ थिएँ । मलाई भेटेनन् साह्रै राम्रो भयो । मैले घर छोडेपछि थुप्रै काम गर्ने मान्छे पनि फेरे अरे । कोही टिक्न सकेनन् अरे । बुहारी भनाउँदीले तेल लगाउन लाग्दा अँगेनामा परेर नातिको निदार डर्यो अरे त्यो सुन्दा भने साह्रै पीर लाग्यो । आफूलाई जति चोट दिए पनि उनीहरुलाई काँडाले नकोरोस् भन्ने सोच्छु । म आमा थिएँ आफू जाँतोमा पिछिएको अन्नझैँ धूलोपिठो हुँदै उनीहरुकै खुसी चाहेँ । ‘कुकुरलाई घिउ पच्दैन’ भनेझैँ उनीहरुलाई खुसी पचेन । आफैले खनेको खाल्डोमा आफै परे । छोराबुहारीको सम्बन्ध पनि राम्रो छैन भन्नेसम्म सुनेकी हुँ । अब तिमीलाई धेरैबेर अल्मल्याएँ मैले । तिम्रो मन बिथोलेर आफू हलुङ्गो हुन खोजिछु कस्ती म पनि ।’’
ईशाले वृद्धाको हात समाउँदै अति मायालु पाराले भनिन् —‘‘आमा ! छोराबुहारीले के भूल गरे ? हजुर कसरी यहाँ आउनुपर्यो ? स्पष्टसँग आफूभित्रको प्रचण्ड राप ओकल्नुहोस् । साँच्चै मलाई केही हतार छैन । मैले राम्ररी बुझेँ । हजुरले भीषण आँधीबेहरीको सामना गर्नुभएको छ । हजुरको जीवनमा पक्कै पनि त्यस्ता वेगवान् छालहरु उर्लिएका छन् । किन उर्लिए ती छालहरु ? सबै सुनाउनुहोस् !’’
वृद्धाले ओठमा मुस्कान ल्याइन् र धमिलो आँखाहरुले ईशाको अनुहारतिर हेर्दै भनिन् —‘‘कति धीर छ्यौ तिमी ! वषौँदेखि चिनेझैँ यति घनिष्ट भएकी । तिम्रो मधुर वचन काट्नै नसक्ने भएँ । म कसरी उत्रनै नसक्ने गरी दु:खको यो महासिन्धुमा डुबेँ, त्यो पनि सुन । वृद्धा अतीतका पानाहरु एकएक गरी पल्टाउँदै जान्छिन् । ईशा वृद्धाको अतीतमा एकोहोरिन्छिन् । ‘एक दिन गाउँमा मेरो विषयमा चर्चा चल्यो अरे । चर्चाका पात्रहरु तीर्थ र विक्रम थिए अरे । तीर्थले मतिर हेर्दै भन्यो अरे —“होइन विक्रमे ! यो सुन्दरी चाहिँ को हो ? लाहुरबाट आएदेखि उँधोउँभो गर्दा दुईचार पटक देखिसकेँ, यसो कर्के नजरले पनि हेर्दिन बा !’’
विक्रमले हाँस्दै भने अरे —“ए लाहुरे ! आँखा चिम्लेर हिँड् । तैँले सोचेझैँ लाहुरे भनेपछि भुतुक्कै हुने खालकी छैनन् यिनी । साहू जनार्दन काकाकी छोरी पद्मा हुन् । काकालाई बाथको रोग लाग्यो रे तराई फापेन भनेर यहीँ बस्न आएको चार–छ महिना भयो ।’’
“ए, पद्मा पो ! सानैमा त कालीकाली भएझैँ लाग्थ्यो, अहिले त अप्सरा नै बिर्साउने भइछे ! अब चाहिँ लाहुरेले जाल फ्याँक्यो–फ्याँक्यो’’ भन्दै तीर्थले जुँगा मुसार्यो अरे ।
विक्रमले दु:खित स्वरमा भने अरे —“ए गुइँठे ! जाल सालको कुरा नगर् है । तैँले धेरैको भाग्य बिगारिस्, पद्माको भाग्य नबिगार् । बरु एउटी अर्कै केटी खोजेर बिहा गर् । तँैले पनि दु:ख पाऊलास्, बुझिस् ?” अर्कालाई बिगार्ने धेरैले दु:ख पाएका छन् ।
तीर्थले आश्चर्य मान्दै भन्यो अरे –‘‘होइन तँ अरुमाथि त त्यति चासो देखाउँथिनस्, आज एक्कासि के भयो हँ तँलाई ? यदि पद्मालाई माया नै गर्छस् भने पनि उनलाई पाउन तैंले जुनी फेर्नुपर्छ, बुझिस् ? कल्पना गर्दा पनि सफल हुने खालको कुरो पो कल्पना गर्नुपर्छ मोरा ! तैँले पद्मालाई पाउँछु भन्ने चिताउनु भनेको त मुसाले राजकुमारी ताक्नुसरह हो । त्यो शीत चुहिने छाप्रोमा पद्मालाई ल्याएर कहाँ राख्छस् ? के खान दिन्छस् ? प्रेम अन्धो हुन्छ भनेको यही हो । आफ्नो औकात–सौकात हेर्नुछैन, मलाई सिकाउने भएको । बरु जून टिप्ने गफ मुखले गर्न छोडेर आ मेरो जस्तै धेरै धन कमा न । अनि पाऊलास् एकसे एक पद्माजस्ता राम्रा सुन्दरी, बडो सिकाउने भएको मूला !’’ भन्दै तीर्थ बाटो लाग्यो अरे ।
मायाको जाल फ्याँक्तै युवतीलाई फसाउने र स्वार्थ पूरा गरेपछि भुमरीमा पार्दै अलपत्र छोड्ने तीर्थको बानी सम्झँदा विक्रमलाई फनफनी पृथ्वी नै घुमेझैँ भयो अरे । आफूले पद्मालाई नपाए पनि पद्माको जीवनमा अँध्यारो फैलिएको हेर्न चाहेनन् अरे विक्रमले । रात रहे अग्राख पलाउँछ भन्ने उखान सम्झँदै बसेको ठाउँबाट जुरुक्कै उठेर उनी हाम्रो घरमा आएका हुन् अरे । विवाहपछि विक्रमले त्यो दिनको सबै घटना भनेका थिए ।
उनी त्यो साँझ अत्तालिँदै हाम्रो घरमा आउँदा बुबा फलैँचामा बसेर चिया पिउँदै हुनुहुन्थ्यो । नमस्कार गरेर विक्रम टुसुक्क पिँडीमा बसे । बुबाले विक्रमलाई हेर्दै—“तिमी त्रिलोचनको छोरा हौ ? यो गोधूलिसाँझमा यहाँसम्म किन आयौ बाबु ? आमालाई त सन्चै छ ? ठ्याक्कै बाबुको अनुहारका रहेछौ । उनको मृत्यु भयो भन्ने सुन्दा दु:ख लाग्यो । तिमी किन उदास देखिन्छौ, गाथमा सन्चो छैन कि ?’’ बुबाले पहिले नै चिनेझैँ गरी विक्रमसँग धेरैवटा प्रश्न एकैपटक सोध्नुभयो ।
विक्रमले गहभरि आँसु पार्दै भने —“काका ! मनको पीर खप्नै नसकेर यहाँ आएको हुँ ।’’ बुबाले सान्त्वना दिँदै भन्नुभयो —“कस्तो पीर पर्यो, स्पष्ट भन न बाबु ! सक्ने भए सहयोग गरौँला ।’’
विक्रमले संकोच मान्दै कुरा बढाए —“काका ! त्यो तीर्थले गर्दा अतालिँदै यहाँ आएको हुँ । ऊ पद्मालाई बिहे गर्छु भन्थ्यो । पद्माको विवाह अरुसँग गरिदिए पनि त्यो तीर्थसँग नगरिदिनुहोला । उसले थुप्रै केटीहरुलाई बिगारेको छ । बिहा गर्छु भनेर घर न घाटको बनाउँछ । फेरि पद्माको जिन्दगी पनि त्यस्तै अलपत्र भयो भने… ।’’
मैले बुबा र विक्रमबीचको कुरा अगेनामा बसेर सुनिरहेकी थिएँ । बुबाले हाँस्दै भन्नुभयो —“को तीर्थ बाबु ? मैले त अहिलेका केटाहरुलाई के चिन्थेँ र ? अनि उसले के भन्यो र तिमी भयग्रस्त भयौ ?’’
विक्रमले लामो श्वास फेरेर भने —“त्यो पापीले पद्मालाई जसरी भए पनि आफ्नी बनाइछाड्छु भन्थ्यो । तिर्थे पल्टने रत्ने काकाको छोरो हो । ऊ पनि पल्टनमै छ । उसको बानी राम्रो भएको भएचाहिँ पद्माको र तीर्थको जोडी राम्रै मिल्थ्यो ।’’
बुबाले मायालु पाराले भन्नुभयो —“तिमी पद्माको खुसी हेर्न चाहन्छौ होइन ? पद्माले भोलि दु:ख पाउलिन् भन्ने पीरले निसास्सिँदै यहाँसम्म आएका छौ । पद्मालाई त्यति धेरै माया गर्ने युवकलाई म कसरी रित्तो हात पठाऊँ ! के चाहिन्छ, माग ।’’
विक्रमले हात जोड्दै भने —“पद्मालाई राम्रो घर परिवार खोजेर बिहा गरिदिनुहोस्, भन्न खोेजेको । उनले सुख पाए मलाई केही चाहिँदैन ।’’
विक्रमको कुराले मेरो आँखा रसायो । बुबा पनि एकैछिन मौन हुनुभयो । विक्रम यति भनेर आँसु पुछ्दै उठेर हिँड्न लागेका थिए । बुबाले विक्रमलाई एकछिन बस्न आग्रह गर्दै भन्नुभयो —“बाबु ! तिमीले आफ्ना लागि पद्माको हात मागेको भए हुन्थ्यो नि !’’
विक्रमले अप्ठ्यारो मान्दै भने —“उनी सुखसयलमा हुर्केकी मान्छे । उनले दु:ख पाउलिन् भन्ने पीर लागेको छ, म धनविनाको मान्छे, कसरी सुख दिन सकूँला र भन्ने लागेकोले मैले आफ्नो लागि नमागेको हुँ । म गएँ, नसोधीकन आएको, छोरो कहाँ गयो भनेर आमाले पीर मान्नुहुन्छ ।’’
बुबाले प्रसन्न स्वरमा भन्नुभयो —“बाबु ! पद्मामा धनको लालचा छैन । तिमीलाई छोडेर पद्माका लागि अरु केटो खोज्नु भनेको सूर्यको अगाडि बत्ती खोज्नुसरह हो । जाऊ, घरसल्लाह गरेर आऊ, पद्मा तिम्रै भइन् । तिम्रो घरमा कुरो मिलायौ भने म विवाहको दिन तोक्न आउँला ।’’
बुबाको कुराले विक्रमको हराएको मुस्कान फर्कियो । उनी हर्षका आँसु झार्दै हाम्रो घरबाट निस्के ।
मेरो र विक्रमको विवाह हुँदैछ भन्ने सुनेपछि तीर्थे ईष्र्याले जल्यो । देख्नमा राम्रो, हट्टाकट्टा जवान, धनले सम्पन्न, भारतको देहरादुन पल्टनले पत्याएको मान्छेलाई जनार्दनले वास्ता गरेन र एउटा गोठालोलाई छोरी दियो भनेर तीर्थे हाम्रो डाहाडले भुतुक्क हुँदै प्रतिशोध लियो ।
हाम्रो विवाह धुमधामका साथ सम्पन्न भयो । दाइले नै दिनु भनेपछि दस रोपनी जग्गा बाबुले मेरो नाममा पास गरिदिनुभयो । विक्रम ज्यादै मेहनती थिए । त्यसपछि हामीलाई खानलाउन कुनै दु:ख भएन । यता हाम्रा दिनहरु हर्षाेल्लासमै बित्दै गए । उता बुबाआमा पनि विक्रमजस्तो सुशील ज्वाइँ र ठूलीजस्ती मायालु सम्धिनी पाएकोमा ज्यादै खुसी हुनुहुन्थ्यो । समय बाँधिएन दुई वर्षपछि मैले विनयलाई जन्माएँ । खुसीमाथि अर्काे खुसी थपियो । दुई महिनाको छुट्टीमा घर फर्केको तिर्थेले हाम्रो खुसी सहन सकेन । एक दिन गोठालो गएको बेलामा विक्रमलाई तीर्थेले ठूलो भीरबाट धकेलेर मार्यो । उनी मरेपछि केही समयसम्म त मैले आफूलाई समाल्न सकिनँ । छोरो विनयले तातातुतु गर्न थालेपछि बिस्तारै आफूलाई सम्हालेँ । विक्रमको सम्झनामा झर्ने आँसु नसुकीकन विनयको विवाहको कुरा चल्योे ।’
ईशाले बीचमै कुरा काट्तै भनिन् —‘‘हजुरले किन पुनर्विवाह गर्नुभएन ? त्यो अधर्मी तीर्थलाई जेल सजाय भयो या भएन ?’’
पद्माले आँखामा उर्लेको आँसु पुछ्दै भनिन् —‘‘नानी ! मलाई बाँच्न त विक्रमको मायालु सम्झना नै काफी थियो । स्वयम् मेरी सासूले बीस वर्षे बैँसलाई खेर नफाले, बुढेसकालमा गाह्रो हुन्छ भन्नुभएको थियो । आमाबुबा र छिमेकीहरु पनि त्यसै भन्थे । विक्रम मरे पनि सम्झनामा उनी जिउँदै थिए । म उनको जिउँदो सम्झना कसरी फ्याँक्न सक्थेँ र ? अर्को कुरा विनय मेरो मुटुको टुक्राझैँ थियो, त्यसैले पुनर्विवाह गरिनँ । त्यो दुष्ट तीर्थे बीस वर्षको लागि कैदमा पर्यो । विनयको विवाहपछि म झनै खण्डित हुन पुगेँ । मेरो पीडा बिसाउने चौतारीहरु सासू र आमाबाबु नै थिए । मानिस सधैँ बाँचिरहने त होइन, ती सबैको एकएक गरी पालो आयो, आफ्नो बाटो लागे । उनीहरुलाई एकएक गरी गुमाएकीले म नितान्त एक्ली भएँ । छोराबुहारी स्कुल पढाउन जान्थे । म घरको र बाहिरको काम गर्दागर्दै टुसुक्क बस्न पाउँदिनथेँ । उनीहरुको भातभान्छा र चियानास्ताको जिम्मा मेरै टाउकोमा थियो । सकीनसकी दिन घिसारेकै थिएँ । विनयले छोरो पाएपछि ममाथि नातिको बोझ पनि थपियो । झिसमिसमै उठेर बाहिरको काम गर्थें । दिउँसो नाति हेर्दै घरको काम गर्थें । समात्दा समात्दै एकदिन अचानक नाति मेरो हातबाट फुत्कियो । उसको कलिलो टाउकोमा सानो टुटुल्को उठ्यो । त्यो टुटुल्को देखेपछि छोराबुहारीले तथानाम गरेर मेरो सातो खाउँलाझैँ गरे । बुहारी चन्दाले घचेट्दै आँगनमा बजारेर भनी —“जाबो एउटा नातिको स्याहार गर्न नसक्ने हातलाई अगुल्टाले पोल्नुपर्ने हो । लाजसरम नभएपछि कसको के लाग्छ ? टन्न घिच्न दिएकै छ क्यारे !’’
विनयले कुरा थप्यो —“तिमीलाई देख्ता पनि उदेक लाग्छ । स्कुलमा कराउँदा कराउँदै थाकेर घर आयो । घरमा पनि शान्ति छैन । अहिले यो छोराको हात खुट्टा भाँचिएको भए, टाउको फुटेको भए के हुन्थ्यो हँ ?’’
मैले ती छुद्र वचनहरु सहन नसकेर भनेँ —“हेर मलाई पनि नातिको माया लाग्छ, के मैले जानेर लडाएकी हुँला त ?’’
“थाहा छ, थाहा छ तिमी को हौ भन्ने ! तिम्रो कुचरित्रको कारण मलाई टुहुरो हुनुपर्यो । तीर्थ काकाले जेलबाट आएपछि मलाई सबै कुरा राम्ररी बुझाएर भनिसके । आमा भनेर पो चुप लागेको थिएँ । आज मुख खोल्न बाध्य गरायौ ।’’
वृद्धा पद्माले हिक्कहिक्क गर्दै रुँदै भनिन् —‘‘नानी ! विनयले हानेको त्यो बज्रको चोटले म अहिले पनि रन्थनिएकै छु । अरु जे भनेको भए पनि सहन्थेँ । त्यो पापीले त मेरो आदर्शमा खोट देखायो । मैले यति मात्र भनेँ, हेर् पाजी ! सत्यलाई कसैले पनि भस्म गराउन सक्तैन । सत्य चन्द्रसूर्यलाई थाहा छ । कुनै दिन सत्य थाहा पाइस् भने माफ माग्न नआउनू । यो सारा सम्पत्ति मेरो दाइजो र पेवा हो तर पनि तँलाई छोडेर जाँदैछु । हो नानी ! त्यसपछि म काठमाडौँ चिप्लिएँ । काठमाडौँ आएपछिका कुरा त तिमीलाई भनिहालेँ । नानी ! वास्तवमै आज मन चङ्गाजस्तो हलुङ्गो भयो । भनिहालेँ, तिमीसँगको भेट भगवान्सँगको भेटझैँ लागिरहेछ । तिमी रोयौ ? नरोऊ नानू ! शीतल पनि भयो म बाटो लाग्छु । अनुहार देखाउन कहिलेकाहीँ बाटो हिँड्दा पाटीमा आऊ है, मलाई धेरै राम्रो लाग्छ तिमीलाई भेट्दा ।’
ईशाले आफ्नो आँखा ओभानो पार्दै भनिन् —‘‘आमा ! तपाईंले मलाई थुप्रैपल्ट भगवान् भन्नुभयो । मलाई भने भगवान्प्रति घृणा लाग्छ । यदि साँच्चै भगवान्ले भलो गर्ने भए किन सधैं तपाईंजस्ता निर्धाको मात्र घाँटी निमोठ्छ भगवान् ? तपाईंको छाती भतभती पोल्दा कहिले मलम बन्यो भगवान् ?’’
ईशालाई हेरेर वृद्धा पद्मा अति मीठो गरी हाँसिन् र भनिन् —‘‘नानी ! विक्रमसँगको क्षणिक भेटमा मैले सात जन्मको खुसी पाएँ । त्यो विक्रम मलाई भगवान्ले दियो । आज अति गाह्रो हुँदा तिमीले जस्तै मैले पनि भगवान्लाई सरापिरहेकी थिएँ । तिमी टुप्लुक्क देखा पर्यौ र सारा पीर पखाल्यौ । म मानौं स्वर्ग पाएजस्तै भएँ । मभित्र भएको विश्वासको सूर्यलाई भगवान्ले निभ्न दिएन । अनि कसरी भगवान् छैन भनौँ ?’’
ईशालाई तर्कवितर्क गरेर वृद्धा पद्माको आस्थालाई च्यात्न मन लागेन । पद्माले लिन नमाने पनि आफूसँग भएको केही पैसा छोडेर ईशा घर फर्किन् । यता ईशालाई पद्माको अनौठो सम्झनाले सताइरह्यो ।
आफूलाई थाम्न नसकेर पद्मासँग भेट भएको केही दिनपछि ईशा लगनखेलको पाटीमा पुगेर पद्मा आमा कहाँ बस्नुहुन्छ ? भनेर सोधिन् । त्यहीँ बसेका एक वृद्धले पैसा ईशातिर बढाउँदै भने — ‘‘तपाईं ईशा होइन ?’ ईशाले हो भनेर टाउको हल्लाइन् ।
वृद्धले दर्दनाक स्वरमा भने —‘‘पद्मा बजै अस्ति राती मुटु दुख्यो भन्दै एक्कासि छटपटाउनुभयो । ईशा …ईशा भन्दै पोल्टाबाट यो थैलीको पैसा झिकेर दिनुभयो त्यसपछि घुप्लुक्क ढल्नुभयो । उठ्नु नै भएन । सायद तपाईंको विवाहमा उपहार दिन छुट्याएको होला यो यो पैसा, लिनुहोस् ।’’
यथार्थ बुझेपछि ईशालाई मुटु फुटेझैँ भयो । पद्मा आमाको सम्झनामा धेरै आँसु झर्यो । उपहारको लागि छुट्याएको दुई सय जति चानचुन पैसा लिएर ईशा घर फर्किइन् । विवाहको कुरो चल्यो, ईशाले कुनै नाइँनास्ति गरिनन् । एउटी कुलीन घरकी छोरीको विवाह जसरी हुनुपर्ने हो, त्यसरी नै भयो । विवाहको दिन ईशाले आफ्नो साथमा राखेको बहुमूल्य उपहार पुन: ओल्टाईपल्टाई हेरिन् । विवाहको दिन सबैले दिएको उपहारभन्दा पद्मा आमाले दिएको त्यही पैसा नै बहुमूल्य उपहार लाग्यो ईशालाई, हो त्यही पैसा ….।