काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात य:सिं ठड्याएपछि सुरु भएको हो ।
हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ। काठमाडौंमा ठूलो लिंगोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्ग ठड्याउने पनि चलन छ । जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । जुन इन्द्रका छोरा जयन्तको प्रतीक मानिन्छ ।
इन्द्रजात्रा पर्वको मुख्य विधि भनेको नै वसन्तपुर दरबार क्षेत्रको कालभैरव अगाडि यः सिं अर्थात् लिंगो ठड्याउनु हो । यो लिंगो तान्त्रिक विधिबाट ठड्याउने गरिन्छ । यही लिंगोमा अंकित पाताहरूमा सुनको जलप र इन्द्र विराजमान ऐरावत हात्तीको प्रतिमा बनाइन्छ । यही दिन नै श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिन्छ ।
संस्कृतिविद् हरेराम जोशीका अनुसार लिंगो ठड्याएको दिन नै महाकाली नाच, लाखे नाच जस्ता नाचहरू नाच्ने गरिन्छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा एवं सम्झनामा मनाइने यो पर्वमा थानकोटमा रहेको इन्द्रदहमा गएर रातभर जाग्राम बसेर इन्द्रको पूजा समेत गर्ने गरिएको जोशी बताउँछन् ।
सकारात्मक र नकारात्मक किंवदन्तीसँग समेत जोडिएको इन्द्रजात्राको सुरुवातलाई हेर्दा एक हजारदेखि १५ सय वर्षअघिदेखि चलेको भन्ने मत पाइन्छ । संस्कृतिविद् हरेराम जोशीका अनुसार यो जात्राको सुरुवात उत्तर लिच्छविकालदेखि भएको हो । उनको मतलाई आधार मान्दा यसको सुरुवात गुणकामदेवले गरेको भन्ने मतसँग मिल्न आउँछ ।
काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको समयसम्म सानो लिंगो ठड्याएर प्रतिकात्मक रूपमा मनाउने गरिन्थो । तर जयप्रकाश मल्लले कुमारी जात्रा र इन्द्रजात्रालाई संयोजन गर्ने काम गरे । उनको पालाभन्दा पहिले प्रतिकात्मक रुपमा लिंगो बनाएर त्यसको पूजा गर्ने चलन भए पनि जयप्रकाश मल्लको पालादेखि यसलाई धुमधामका साथ मनाउन थालिएको हो ।
इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।