बिना थिङ ६० को दशक देखि नै कथा र कविता लेखनमा सक्रिय साहित्यकार हुन् । थिङको २०६९ मा ‘छुकी’ कथासङ्ग्रह र २०७२ मा ‘रातो घर’ कविता संग्रह र २०७९ मा ‘याम्बुनेर’ कथा संंग्रह प्रकाशन भएका छन् । थिङको ‘याम्बुनेर’ कथा संंग्रहले अहिले साहित्य वृत्तमा चर्चा पाएको छ ।
उनी २०७६ को १२ खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा प्रथम भएकी थिइन् । उनको हरेक कृतिलाई नियाल्दा गहिरो अध्ययनका साथ पुस्तक प्रकाशन भएको देखिन्छ । कथा वस्तु छनोट र लेखन शैली निकै आकर्षित र यथार्थपरक छन् । अध्ययन तथा खोजी गर्ने रुचाउने थिङ सँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी ?
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
भुवनलालको ‘नेपालको जनक्रान्ति २००७’ पढ्दै छु ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
नेपालीमा पारिजातको ‘अनिदो पहाडसँगै’, अङ्ग्रेजीमा जोन स्टेनबेकको ‘ग्रेप्स अफ र््याथ’ र हिन्दीमा कमलेश्वरको ‘कितने पाकिस्तान’मलाई मन पर्ने कृतीहरू हुन् ।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
अध्ययनको ध्येय आवश्यकताले निर्धारण गर्दो रहेछ । त्यसको लागि पुस्तकको छनौट गरिन्छ । कुनै पुस्तकले सक्रिय र गहिरो पठनको माग गर्छ भने कुनै पुस्तक मनोरञ्जनको लागि मात्र पढ्छु अर्थात् हलुका अध्ययन । विशेष गरी बिहान म ताजगी महसुस गर्छु । त्यसैले बिहानको समयमा गहिरो पठन वा लेखन कर्म गर्छु । दिनभरिको थकानले साँझ आलस्ययता हाबी हुन्छ । यस्तोमा हलुका पठन गर्न रुचाउँछु ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
‘कविता’ । यो मेरो लागि चुनौतीको विधा हो । थोरै शब्दमा गहिरो भाव व्यक्त गर्नु कविताको विशेषता हो । एउटा लामो आख्यानको थिमलाई कम शब्दमा रिदमिक् टोनमा भन्न सक्नु नै कविताको सामर्थ्य हो ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
मेरो पठनको सुरुवात चित्र कथा ( कमिक्स ) हरूबाट भएको हो । त्यसले ममा पठनको भोक जगाइदियो । ती पुस्तकहरू मैले मेरो फुपूको छोराहरूको सङ्गतबाट पढ्न पाएँ । उनीहरू हेटौडा बजारमा बस्थे । त्यति बेला बजारमा हिन्दी कमिक्सहरु भाडामा पनि पढ्न पाइन्थ्यो । म तिनै पुस्तक पढ्नकै लागि भनेर प्रत्येक शुक्रबार स्कुल छुट्टी भएपछि फुपूको घरमा जान्थेँ र आइतबार बिहान घर फर्किन्थेँ । अलिक पछि विद्यालयमै पुस्तकालय स्थापना भयो । अनि त्यहाँबाट लोक कथा, दन्त्य कथाका सँगै क्लासिक नेपाली, हिन्दी आख्यानका किताबहरू पढ्न थालेँ । कक्षा सात, आठ तिर मैले बसन्ती, सेतो बाघ जस्ता पुस्तकहरू पढिसकेकी थिए ।
कस्ता पुस्तकहरू पढ्न बढी मन पर्थ्यो ?
मलाई आख्यानले नै बढी तान्थ्यो । आख्यान पढिरहँदा कुनै सिनेमा हेरिरहेको जस्तो अनुभूति हुन्थ्यो । कस्तो सम्म भने कक्षा चार, पाँचमा पढ्दै गर्दा मैले माथिल्लो कक्षामा पढ्ने दाई दिदीको नेपाली किताबमा भएका कथाहरू पढी भ्याइसकेकी हुन्थेँ ।
तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
सङ्ख्याको हिसाबले नौ वर्षदेखि १६ वर्षसम्मको उमेरमा धेरै पढेँ हुँला । बोधको हिसाबले भने अहिले बढी पढिरहेकी छु ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
दोहोर्याएर पढेका पुस्तकहरू थुप्रै छन् । माक्सिम गोर्कीका ‘आमा’ उपन्यास र तीन संस्मरणात्मक उपन्यास ‘बाल्यकाल’,‘मेरो विश्वविद्यालय’ र ‘मान्छेहरूको भीडमा’ धेरै पटक दोहोर्याएकी छु । त्यस्तै जोन स्टेनबेकको ‘ग्रेप्स अफ र््याथ’, पर्ल एस. बकको ‘द गुड अर्थ’ पारिजातको ‘शिरीषको फूल’, विशेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ पनि दोहोर्याइरहन्छु ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
कुनै पुस्तक कला र शिल्पका हिसाबले मन परेको हुन्छ । कुनै विषयवस्तुको उठान अथवा कुनै इतिहास र बर्तमानबिचको तादाम्यता खोतल्नकै निमित्त पनि दोहोर्याइयो ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
आख्यान पढिरहँदा म पात्र सँगै हिँडिरहेकी हुन्छु । कुनै कुनै किताब त समातेपछि नसकेसम्म छोड्न मन लाग्दैन । त्यस्तो बेलामा म आफ्नो अस्तित्व बिर्सन्छु र पात्रले हिँडाएको परिवेशमा आफूलाई समाहित गर्छु । लेखक त्यतिखेर मेरो लागि गौण हुन जान्छ । जब किताब पढिसक्छु अनि यस्तो पुस्तक यो लेखकले कसरी लेख्न सक्यो होला भनेर गम्छु । छक्क पर्छु ।
तपाईँको विचार पढ्नु केका लागि हो ?
कोही परीक्षामा उत्तीर्ण हुनका लागि पढ्छन् । कोही मनोरञ्जन लिन पढ्छन् । कोही आफ्नो क्षेत्रमा विज्ञता हासिल गर्न पढ्छन् । कोही लेखक बन्छु भनेरै पढ्छन् । पढ्नुको आ–आफ्नै ध्येय हुन्छ ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
सघाउने भन्दा पनि प्रभाव पार्ने चैँ हुँदो रहेछ । मलाई चैँ इतिहासका किताब, कविता र आख्यानले नै बढी प्रभाव पारेको छ । जुन पुस्तक जीवनप्रति आशावादी र गतिशील छ त्यस्ता पुस्तक मेरा लागि प्रिय पुस्तक हुन्छ ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
पढ्नुपर्ने पुस्तकको लिस्ट लामै बन्छ । तपाईँले दश वटा भन्नुभएकोले मात्र तपसिलका पुस्तकहरूको नाम लिएकी हु ।
१. आमा
२. ग्रेप्स अफ र््याथ
३. शिरीषको फूल
४. द गुड अर्थ
५. घामका पाइलाहरू
६. याम्बुनेर
७. आमाको सपना
८. गोर्कीको तीन आत्म संस्मरणात्मक उपन्यास
९. क्राइम एन्ड पनिश्मेन्ट
१०. कितने पाकिस्तान
तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
दुई हजार जति होलान् कि ?
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
त्यस्तो छैन ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
तपाईँले सीमा बाँध्नुभयो । नत्र थुप्रै मन पर्ने लेखकहरू छन् । यो निकै अप्ठेरो काम हुन गयो अहिलेलाई । स्वदेशीमा पारिजात, भूपी शेरचन, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल र ध.च. गोतामे । विदेशीमा दोस्तोयेवस्की, टोल्सटोय, गोर्की, लू शून र सहादत हसन मन्टो ।
अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
गीत सुन्न, भ्रमण गर्न, सिनेमा हेर्न र गफ चुट्न ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
आफूलाई मन परेपछि नै सिफारिस गरिन्छ । त्यसैले माथि उल्लेखित किताबहरू नै सिफारिस गर्छु ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
त्यस्तो धेरै योजनाहरू छैन । एउटा उपन्यास ल्याउने विचारमा छु । त्यसैमाथि काम पनि गरिरहेकी छु ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
सिर्जना गर्न सक्ने मानिस नै स्रष्टा हो । त्यसेले यो अन्योन्याश्रित हुन्छ ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
जीवनको विविध खण्डहरूमा विविध व्यक्तिहरू मेरा लागि रोल मोडल भएर आए, गए । कहिले आमा, कहिले बा त कहिले गुरु त कहिले साथी मेरा लागि रोल मोडल भए । आजका दिनसम्म आइपुग्दा निरन्तर एउटै व्यक्ति मेरो लागि रोल मोडल भयो भन्ने चैँ छैन ।