नेपाली लोकनाट्य संसारका लोकनाट्यहरूकै एक अभिन्न अङ्ग हो । त्यसैले अन्यत्रका लोकनाट्यकै जस्तो एउटा सुदीर्घ परम्परा यसको पनि रहेको छ । मान्छेले जीवनजगत्को अनुकरण धर्तीमा पाइला टेकेदेखि नै गर्दै आएको हो । यस क्रममा उसले चराचुरूङ्गीका स्वर, पशुका हाउभाउ, खोलाका कलकल, झरीका झरझर, आँधीका वेग, घामजूनका चहक आदिलाई पछ्याउँदै कयौं कुराहरूको नक्कल र सिको गरेको देखिन्छ । विभिन्न सामूहिक समारोह र सांस्कृतिक समारोह कार्यक्रमहरूमा उसले गीत, सङ्गीत, नाच, संवाद, अभिनय आदिका माध्यमबाट जीवनजगत्का घामछाँया र अनुभवलाई प्रस्तुत गर्दै पनि आएको छ । यही परम्पराको उत्तराधिकारी लोकनाट्य हो र यसैसँग नेपाली लोकनाट्यको पनि सम्बन्ध गाँसिएको छ ।
नेपाली लोकनाट्यलाई नियाल्दा पूर्वीय परम्परातिर आँखा जानु स्वाभाविक छ । यस सिलसिलामा वैदिक काल हाम्रा अगिल्तिर देखा पर्दछ । वैदिक कालसम्ममा लोकनाट्य एउटा उचाइमा पुगिसकेको कुरा वेदहरूबाटै सिद्ध हुन्छ । ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेदमा नाट्यतत्वहरू अन्तर्निहित छन् र नाट्य स्वयंले त्यतिखेर पञ्चम वेदको मान्यता पाएको देखिन्छ । लोकस्तरमा नाट्यको प्रचुर विकास भएकोले नै त्यसबेला नाट्यवेद देखा पर्यो होला भन्ने कुरा सजिलै अड्कल गर्न सकिन्छ । अन्य वेदहरूलाई झैं नाट्यलाई वर्णका दृष्टिले ब्राम्हण, क्षत्री र वैश्यमा तथा लिङ्गका दृष्टिले पुरूषमा मात्र सीमित गर्न सकिएको देखिँदैन । यसलाई शूद्र र महिलाहरूका निम्ति पनि खुल्ला राखिएको पाइन्छ (भट्टराई, २०३९, पृ.२) । यसबाट नै लोकजीवनमा नाट्यको व्यापक प्रभाव रहेको पुष्टि हुन्छ । इ.पू. ३०० तिर नै भरत मुनिले नाट्यशास्त्र तयार पारिसकेको हुनाले पनि त्यसअघि नाट्यका क्षेत्रमा महत्वपूर्ण विकास भएको अनुमान गर्न सकिन्छ । भरतमुनिले नाट्यमा लोकवृत्तिको अनुरण र त्रैलोक्यका भावहरूको अनुकीर्तिन हुने विचार व्यक्त गरेका छन् (शर्मा, २०४०, पृ.३) । यसले लोक र नाट्यको घनिष्ठ सम्बन्धलाई दर्शाउँछ । संस्कृति, प्राकृत र अपभ्रंश भाषाहरूमा विभिन्न नाट्यकृतिहरू सृजना भएका छन् । लोकनाट्यको सेरोफेरो फराकिलो रहेकोले नै ती भाषाहरूमा लोकनाट्यको चुचुरो अग्लिएको हुनुपर्दछ भन्ने विश्वास गर्न सकिन्छ । लोकनाट्यको यही पृष्ठभूमिबाट नै नेपाली लोकनाट्यको यात्रा अघि बढेको हो ।
नेपाली लोकनाट्यको चर्चा गर्ने क्रममा विद्वानहरूले लिच्छिविकाल र त्यसभन्दा अझ अगिल्तिर पनि चियाएका छन् । यस क्रममा तमोट (२०३५, पृ.९०) ले हरिसिद्ध पुराणमा वि.सं. पूर्व १०८४ अर्थात् किराँतकालभन्दा अगि एक प्रकारको नाच प्रारम्भ भएको भन्ने कुरा उल्लेख भएको प्रसङ्ग उक्काएका छन् । उनैले गोपाल वंशावलीमा लिच्छिवी राजा चम्पादेवका पालामा चार अङ्कको रामायण–नृत्य खेलाएको उल्लेख पाइने तथ्य प्रस्तुत गरेका छन् र लिच्छवीकालमा केही डबलीहरू निर्माण भएको जानकारी पनि दिएका छन् । यसरी नै लिच्छविकालीन नृत्यलाई झल्काउने केही मूर्तिहरूतिर संकेत गर्दै तत्कालीन भाषामा विक्रमको पहिलो शताब्दीदेखि नै लोकनाट्य रची मनोरञ्जन गरिएको हुन सक्ने अनुमान थापा र सुवेदी(२०४१, पृ.३५०) ले गरेका छन् । लिच्छविकालीन नेपालमा नेपाली भाषाको जन्म भई नसकेकाले त्यसबेलाका लोकनाट्यबारे बढी भन्न सकिने स्थिति छैन तापनि डबली, नृत्य, गीत आदिसँग सम्बन्धित उपर्युक्त सूचनाहरूको महत्व आफ्ना ठाउँमा सुरक्षित छ ।
लिच्छविकालीन नेपालमण्डल विखण्डन भएपछि गण्डकी क्षेत्र र कोसी क्षेत्रबाट छुट्टिएर पश्चिममा खस राज्यको उदय भयो । यो विखण्डन बढ्दै जाने क्रममा पश्चिममा बाइसे र चौबीस राज्यहरू क्रमश: कर्नाली र गण्डकी प्रदेशमा देखा परेभने मध्यक्षेत्रमा सेनराज्य र पूर्वी क्षेत्रमा किराँतराज्य अनि काठमाडौं उपत्यकामा अलगअलग मल्लराज्यहरू अस्तित्वमा आए । उपर्युक्त राज्यहरू टुट्ने र जुट्ने क्रममा लोकनाट्य पनि प्रभावित रह्यो । यसमा कतै स्थानीय मौलिकता विकसित भएको र कतै बाह्य प्रभाव थपिएको कुरा लोकसाहित्यका अध्येताहरूले औंल्याएका छन् ।
नेपाली लोकनाट्य परम्पराका बारेमा थापा (२०३५, पृ.६७–७४) र थापा तथा सुवेदी (२०४१, पृ.३४९–३६०) ले केही जानकारी दिएका छन् । उनीहरूले काठमाडौं उपत्यका लगायत नेपालका विभिन्न भागमा प्रचलित कतिपय लोकनाच, लोकगीत आदिमा नाट्यतत्वहरू अन्तर्निहित रहेको चर्चा गरेका छन् । उनीहरूका दृष्टिमा काठमाडौं उपत्यकाभित्र प्रचलित भैरवनाच, कार्तिकनाच, महाकालीनाच, कुमारीनाच, देवीनाच, लाखे र झ्यालिन्चाका नाच, सबभकुको नाच, ज्यापूनाच, घिन्तामनीनाच, चर्यानृत्य, इन्द्रजात्रा र गाईजात्राका नाच तथा देशका विभिन्न भागमा प्रचलित घाटु, सोरठी, मारूनी, बालन, संगिनी, देउसी, भैलो आदि नाटकीय विशेषताले युक्त रहेका छन् । यसका अतिरिक्त काठमाडौं उपत्यका मैथिली, संस्कृत र नेवारीका संवाद मिसिएका विभिन्न नाटकहरू खेलाउने परम्परा रहेको र त्यसमा मल्लराजाहरूका साथै बाहिरबाट प्रवेश गरेका मैथिली ब्राम्हणहरूको योगदान रहेको कुराको पनि चर्चा पाइन्छ ।
माथि चर्चित लोकनाचहरूमा केही नाट्यतत्व पाइए तापनि तिनलाई लोकनाट्यको संज्ञा दिन सकिँदैन । लोकनाट्यका निम्ति कथानक, पात्र, संवाद, उपयुक्त प्रदर्शनस्थल, सरल भाषा आदिको खाँचो पर्दछ । यस्ता तत्वहरू माथि उल्लेखित घाटु, सोरठी, बालनजस्ता नाट्यगाथाहरूमा मात्र विद्यामान हुन सक्तछ । त्यसैले तिनलाई लोकनाट्यको संज्ञा दिन सकिन्छ । नाच र लोकनाट्यकाबीच स्पष्ट विभाजन रेखा नकोर्ने हो भने हाउभाउसहित नाचिने सिंगारू, गर्रा, झ्याउरे, लहरे आदि अनेक नाच लोकनाट्य कहलिन सक्छन् । हामीले लोकनाट्यको चर्चा गर्दा विधागत सचेतता अँगाल्नै पर्दछ, अन्यथा भ्रमको अन्योलमा हामी रूमलिन सक्ने खतरा उत्पन्न हुन्छ ।
नेपाली समाजले अहिले पनि लोकनाट्यबाट मनोरञ्जन प्राप्त गरिरहेको छ । सहरबजारतिर चलचित्र, टेलिभिजन आदिका साथै विभिन्न रंगमञ्चमा प्रदर्शन गरिने कार्यक्रमहरूले मनोरञ्जन प्रदान गर्दछन् तर विकट बस्तीहरू यी सुविधाबाट वञ्चित छन् । त्यहाँ लोकनाच र लोकनाट्यले नै मान्छेका मनलाई केही समयका निम्ति हलुङ्गो बनाउँदै आनन्द प्रदान गर्दछन् । अहिले हाम्रा समाजमा प्रचलित केही लोकनाट्यहरूको संक्षिप्त चिनारी तल प्रस्तुत छ :–
१) सोरठी
सोरठी लोकनाट्य मूलत: गण्डकी प्रदेशको गुरूङ मगर समाजमा प्रचलित लोकनाट्य हो । सोरठीका विभिन्न पाठहरू उपलब्ध छन् । भारततिर पनि सोरठीको प्रचलन छ (सिन्हा, २०१४, पृ.१३९) यसलाई सोरठ र सोरठा पनि भन्ने गरिन्छ । यस लोकनाट्यले अहिले निकै लोकप्रियता प्राप्त गरेको छ र नेपालका मेचीदेखि महाकालीसम्मका गाउँघर र सैनिक शिविरहरूमा पनि आफ्नै पहुँच पुर्याएको छ । नेपालमा प्रचलित एक लोकनाट्यमा जैसिङ राजा र हैमती रानी तथा उनीहरूकी छोरी सुनरूपा र मन्त्री सुमन्त मुख्य पात्र रहेका छन् । सौतेनी आमाहरूका जालमा परेर नदीमा बगाइएकी बालिकालाई हुर्काउने कुमालेको पनि यसमा विशिष्ट भूमिका छ । आफ्नै छोरी सुनरूपालाई नचिनी विवाह गर्न खोज्दा राजाले सुनरूपाबाट पाएको तलको अभिव्यक्ति अत्यन्त मार्मिक छ :
बाबाको गहना सबै चेली लाउँछन्
हामी पनि लाबेला
बाबाको लुगा सबै चेली लाउँछन्
हामी पनि लाबेला
बाबाका हातको सिँदुर
कौनै चेली लाउँदैन
हमु चेली पनि लाउँदैन
छोरीका यी वचनबाट सचेत भएका राजाले आफ्नो भान्जासँग सुनरूपाको विवाह गरेपछि कथानक अन्त हुन्छ । यस लोकनाट्यमा गुरूबाउ, गर्रा, मारूनी, पुर्सुङ्गे, मादले आदिले गाउने–बजाउने र भावाभिनय प्रस्तुत गर्ने काम गर्दछन् । त्यसमा झ्याली र खैंजडी पनि समावेश गर्न सकिन्छ । घरको आँगन र रंगमञ्चका रूपमा उपयोग गरिने यस लोकनाट्यका प्रारम्भमा सोरठी रागको तालले फन्का मारेपछि पुर्सुङ्गेको आगमन र गुरूबाउद्वारा गीतको प्रारम्भसँगै मारूनीहरू बाच्न चाहन्छन् (सापकोटा, २०४१, ६६) । विभिन्न देवीदेवता र दिक्पालहरूको सम्झनामा ठोक्कन हानिएर मारूनी कामेपछि लामीताल र छोटीतालमा नृत्य प्रदर्शन हुन्छ । सोरठी नाचिने समय इन्द्रजात्रादेखि वैशाख पूर्णिमासम्म मानिए पनि इन्द्रजात्रा र कार्तिक पूर्णिमालाई यसका निम्ति महत्वपूर्ण अवसर मानिन्छ । (पराजुली, २०५१, पृ. ३१) यसका पात्रहरूका भेषभूषामा पनि नाटकीय श्रृङ्गार देख्न सकिन्छ ।
२) घाटु
घाटु लोकनाट्य पनि गण्डकी प्रदेशका गुरूङ, मगर र दुरा जातिहरूमाझ बढी प्रचलित लोकनाट्य हो । अहिले भने यसको व्यापकताले सिङ्गो नेपालका साथै विदेशका नेपाली बस्तीहरूलाई पनि स्पर्श गरिसकेको छ । घाटु शब्द घाँटीमा झुण्ड्याउने घाणोसँग सम्वन्धित रहेको, सिकारी देउताले गुरूङ राजाहरूलाई शिकार गर्न सो प्रदान गरेको कुकुरको घाँटीमा त्यसलाई झुण्ड्याइएको र घाणो पाउने राजाका गुरूहरू नाच्दा उनीहरूलाई देउता चढेको किंवदन्ती पाइन्छ (पराजुली २०५४, पृ. ९५) । यसमा राजा दशरथ र सुलछेना मंैयाको कथानक पाइन्छ । यी दुईको विवाहपश्चात तिरिपासा खेल्दा राजाले जुवा हारी जोगी हुन्छन् र परदेशमा पुगेका बेला शत्रुद्वारा मारिन्छन् । रानीले एउटा बच्चालाई जन्म दिएपछि लोग्नेसँगै सती जान्छिन् । यसपछि राजारानी दुवै स्वर्गवासी भएको विश्वास गरिन्छ । राजारानीलाई परशुराम (पश्रामु) र सत्यवतीका रूपमा पनि चित्रण गरिएको पाइन्छ । अन्तमा परलोक भएका राजारानी तीर्थ गरी चाँडै फर्किआऊन् भन्ने कामनासहित सत्यवती, पूर्णावती, अम्बावती, कण्ठावती, ऋषिश्वस, ऋतुपर्ण र कालिकामाई यी सात बहिनी देवी र भूमेर, सिद्धचण्डी, झाँक्री, देउराली, थानपति, माछापुछे« तथा चौरासी देवताहरूले कुमार र कन्याद्वारा दिइएको धूपधार लेउ भन्ने आह्वानसहित घाटुको विसर्जन गरिन्छ ।
यस लोकनाट्यमा सुरूमा देवीदेवताको आराधनापश्चात दशरथ, रामचन्द्र, लक्ष्मण, लल्लौरी र कुसौरी (लव र कुस)ले सिकार खेलेको चर्चापछि मात्र सती खण्ड वा मूल कथानक प्रारम्भ हुँदा यसमा गुरूबाउ गर्रा, मादले र मुजुरा एवं खैजँडीवादकका गीत र तालमा घाटुलीका जीउमा सरस्वती उत्रन्छिन् अनि विभिन्न हाउभाउसहित नृत्य गरिन्छ । गायक, वादक र नर्तकका विशिष्ट पोशाकले पनि घाटु लोकनाट्यलाई आकर्षित तुल्याउँछन् । यस लोकनाट्यका केही पंक्तिहरू नमुनास्वरूप यहाँ प्रस्तुत छन् :
राजैले के र दिया माथै पगिया
राजैले के र दिया कानै सुनिया
राजैले के र दिया हातै चुरिया
राजैले के र दिया बछे घोडवा
पछिमेली राजा पुरबेली रानी हाकाहाकी भयो
गोलीपथर आयो भनी सत्तेवत्ती रानी ओत लिया
पछिमेली राजा पूरबेली रानी हाकाहाकी भयो
परबत मैदानमा जुजदा राजैजु परे भनी सत्तेवती
रानी मुरछा परे ।
३) नचरी
नचरी लोकनाट्य गण्डकी प्रदेशकै लोकसाहित्यिक सम्पत्ति हो । यस लोकनाट्यको कथानक रामायणको कथानकसँग सम्वद्ध छ । बरू यसमा थप विशेषता गाँसिएका छन् । रामकथामा आधारित यस लोकनाट्यमा दशरथले माछाको विषालु काँडा हातबाट निकालिदिएको फलस्वरूप कैकेयीलाई वरदान दिएर राम र लक्ष्मणलाई वनप्रस्थान गर्न मूलढोकामा सूचना टाँसेका छन् । यसरी दशरथ मरेको ठानी वनमा गैंडालाई मारेर पितृतर्पण दिइएको, रामले सीतासँग पानी माग्दा उनले आफूलाई चमारकी छोरीका रूपमा प्रस्तुत गरेकी र रामले आफूहरूलाई पनि चमारका छोराका रूपमा चिनाएको रोचक प्रसङ्ग यसमा गाँसिएको छ । यसरी नै सुनलुुठे पिङ मच्चाएर सीताका अनुरोधमा रामले सीतालाई लङ्काका पल्लो छेउमा पुर्याउँदा उनीहरूबीच परस्पर आकर्षण बढेको र रावणसँग सीताको विवाह हुँदा राम र लक्ष्मणले डोलेको काम गरेको नवीन कुरा पनि यसमा उल्लेखित छ । रावणसँग विवाह भए पनि सीताले बहाना बनाई सिसौका रूखमुनि बसेको, हनुमानले आफ्ना पुच्छरको आगो लङ्का डढाएर सीतालाई लिई फर्कन लाग्दा समुद्रका पानीले पनि उनको पुच्छरको आगो ननिभेको तर सीताको एक थोपा आँसुले सो निभेको वर्णन पनि यसमा पाइन्छ । एकदिन देवर लक्ष्मणले रावणको मुलुकबारे जान्न खोज्दा सीताले भात खाने पिर्कामा लङ्काको सम्पूर्ण चित्र र रावणको प्रभावशाली व्यक्तित्व उतारेकोमा भात खान बस्दा रामलाई सो पिर्काले उचाल्छ । सीतामा रावणको प्रभाव रहेको ठानी सीतालाई मारी मुटुकलेजो ल्याउन रामद्वारा अह्राइएका लक्ष्मणले मृगलाई मारी सीतालाई वनमा छाड्छन् र वनमै सीताका दुई पुत्र लल्यौरी– कुसौरी र भरद्यौ जन्मिन्छन् । शिकार खेल्न वनमा निस्केका रामका ती दुईसँग भेट भएपछि सीता जीवित भएको सूचना पाई रामले सीताको खोजी गर्न थालेपछि कथानक समाप्त हुन्छ ।
यसमा सहभागी हुने पात्रहरूले गुरूबाउ, पुरूसुङ्गे, मारूनी र मादलेका भूमिका पूरा गर्छन् । मुजुरा र करताल बजाउनेहरू पनि यसमा समाविष्ट हुन सक्छन् । गुरूबाउले सेतो भोटो, धोतीपाटा र शिरमा फेटा तथा पुरूसुङ्गेले सेतो भोटो धोतीपाटा, कालो इस्टकोट, घाँटीमा गलबन्दी, हातमा बाला, दुवै काँधमा हबेली, खुट्टामा चाँप र खाँकर तथा गालामा रातो टीका लगाएका हुन्छन् । यसरी नै मारूनीका पहिरनमा हरियो, पहेँलो वा रातो जामा, सेतो वा पहेँलो पटुका, रातो वा हरियो रङ्गको लामबाउले चोलो, हवेली, कण्ठा, मुगाको माला, काँडादार बाला, खुट्टामा चाँप, शिरमा बर्को, निधार र गालामा रातो टिका अनि शिरमा मुकुट रहेको हुन्छ । मादलेको वेशभूषा पनि पुरूसुङ्गेकै जस्तो हुन्छ । बीचबीचमा हास्यमूलक बोलसहित नाचिने यस लोकनाट्यका केही गीतहरू यसप्रकार छन् :
अगिको अगेर्नी पछिको पदेर्नी
माजैको गरियाले पानी खान देऊ मलाई
वनबासे अगेरीलाई पानी खान देऊ
हामु त हुय नि चमारैकि छोरी
कैसे पियैला पानी ?
हामु र होला चमारैको छोरा
हामुले पिवैला पानी
पानी खान देऊ मलाई वनवासी !
पानी खान देऊ ।
४) बालुन
बालुन नाम हिन्दीमा प्रेमी वा पति बुझाउने बालम शब्दबाट रहेको हो भन्ने कसैकसैको भनाइ छ । नेपाली लोकसाहित्यका मर्मज्ञ कृष्णप्रसाद पराजुलीले भने बाल/बाला + अयन = बालायन श्रबालन / बालुन भएको तर्क प्रस्तुत गरेका छन् । बालुन नेपालका विभिन्न भागमा प्रचलित छ । खास गरेर गण्डकी प्रदेश र त्यसभन्दा पूर्वतिरको बाहुन क्षेत्री समाजमा यसले विशेष प्रभाव जमाएको पाइन्छ । जे होस् बालुन नेपाली समाजमा प्रचलित महत्वपूर्ण लोकनाट्यका रूपमा सुपरिचित छ । रामायण, महाभारत, भागवत र दशावतारका कथानक छरिता र लयवद्ध चुड्का बनेर बालुनमा अभिव्यक्त हुन्छन् । यसमा सेतासेता दौरासुरूवाल लगाएर कम्मरमा पटुका बाँधेका र शिरमा फेटा गुथेका नर्तक–नर्तकीका चार–चार जनाका दुई हार हुन्छन् । तिनैमा जसे, पाते, हाँसे, रून्चे र लहसे भनिने हास्यकार पनि समाविष्ट हुन्छन् । नर्तक नर्तकीले हातमा फूल लिएपछि रौरा (प्रमुख) ले मङ्गलवन्दना प्रारम्भ गर्दछ र बालुने भाइहरू भजनिया मण्डलीका गीत र खैंजडी, मुजुराका तालमा शिर झुकाउँदै र थर्थराउँदै नृत्य प्रदर्शन गर्दछन् । आँगनलाई मञ्चका रूपमा प्रयोग गर्दै बालुन लोकनाट्य प्रस्तुत गरिन्छ । चण्डीपूर्णिमा, बालाचतुर्दशी, सत्यनारायणको पूजा, एकादशी आदिका अवसरमा बालुन लोकनाट्य देख्न सकिन्छ । खास गरेर राम र कृष्णका लीलाको बयान गरिने बालुनका केही गीत्यात्मक एवं संवादात्मक पङ्क्तिहरू तल दिइएका छन् :
होहो तिम्रै सरनमा खेल्न आयौ
आज्ञा देऊ धरतीमाता ¤
हो हो सत्यको कीर्ति गणपति
लम्बोदर विधाता
घर को छ ? घर को छ ?
घरकी घरबेटी
बाहिर के कीर्तन लायो राम !
निस्कादा त निस्कादा हौ
बालुने भाइ हो !
हाम्रो हात दिनुखानु कुछ नाहि
जान्छौं मथुरा राधा ! जान्छौं मथुरा
पापी कंस मार्नलाई जान्छौं मथुरा
हुन्छ पाल्नुहोस् हुन्छ पाल्नुहोस्
पापी कंस मारेर झट्टै फिर्नुहोस्
५) भारत
महाभारतको संक्षिप्त रूप नै भारत मानिएको छ । हुड्का बजाउँदै गाइने भएकोले यसलाई हुड्केली पनि भनिन्छ । भारतको प्रचलन कर्नाली प्रदेशमा पाइन्छ । भारतको लोकनाट्यका प्रस्तोताहरूले सेतो जामा, फुर्र्को छाडेको सेतो पटुका र सेतै पगरी, इस्टकोट तथा त्यसमै रातो कम्मरी वा उपर्ना लगाएका हुन्छन् । विभिन्न पर्व र विहाका अवसरमा भारत गाउँदै नृत्य प्रस्तुत गरिन्छ । प्राचीन समयका लडाईंका वर्णनहरू नै भारतमा पाइन्छन् । यात्री (२०४०) ले बालाराजा काशीरामको भारत, जितारीमल्ल जालन्धरीमल्लको भारत तथा राजा रानी, राउत शोभा राउतको भारत भेरी लोकसाहित्यमा सङ्कलन गरेका छन् । यी भारतका संवाद र अभिनयात्मक प्रस्तुति अत्यन्त आकर्षक हुन्छन् । भारतको गायनको प्रारम्भ एक जनाबाट हुन्छ र अरूले त्यसैलाई गाउँछन् । भारतका केही संवादात्मक अभिव्यक्तिको उदाहरण यी हुन् :
बाला काशीराम ! मेरो बोली सुन हो मेरो बोली सुन
मोरङमा जान हामी दिन्नौ बाला काशीराम !
बापवैरीको पैंचो भन्या तिर्र्नै पर्छ जिया हो !
बापवैरीको पैैंचो भन्या तिर्नै पर्छ
छोरो कि त बन हुन्छ कि त रन हुन्छ जिया !
काम फत्ते गरिआउँला किन रून्छ्यौ मेरी जिया !
हे भायलुयौ पैकेला राजौ !
खप्तडीयौ ! खुलाल्यौ !
कालीकोट्या श्रीपालीयौं !
सुनसुन हो, हामरा बात सुनसुन हो !
हो इमडी पामडी जुझनी आयो निंतली पत्त हो तार
ए सुनसुन पैकेलायौ ! हाम्रा बात सुन !
समरमा जान पर्यो खेडियौ हो जन !
उपर्युक्त लोकनाट्यहरू निकै लामो समयदेखि नेपाली समाजका धुकधुकी बनेका छन् । तिनमा नेपाली जीवनका खास समयका दर्शन, इतिहास, संस्कृति, राजनीति आदि सुरक्षित छन् । अतीतको सम्झना गराउँदै कतिपय आदर्शलाई प्रस्तुत गर्ने यो लोकनाट्यका सकारात्मक पक्षबाट शिक्षा लिन र नकारात्मक पक्षलाई त्याग्न युगीन चेतनाले हामीलाई आमन्त्रण गर्नु स्वाभाविक छ ।
यी लोकनाट्यका विशिष्टतालाई केलाउँदै एकातिर हामी वर्तमान अवस्थासम्मको हाम्रो यात्रामा विगतको योगदानको मूल्याङ्कन गर्न सक्छौ भने अर्काेतिर यिनमा विद्यमान कलात्मक र लयात्मक पक्षलाई नवीन चिन्तनको गोरेटो निर्माण गर्ने क्रममा पनि सदुपयोग गर्न सक्दछौं । नेपाली लोकनाट्यका कतिपय सुन्दर बान्कीहरू बालबालिका संवादयुक्त खेलहरू पनि देखिन्छन् । हाम्रो शोधखोजले त्यसतर्फ र अन्य सम्भाव्य दिशातिर पनि चनाखो दृष्टि लगाउनुपर्दछ ।
सन्दर्भ–सूची :
– तमोट, काशीनाथ, २०३५, नेपाली संस्कृतिमा डबलीको स्थान, नेपाली लोकसंस्कृति संगोष्ठी, काठमाडौं, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
– थापा, धर्मराज र हंसुपुरे सुवेदी, २०४१, नेपाली लोकसाहित्यको विवेचना, काठमाडौं पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय ।
– थापा, मोहन हिमांशु, २०३५, नेपाली लोकनाट्य परम्परा, नेपाली लोकसंस्कृति संगोष्ठी, काठमाडौं, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
– नेपाल ‘यात्री’, पूर्णप्रकाश, २०४०, भेरी लोकसाहित्य, काठमाडौं, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
– पराजुली, कृष्णप्रसाद, २०५१ सोरठी नाट्यगाथा, विन्दु ३४: ८८–८९–९० …. २०५४, घाटु, नृत्यगीत, विन्दु, ३६: ९५–९७ ।
– भट्टराई, गोविन्दप्रसाद (अनु.), २०३९, भरतको नाट्यशास्त्र, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
– शर्मा, पूर्णचन्द्र, (डा.), २०४०, हरियाणा की लोकधर्मी नाट्यपरम्परा, चण्डीगढ, हरियाणा साहित्य एकेडेमी अकादमी ।
– सापकोटा, होमनाथ, २०४१, गुल्मेली लोकगाथा सङ्कलन, वर्गीकरण र विश्लेषण, (त्रि.वि.म प्रस्तुत अप्रकाशित शोधपत्र)
– सिन्हा, सत्यव्रत, २०१४, भोजपुरी लोकगाथा, इलाहावाद, हिन्दुस्तानी एकेडेमी ।