स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा त्यसैमा हुँदै आएका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका कार्टुन तथा चित्रहरू प्रदर्शनी गरिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनको अवसरमा ‘रङ्गपालिका’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।
दुई दर्जन कार्टुनिस्टले बनाएका चार दर्जनभन्दा बढी कलाकृति प्रदर्शन गरिएका छन् । महासंघले कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरेको प्रदर्शनीमा गाउँपालिकाले गर्नुपर्ने कार्ययोजना, विकास निर्माणसँगै त्यहाँ रहेका विकृति विसंगतिलाई चित्रण गरिएका चित्र तथा कार्टुन राखिएका छन् । कार्टुन चित्रहरूमार्फत स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा कर्मचारी समायोजनजस्ता विषयमा हुँदै आएका विकृतिहरूलाई प्रस्तुत गरिएका छन् । ‘खानी मात्र नभएर खानी संरक्षण पो रहेछ,’ ‘ओ ! कस्तो गन्हाएको धाराबाट पानी आएजस्तो छ,’ लगायत शीर्षकमा प्रदर्शन गरिएका कार्टुन चित्रहरूले स्थानीय सरकारका कार्य सम्पादनमाथि प्रश्न गर्दै सजग र सतर्क गराएको पाइन्छ ।
महासंघ देशका ४ सय ६० गाउँपालिकाको छाता संगठन हो । तीनदिने महाधिवेशनमा देशभरिका गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र हरेक जिल्लाबाट एक जना वडाध्यक्ष वा सदस्य रहने प्रतिनिधिका रुपमा उपस्थित छन् । महाधिवेशनबाट पाँच वर्षका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछन् ।
प्रदर्शनीमा अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, रविन्द्र मानन्धर, केशवराज खनाल, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जनलगायत कलाकारहरूका चित्र तथा कार्टुनहरू अवलोकन गर्न सकिन्छ ।