नातिलाई स्कुल लिएर छोरो गइसकेको थियो । आमा बाहिर सिकुवामा हालेको कुर्सीबाट बाहिरको संसार नियालिरहेकी थिइन् । उनका आँखा र मनले सँगसँगै छुत्ति खेलिरहेको अनुमान गर्न सकिन्थ्यो । छोरो आइपुग्यो बजारबाट, केही सामानसित; देख्ने साथै बुहारीले भनि — ‘भात खान आइहाल्नु, सेलाइ सक्यो; आफूलाई यहाँ कस्तो भोक लागिसक्या छ ….. ।’
छोरो बाहिर धारामा हातखुट्टा पखालेर भित्र पस्यो । कति ढिलो गर्या ….., बुहारी झर्किइ ।
ऊ भात खान बस्यो ।
‘आमालाई दइस् …. ?’ सोध्यो उसले ।
‘छैन…..’, उस्तै च्याठ्ठिएको स्वरमा जवाफ गरी ।
बुहारीले उसलाई खाना पस्किई ।
‘आमालाई पनि बोला न ……!’ भात मुछ्तै उसले भन्यो बिस्तारै ।
‘बोलाउनु नि त …….!’ बुहारीले अलि नाके स्वरमा भनि –‘याँ आफूलाई कस्तो भोक लागिरा’छ ।’ उसले आफूलाई खाना पस्की । उसले एकछिन हेर्यो ।
‘आमा ……! खाना खान पनि कति ढिलो गर्या होला, भान्सेलाई पर्खार ।’ छोराले केही गुनासोको स्वरमा आमालाई डाक्यो । उसले फेरि स्वास्नीका मुखमा हेर्यो ।
बुहारीले थाल र भातको भाँडो बजाउँदै खाना पस्किदिई र थाल उता सारिदिई ।
आमा खान बसेपछि छोरोले भन्यो —‘खाना अघि नै खाइदिनु पर्दैन …..? आफूलाई कामको चटारो छ, ढिलो भइहाल्छ, बुहारी कस्तो भोकाएर ओँठ कलेँटी पारेर पर्खेकी छ ।’
‘भन्नैलाई त तैंले भनिस् नै, बरु भोकको कुरा चैं नगरे हुन्थ्यो । डाको न बोलायो, लींडे पुच्छर डोलायो, गर्न पनि त भएन । तलाईं थाहै छ — चेई नभनी त कुकुर त आउँदैन ।’
‘के भन्या तपाईंले…..?’ छोराले खाँदाखाँदैको स्वाद बिग्रेझैं मुख पारेर आमालाई कुरो नबुझे जस्तो गरेर हेर्यो ।
‘अब मैले कुरो अङ्ग्रेजीमा भन्या होइन…..’, आमाले व्यङ्ग्यात्मक पाराले अलिक मुस्काउन खोज्दै भनिन् ।
उता बुहारी छड्के आँखाले सासूलाई घोचौंला जस्तो गरेर हेर्दै थिई । आमाले त्यतापट्टि उत्ति ध्यान नदिए झैं देखिन्थ्यो ।
राति छोरा बुहारीको खास–खुस नसुनौं भन्दा पनि आमा चैंको कान परिहाल्यो ।
बुहारीले भनि –‘मैले भन्देको छ नि….., म अब सक्तिन नि …. । तिम्री आमालाई, खुरुक्कै भोलि त्यो देवघाट पुर्याएर थन्काएर आऊ ।’
‘के भनेकी तैंले …..?’ छोरो खुस्खुसायो झर्के झैं गरेर ।
‘अब मैले निकै खेप भयो भनेको; तिमी अझै बुझ्दैनौ वा बुझ्नै खोज्दैनौ भने – बस तिम्री आमा स्याहारेर ।’ बुहारी फन्के झैं गरी र एकछिन भित्तापट्टि फर्केर सुक्सुकाए झैं गरी । फेरि फर्केर भनि –‘म अब सक्तिन तिम्री आमा स्याहार्न, भोलि नै कि तिनलाई देवघाट पुर्याउ नत्र म त माइत गएँ । फर्केर आउँदिन, आउँदिन र लिन भनेर पनि नआउनु ।’
‘हैन, कसरी लैजाउँ ….? के भनेर लैजाउँ ….?? कस्तो कुरा गरेकी ….?’ छोरोको स्वरमा आतेसको भाव थियो ।
‘त्यसो भए बस…., तिम्री आमा स्याहारेर’ – उसको स्वर रन्केको थियो —‘एउटी छोरी पाल्न सक्ने औकातकै छन् — माइती । आमासित रुँदै तिम्री आमाको कायाकैरन गाएपछि – माइतमा त फिट भैहाल्छु । तिमीले मलाई चिनेकै छैन कि क्या हो ।’ उसले कुरा थप्तै गई ।
‘हैन भने भोलि विहानको बसमा कि म माइत, कि तिम्री आमाका देवघाट यात्रा । लु….! ‘सप्रिने जहानको बेलुकाको मतो, विग्रिने जहानको विहानको मतो’ भन्ने त सुनेकै होला । ल…., अब म ढुक्क भएर सुत ।’
आमा बिहानै चडाकिसित उठेर गाउँतिर लागिन् । छोराले देवघाटको योजना मिलाउनै पाएन । बुहारी बिहानैदेखि ठुस्स परेकी थिई ।
चिया खाने बेलामा उसले सोध्यो –‘हैन ….. आमा खै हँ ….?’
‘के सोध्छौ नि मलाई !’ लोग्ने चैंलाई आँखा तर्दै उसले भनि —‘तिम्री आमा कहाँ जान्छिन्, को–कोसँग भेट गर्छिन्, के–के को राजनीति गर्छिन्…, बडो… मसित पो — आमा खै…..!’ ऊ भन्भनाउँदै भित्र पसी । भित्रैबाट उसले आफ्नो निर्णय दोहोर्याई –‘मैले भन्द्या छ…., अब म अझ यो तिम्रो घर र तिम्री आमाको पीर खपेर बस्न सक्तिन । अब कि वार — कि पार ।’
नमिठो स्वादको चिया खाए झैं ऊ मुख बिगार्दै उठ्यो ।
बुहारीले दैलाका ठेलामा एउटा खुट्टो टेकेर भनि — ‘के के चाहिने हो, सबै तयारी मिलाई राख, भोलि विहान उठ्ता मैले तिम्री आमाको मुख देख्न नपरोस्; हैन भने तिमीले नै मेरो मुख देख्न पाउने छैनौ ।’
घरमा आमा आइपुग्दा खाना खाने बेला घर्किसक्याथ्यो, बुहारीले भात खाइसक्या थिई ।
छोरो चैं पर्खिरहेको थियो ।
आमालाई देख्नासाथै छोराले झर्किदै भन्यो –‘हैन…., तपाईंलाई पनि कहाँ कहाँ भौतारिनु पर्या होला ? खाना खाने बेलाको त यसो फुर्सद राख्नुपर्ने हो । घरमा हामी पनि छौं, भोकभोकै तपाईंलाई कति पर्खिरहनु पर्ने खाना खानलाई ।’
छोराको सम्वादले आमालाई भुतुक्कै भएर थाके झैं लाग्यो । कुर्सीमा बसेर खुइँय गरिन् । थकाई मार्नलाई आँखा चिम्लिन् । आँखा चिम्लनासाथ विगत उनका आँखामा सिनेमाको रिलमा देखिए झैं दृश्य घुम्न थाले ।
सन्तान जन्माउनु र हुर्काउनुको पीडा र रहर, भविष्यका प्रत्याभूतिका सपनाहरु अनि आजको यथार्थ । सोच्ता सोच्तै उनको मन अब कठोर भयो, एकाएक उनका मनबाट सन्तानप्रतिको ममता र वात्सल्यता समेतमा तातोपानी खनिए झैं भयो ।
उनले चिम्लेका आँखा उघारिन् र सोधिन् –‘तिमेरले खायौ ….?’
उसले चैं खाइसकि, उसको अनुहार अझ उज्यालिइसकेको थिएन ।
भन्यो —‘मेरो चैं सेलाइसक्यो होला, जौं हिड …. ।’
‘मलाई त उत्ति भोक पनि छैन, त्यसैले…..,’ आमाले तगारो मान्दै भनिन् ।
छोरो झर्कियो, ‘हामीलाई त भोक लाग्छ नि….!’ अझ भन्यो —‘हाम्रो भोक तिर्खाको पनि ध्यान हराइसक्यो नि तपाईंलाई, आफ्नो मात्र सोच्नुहुन्छ ।’
निराश र थाकेको स्वरमा आमाले भनिन् —‘खै…, अब…, त्यस्तै समय आएछ क्यार….., त्यै भ’र ।’
साँझको खाना खाँदै गर्दा आमैले निकै बेरसम्म भात मुछी मात्र रहिन्, खेलाई मात्र रहेको देखेपछि छोराले झर्केर सोध्यो –‘हैन के हो ……? अब भात पनि बुहारीले दे’को मीठो हुन छाड्यो कि के हो ….?’
आमाले उसैगरी भात मुछ्तै भनिन् —हैन, त्यसो होइन । भात त मीठै छ, फेरि यो मेरै निम्ति मात्रै पकाएको पनि त होइन । तर एउटा कुरा पो मैले तिमेरुलाई भन्नु थियो । त्यही कति दिनदेखि सोचिरहेकी थिएँ । भन्ने कि नभन्ने हो……..भनेर । तर आज चैं भन्नै पर्ने भएर पनि अलिक घोत्लिएकी र’छु क्यार । त्यसैले ।’
‘के कुरा …..?’ छोराले सोध्यो –‘भनिहाल्नु; कुरा मनमा पकाएर राख्ता त कुहिन्छ ।’
‘त सुन त छोरा …… !’ आमैले भात मुछ्न निहुरेको शिरलाई उठाइन्, अनुहारमा ओज बढ्यो । मुहार उज्यालो पार्दै भनिन् —‘तैंले पनि मलाई सहयोग नै गरिस्, अब सुन…….! यो हाम्रो तीन विघा खेत र यो घर बगैंचा सबै तेरा बाउले मेरा नाममा ‘जीउनी’ पास गर्देका छन् । जीउनी भनेको कसैलाई बाँडफाँड र अंशबण्डा नलाग्ने जेथो हो । अब सर्खारले पनि संविधानमा पैतृक सम्पत्ति माथि सन्तानले अंश खोज्ने र हक दावी नलाग्ने व्यवस्था गर्देको छ अरे । अब आफ्नो सम्पत्ति वा जीउनी कुनै साखा सन्तानलाई दिन हामी वाध्य छैनौं अ’रे — स्वइच्छाले बाहेक ।
त्यसो हुँदा अब म तिमेरुलाई यो मेरो सम्पत्तिमा राइँदाइँ गरेर खान बस्न दिने पक्षमा छैन ।
अब भोलि नै तिमीहरु आफ्नो व्यवस्था मिलाउनपट्टि लाग । घर कोठा खोज, पढाइ दिएकै छ, काम खोज, नभए मजदूरी गर, मन गर्यौ भने मेरै खेत पनि अधियाँ शर्तमा कमाई खानसक्छौ; तर अब म भोलिबाट उता अरु एकदिन पनि यहाँ बस्न दिने छैन । कुरा बुझ्यौ ….?’ यसो भन्दा आमैको स्वर अलिक चर्कै थियो ।
उनले चड्किदै भनिन् –‘म मरेपछि पनि यो मेरो जीउनी मन लागे नातिका नाममा गर्दिन्छु; नलागे त्यही नाति पढ्ने स्कुललाई दान गर्दिन्छु ।’
‘लौ ….. ! सुन्यौ होला नि मेरो कुरा …. !’ उनको स्वर अझ चर्को हुँदै थियो । ‘बिहानैदेखि बुहारीले झिटी गुन्टा कस्नु, छोरा गएर घर–कोठाको व्यवस्था गर्नु; बरु भोलिको छाक भात पनि मै पकाएर ख्वाउँछु ।’