रामेश्वरको बापुुले गोरुलाई बयलगाडामा नार्नुभयो । आफू पनि बयलगाडामा चढ्नुभयो ।
“ह…ह… छोड्का रुक् रुक् । बड्का टप् टप् ।” भन्दै बयलगाडालाई आँगनबाट घुमाउँदै बाटोतिर निकाल्न थाल्नुभयो । छोड्का त ‘रुक् रुक्’ भन्दा ठ्याक्कै रोकियो । बड्कालाई चाहिँ ‘टप् टप्’ भन्दा टप्न मानेन अर्थात् अगाडि बढ्न मानेन । बापुले बड्काको पुच्छरलाई अलिकति निमोठ्नुभयो । बल्ल बड्का अगाडि बढ्यो । ‘लातको भूत बातले नमान्ने’ बापुले यस्तै भन्नुभयो र गाडा अगाडि बढाउनुभयो ।
‘बापु, म पनि बयलगाडामा चढेर तपाईँसँगै जाने नि ।’ रामेश्वर दौडिँदै गाडातिर आयो । “बेटा, मलाई खेतमा जानु छ । खेतमा धेरै काम छ । निकै समय लाग्छ । तिमी घरमै बस ।” बापुले भन्नुभयो । ‘नाईँ, म पनि खेतमै जाने ।’ ऊ गुडिरहेको बयलगाडामा झुण्डिएर चढ्ने कोसिस गर्न थाल्यो । बापुले गाडा रोक्नुभयो अनि उसलाई गाडामा चढाउनुभयो ।
खेतमा पुगेर बापुले गोरुलाई पराल दिनुभयो । गोरु पराल खान थाल्यो । ‘तिमी यतै बस है बेटा । म काम गर्छु ।’ बापु काममा लाग्नुभयो । रामेश्वर कहिले बापुले केके काम गर्नुहुन्छ ? हेर्न पुग्थ्यो । कहिले गाडामा चढ्दै खेतमा फाल हाल्थ्यो । कहिले खेतमा भएको माटोको डल्ला टिपेर परपरसम्म फाल्थ्यो । कहिले यतादेखि उता दौडन्थ्यो ।
अलिपर उसले हरियो झाङ देख्यो । ‘के को झाङ होला त्यो ?’ ऊ त्यही नजिकै पुग्यो । काँक्राको झाङ रहेछ । धेरै काँक्राहरु फलेका रहेछन् । ‘कति धेरै काँक्रा !’ काँक्रा देखेर रामेश्वर छक्क पर्यो । यौटा, दुईटा, तीन्टा… गन्न थाल्यो । आम्मामामा गनेर के साध्य ? धेरै पो छन् । उसलाई काँक्रा खान मन लाग्यो । ‘कसको काँक्रा होला ?’ यताउता हेर्यो । वरपर कोही थिएनन् । पर बापु खेतमा काम गरिरहनुभएको थियो । ‘जसको काँक्रो भए पनि एउटा त खान्छु ।’ काँक्रो टिप्न हात बढायो । ‘कोही मान्छेले देखे भने ? काँक्रा धनी आयो भने ?’ उसको मन अझै डरायो, ‘टिपेर खाँदाखाँदै कसैले देख्यो भने ?’ चारैतिर आँखा डुलायो । अहँ, कोही पनि थिएनन् त्यता ।
उसले हतारहतार झाङतिर हात बढायो । एउटा सानो काँक्रो टिप्यो । कपाकप खाइसिध्यायो । ‘आहा साह्रै मिठो रहेछ काँक्रो !’ उसले अर्को पनि सानो काँक्रो टिप्यो । फेरि कपाकप खाइसिध्यायो । छिटोछिटो खाइसिधिने हुनाले, सानैसानो काँक्रो टिप्दै खायो । ‘यो ठूलै काँक्रो खान पाए ।’ उसको मन अझै लोभियो । ‘तर खाँदाखाँदै मान्छेले देख्ने हुन् कि ?’ डरले ठूलो काँक्रो टिपेर खानै सकेन । ‘यी काँक्रालाई नुनमा चोबेर खान पाए !’ उसको मुखमा सररर थुक आयो, ‘आहा अझै धेरै मिठो हुन्थ्यो !’ उसलाई काँक्रो टिपेर घरमा लैजान मन लाग्यो । यताउता हेर्दै फटाफट काँक्राहरु टिप्यो । र, गाडा भएको ठाउँमा आयो । गाडा बिग्रिएको बेलामा बनाउने सामान राख्न बनाएको बाकसमा काँक्रालाई राख्यो ।
बापुले ढोँडको भारी गाडामा राख्नुभयो । ‘बेटा, अब जानुपर्छ ।’ बापुले गोरु नार्दै गाडामाथि चढ्नुभयो ।
‘ओ हरिया … ।’ परबाट कसैले बापुलाई बोलायो । रामेश्वर र बापु दुवै जनाले त्यतै हेरे । “कि छे पास्पत ?” बापुले ठूलो स्वरमा भन्नुभयो ।
‘काँक्रा त पास्पत चाचाको पो रहेछ । ला ! न मैले चोरेको थाहा पाएर बापुलाई बोलाएको हो कि ?’ रामेश्वरको मुटु ढुकढुक गर्न थाल्यो । “जाऔँ बापु जाऔँ ।” रामेश्वरले बापुलाई भन्यो । “पख न बेटा, पास्पत चाचा यतै आउँदै हुनुहुन्छ । भेटेर जाऔँ ।” बापुले भन्नुभयो ।
उसले पास्पत चाचातिर हेर्यो । ‘हो त, उहाँ त यतै पो आउँदै हुनुहुन्छ ।’ उसलाई छटपटी भयो । ‘उहाँले पक्कै थाहा पाउनुभयो । अब के गर्ने होला ?’ खलखल पसिना आयो रामेश्वरको । ‘बेकारमा चोरेछु ।’ उसको अनुहार नीलोकालो भयो । उसलाई रुनरुन मन लाग्यो ।
पास्पत चाचा बापुसँग बोल्दै गाडा नजिकै आउनुभयो । उहाँको गम्छामा काँक्रा थिए । “लिऊ हरिया काँक्रा ।” पास्पत चाचाले बापुलाई काँक्रा दिँदै भन्नुभयो, “धेरै चिचिला लागेका थिए । कसले हो, धेरै नाश गरिदिएछ ! बरु एकदुई ओटा ठूलै काँक्रो खाएर भए पनि चिचिला ननासिदिएको भए हुन्थ्यो । चिचिलै चिचिला नाश पारिदिएछ । थाहा पाए भनेँ त, त्यसको हातै भाँचिदिन्थेँ ।”
रामेश्वरले लामो सास फेर्यो । बापुले काँक्रा लिँदै भन्नुभयो, “मैले देखेको भए पनि त्यसको हातैहातमा हानेर कहिल्यै नटिप्ने बनाइदिन्थेँ । कुन चाहिँ बदमास रहेछ त्यो ? अब विचार गर्नुपर्छ ।”
‘ल हरिया । काँक्रामा दवाई छर्नु छ । म गएँ ।’ पास्पत चाचाले जान थाल्दै बोलाउनुभयो, “रामेश्वर…।” चाचाले बोलाउँदा ऊ झसङ्ग तर्सियो । उहाँले हाँस्दै सोध्नुभयो, ‘किन तर्सिएको ? लाऊ, तिमीचाहिँ यो खाँदै जाऊ ।’ कमिजको खल्तीबाट एउटा सानो काँक्रो झिकेर रामेश्वरलाई दिँदै भन्नुभयो, “त्यही बदमासले टिपेर छोडेको रहेछ ।” रामेश्वरको मन चिसो भयो । उसले चाचाको हातबाट काँक्रो लियो । काँक्रो लिँदा उसको हात कामेको थियो ।
चाचा काँक्राको झाङतिर जानुभयो । बापु गाडाबाट ओर्लिएर काँक्रा राख्न बाकस खोल्न थाल्नुभयो । “यहाँ पनि काँक्रो !” मसिनो स्वरमा बोल्दै बापु झसङ्ग हुनुभयो । उहाँले रामेश्वरतिर हेर्दै भन्नुभयो, “बेटा…।” रामेश्वर पिलपिल आँसु चुहाउँदै सँुक्कसँुक्क गर्न थाल्यो । बापुले रिसाएको आँखाले रामेश्वरलाई हेर्नुभयो । रामेश्वरले कान समात्दै रुँदै भन्यो, “बापु, अबदेखि म कहिल्यै यस्तो गर्ने छैन ।”
बापु खुरुक्क गाडामाथि चढ्नुभयो । ‘टप्’ भन्दै गोरुको पुच्छर निमोठेर गाडा हाँक्न थाल्नुभयो । रामेश्वरको आँखाबाट भने पिलपिल आँसु झर्दै थियो ।