एऽऽऽ नेपालबाट … .! भन्दै नगिचैको स्टाफलाई नेपालबाट पनि ब्राजिल आएछ ! छक्क पर्दै मेरो पासपोर्ट देखायो । म अचम्म परेँ । मनमनै गुनेँ के नेपालबाट ब्राजिल आउनु हुने थिएन र ? हुन सक्छ त्यो स्टाफलाई एउटा नेपाली ब्राजिल आएकोमा अचम्ममा पारेको थियो । अथवा हुन सक्छ त्यो स्टाफले धेरै समयको अन्तरालमा नेपाली पासपोर्ट देखेको हुनुपर्छ । साउथ अमेरिकाको यो देश नेपालीहरूको गन्तब्यस्थल हुँदै होइन । कहाँ अमेरिका, जापान छोडेर ब्राजिल गइरहोस् ।
हुन त म पनि नेपालबाट ब्राजिल आएको त कदापि होइन । मेरी श्रीमतीकी दिदीको एउटा ब्राजिलिएनसँग हुन लागिरहेको बिहेमा सरिक हुनका लागि श्रीमतीका साथै ससुरासँग जापानबाट आएको थिएँ । जब माकीले दिदीको बिहे हुने भन्ने सूचना पाइन्, निकै दङ्ग परेकी थिइन् । ब्राजिल जाने कुरामा एक त उनी सानो हुँदा बाल्यकाल बिताएको देश, अर्को दिदीको बिहे हँुदैछ भन्ने खवर ! यी दुई कुराले तिनी निकै प्रफुल्ल थिइन् । जानुभन्दा एक महिनाअगाडि नै तयारीमा जुटेकी थिइन् ।
मेरी सासूले अमेरिका भएर गएमा समय कम लाग्छ भनेर सुझब दिएकी थिइन् तर मेरो नेपाली पासपोर्ट अमेरिकाको ट्रान्जिट भिसाका लागि अयोग्य ठहरियो । माकी ज्यादै निराश भएकी थिइन् त्यस बेला मलाई लाग्यो कहीँ नेपालीसँग बिहे गरेकोमा पश्चात्ताप त मानेकी छैनन् ? के गर्ने, देश गरिब भएपछि त्यस देशका नागरिक पनि त हेपिने नै भए नि ! खै, जापानीहरूलाई कतै जान भिसा नै पर्देैन ! कति आनन्द छ !! सबैले इज्जत गर्छन् । तर हामीलाई भने एयरपोर्टदेखि नै अर्कै नजरले हेर्छन् । पहिलोचोटि जापान जाँदा कस्टम अफिसरले सोधेको थियो – डु यू हाव डग … ? अनि मेरो अनुहार हेर्दै पासपोर्टको भिसातिर नजर दौडाएको थियो । मैले हाँस्दै भनेको थिएँ – तिमी मेरो ब्याग चेक गर्न सक्छौ । त्यसपछि मलाई तलदेखि माथिसम्म निरीक्षण गर्दै भनेको थियो – थयग अबल नय।
भिसाको लागि इन्टरभ्युमा सोधेका प्रश्नहरूले म जिल्लिएको थिएँ ! मैले कहिले माकीलाई भेटेको रे ? कहाँ भटेको रे ? कहिले बिहे भएको रे ? अनि जापान आएको कति भयो रे ? छ महिना भयो जापान आएको, श्रीमती, ससुरासँग बिहेका लागि ब्राजिल जाँदैछौँ । त्यसैले मलाई करिब ६ घण्टाका लागि ट्रान्जिट भिसा चाहियो – मैले भन्दै गएको थिएँ । तर म जापान बसेको अवधि धेरै नभएको कारण देखाएर मलाई भिसा नदिने निर्णय गरियो । मैले अचम्म पर्दै भनेको थिएँ – यो हास्यास्पद हो । म तिम्रो देशमा जान लागेको होइन, मलाई सिर्फ ट्रान्जिट भिसा चाहिएको हो । तर पनि त्यो टसको मस भएन । मलाई झ्नक्क रिस उठ्यो र तजबलपक भन्दै पासपोर्ट लिएर हिँडेँ ।
त्यस समय साह्रै नै निराश भएको थिएँ । नेपाली हुनुको गर्व होइन अपमान भएको महसुुस गरेँ ।
हुन पनि नेपालीहरू देशको बिग्रँदो स्थितिले पलायनतर्फ उन्मुख छन् । कतिपय नाम चलेका कलाकारहरू पनि अमेरिका पलायन भएका छन् । नेताहरूलाई एक आपसमा झ्ैं–झ्गडा गर्दै फुर्सद छैन । लोकतन्त्रको नारा फलाक्दै आफ्नो दुनो सोझयाउन व्यस्त छन् । भाइ फुटे गँवार लुटें भनेझ्ैं सत्तालोलुपता ! मिल्न नसक्ने बानी ! बढ्ता अहम्वादी ! इमानदारीको कमीले गर्दा अस्थिर राजनीति पराकाष्ठामा पुगेको छ । आन्दोलनको बाढी आएको छ । बन्द, चक्काजामको संस्कार मौलाएको छ । हत्या, हिंसा, अपहरणको राजनीतिले देशलाई गाँजेको छ । अनि देशका नागरिकहरू कसरी शान्तिले बस्न सकुन् ! अभाव नै अभावको भुमरीमा परेका नेपालीहरूमा आशाको दियो जगाउने खालको कुनै नेता, कुनै दल, अझ्सम्म नदेखिनुले पनि निराशा छाएको छ, अनि विदेशिन बाध्य छन् नेपालीहरू । यो बाध्यता हो, सोख होइन । नत्र आफ्नो देश र परिवार सबलाई छाडी किन विदेशिन चाहन्छन् नेपालीहरू ? आफ्नो देशको माया कसलाई लाग्दैन ? जति नै वर्ष विदेश बसे पनि आखिर नेपाली नेपाली नै हुन्छन् ।
हो, त्यस दिन मलाई साह्रै दु:ख लागेको थियो किनकि जम्मा छ घण्टाका लागि ट्रान्जिट भिसा पनि नदिएर नेपाली हुनुको अपमान गरेँझ्ैं लाग्यो । कहीँ मलाई पनि आतङ्कवादी नै सम्झयो कि क्या हो – मनमनै गुन्न पुगेँ । नत्र जाबो छ घण्टा एयरपोर्टमा बस्न पनि भिसा चाहिने र त्यो पनि नदिने । कस्तो देश हो अमेरिका !!!
त्यसको केही दिनपछि नेटमा एउटा लेख पढ्न पाएँ । अमेरिका–भ्रमणसम्वन्धी लेखेको लेखमा लेखक ‘अभि सुवेदी’ले पनि भिसा नपाएका रहेछन् । सार्है घतलाग्दो उक्त लेख पढेपछिचाहिँ मन केही हलुका भयो र सोचेँ अमेरिकाको भिसा भनेको त हामी नेपालीहरूका लागि भाग्योदय चिठ्ठाझ्ैं रहेछ । त्यत्रा वरिष्ठ लेखक अभि सुवेदी जस्ता व्यक्तिले पाउन नसकेको …. !
त्यसपछि माकीले युरोप हुँदै ब्राजिल जानका लागि टिकट बुक गरिन् । यदि अमेरिका हुँदै जान पाएको भए जम्माजम्मी २४ घण्टा लाग्दथ्यो, तर अब स्वीजरल्याण्ड हुँदै जानुपरेकोले करिव ३० घण्टाको सफर हुने भयो । साँच्चै नेपालीसँग बिहे गर्दा त कहीँ जान पनि भिसाकै समस्या हुँदो रहेछ – माकीले हाँस्दै ब्यङ्ग्य गरेकी थिइन् ।
के गर्ने त, गरिब देशको नागरिक भएपछि सबैले हेप्ने नै रहेछन् – मैले आफ्नो विवशता पोखेँ । यसरी हामी नारिता–स्विस हुँदै ब्राजिलको सानपावल भन्ने सहरमा आइपुगेका थियौ । स्विसको जुरिच एयरपोर्टमा करिब ५ घण्टा बस्नुपरेको थियो । ३ जनवरी २००७ को करिब ११.३० बजे नारिताबाट जहाज उडेको थियो । करिब १३ घण्टापछि हामी स्विसको जुरिच एयरपोर्ट पुगेका थियौँ । अचम्म के थियो भने १३ घण्टाको सफरपछि पनि जुरिच एयरपोर्ट पुग्दा त्यहाँ भर्खरै ३ तारिख साँझ्को ४ बजेको थियो । यदि जापानमा भइदिएको भए रातको बाह्र बजिसकेको हुन्थ्यो र अर्को दिन सुरु हुन्थ्यो । यसरी एसियाबाट युरोप आउँदाको फरक समयले हाम्रा लागि जनवरी ३ तारिख निकै लामो हुन पुगेको थियो ।
एयरपोर्ट मलाई दिल्लीको जस्तै–जस्तै लाग्यो । हामीहरू लगेज लिनका लागि गयौं, तर कस्तो अचम्म, हाम्रो सामान आएकै थिएन । धेरै बेर पर्खियौं, तर पनि सामानहरू आएनन् । माकी चिन्ता गर्न लागिन् । मलाई के गरूँ–गरूँ भयो । यहाँ सामान हराउन सक्छ, ससुरा चिन्तित देखिए । अनि हामीहरू स्टाफलाई सोध्न दौडियौं । केही छिनमै एउटा स्टाफ आएर केही पर तीनवटा सुट्केसहरू त्यसै राखिएका छन् भनेर भन्यो । हामी हाम्रो हो कि भन्दै त्यतैतिर दौडियौं । सुट्केसहरू त हामै्र रहेछन् । कसले त्यहाँ राखेछ, थाहा पाइन । बल्ल आत्तिएको मनमा सान्त्वना छायो । मैले लामो श्वास फेरें । एयरपोर्टबाहिर हामीलाई लिन तोसेको र खाच्याङ आएका रहेछन् । खाच्याङसँग मेरो परिचय गराइयो, एउटा जापानी ब्राजिलियन । तर ऊ कुनै कोणबाट पनि ब्राजिलियन देखिंदैनथ्यो । अनुहार, डिलडौल सबै जापानीज, अनि भाषा पनि जापानी । त्यहाँ केही बेर बसेर चिसो बियर लियौं ।
पहिलोचोटि ब्राजिलको भूमिमा पाइला टेक्दा मन अनौठो किसिमले धड्किरहेको थियो । सानपाउल ब्राजिलको औद्योगिक सहर रहेछ । ठूला–ठूला गगनचुम्बी घरहरू भएको र ठूला–ठूूला बाटाहरू निकै विकसित देखिन्थे । म ट्याक्सीबाट बाहिरतिरको फोटो खिच्नमा व्यस्त थिएँ । ससुरा ट्याक्सी–ड्राइभरसँग पोर्चुगल भाषामा कुरा गर्दै थिए । सायद धेरै बर्ष त्यस ठाउँमा बसेका भएर रामै्रसँग कुरा गर्न सक्दा रहेछन् । ड्राइभर पनि हरेक ठाउँको विवरण दिँदै ट्याक्सी दौडाइरहेका थिए । मचाहिँ केही नबुझ्ेर सिर्फ बाहिरतिरको दृश्य हेर्दै क्यामरामा कैद गर्दै थिएँ । करिब ४५ मिनेटको सफरपछि हामी गिन्जा नाम गरेको होटलमा पुग्यौं । जापानी नामबाट खोलिएको यो होटल एउटा चाइनिजको रहेछ । यहाँ प्राय: जापानीज पर्यटक बढी आउने भएर होटलकोे नाम पनि जापानीमा राखिएको रहेछ ।
रातको समयमा डिनर लिन हामीहरू एउटा चाइनिज रेस्टुरेन्टमा गयौं । फर्कंदाखेरि करिब ९ बजेको थियो । यो ठाउँ अलि डरलाग्दो छ भनेर तोसीको भन्दै थिइन् । किनकि यो ठाउँमा अपराध निकै हुँदो रहेछ । विशेष गरेर जापानी पर्यटकहरूलाई सजिलैसँग लुट्दा रहेछन् । माकी निकै सतर्क भएकी थिइन् । ठाउँ पनि त्यस्तै–त्यस्तै, दिल्लीको गल्लीजस्तै थियो । सानपावलबाट जनवरी ६ तारिखमा ४.४० को फ्लाइटबाट यो युवा भन्ने ठाउँमा आएका थियौं, प्लेनमा करिब २ घण्टाको सफर । त्यसपछि कारबाट त्यस्तै करिव २/३ घण्टामा हामी यो युवा भन्ने ठाउँमा आइपुग्यौं ।
साँच्चै मलाई त सानपावलको त्यो एयरपोर्टको अहिले पनि सम्झ्ना आइरहेछ । भन्न त त्यो पुरानो एयरपोर्ट रे, तर निकै आधुनिकजस्तो लाग्यो । मलाई कताकता अमेरिकाको एयरपोर्ट हो कि भन्ने भान भएको थियो । हुन त यो पनि साउथ अमेरिका नै हो नि ! एयरपोर्टमा केही फोटोहरू खिचेका थियौँ ।
प्लेनबाट तल हेर्दा साह्रै रमाइलो लागेको थियो । साँच्चै नै ब्राजिल निकै ठूलो रहेछ । हुन पनि जापानभन्दा बीसौं गुना ठूलो छ रे, नेपालभन्दा त कति हो कति ! समतल फैलिएको आँखाले भ्याउनेसम्मको समतल भू–भाग । संसारको सबभन्दा ठूलो ‘आमासोन’ जङ्गल पनि यहीँ नै रहेछ । तर विकासको आधारमा यो देश उत्तर अमेरिकाभन्दा कम नै रहेछ । यहाँको मुद्रालाई रियर भन्दा रहेछन् । करिब २ रियरको १ अमेरिकी डलर रहेछ । हामी अहिले युवा कम्युनिटीमा छौं, जहाँ करिब ८० वर्ष अगाडि युवा इसाम नाम भएका जापानी आफ्नो परिवार तथा केही साथीहरूसँग जापानको कोबे भन्ने ठाउँबाट महिनौं लगाई जहाजबाट आएका रहेछन् । यहाँ आएर अरू जापानीहरूसँग मिलेर करिव १०० हेक्टर जमिन किनी एउटा सानो गाउँ नै बनाएका रहेछन् । त्यहाँ पहिले जङ्गल थियो । जङ्गललाई फाँडेर बस्ती बसाएका रहेछन् । तर अचम्मलाग्दो कुरा के रहेछ भने यसलाई गाउँ भन्न अलि मुस्किल पर्छ । किनकि सबैजना मिलेर एकै ठाउँमा खाना खान्छन् अर्थात् सबैको भान्छा एउटै । जापानी ब्राजिलियनको कम्युनिटी । करिब ८० वर्षदेखिको यो चलन अझ्ैसम्म पनि कायम नै छ । करिब २० परिवार छ । यहाँ स–साना घरहरू छन् । कृषिमा निर्भर छन् । लोग्नेमान्छेहरू बाहिर खेतमा काम गर्छन् । हरेक कुरा आफैं बनाउँछन् । कसैको घरमा पनि ताला लाग्दैन । सबैजना मिलीजुली काम गर्छन् । अनि सबैजनाको भान्छा एउटै । एकै प्रकारको खाना सबैजनाले खान्छन् । बिहान करिब ६ बजे ब्रेकफास्टको समय हुन्छ । त्यस बेला साइरन बजाउँछन् । योचाहिँ सायद गाईको सिङ रहेछ । मैले पनि एकचोटि फुकिहेरेको थिएँ । साइरनको आवाज सुनेपछि सबैजना उपस्थित हुन्छन् । त्यस्तै दिनको १२ बजे लन्च टाइम र साँझ्को ६ बजे डिनर हुँदो रहेछ । यसरी सबैजना उपस्थित भई सँगै खाना खान्छन् । लाग्छ सधैं भोज–पार्टीझ्ैं । यो करिब ८० वर्षदेखि निरन्तर चलिआएको छ । सुन्दा पनि विश्वास गर्न गाह्रो । आजको समयमा ३/४ जना त मिलेर बस्न सक्दैनन् भने यहाँ चाहिँ अचम्मै छ । साँच्चै कसरी मिल्न सकेका होलान् आजका मान्छे ! आफ्नै परिवार त मिलेर बस्न गाह्रो हुन्छ यहाँ भने धेरै परिवार मिलेर बसेका छन् ।
वास्तवमा हामी त्यहाँ टोसीको बिहेका लागि आएका थियौं । यही कम्युनिटीको एकजना युवकसँग टोसीको प्रेम बसेको रहेछ । करिब २ वर्षअगाडि उनी यहाँ अर्थात् ब्राजिलमा जापानी भाषा पढाउन भनेर आएकी थिइन् । सायद त्यस बेला यस्तो कम्युनिटीका बारेमा सुनेर बेलाबेलामा यहाँ आउने गर्थिन् । यसरी आउँदा जाँदा खाच्याङ (इसामु युवाका भतिजा) सँग मायाप्रीति बसेछ । तर अचम्म कस्तो भने कहाँ टोकियो जस्तो अति विकसित सहरकी केटी, यस्तो ठाउँमा बस्ने निर्णय गरेर विवाहका लागि तयार भइन् । १३ जनवरीमा टोसीको बिहे सम्पन्न भयो । बिहान ५.३० बजेदेखि नै माकी उठेर तयार भएकी थिइन् । तर म भने ६ बजे मात्र उठेर नुहाई–धुवाई गरी तयार भएँ । हामी सबै बिहे हुने ठाउँमा जम्मा भएका थियौ । बिहे क्रिस्चियन विधिबाट सम्पन्न भयो । टोसीको सेतो डे«समा सजिएकी थिइन् । उमेरले चालीस कटे पनि सुन्दर देखिन्थिन् । नेपालमा भए मुस्किल हुन्थ्यो चालीस कटेपछि विवाह गर्न । टोसीका बाबुले टोसीलाई लिएर आए । दुलाहा–दुलही सँगै राखी पादरीले केही मन्त्र पढ्यो । जापानी भाषामा सबैले गाना गायौं । त्यसपछि औँठी साटासाट भयो । एकले अर्कालाई लगाइदिए । करिब एक घण्टाको अवधिमा बिहे सम्पन्न भयो । सबैले ताली बजाएर स्वागत गर्यौं । त्यसपछि नवदम्पतीलाई सबैले अक्षेता छर्किएर स्वागत गर्यौं । सबै नातेदारहरूबीच एक अर्कामा शुभ–कामनाको आदानप्रदान भयो । अनि सबैले हँसिलो मुद्रामा फोटाहरू खिच्यौं । यसरी टोसीको बिहे सम्पन्न भएको थियो । टोकियोको एउटी पढेलेखेकी युवती ब्राजिलको जापानी कम्युनिटीमा बसेको एउटा किसान युवकसँग मायाप्रीतिले विवाहबन्धनमा बाँधिन राजी भइन्, अझ् भनौं त्यस कम्युनिटीको सदस्य भएर बस्ने अठोट गरिन् । हुन त प्रेमले मानिसलाई जस्तै परिस्थितिमा पनि खुसी भई बाँच्न सिकाउँछ ।
हामीहरू यहाँ आएको भोलिपल्ट एकजना कम्युनिटीको मेम्बर, जो ९२ वर्षको थियो, उसको देहान्त भएको थियो । देहान्त भएको एक दिनपछि क्रिस्चियन विधिद्वारा लासलाई दफन गरेको थियो । त्यसमा म पनि सरिक भएको थिएँ । यसरी हरेक कार्यलाई यस कम्युनिटीले महŒवका साथ सम्पन्न गर्दा रहेछन् । एउटा सानो जापान अर्थात् प्राचीन जापानको झ्ल्को दिने यो कम्युनिटी तेरो–मेरोको टन्टाबाट मुक्त छ । यहाँ सबैजनामा हाम्रो भन्ने भावना विकसित भएको छ । सबैैजना जापानी भाषा नै बोल्छन् । आफ्नो संस्कार, कल्चरलाई जोगाइराखेका छन् । यहाँ बस्दा मलाई कहिल्यै पनि ब्राजिलमा छु भन्ने आभास भएन ।
स–साना भुइँतल्ले घरहरू देखेर मलाई त चितवनको जङ्गल सफारीका लजहरूजस्तै लाग्यो । सबैजना मिलीजुली काम गर्छन् । सबैजना एउटै घरका परिवारझ्ैं लाग्छन् । प्रायजसो युवावर्ग र प्रौढको उत्तिकै जिम्मेवारी छ । यहाँ सबैभन्दा सानोमा करिब ३ वर्षको बच्चा र सबभन्दा प्रौढमा करिब १०२ बर्षका बूढा पनि छन् । जनवरी १३ तारिखको साँझ् बिहे पार्टी पनि निकै रोचक थियो । सार्है रमाइलो भएको थियो । पार्टीमा एउटा मन्च बनाइएको थियो । त्यहाँ विविध किसिमका प्रोग्रामहरू गरिएका थिऐ । मलाई पनि सबैले अनुरोध गरेका भएर एउटा नेपाली गीत गाएको थिएँ – रेशम फिरिरी … रेशम फिरिरी … ! सबैले रेशम फिरिरी … ! भन्दै साथ दिए । गाना सकिनासाथ सबैले जोडदार तालीले स्वागत गरे । मलाई अत्यन्त खुसी लाग्यो ब्राजिल गएर नेपाली गीत गाउन पाएकोमा । सबैजना नेपालबाट आएकोमा आश्चर्यमिश्रित भावमा हेर्थे । जे होस् नेपाललाई सबैले चिन्दा रहेछन् सगरमाथाको देश भनेर ।
त्यहाँ एकजना पादरीकी श्रीमती थिइन् जो बिहेका लागि भनेर केहि दिनअगाडिदेखि बसिरहेकी थिइन् । पादरीचाहिँ जापानी तर तिनी भने ब्राजिलियन जापानी, अङ्ग्रेजी केही पनि नबुझने । मसँग परिचय भएको थियो तर कस्तो अप्ठ्यारो भने तिनीसँग कुराकानी गर्नै गार्ह्रो । सँगै बसेका उनका श्रीमान्ले हाम्रो बीचमा भाषाको मध्यस्थकर्ता भए मात्र कुराकानी अलिअलि हुन्थ्यो । तर तिनी खुबै फरासिली रहिछन् । सधैं मलाई देख्यो कि ब्राजिलियन भन्ने ठानेर झ्ुक्किने रहिछन् । त्यसैले देख्नासाथ ‘बोन्जिवा’ (ब्राजिलियन भाषा, हलो नमस्ते जस्तै हो) भन्दै कुरा गर्न अघि सर्थिन्, अनि के भन्थिन्, म बुझन नसकेर टोलाइरहन्थेँ । एकै छिनपछि म नेपाली भन्ने सम्झ्ना आउँथ्यो कि के हो हाँस्दै एकातिर लाग्थिन् । हो, त्यहाँ धेरैले मसँग ब्राजिलियन भाषा बोल्न कोसिस गरेका थिए । सायद म ब्राजिलियनजस्तै देखेर हो कि जो पनि बोल्न अघि सर्थे । मलाई भने खुबै हाँसो लाग्दथ्यो ।
करिब दुई हप्ता त्यस कम्युनिटीमा बसेर हामीहरू ‘इगासु’ भन्ने ठाउँमा आइपुग्यौं । युवाबाट गाडीमा करिब १० घण्टामा ‘कासाकाभेऊ’ भन्ने ठाउँमा आइपुगेका थियौं । एक रात एउटा जापानीको फर्म हाउसमा रात बिताएका थियौं । साँच्चै नै ब्राजिल धेरै नै ठूलो र फराकिलो लाग्यो ।
जमिनले आकाश छोएको जस्तो भान हुँदो रहेछ टाढा क्षितिजसम्म हेर्दा । टोसीको भन्दै थिइन् ‘यहाँ समथर जमिन मात्र भएकाले भूकम्प कहिल्यै जाँदैन रे ।’ त्यसैले अष्तथ बचभब मा ठूला–ठूला गगनचुम्वी भवनहरू देख्न सकिन्छ, अर्को अचम्मको कुरा यहाँ पनि झ्ुपडपठ्ठी रहेछ, जहाँ सुकुम्वासीहरू बस्दा रहेछन् । इन्डियाको झ्ुपडपठ्ठीझ्ैं लाग्यो मलाई । यहाँ धनीमा धेरै धनी अनि गरिबमा धेरै गरिब पनि रहेछन् ।
यो इगासु भन्ने ठाउँ पनि धेरै नै राम्रो रहेछ । यहाँ बढी पर्यटकहरू आउने रहेछन् । मौसम पनि ठिक्कको । न जाडो न गर्मी । जापानमा भइदिएको भए जनवरीको महिनामा निकै जाडो हुन्थ्यो तर ब्राजिलमा यसको विपरीत गर्मी थियो । हामीहरू एउटा चाइनिज रेस्टुरेन्टमा लन्च लिइवरी यहाँ भएको ‘इटाइपु’ ड्याम हेर्न गयौं । त्यो ब्राजिलको अति प्रसिद्ध ड्याम रहेछ । त्यसको अवलोकन गर्न नै विभिन्न देशका पर्यटकहरूको ओ्इरो लाग्दो रहेछ । साँच्चै गजबको ठूलो रहेछ त्यो ड्याम । म त अचम्मै परेँ । सबै देशका पर्यटकहरूको लिस्ट रहेछ, त्यो ड्याम हेर्न आएकाहरू कुन देशबाट कति आएछन् भन्ने । सबैजना लिस्ट हेर्नमा तल्लीन थिए । मैले पनि नेपाललाई खोजेँ । म ३७ औं नेपालीमा परेछु त्यो ड्याम हेर्नमा । खुसी लाग्यो । त्यसपछि हामी होटल आइपुग्यौँ ।
राति ८ बजे फेरि पनि उक्त ड्याम हेर्न पुग्यौं । रातमा उक्त ड्याममा ‘इब्यूमेसन’ हेर्नका लागि निकै पर्यटक जम्मा भएका रहेछन् । कुनै गायकको कन्र्सटझ्ैं लाग्यो । अति रमाइलो अनुभव भयो । सबैजना म्युजिकको तालमा मस्त देखिन्थे । त्यसको भोलिपल्ट हामीहरू अर्को प्रसिद्ध स्थल ‘इगासुफल’ भन्ने ठाउँमा पुग्यौं । ‘इगासुफल’ देखेर झ्नै आश्चर्यचकित हुन पुगेँ । कति ठूलो झ्रना ! चारैतिर झ्रना ! वाह ऽऽऽ ! कस्तो प्राकृतिक सौन्दर्य ! साँच्चैं, ब्राजिल पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेछ । धेरै फोटाहरू खिच्यौं । मेरा लागि यो ठाउँ साँच्चै अविस्मरणीय लाग्यो ।
अहिले सम्झ्ँदैछु ‘युवा कम्युनिटी’ को एक मेम्वर मासाकाचु यासाकीले भनेको वाक्य – तिम्रो देश नेपालमा हिमालहरू धेरै छन्, त्यस्तै हाम्रो देशमा झ्रनाहरू धेरै छन् । धेरै पर्यटकहरू आउँदा रहेछन् यो अलौकिक तथा विशाल झ्रनाको अवलोकन गर्नका लागि । करिब तीन घण्टा त्यहीँ बिताएर हामी होटल फर्कियौं । २२ जनवरीमा हामीहरू रियो द जेनेरियो भन्ने ठाउँमा पुग्यौं । इगासुफल सहरबाट जहाजमा करिब २ घण्टा लाग्दो रहेछ । रियो द जेनेरियो भन्ने सहर कस्तो होला भन्ने मनमा खुल्दुली लागिरहेको थियो । २२ जनवरीदेखि हाम्रो सफरमा दुईजना घटे टोसी र खाच्याङ । किनकि उनीहरू युवाबाट आएकै गाडीमा फर्के । सानपावलबाट ‘युवा कम्युनिटी’ मा पुगेका थियौं । इगासुफलमा २ दिन बिताएर यो रियो द जेनेरियो भन्ने ठाउँमा आइपुग्यौं ।
एयरपोर्टबाट होटलसम्म आइपुग्न ट्याक्सीमा करिव ४० मिनेट लाग्यो । ट्याक्सीबाट रियो द जेनेरियो सहर अवलोकन गर्दै आइपुग्यौं । साँच्चिकै यो सहर त निकै आधुनिक रहेछ । पर्यटकीय सहरका रूपमा प्रसिद्धि कमाएको त्यो सहरले मलाई निकै आकर्षित गर्यो । बाटोमा हेर्दै जाँदा काठमाडौं झ्ल्काउने बस्ती पनि देखेँ, अचम्मलाग्दो । किनकि काठमाडौको बस्तीझ्ैं लाग्यो ! माकीका बुबा ड्राइभरसँग कुरा गर्दै थिए । ड्राइभर भन्दै थियो त्यो त ब्राजिलका सुकुम्बासीहरूको घर रे । क्या अचम्म !
२३ तारिखको बिहान ब्रेकफास्टपछि हामीहरू पोनोडेमाक्सा भन्ने ठाउँमा पुग्यौं । धेरै ठूलो चट्टानको माथिपट्टि रोपवेबाट जानुपर्दो रहेछ । एकदमै रमाइलो भयो । त्यसपछि हामी कोरुकावाद भन्ने ठाउँमा पुग्यौं । धेरै ठूलो करिब ७०० मिटरको चट्टानमाथि अति नै ठूलो विशाल क्राइस्टको मूर्ति । म त गजवै भएँ । कस्तो अविश्वसनीय ! कसरी बनाए होलान् ! मान्छेले नै बनाएका त होलान् – मनमनै सोचें । कस्तो अलौकिक ! दुई हात फैलाएको । क्राइस्टको मूर्तिका केही फोटाहरू खिच्यौं । पर्यटकहरूको भीड थियो ।
साच्चै नै रियो द जेनेरियो आकर्षक सहर रहेछ । जीवनमा पहिलोचोटि समुद्रको छालसँग खेल्ने मौका पाएँ । होटलनगिचैको समुद्रमा दिउँसो छालसँग खेल्दा साह्रै नै रमाइलो भएको थियो । ठूला–ठूला छालहरू आउँदा रहेछन् र तिनै छालसँग मानिसहरू खेल्दा रहेछन् । किनारामा मानिसहरूको भीड । हुन त जापानमा पनि समुद्र त हेर्न पाएको थिएँ, तर यहाँ छालसँग लुकामारी खेल्ने मौका पाएँ । मन हर्षले विभोर भयो । राती ‘साम्वा’ डान्स हेर्नका लागि टिकट बुक गरेका थियौं । ब्राजिलको निकै प्रसिद्ध यो साम्वा डान्स ब्राजिलको परिचय पनि रहेछ । फेब्रुअरीतिर यो डान्सको उत्सव नै हुँदो रहेछ । विभिन्न किसिमका पहिरनहरू लगाई सडकमा डान्स गर्दा रहेछन् । हाम्रो भक्तपुरको बिस्केट जात्राझ्ैं । मानिसहरूको निकै जमघट हुँदो रहेछ । ब्रजिलियनहरूले एउटा पर्वझ्ैं मनाउँदा रहेछन् ।
होटलभन्दा करिब १० किमि पर टुरिस्ट बसमा गएका थियौं । विभिन्न देशका पर्यटकहरू थिए । पहिले डिनर लियौं, त्यसपछि स्टेजमा साम्बा डान्स हेर्यौं । अति नै आकर्षक पहिरन, साँच्चै नै अति नै रोमाञ्चकारी रहेछ यो साम्बा डान्स त ! अन्त्यमा आयोजक देशहरूको नाम लिँदै त्यस देशका पर्यटकहरूलाई स्टेजमा नृत्य गर्न बोलाए । अमेरिका, जापान, जर्मनी, चाइना सबै खुसी हुँदै हात उठाउँदै स्टेजतिर लम्किए । मेरो मन ढुकढुक भयो, नेपाल पनि भन्लान् कि भन्ने आशा पलायो । स्टेजमा गएर नृत्य गर्ने इच्छा जाग्यो । तर अफसोच, नेपालको उच्चारण नै आएन । हाम्रो जस्तो गरिब देशलाई कसले सम्झ्न्छ र !
करिब तीन दिन बसेर हामी फेरि रियो द जेनेरियोबाट करिव एक घण्टाको प्लेनको सफरबाट सानपावल आइपुग्यौं । सानपावलमा एकरात बसेर २६ जनवरीमा ब्राजिलको भूमि छाड्यौं । सानपावलबाट रातको करिब ९ बजे प्लेन उडेको थियो । आकाशबाट म सानपावल सहर अवलोकन गर्दै थिएँ । रातको समय थियो, तर सहर पूरै झ्लििमिली थियो । ठूला–ठूला गगनचुम्बी घरहरू र समतल फैलिएका बाटाहरू हेर्दै म सोचिरहेको थिएँ ब्राजिलको भ्रमण मेरा लागि साँच्चिकै अविष्मरणीय भयो । अब यहाँ अर्कोचोटि आइँदैन होला, त्यसैले मनमनै भनेँ – गुडवाई ‘ब्राजिल’ !