१. काम्यो लुगलुग त्यो
मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने
भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने,
धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै,
खुट्टाका अउँलाहरु, नङहरु नीला भएका सबै,
पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि
कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी,
काखीभित्र घुसारी हा ! कर दुबै छोपेर ‘स्यूः स्यूः’ गरी
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्,
आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्;
निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को
२.दागबत्ती !!!
म सात वर्षको थिएँ, अबोध बालकै थिएँ,
कुनै कुरा थिएन थाह, मस्त नींदमा थिएँ,
मलाइ घच्घच्याउंदै, उठाउँदै, ‘ल हिंड्, भने
अघोर मध्य रातमा धुरु धुरु रुँदै गएँ
(१)
यता लगे, उता लगे, कता कता कता लगे,
जता तता छ अन्धकार, अन्धकारमा लगे,
रुवाउँदै, फकाउदै, फुल्याउँदै लगे लगे
खुरुक्क आर्यघाटको महामसानमा लगे !
(२ )
चिता थियो, प्रशस्त दाउरा बिछान झै थियो,
उ माथि एक लम्ब लाश लम्पसारमा थियो,
सफेद वस्त्र ओढनी, सिरान केशको थियो,
(त्यही पवित्र मूर्तिमा अनन्त कामना थियो )
(३ )
जसै पर्यो मसानको अदृष्य दृष्य दृष्टिमा
हवास होश क्यै रती रहेन अन्तयमा ममा
नसाहरु लुला भए, समस्त चेतना सुते,
सुषुप्त पूर्वजन्मका अनेक वेदना उठे
(४)
पहाडबाट रत्न झैं गर्भबाट निस्किएँ,
पिएर दूध तीन चार वर्षसम्म हुर्किएँ,
उही शरीरलाइ हाथ ! मै जलाउने भएँ ?
म खुम्चिएँ ! म आत्तिए ! म झस्किएँ ! म तर्सिएँ !
(५ )
सबै जना बडा थिए, म सूक्ष्म कीट झैं थिएँ
न बोल्न सक्दथें त्यहाँ न जोड चल्दथ्यो तयहाँ
बनाइ नग्न, मुण्ड औ दिए प्रदीप हातमा
त्यही लिएर घाटमा चिता वरीपरी घुमें
(६ )
बति सिर्सिराउँथ्यो, म चाहिं लुग्लुगाउँथें,
त्यहीं नजीक बाग्मती बहेर कुल्कुलाउँथिन्,
सुदूर फाँटमा बथान स्यालकमा कराउँथे,
खगोलमा अनेक तारकादि जग्मगाउँथे
(७ )
मसान-घाटमा यताउती जती जना थिए
कुनै त सुँक्क गदथे, कुनै त घुँक्क गदथे,
कुनै भने कठोर दैवलाइ नै सराप्दथे
सबै जना म माथि नै सहानुभूति गर्दथे
(८)
(जसै म शान्त चित्तले द्विन्त्र बन्द गर्दछु
समग्र दृष्य ती अगाडि फन्न फन्न घुम्दछन् )
म को थिएँ ! कहाँ थिएँ ! कठै !! अचेत झैं भए
तथापि दागदीप त्यो स्वयं दिनै पर्योब दिएँ !!!
( ९)
असार मासको कुवा, तलाउ झैं टमाटम
भरिन्छ मातृ-मोहको समुद्रले जसै मन
नयाँ नयाँ अनेक चिन्तना, विषाद आउँछन्
कवित्वबाट शीघ्र नै जडत्वमा पुर्याेउँछन्
(१० )
अनिष्ट सामना गरी अपत्यलाइ ओथरी
कठैबरी ! उ गौंथली चरी अकालमै मरी !!
कुनै दिनान्त-पान्थ चक्रपातमा पर सरि
निसासिएर, आत्तिएर रुन्छ बाल बेसरी
(११)
प्रवाह रक्तको उही र मांस, धर्म जो उही
अवाज, रुप यी उही र भावना सबै उही
अहो !! म ता सवाक नवीन चित्र ता छंदैछु नि
यही विचार अन्त्यमा मलाइ दिन्छ सान्तवना
(१२ )
(कविता-‘नन्द’ बाट )
३. सूर्यघाट
थियो समय सन्ध्याको, नजीकै सूर्यघाटको
किनारामा बसें, हेरे सारा दृश्य पहाडको
झ्याउँकिरी कतै आफ्ना गाना-ताना सुनाउँथे
कतै “चिर्हुट्”, कतै “चिर्र” चिडिया चर्चराउँथे
बाग्मतीमा यता पानी गर्दथ्यो खूब कल्कल
उता हल्ला मचाऊँथे आई बानरका दल
यत्तिकैमा बहाएर ल्यायो पुष्प मनोहर
कहिले छालको माथि उर्लन्थ्यो, खस्दथ्यो तल
कहिले उ यता पुग्थ्यो कहिले ता उतातिर
ढुङ्गाको कापमा अल्झ्यो कहिले उ कठैबर
गोलमाल गरी छाल आयो, हुत्याउँदै लग्यो
निसासिएर, आत्तेर अनाथ बिचरो गयो
अकस्मात् भुमरी ठूलो पो पानी घुमीकन
पर्न गो उसमा त्यो हा ! गर्यो देह विसर्जन ।
(बाग्मती बुझ संसार, मनुष्य एक पुष्प हो
आशाको लहरी सारा भुमरी भाग्यचक्र हो) ।
४.नाट्यशाला
संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन्
जीवनधारीहरू सारा कर्मचारी समान हुन् ।
छ जो प्रकृतिको पर्दा त्यसैको आडमा डटी
यहाँ भेष लिई नाना आउँछन् नट औ नटी ।
अभिनित यहीं हुन्-विपत्तिया महीपति
अंक प्रलयको बेला, महाप्रलयमा ‘इति’
सुत्रधार भई, काल काम गर्छ निरन्तर
गुण दोष दुवै हेर्ने आलोचक छ ईश्वर !
५. के थियो ?
झमक्क साँझ परेको थियो । धमिलो प्रकाश सर्वत्र छाएको थियो ।
छिन-छिनमा सिररर सिररर चिसो स्याँठ चलेको थियो । शुक्रतारा
अस्ताचलमा-पुगेको थियो । टाढाटाढा, बत्तीको धधपिएको ज्वाला
देखिएको थियो । के थियो? शायद कुनै बालकको क्रन्दन थियो ।
२
गोरेटो थियो । मेरो लक्ष्य त्यहीं जाने थियो । साथी केवल कल्पना
र कलम थियो । अलिपर कुलकुल कुलकुल कुलो बहेको थियो ।
त्यसैको नजीक भत्केको छाप्रो थियो । चारैतिर चकमन्न थियो ।
के थियो ? एउटा बिचरो बालक टाढा हेरेर चिच्याइरहेको थियो !
३
कति पटक सोद्धा बल्ल जवाफ दिएको थियो । दुइ महीनाअघि
उसकी आमाको मृत्यु भएको थियो ! उसको बाबु बिहानै पठुवा
चुटन गएको थियो । उ, घर कुर्न बसेको थियो । त्यस बेलासम्म
नआएको थियो । के थियो? बालकको मनमा भय, वास, आतंक थियो!
४
कपाल जिंग्रिंग पालेको थियो । न टोपी, आँगमा झुत्रो लबेदा थियो ।
न त तना थियो । छाती र पेट खुला थियो । कप्लक्क गाला, किर्लिङ्ग
करङ थियो । आँसुको आवैच्छिन्न धारा बहिरहेको थियो । के थियो ?
किसानको मातृहीन बालकको हृदय-विदारक चित्र थियो ! ! !
जनमत भीमनिधी विशेष