–
पुस्तकहरू मेरो लागि कहिले साथी बन्छन्, कहिले जीवनमा जाँगर दिने स्रोत । सबै पुस्तकको शक्ति रहर लाग्दो हुँदैन । त्यसैले पनि म पुस्तक सकेसम्म छनौट गरेर अध्ययन गर्छु । पुस्तक प्रकाशन भएपछि त्यसको बारेमा लेखिएका समीक्षा र समालोचना पढेपछि त्यो पुस्तकको बारेमा थाहा पाउँन धेरै मद्दत मिल्छ । त्यस बाहेक लेखन शक्ति थाहा पाइसकेको कारणले पनि पुस्तक छनौट गर्न सजिलो पर्दछ ।
गएको २०७८ सालको कार्तिक महिना देखि नै एउटा पुस्तकको बारेमा निकै सुन्दर चर्चा भएको पाएँ मैले— त्यो हो डाक्टर दामोदर पुडासैनीको नियात्रा संग्रह— ग्रीष्मको नीलो बतास । त्यसो त डा. पुडासैनीका कविता र दर्शन कृतिहरू मैले धेरै अध्ययन गरेको हुँ । नेपाली नियात्रा साहित्यका स्पष्ट सिमाना बनाइ सकेका र फरकधारका नियात्रा लेखकका कारण डा. पुडासैनीका नियात्राहरूले त मन नजित्ने कुरै भएन । उनै प्रिय लेखकको ग्रीष्मको नीलो बतासको चर्चा थाहा पाएपछि अमेरिकामै मैले त्यो कृति मगाएँ । कृति हात परेपछि पहिलो पटक हतार हतार पढें । दोस्रो पटक फुर्सद लिएर पढें, हरेक शब्द शब्दको स्वाद लिएर, हरेक दृश्य र घटनाहरू अघिल्तिर आपूm सहभागी भएर । साँच्चै डा. पुडासैनीको ग्रीष्मको नीलो बतासले मलाई एक किसिमको सम्मोहनमा पार्यो, एक किसिमको उर्जा र तरङ्ग पनि दिइरह्यो । मलाई यो कृति असाध्यै मन पर्नुको अर्को कारण पनि छ, त्यो हो मैले पनि खप्तड भ्रमणको आनन्द लिइसकेकी छु । अझ त्यो भन्दापनि उल्लेखनीय कुरा त संयोगवस डाक्टर पुडासैनीको त्यो खप्तड यात्राको क्रममा झिंग्राना देखि बीच पानी सम्म हामी दाज्यू बहिनीले सँगै यात्रा तय गर्ने अवसर पायौं र सँगै एकछाक खाना खाने अवसरपनि जुर्यो बीच पानीमा ।
लेखक डा. पुडासैनी ‘किशोर’ का हरेक नियात्राहरूले मान्छेको मन मष्तिष्कमा ठूलै उथल पुथल ल्याउँछन् । झन् यो ग्रीष्मको नीलो बतासले त पाठकलाई शब्द सौन्दर्यको सुवासमात्र दिँदैन मध्यपश्चिमी र सुदुरपश्चिमी नेपालको जीवन र भूगोलको शक्तिशाली लय पनि प्रस्तुत गर्दछ । मेरो विचारमा डा. पुडासैनीको ग्रीष्मको नीलो बतासको अध्ययनले हरेक पाठकले नेपालको हिमाली र लेकाली जीवन र जगतको स्वाद यति मीठो ढंगले आश्वादन गर्न पाउँदछ कि, त्यो बयान गर्न गाह्रो छ । डा. पुडासैनीका नियात्रामा प्रकृति बोल्छ । भेटिएका जोसुकै मान्छेसँग बोलिहाल्ने, उनीहरूको जीवन खोतलिहाल्ने र पुगेको ठाउँ र भेटिएका घटनाहरूलाई उन्नतिशील दर्शनका माध्यमबाट मूल्याङ्कन गरिहाल्ने र त्यसलाई लालित्यपूर्ण ढंगले लेख्ने पुडासैनीको बानीको कारणलेपनि उनका नियात्राहरू ओजनदार हुने गर्दछन् । ग्रीष्मको नीलो बतास यसको साक्ष्य बनेर उभिएको छ ।
ग्रीष्मको नीलो बतास पढेपछि मेरो मनमा एक किसिमको सुमधुर बतास नै चल्यो । यात्रा गर्दा देखेका ठाउँहरू, भेटेका मान्छे, जीव र बनस्पतिहरू र घटेका घटनाहरूलाई चटक्क बिर्सने होइन पुडासैनीलेझैँ मानसपटलमा राख्ने र त्यसबाट जीवनमार्ग उज्यालोतिर मोड्न प्रयास गर्ने हो भने मात्र घुम्नुको सार्थकता हुने कुरा यही पुस्तकले सिकायो मलाई । संसार र जीवनका फरक मोडहरू चिनाउँने यति सुन्दर ग्रीष्मको नीलो बतास मैले मात्र पढेर पुग्दैन सबैले पढन पाउनुपर्छ भन्ने लाग्यो मलाई । त्यसो हो भने मैले मात्र किन संसारभरका पाठकलाई यो कृति पढने अवसर दिनुपर्छ भन्ने लाग्यो । यसै अनुरुप ग्रीष्मको नीलो बतासका हरेक परिच्छेदलाई वाचन गर्दै यूटुव Deepushpa Creations मा अवलोडपनि गरें मैले । बाचनका यी श्रृङ्खलाहरूलाई शिखर एफ.एम. १०२.७ ले समेत हरेक बिहीबार राती ९.१५ मा प्रसार गर्न थाल्यो । अहिले संसारका कुना कुनाबाट ग्रीष्मको नीलो बतासको सुवास सुनेर धेरै पाठकहरूले प्रतिकृया दिनुभएको देख्दा खुशी लाग्छ । यति सुन्दर पुस्तकका हरेक शब्द शब्दलाई आफ्नो स्वर दिन पाएकोमा आफैंलाई धन्य ठानिरहेछु । साँच्चै ग्रीष्मको नीलो बतास जस्तो शक्तिशाली पुस्तकले दिनहुँ असंख्य पाठकको मन जितेको प्रतिकृया पाउँदा बेग्लै खुशीपनि छाइरहेछ । पुस्तक होस् त ग्रीष्मको नीलो बतास जस्तोपनि लाग्छ मलाई ।
ग्रीष्मको नीलो बतास पढदा कयौं कुराले मन ताने, तानिरहे मेरा ।
मुग्लिङ कृष्णभिर, नेपाली जनतालाई सँधै दु:ख पीर भनेझै २०५२ सालमा पहिलो पटकत्यो बाटोमा तीनदिन थुनिएको याद आयो । तीन रुपैँया घोगा पर्ने मकै, पाँच रुपैँया प्याकेट पर्ने चाउचाउ ५० रूपैँया तिरेर खान्छुभन्दा पनि नपाउनुको दु:ख ताजाभयो मनभरि । लेखक पुडासैनी होइन, म आफैँ छु त्यहाँ भन्ने लाग्यो । यतिसम्म त ठीकै हो – बाटोमा कहिलेकाहीँ पर्ने कुरा । तर भालुवाङ पुगेपछि त्यहाँको भातले भने मनै ओडालिदियो । फेरि बाटोका कुनै होटलमाभात खान छिर्न नपरोस् भन्ने बनाइदियो । हुन त स्वास्थ्य सचेतना र जिम्मेवारीवोध दुवैको अभाव छ हाम्रोमा । त्यो होटलको भातले हाम्रो व्यवस्थाकोपनि त चित्रण गर्दछ कतै न कतै । शीर नै स्वच्छ नभएपछि शरीर, पाउ कहाँ स्वच्छ हुन्छ र?भालुभाङको भात शीर्षकमा उनीएका बाटोमा दु:खहरूले मनलाई अमिलो बनाइदिन्छ ।
मलाई अँध्यारोदेखि पटक्कै डर लाग्दैन । तर अँध्यारोको फाइदा उठाउनेदेखि धेरै डर लाग्छ । अँध्यारो र उज्यालोका धेरै पन्नाहरू च्यातिइसके, च्यातिन्छन् । तर त्यही अँध्यारोभित्र थुनेर मान्छेले गर्ने व्यवहारले भने मान्छेलाई धेरै सताएको हुन्छ । कर्णाली पुगेर चिसोपानीको माछा भनेर खानेहरू पनि धेरै जना ठगिएको हुनुपर्छ । लेखकले यो कुरा माझी र वादीका कुरामार्फत् छर्लङ्ग पारेका छन् । किनकि कर्णालीमा चिसोपानीका माछा खाएँ भनेर वादीवस्तीमा पस्नेहरू भ्रममा हुनुहुन्छ । अरूको फाइदा उठाउनुअघि नै ठगिइरहनुभएको छ पत्तै नपाई ।
कैलालीको अत्तरिया चोकबाट धेरै पटक उकालो ओरालो झरेको मान्छे । यो ग्रीष्मको नीलो बताससँगै फेरि स्मृति यात्रामा छु आज लेखकको सहयात्री बनेर । आफूले टेकेको जमिनमा अरूको स्मृतिसँगै उडान भर्नु निक्कै मज्जाको अनुभूति हुँदोरहेछ, त्यही भइरहेको छ मलाई । पातालदेशको एउटा शहरको, एउटा गाउँको एउटा कोठामा बसेर थपक्क त्यही माटो, त्यही पानी, त्यही बन जङ्गल र हावासँगसँगै यात्रा गर्नुको मज्जा म लिइरहेकीछु ग्रीष्मको नीलो बताससँगै । किनकी यो मौसम र त्यो मौसम उस्तै उस्तै हो । अहिले वसन्त भएपनि शिशिर र ग्रीष्मको बीचबाट म नीलो आकाश चिहाइरहेकी छु ।
“पच्चीस छब्बीस दिनमा बल्ल काठमाडौँ डडेल्धुराको पालो आउँछ ….” बस चालकमार्फत लेखकले हाम्रो एकोहोरापन र लहडलाई देखाएका छन् । हाम्रो चलन के छ भने एउटाले विद्यालय खोले सबै त्यतैतिर लाग्ने, एउटाले म:म: पसल खोेले अरुपनि त्यतैतिर लाग्ने, एउटाले बस सञ्चालन गरे सबै त्यसै गर्ने अनि यात्रु पाए नि नपाए नि एउटै रुटमा भएभरका गाडी हाल्ने । कुनै कार्य गर्नुपूर्व अध्ययन, अनुसन्धान नगरी अरुले गर्यो म पनि यही गर्छु भन्ने खोटो र छोटो सोचले गर्दा यस्तो बनाउँछ । जुनकुराको उदाहरण हो एउटै चालकले लामो रूटमा एक्लै गाडी चलाउनु, महिनामा एक पटकपनि पालो नपाउनु ।
स्याउलीको चुरीफुरीमार्फत लेखक पुडासैनी मानिसलाई मेहनत गर्न अर्हाउँछन् । अन्न फल्ने खेतहरू मासेर घर उमार्ने र वनजङ्गल मासेर मूर्ति उमार्नेदेखि निकै रिसाउँछन् उनी । डाँडामा मन्दिर बनाउन र मन्दिर जाने बहानामा हिँडेपछि स्वस्थ बनिने कुरा सिकाउँछन् । स्याउला काट्ने, दूध दुहुने, चिया खाने र कुरा काट्ने लगभग मेचीकालीकै दैनिकी हो । त्यही दैनिकीभित्र अटेसमटेस एउटा अन्ध विश्वास–बली । मेरो गर्धनबाट कसरी बग्यो रगतको धारा ?लेखकको यो प्रश्नले दैनिक देवदेवालयमा बलीको नाममा काटिने जनावरको ज्युँदो प्रश्न हो भन्ने लाग्छ । किनकी मानिस आफ्नो स्वार्थका लागि कतिसम्म गिर्छ भन्ने प्रष्ट उदाहरण हो बलीप्रथा । गर्धनमा रगतभित्रको मर्म शरीरमा त्यही रगत सञ्चार भए सरह स्मृति पटलमा फैलिन्छ र पुर्याउँछ बाराको गडिमाई । जन्मिन्छ एउटा किशोर प्रश्न–बलीको बली दिने दिन कहिले आउला ?
बारा स्मृतिको पानाबाट फर्कन नपाउँदै भासुको भिर आइपुगेछ । छाँगाबाट होइन भासुको भिरबाटै खसेजस्तो लाग्यो त्यो पढिरहँदा । त्यही बाटो धेरै पटक ओहोर दोहोर गरेँ तर त्यो बाटोबाट गुड्दै गर्दा भन्दा त्यसको वर्णन पढ्दै गर्दा बढी डर लाग्यो त्यो बाटो सम्झेर ।
केही निराशा, केही अनिश्चितता बीचपनि एउटा सुन्दर सपना देख्ने र हरेक कुरामा सौन्दर्य भर्ने लेखक डा. दामोदर पुडासैनीको विशेषता नै हो । पुस्तकका पानाहरू पल्टिएको थाहा हुँदैन । भनिन्छ मानिस आफूभित्र जे छ, त्यही पोखिन्छ । यहाँ लेखकपनि त्यसरी नै पोखिएझैँ लाग्छ नीलो बताससँगै ग्रीष्मको शीतल र मधुर छायाँ बनेर ।
अनुभव र अनुभूतिको केन्द्रमा आफूलाई राखेर कलम चलाउँछ एउटा सर्जक । मैले पनि शुरुमै आफूलाई केन्द्रमा राखेँ र त्यहीँबाट शुरु गरेँ आफूसँगै हुर्किएको नीलो बतासको फेर समात्न । यो पुस्तक पढिरहँदा लाग्छ म कम्प्युटरको स्क्रिनमा लेखकबाट प्राप्त डिजिटल पुस्तकका पन्नाहरू पल्टाइरहेकी छैन बरू मेरा पैतालाहरू लेखकसँगै चलेका छन् खप्तडका पाटनहरूमा, भेडीखर्कहरूमा र विद्यालयमा अध्धयन गरेको तारानाथ शर्माको घनघस्याको उकालो काट्दा जस्तै झिँग्रानादेखि बिच पानी सम्मको उकालोमा ।
आयोजनाहरूको निर्माण शुरु गर्ने र नसकिने, सरकारी योजना अलपत्र पर्ने, विकास कछुवा गतिमा हुने सबै कुरा प्रसङ्ग मिलाएर घुसाइएको छ । लाग्दैन लेखकले आफ्ना कुराहरू राखिरहेका छन् भन्ने । यस्तो लाग्छ कुनै घटनाको साक्षी बोलिरहेको छ । पाइला पाइलामा देखिएका, भोगिएका, सुनिएका र छेलिएका कुराहरू एक एक उधिनेर पस्किएको छ । विम्ब र प्रतीकको वेजोड सङ्गमले शव्दलाई लयवद्ध बनाएको छ । पढ्दै जाँदा रोकिनु पर्ने, अल्मलिनु पर्ने ठाउँ कतै भेटिँदैन । गर्न सके देशभित्रै सुन फलाउन सकिने कुरा लेखक बताउँछन्— लासी माइ मार्फत् फूलबुट्टे बादल, फूलबुट्टे धरतीमा । शहर शहर जस्तो लाग्दैन लेखकलाई, पाठकलाई पनि त्यस्तै लाग्छ । गाउँ गाउँ जस्तो छैन । विना योजना कङ्क्रिटको जङ्गल थुपारेर शहर भन्ने भ्रममा बाँचेका छौँ हामी । अब बन्ने शहर पनि त्यस्तै हुनेछन् कति शताव्दी सम्म । यो कुराले लेखकको मन पोलेको छ ।
पहाडहरू आकाश छेक्न तम्तयार भएर बसेका छन् – मलाई पहिलो पटक वि.सं. २०६० सालमा कालीकोट जाँदा त्यस्तै भएको थियो । यी पहाडहरू कत्ति अग्ला र नजिक नजिक । म इलामकी छोरी । हाम्रो पहाड त्यसरी आकाशै छुम्लाजस्तो गरेर उठेको हुँदैन । केही भिरालोजस्तो परेर लमतन्न सुतेको हुन्छ । त्यस्तो चुचुरे पहाड पहिलो चोटी देख्दा लागेको थियो एउटा पहाडको टुप्पोबाट कुदेर हाम फाल्दा अर्को पहाडको टुप्पोमा पुग्न सकिन्छ । तर त्यो कल्पना र यथार्थबीच आकाश जमिनको फरक छ । त्यहाँको एउटा गाउँबाट अर्को गाउँ पुग्न लगभग पूरै दिन लाग्छ । रक्सीले परिवार सिध्याएको कुरा, बालबच्चाको हुर्काइका दर्दनाक चित्र – यी सबै हामीले देख्दै, भोग्दै आएका कुरा हुन् । तर पनि पहिलो पटक चलचित्र हेरेझैँ लाग्छ प्रत्येक शीर्षकहरू पढ्दै जाँदा ।
बगलेखका झिँगाको प्रसङ्गले फेरि भालुवाङको भात सम्झाइदिन्छ । मध्य होस् या सुदूर मान्छेमाथि झिँगा भन्किन कहाँ छोडेको छ र कहिले किरा बनेर, कहिले पिराहा बनेर । म पनि सोही दिन सिलगढीबाट बगलेख हुँदै झिँग्रानासम्म पुगेकी हुँ खप्तड यात्राका लागि । बगलेखका झिँगा झिँग्रानासम्मै लर्को लागेका थिए । हामीले ठट्टा पनि गर्योँ – यो ठाउँको नाम झिँग्राना नभएर झिँगा नाच्ने हुनुपर्ने भनेर । हाम्रो सहयात्री कर्णेल सापले थप्नुभयो – हो ठीक भन्यौ, पहिले यसको नाम झिँगा नाच्ने नै थियो । मानिसले छिटो छिटो झिँगा नाच्ने भन्दा भन्दै झिँग्राना भयो भनेर । हाँसोले थकाइ पनि मेटाउँछ भन्छन् । हामी सबै जना मज्जाले हाँस्यौ । त्यसदिन हामी कर्णेल साबका पाहुना थियौँ । त्यसैले लेखकले झैँ झिँग्राना फाइव स्टारमा बास बस्ने र साउद दाजुले बनाएको खाना चाख्दै उनको सुन्दर जीवन दर्शन सुन्न भने छुटेछ । झिंग्राना फाइव स्टार एउटा व्यङ्ग्य भरिएको नियात्रा हो । तर, यस नियात्रामा ग्रामीण जीवनको सरलता, नेपाली होटलको दूर्दशा र जीवन बचाईको फरक प्रसंगलाई कति चाख लाग्दो ढंगले प्रस्तुत गर्नुभएको छ लेखकले । फाइव स्टार नाम दिएकै होटलमा पकाउँने भाँडानै नमाझी चुल्होमाथि झुण्ड्याउँने, रगरगी कुखुरा र बाख्रा मझेरीभरी ओहोरदोहोर गर्ने र रातभर गन्हाउने सिरक, डसनामा उँडुस, उपियाँसँगै पौठेजोरी खेलिरहनुपर्ने बाध्यता कति सुन्दर ढंगले चित्रण गरिएको छ ।
पोखरी नै धमिलिए पछि जुन छेउको पानी झिकेपनि उस्तै हो – गन्तव्य बीचपानीमा लेखकले प्रेमदाइको मुखबाट देशको राजनीतिक अवस्थालाई छर्लङ्ग पारेका छन् । जनताको निराशाको पराकाष्ठा हो प्रेम दाइको बोली । व्यवस्था बदलियो तर अवस्था उस्तै छ आज पनि । बाटाका भेटिएका सिपाहीको मुखबाट निस्किएका शव्द शव्दले युद्ध र जीवनको सार, युद्ध र विजयको उमङ्ग, देश प्रेम र मानवीय धर्म एकै पटक प्रस्फुटन भएको पाइन्छ ।
प्रत्येक कुराहरू कसरी अभिलेख बन्छन्, खै ? मैले आफैँले बोलेका कुराहरू बिर्सिसकेकी थिएँ । तर लेखकले बीचपानी पुर्याएर फेरि ताजा बनाइदिएका छन् यहाँ । त्यो डर, त्यो चिन्ता, त्यो थकान र त्यो भेट एकै पटक महसूस गरेँ मैले फेरि । भालुको डरले फेरि ढुङ्गामा लौरो बजारेँ र सँगै लाएँ उत्तिसले लाएका झ्याउका लुगाहरू । ती लुगाहरू साँच्चै मूल्यवान् थिए र छन् आजपनि ।
बीचपानीको खाना जीवनमा सँधै आइरहने एउटा याद हो । त्यहाँ हामीलाई खानाभन्दा मीठो भोक थियो सायद । उठी उठी जङ्गली सागको गुन्द्रुक र भातसँगै थाल सिनित्त पारेको बिर्सिन्छु भनेरपनि बिर्सिँदैन । पकाउँदा पकाएँदै फेरि काँचो बन्ने चिसौ मौसममा तताउँदै खन्याउँदै गरेको गुन्द्रुक मीठो लागेको थियो मलाई निगालाका टुसाको तरकारीभन्दा ।
बाटामा पाइलै पिच्छे भेटिने प्रत्येक वस्तुसँग लेखकले कुराकानी गरेको पाइन्छ । प्रकृति र प्रकृतिलाई पछ्याइरहेका पाइलाहरूको मीठो सङ्गम लाग्छ यो नीलो बतास । चराहरूको प्राकृतिक सङ्गीतको माध्यमबाट निस्कने मिठासको तुलना सिर्जना गरिएका सङ्गीतको भन्दा लाखौँ गुणा राम्रो हुने लेखकको भनाई छ । सिर्जना गर्नेहरूले प्रकृति बुझ्नु पर्ने तर्क छ ।
प्रत्येक शीर्षकमा वृहंगम दृष्टिकोण पस्कन सक्नु लेखकको खुबी हो । यात्रा एकै क्षेत्रको, गन्तव्य एकै भएपनि प्रत्येक शीर्षकले छुट्टै कथावस्तु बोकेका छन् । फूलको जुलुसमा राँगोको रन्कोमा हिरामतीमार्फत् पश्चिम नेपालको व्यवस्था र देशका महिलाको अवस्था खोतलिएको छ । हिरामतीलाई पढ्दै गर्दा त्यसबेला होइन, यसबेला पनि उस्तै छ अवस्था । हिरामतीलाई बुझ्न सके बुझिन्छ त्यहाँको यथार्थ ।
खप्तड नदी भित्रको दर्शनले मानव सभ्यतामाथि कठिन प्रश्न फ्याँकेझैँ लाग्छ । सुन्दर पाटनभरि छरिएर लुकेका जीवनका अनन्त दु:खलाई समेटेर पोखिएको छ जसमतीमा । शिक्षको उज्यालो घामबाट वञ्चित चेलीहरूको कथा हो जसमती । ती फूल, ती जडीबूटी, ती कलकल बग्ने सङ्लो खोला । फूलझैँ सुन्दर हाम्रा छोरीचेली, हाम्रो दु:खको साथी र दु:खमा पनि हाँसी हाँसी बाच्न सक्ने नेपालीको सादापनलाई प्रतिनिधित्व गर्दै पोखिएका छन् कलमका नीवबाट मसीहरू ।
यो भारी बोक्ने भन्ने जातै यस्तो धेरै बोक्यो थोरै बोक्न मन लाग्ने ….. भारी र जिम्मेवारी उस्तै उस्तै हुन्, होइन र ? चुने दाइको मुखबाट लेखकले मानिसको जीवनको सार बोलेका छन् ।
नेपाल सरसफाइमा कहिले आत्मनिर्भर हुने ? जहाँ जाँदा पनि सरसफाइका कुराले मन अमिलो बनाउँछ । कमसेकम विदेशी बस्ने, हिँड्ने ठाउँहरू त व्यवस्थित बनाउनू । यतातिर कसको ध्यान जाने ? उपियाँ उडुस भन्ने वित्तिकै जिउ चिलाउने, यता उता टोकेजस्तो लाग्ने यो किताब पढ्दै गर्दा धेरै पटक जिउ कन्याएकी छु मैले । दिगमिंग लागेर झण्डै उल्टी भएको । प्रस्तुती यति सरस छ कि आफू त्यहीँ भएको महसूस हुन्छ र त्यहाँको वातावरणले छुन्छ ।
बीचपानीको बास पढ्दै गर्दा उपियाँ, उडुसको साम्राज्य आफ्नै जिउमा सरेजस्तो हुन्छ । झिँग्राना फाइभ स्टारका भाँडाकुँडाले वाक्वाकी लगाउँछ । भासूको भीरले रिंगटा चलाउँछ । बीचपानी झरेपछि साथीले भेटेको भालुले झम्टन्छ । यस्तै यस्तै धेरै कुराहरू हुन्छन् नीलो बतासका लहरहरूमा ।
म लेखकसँगै किन पनि यात्रा गरिरहेकी छु भने उनको यात्राक्रममा भेटिएकी एक पात्र मपनि हुँ । यो पुस्तक पढ्दै गर्दा थाहा पाएँ बिचपानीमा खाएको गुन्द्रुकभात एउटै रहेछ । नीलो बताससँगै मङ्सीरमा झुल्ने धानका बालासँगै बयली खेल्ने रहर अझ बढेर जानुको पछि त्यो छोटो भेट, औपचारिक परिचय र लेखकको मीठो प्रस्तुति पनि हो ।
एक एक पाइला तिहारमा फुल्ने सयपत्री जसरी उनिएको छ खप्तडको कथा, खप्तडको व्यथा ।
प्रकृति मासेर शहरमा नाम मात्रको जङ्गल ठड्याउनेका विरुद्ध आगो ओकल्छ लेखकको कलम । अव्यवस्थित विकासका विरुद्ध हो उनको आवाज । शहर शहरजस्तो नबन्नु, गाउँ गाउँजस्तो नहुनुको विडम्वना ओकलेका छन् लेखकले ।
खप्तड सम्भावनाको खानी हो । गर्न सके खप्तडले लाखौँ विदेशी पर्यटक भिœयाउन सहयोग गर्छ । विदेशतिर पानी जमाएर बनाइएको हिउँमा चिप्लेटी खेल्नेहरूको भीड देख्दा लाग्छ— खप्तडका पाटनहरूमा प्रकृतिले दिएको हिउँसँग खेल्न पाए पाइन्छ भन्ने कुरालाई यथार्थ बनाउन पाए कति विदेशीको लर्को लाग्ने थियो । खप्तडको यात्रामा रहँदा मैले पनि यस्तै कल्पना गरेकी थिएँ जुन लेखकले ग्रीष्मको नीलो बतासमा गरेका छन् ।
किताबका पछिल्ला प्रसङ्गहरू लेखकले आफ्नो कार्यालयको काममा जाँदा त्यहाँ देखेका, भोगेका र व्यवहार परिवर्तन गराएका प्रसङ्गहरू जोडेका छन् । बसी बसी सरकारी पैसा खाएर काम रिठ्ठो नगर्नेहरूलाई उदाङ्गो बनाएका छन् । सामाजिक सेवाका नाममा खुलेका तस्करहरूको पर्दाफास गरेका छन् । त्यतिमात्र नभएर तपाईंलाई सिमानापारि कटाएका छन् र पुर्याएका छन् नैनीताल । नैनीताल साँच्चिकै नैनी छ । सुन्दर छ । त्यो भन्दा सुन्दर लेखकको कलमले भरिदिएको छ नैनीतालको सुन्दरतामा । साँच्चै, भारतमा बृटिसले राज्य नगरेका भए नैनीतालको सुन्दरता कसले खोतल्थ्यो होला ? नैनीताल जाँदा जावेदसँग डराउनु पर्दैन तर कर्णेल्नी सावको जस्तो जिद्धिपनदेखि भने सतर्क हुनैपर्छ । यात्रा गर्दा समय र बाटो दुवै हेरिएन भने यात्रा गराउने मान्छे सबै जावेदजस्तै पर्छन् भन्नेपनि त छैन ।
किताब पढेपछि कतिपय नसुनेका शव्दहरू पनि सिक्ने मौका मिल्यो । यार्सागुम्वा भन्दै, सुन्दै आएको थियौं हामीले तर यारचागुन्भु पो भन्नुपर्ने रहेछ । त्यस्तै मताव, जर्केको, कौलासेँ, तरबर्र जस्ता अनेकन शव्दहरू मलाई नौला लागे ।तर यस्ता शव्दको प्रयोगले कृतिमा मीठास थपेको अनुभव भयो । कति सुन्दर ढंगले कथा भन्छन् डा. पुडासैनीका शब्दहरूले ।
पढ्दै जाँदा कहीँ कहीँ प्रसङ्ग फुत्त हामफाले जस्तो लाग्नसक्छ । तर समय र सन्तुलनलाई नटेरी अघि बढ्ने हो भने भालुभाङको भात बिर्साउँछ । झिँग्रानाको बास भुलाउँछ । भालुको डर भगाउँछ । बीचपानीका उपियाँ उँडुस मारिदिन्छ र नैनीतालमा डुङ्गा सयर गराउँछ । पाटनका फूलहरूले महकता छेड्छन्, त्रिवेणीको पानीले शितल बनाउँछ । खप्तडका जरीबुटीले बर्षौँदेखि दुखेको टाउको सञ्चो गराउँछ । कति मीठो ढंगले बताउँन सक्छन् पुडासैनी । जीवन र संसारका रहस्यमय कथाहरू । ज्ञान र मनोरञ्जन दुवै पाउँछन् पाठकले पुडासैनीको कलमबाट ।
त्यो बाटो हो ग्रीष्मको नीलो बतास जसले यात्रा गर्नै नमान्नेलाई गरुँ गरूँ बनाउँछ । यात्रा गर्नै नजान्नेहरूलाई सिकाउँछ । यात्रा गरिरहनेहरूलाई अझ अहिले नै कुम्लोकुटुरो बाँधेर निस्किहालूँ खप्तडतिर बन्ने बनाउँछ । अझ खप्तड गएकाहरूलाई पुन: त्यतै फर्काउँछ र बोलाउँछ पाटन र पाटनका फूलले, घोडामा चापले, वर्फिलो बतासले र चराहरूका सङ्गीतले । अनि, वाध्यतावश खप्तडको यात्रा गर्नै नसक्ने लाई पनि थपक्क टिपेर पुर्याउँछ खप्तडमा र त्यहाँका ढुङ्गा, माटो, हावा र पानी र प्रकृतिसँग साक्षात्कार । दिलाउँछ आफू पुगे सरहको स्वर्णिम अनुभूति ।
खप्तड यात्राका लागि भरपर्दो गाइडबुक हो यो । नेपालका हिमाल, पहाड, लेक र खर्कको सुवास अग्र्यानिक ढंगले दिलाउँने महत्वपूर्ण पुस्तक पनि हो ग्रीष्मको नीलो बतास । आँट गर्नेलाई एक्लै खप्तड पुर्याएर ल्याउँछ यसले ।
निष्कर्ष छ जीवनको सही अर्थ र रंग बुझ्न अनि संसारका सिधा र बक्र रेखाका मर्म बुझ्न डा. दामोदर पुडासैनीका हरेक कृतिहरू त पढनुपर्छ नै अहिले भने यो ग्रीष्मको नीलो बतास नपढने हो भने घाटामा परिन्छ आफैं ।