हिमालझैँ उच्च थिएँ जहाँ म
उच्चाइमा टिक्न सकेँ कहाँ म ?
खै बाग्मतीको जलझैँ म पानी
पुर्खाहरुको म चिनो थिएँ खै ?
आफ्ना पखेटा किन लाग्छ सस्तो ?
भिर्दैछु फुर्का पुतली म कस्तो ?
बेहोस बेहोस छु होस मानू
शङ्का सधैँ हुन्छ म हैन क्यारे !
हिमाल बोकेर मधेस झर्छु
मधेस खाएर पहाड सर्छु
प्रसादका गर्धभ राग गाई
म भोकका गीत सुनाउँदै छु ।
म अस्मिता खोज्छु लिलामबाट
बचाउने भन्दछु घाटबाट
पूर्जा टुटेको छ घडी दिमाग
गोटी कि सत्ता कि म भाइदार !
त्यस्तो कुनै बाँदर जन्मिएन
जन्म्यो कदाचित् हनुमान् भएन
सुग्रीव छन् मित्र बनाइएन
सीता छुटिन् खोज्न पठाइएन ।
प्रस्तावना लेख्न कतै छुट्यो कि
थियो शिलालेख कुना फुट्यो कि
नाला घुसी फोहर को सफा को ?
प्रयोगशाला म दफा दफाको ।