साहित्य विधा मध्य नाटक विधामा सक्रिय स्रष्टा हुन्, अशेष मल्ल । उनैले नेपालमा पहिलो पटक सडक नाटकको जन्म दिए । उनी नाटक लेखन र निर्देशनको साथमा कविता र बाल साहित्यमा पनि उतिकै कलम चलाउँछन् । उनी सानो उमेरमा प्राज्ञ भएको र युरोपमा नाट्य विषय पढाउने पहिलो नेपाली नाट्यकर्मी पनि हुन् । दुई दर्जन पुस्तक र सयभन्दा बढी नाटकका लेखक अशेष मल्ल चार दशकदेखि अविच्छिन्न नाटक लेखन, निर्देशन र मञ्चनमै रमाएका गतिशील यात्री हुन् । ‘सर्वनाम’ र ‘अशेष’ एकै रूखका हाँगा र पातजस्ता अभिन्न लाग्छन् । २०३८ सालमा समूह बोध बुझेर सर्वनाम स्थापना गरेका मल्लले ०६८ सालमा एउटै छहारीमुनि कला, साहित्य, संस्कृतिका अनेक छटाहरू पस्किने गरी भएको ‘सर्वनाम थिएटर’ को स्थापना गरे । नेपाली साहित्यको अहिलेको अवस्था बारे उनीसँग जनमत साहित्य डट कमका लागि गरिएको कुराकानीको सम्पादित अंश :
साहित्य कहाँ कता तिर गई रहेको छ ?
विश्व साहित्यको इतिहासलाई हेर्ने हो भने साहित्यले अक्सर तत्कालीन परिवेशलाई प्रतिनिधित्व गरिरहेको पाउँछौँ । तत्कालीन राजनीति , समाज , संस्कृति र समग्र परिवेशबाट कतै न कतै प्रभावित भइरहेको हुन्छ । त्यसैले त साहित्यले सत्य इतिहास बोल्छ भनिन्छ नि । हाम्रो सन्दर्भमा पनि त्यही हो । भानुभक्तको कविता होस् वा लेखनाथ , देवकोटा ,रिमाल आदिका कविता । समका नाटक होस् वा गुरु प्रसाद मैनालीका कथाहरू । यी सबैले तत्कालीन समाज , भाषा , संस्कृति र सभ्यताको झल्को दिइरहेको पाउँछौँ । सिद्धिचरण श्रेष्ठले सात साल अघि क्रान्ति विना हुँदैन शान्ति भन्ने भावको कविता लेखेका थिए । रिमाल, देवकोटा आदिलाई पढ्दा त्यही आभास मिल्छ । यता चार पाँच दशकको नेपाली साहित्यको अध्ययन गर्दा पनि विभिन्न कालखण्डको राजनैतिक , सामाजिक र सांस्कृतिक परिवेश कतै न कतै स्पष्ट अनुभव गर्न सकिन्छ । नेपाली राजनीतिको सबैभन्दा ठुलो विडम्बना भनेको अस्थिरता नै हो । राजनीति स्थिर नभएका कारण समग्र साहित्य र व्यवहारिक परिवेशमा अत्यन्तै नकारात्मक प्रभाव पारेको स्थिति छ । आर्थिक अवस्था उक्लन नसक्नु, सामाजिक विषमता हट्न नसक्नु देखि समृद्धिको बाटोमा अझै उक्लन नसक्नुको मूल कारण पनि राजनैतिक अस्थिरता नै हो । आज देखिएका अनेक विकृति र विसङ्गतिलाई राज्यले सम्बोधन गर्ने सकेको छैन । यी सबै सत्यताको बिम्बहरू आजका साहित्यमा कतै न कतै मुखरित भएको देखिन्छ । अर्को यथार्थ भनेको आजको डिजिटल युगमा प्रवेश गरेको विश्वको प्रत्यक्ष प्रभाव हाम्रो साहित्यमा पनि परेको छ । आजको साहित्य यी सबै कोणबाट हेरे मूल्याङ्कन गर्नु पर्छ । समग्रमा साहित्य लेखनको निरन्तरतामा अधोगतिको स्थिति छैन । खास गरी आख्यान विधा निकै आशा लाग्दो छ । गजल , मुक्तकहरू लेखनको सङ्ख्यात्मकता बढे पनि उल्लेख्य गुणात्मक उपलब्धि देखिँदैन । कवितामा आशाका किरण देखिएका छन् । नाटक लेखनमा नयाँ लेखकहरू धेरै कम छ । तथापि पछिल्ला पुस्ताले थोरै आशा जगाएको अनुभव हुन्छ ।
नेपाली साहित्य समाजको ऐना बन्न सकेको छ ? कि लेख्नका लागि लेखिरहेको मात्र हो ?
प्रश्न समाजको ऐना हुनु र नहुनुको होइन । लेखनमा लेखकले आफ्नो दायित्व निर्वाह गरेको छ कि छैन यो महत्त्वपूर्ण कुरा हो । मलाई जहिले पनि लाग्छ एक जना पाठक मात्र पनि कुनै लेख पठनबाट नकारात्मक बन्छ भने त्यो घातक हो । यसमा हरेक लेखक सजग बन्नै पर्छ । साहित्य कस्तो हुनुपर्छ भन्ने बहस आ आफ्नै तरिकाले हुँदै आएको छ । एक थरी प्रगतिशील साहित्यमा विश्वास गर्ने छन् भने अर्का थरी साहित्यमा कुनै बन्धन हुनु हुँदैन भन्ने मान्यता राख्छन् । विचार जसले जे राखे पनि हाम्रो साहित्यको परिवेश समाजभन्दा पर छैन । हाम्रो जस्तो मुलुकको सबैभन्दा ठुला समस्या भनेको राजनैतिक अस्थिरता नै हो । यही अस्थिरताले गर्दा मुलुकले अनेक सङ्कट भोग्नु परिरहेको छ । पचास दशकका लेखनलाई हेर्ने हो भने यसको प्रतिविम्ब कतै न कतै झल्किएकै देखिन्छ । अधिकांश कवि तनमन विद्रोह , विसङ्गति , विकृतिका प्रसङ्ग देखिनु यसका ज्वलन्त उदाहरण हुन् । मलाई एक जना अस्ट्रेलियन नाटककार , निर्देशक जोनले सोधेका थिए , तिम्रो नाटकमा किन सधैँ विद्रोह मात्र हुन्छ , किन राजनैतिक नाटक मात्रै लेख्छौ ? तिम्रो देशमा कति राम्रा हिमाल र प्राकृतिक सुन्दरता छन् , तिनका बारे किन लेख्दैनौ ? जवाफमा मैले भनेको थिए, जुन देशमा अभाव , गरिबी , पीडाहरू छन् ती देख्दा देख्दै हिमालका प्रशंसामा कहाँ लेख्न सक्छु र ?
मेरो तर्क थियो आज मेरो देशमा जे जति समस्याहरू छन् तिनको सबैभन्दा ठुलो कारण हो राजनैतिक अस्थिरता हो । तिमी जस्ता विकसित देशका नागरिकले यस्ता कुरा बुझ्दैनौ । जे होस् अन्ततः हाम्रो साहित्यको विषय भनेका हाम्रै समाज हो । यसलाई तपाईँ ऐना भन्नुस् वा यथार्थता । यो भन्दा बढी के भनूँ ।
नयाँ साहित्यकारलाई स्थापित हुन कति गाह्रो छ ?
स्थापितको अर्थ के हो ? चर्चित हुनु ? पुरस्कार ? किताब छाप्नु ? पैसा खर्चेर धमाधम किताब छाप्नुको कुनै अर्थ छैन । राम्रा साहित्यकारका धेरै किताब छापिनु पर्छ भन्ने छैन । भूपी एउटै किताब घुम्ने मेच माथि अन्धो मान्छे ले अमर भए । कवि वैरागी काइँलाको कविता सङ्ग्रह जम्मा एउटा छ । आज पैसाको भरमा किताब प्रकाशन गर्ने होडबाजी चलेको छ । खास प्रतिभाहरू ओझेलमा परेका छन् । पुरस्कारको हाल त्यस्तै छ । तर यो स्थिति सधैँ रहिरहँदैन । लेख्नेहरूले स्थापित हुन कालागि लेख्ने होइन । लेख्दै गएपछि लेखनमा दम छ भने एक दिन न एक दिन सबैको आँखामा नपर्ने कुरै छैन । तथापि कतिपय राम्रा लेखक हराएर नगएका होइनन् । कुनै पनि विधामा सफलता पाउन निरन्तरताको जरुरी हुन्छ । एक दुई रचना राम्रा भएर हुँदैन , निरन्तर सिर्जनामा नलागी सफलता मात्र खोज्नु मूर्खता हो । स्थापित हुनु भनेको रचनाको प्रभावशालिताले पाठकको हृदयमा बास बस्नु हो । हरेक पुस्तालाई यस्तो हुनु सजिलो छैन । आज त झन् प्रतिस्पर्धाको चरम अवस्था छ । सजिलो छैन । नयाँ पुस्ताले बुझ्नु पर्छ अध्ययन विना लेख्नुको अर्थ छैन । आज कविता लेखनमा देखिएको बाढी हेर्दा दिक्क लाग्छ । सङ्ख्यात्मक होइन गुणात्मक हुनु आवश्यक छ । म दश कक्षामा पढ्दा केही कविता लेखेर गुरु दयाराम श्रेष्ठलाई देखाउन दिए । उहाँले भन्नू भयो सय वटा कविता लेखेर च्यात अनि त्यसपछि लेखेको कविता देखाऊ । उहाँले भन्नू भएको यथार्थ आज बुझ्दै छु । अध्ययन , अभ्यास र परिमार्जन विना छाप्न हतारिएका आजका पुस्ताले यो तथ्य बुझ्न सके स्थापित कसरी हुने त्यो बुझ्न सरल हुनेछ ।
अहिलेको पुस्तक बजार व्यवस्था कस्तो छ ?
सबभन्दा कमजोर पक्ष भनेकै बजार व्यवस्थापन हो । पाठकसम्म पुस्तक पुग्ने दरिलो संयन्त्रको अभावले गर्दा लेखक र पाठक बिचको पुल निर्माण हुन नसकेको स्थिति छ । यो हिजो पनि थियो र आज पनि छ । हो , पहिलेको तुलनामा यातायातको सुविधाले गर्दा आज केही सरल नभएको होइन तर पठन प्रवृत्तिमा आज केही ह्रास आएको देखिन्छ । डिजिटल माध्यमको तीव्र विकासले पत्र पत्रिकादेखि पुस्तकसम्मको पठनलाई चुनौती दिएको अवस्थामा अब प्रस्तुतिले समेत परिवर्तन खोजिरहेको छ । त्यसमाथि यो कोरोनाको महामारीले अर्को स्थिति खडा गरिदिएको छ । समयको तीव्र परिवर्तनसँगै सोच पनि बद्लिन बाध्य बाध्य बनेको छ ।
तपाईँलाई साहित्यको कुन विधामा अभिव्यक्ति पोख्न सहज लाग्छ ?
साहित्य कविता होस्, नाटक होस्, नृत्य होस्, सिनेमा होस्, सङ्गीत होस्, यी सबै एउटै हुन् । सिर्जनाको अभिव्यक्ति मात्र हुन् । हामीले कसरी आफ्नो सिर्जनालाई अभिव्यक्त गर्ने भन्ने कुरा न हो । एउटा सङ्गीतकारले गर्ने अनुभूति, चित्रकारले गर्ने अनुभूति, नाटककारले गर्ने अनुभूति उसको सिर्जनामा झल्किने हो । विधा फरक फरक हो तर स्रोत एउटै हो ।