कवयित्री, कथाकार र उपन्यासकारको रूपमा चर्चित लेखिका पारिजात वि.सं. २०२२ सालको मदन पुरस्कारप्राप्त प्रतिष्ठित उपन्यासकार सुश्री पारिजातको बहुचर्चित कथाको नाम हो मैले नजन्माएको छोरो आत्मपरक शैलीमा लेखिएको यस चरित्रप्रधान कथा मैले नजन्माएको छोरो मायुवती र स्कुले ठिटो दुई प्रमुख पात्र छन् भने लेखिकाले आत्मपरक शैलीमा युवतीको अन्तद्र्वन्द्वलाई मनोविश्लेषणात्मक ढङ्गले अभिव्यक्त गरेकी छिन् । अभिव्यक्तिको शैलीमा काव्यात्मकताको पुट भए तापनि लेखिकाको शैली निबन्धको नजीक–नजिक पुग्न खाजेको आभास पाइन्छ । त्यसैले मोहनराज शर्मा (समकालीन साहित्य २.१.५) मा भन्नुहुन्छ– ‘पारिजातका कथाहरू पढ्दा उनका अधिकांश कथामा कथाको स्वाद, सुगन्ध र तृप्ति पाइन्न ।’
भैरव अर्यालले ‘पारिजातज्यूको उपन्यासमा जस्तै कथाहरूमा पनि शून्यवादको प्राधान्य पाइन्छ ।’ (साझा कथा, पृ.२२१) भने तापनि यस कथामा चाहिँ पारिजातले शून्यवादको वेदीमा समाधी नकसेर सिगमण्ड फ्रायडको चेतन र अचेतन सम्बन्धी सिद्धान्तअनुसार नै उनले मान्छेको मनमा रहेको चेतन र अचेतन मनको विश्लेषण गरेकी छिन् । यसैले मनोविश्लेषण सँगसँगै हामी कथामा एउटी उमेर छिप्पिएकी तर विवाह नभएकी युवतीलाई भेट्छौं जसको चेतन मनले आदर्शलाई रोजिरहेको हुन्छ त्यो आदर्श बाँदरको पुच्छर भए तापनि अचेतन मनले चाहिँ भित्री अतृप्त (?) रहरहरूलाई खेलाइरहेको हुन्छ पोइ नखेलाई ढड्डु छोरो खेलाउने रहरहरूलाई ।
युवतीको यही अन्तद्र्वन्द्वलाई पारिजातले युवतीको अघिल्तिर एउटा फुच्चे केटो उभ्याएर उधिनेकी छिन् । युवतीको चाहना साँच्चिकै नकचरो छ । ऊ पोइ भन्ने वस्तु (?) लाई घृणा गर्छे तर ढड्डु छोरोलाई माया गर्छे, फुच्चे छोरालाई होइन । जीवनको चर्को विसङ्गति ! जीवन र विवाहप्रतिको एकलकाटे दृष्टिकोण मानौ उन्यूको पातमा गुलाफ फक्रेझैं । हुन त यसैबाट प्रष्ट हुन्छ युवती मनको विरामी छे र उमेर पुगिसकेपछि पनि विवाह नभएकाले अनुपलब्ध यौनसुखले गर्दा उसका भावनाहरू विकृत भइसकेका छन् भनेर । त्यसैले अँगालोभरि खेलाउन चाहान्छे । कस्तो चेपारे स्वाङ । युवती कल्पना र सपनामै ढड्ढु छोरो खेलाएर आत्मसन्तुष्टि प्राप्त गर्ने कोशिश गर्छे कुखुरीले प्लाष्टिकका गोटीहरू छोपेर ओथारो बसेजस्तो । आत्मरत्तिको अनौठो सहाराभन्दा पनि बढी आत्मप्रवञ्चनाको छहारीमा बस्न रुचाउनेहरूको गजबको दृष्टिभ्रम / मति भ्रमको प्रतीक हो मैले नजन्माएको छोरो ।
युवतीको चेतन र अचेतन मनको अन्तद्र्वन्द्वलाई कथाकार पारिजातले निर्बन्ध गति दिएकी छिन् । मनोविश्लेष्णात्मक ढङ्गमा युवतीको सोचाइले भन्छ – पशुजस्तै सहजज्ञानमा चले मानिस अनैतिक र असामाजिक ठहरिन्छ । त्यस्तै विवाह त हुनसक्छ, संयोग न हो तर रहरलाग्दो विवाह हुँदैन । युवतीको चेतन मनले स्वीकार्छ मान्छे प्राणीहरूमध्येको सर्वश्रेष्ठ प्राणी हो र उसको चेतन मनले नैतिकता र अनैतिकताको भेद पनि छुट्याउँछ । तर आफ्नो विवाह नभएकोमा भित्री मनले ऊ दु:खी पनि छे र भन्छे विवाह त हुनसक्छ तर रहरलाग्दो होइन । यसर्थ समयको फल खान नपाउनुको हार्दिक पीडा, मानसिक यन्त्रणाको प्रतिफल हो ‘मैले नजन्माएको छोरो’ । यस दृष्टिकोणले पारिजातले गरेको युवतीको मनोविशलेषणलाई नियाल्दा युवतीमा दोहोरो व्यक्तित्व देखापर्छ, ऊ अन्तद्र्वन्द्वमा जेलिएकी देखापर्छे । प्रकट रूपमा ऊ आफूलाई आदर्शवादी देखाउन चाहन्छे जबकि उसलाई थाहा छ उसको आदर्शले उसको जिन्दगीमा तामा ताछ्दैन भनेर । तर भित्री रूपमा चाहिँ ऊ काखभरी एउटा छोरो खेलाउन चाहन्छे पोइसँगको समागमबिनाकै सानो मरञ्च्यासे होइन ढड्डु छोरो । युवतीको इच्छा मानौं काँक्राको अचारमा चुक होइन बरु चुकको हर्पेमा काँक्राको चाना ।
युवतीको यस मनोविश्लेषणबाट थाहा हुन्छ आफ्नो अतृप्त चाहनारूपी आस्था भरिन–भरिन लागेको थाहा पाएपछि जलेको चिमजस्तो आफ्नो आदर्शलाई मरेको बिरालोझैं काखी च्याप्दै युवती भन्छे – म आफूलाई र आफ्ना आदर्शहरूलाई खरानी हुनदिन्न । उमेर छिप्पिसक्दा पनि विवाह नभएपछि एउटा ठिटोप्रति आफ्नो रहर खनाएर ममता पोख्नु वात्सल्यमा उसलाई भिजाउनु त नारीको आमा हुने रहर हुनसक्ला तर जसलाई एकोहोरो नै भए पनि छोरोको रूपमा माया गरिन्छ, त के त्यो फुच्चेलाई देखेर लजाएर तीनटुक्रा भाचिंदै भाग्नु पनि आमाको परम कर्तव्य नै हो त ? के त्यो पनि नजन्माएको छोरोप्रति आमाको स्नेह र वात्सल्य नै हो त ? पैंतीसको हाराहारीमा पुगेकी एउटी अविवाहित युवतीका यी संगत, असंगत र सहज, असहज मनोभावनाहरूलाई पारिजातले मनोविश्लेषणको सहाराले पाठकहरूका सामु उदाङ्गो पार्छिन् । पोइ खेलाउने उमेर बितेर छोरो खेलाउने उमेरकी स्वास्नी मान्छेलाई जब आफूले नजन्माएको त्यही आफ्नो छोरोले तन्नेरी भाषाले सम्बोधन गर्छ तब युवतीको मनमा ढिका ढिका भएर जमेको ऊप्रतिको मोह भङ्ग हुन्छ । र त्यही क्षणमा युवती आफै भ्रममा रहेका विभिन्न रोगहरूबाट आफू मुक्त भएको अनुभव गर्छे र अब आफ्ना रहरहरू कहिल्यै नपग्लने दृढता पनि व्यक्त गर्छे । पारिजातको मैले नजन्माएको छोरोलाई मोहनराज शर्मा (समकालीन साहित्य, २.१.५) एक प्रकारको फेन्टेसी भन्न रुचाउनु हुन्छ । तर मैले नजन्माएको छोरोकी युवतीको दृढतालाई चुनौती दिंदै मैले कथाकार पारिजातसँग सोधेको थिएँ मैले नजन्माएको छोरो अनुपलब्ध यौनसुखबाट उब्जेको यौनकुण्ठाकै प्रलाप हैन त ? (विवेक, ६.२३, ०४४।१०।४) यसको जवाफमा उहाँ भन्नुहुन्छ –‘आइमाई जातलाई आमा हुने रहर हुनु बिग्रँदो कलिलो पुस्ताप्रति सम्वेदनशील भई वास्तविकता लेख्नु त्यो पनि यौनकुण्ठा नै हुन्छ भने मेरो के लाग्छ ?’
मैले नजन्माएको छोरो कथाको मूल उद्देश्य पारिजातको दृष्टिकोणमा त्यस्तो रहे तापनि कथामा युवतीको जस्तो चरित्र चित्रण भएको छ र कथाकारले जसरी युवतीको मनोभावना र चरित्रलाई विश्लेषण गरेकी छिन् त्यसबाट थाहा हुन्छ बढ्दो उमेरले गर्दा युवतीमा मातृत्वको भावना पलाए तापनि उसमा अतृप्त यौनसुखको चाहना छ, नपाइएको र नभेटिएको वस्तुप्रति उसको मनमा अचाक्ली मोह छ जसलाई आदर्शको पछ्यौरी ओडाएर ऊ ढड्डु छोरो त खेलाउन चाहान्छे तर लोग्नेलाई चाहिं घृणा गर्छे । युवतीको चेतन र अचेतन मन यही विन्दुमा पुगेर परस्परमा बाझेको छ । युवतीको सम्पूर्ण चरित्रमा यही एउटा कुरा महत्वपूर्ण छ र यही नै युवतीको जिन्दगीको चर्को विसङ्गति हो । यही कुराले युवतीलाई मातृहृदयले भरिपूर्ण जननीभन्दा पनि बढी मनोरोगले ग्रस्त र अनुपलब्ध सुखले रन्थनिएकी द्वैध चरित्रकी असन्तुष्ट अविवाहिताको रूपमा लेखिकाको मनोविश्लेषणले छर्लङ्ग पारेको छ भन्दा अत्युक्ति नहोला ।
कथाकार पारिजातको यस कथाको कथ्य (अभिव्यक्ति) शैली पनि उनका अन्य कथाहरू भन्दा भिन्न छाँटका छैनन् । उही भावुकता, असन्तुष्टि र जीवन भोगाइको क्रममा सधैं छटपटी र अप्राप्ति आदि कुराकै बाहुल्य छ यस कथामा पनि । तैपनि उनका आरत्मपरक शैलीको विशेषता बोकेको भन्न सुहाउने यस कथामा भाषागत सरलता र मीठास भने पक्कै छ र पारिजातको यो कथा मैले नजन्माएको छोरो कथाको परिभाषाभन्दा त्यतिपर नगएर पाठकहरूमा बढी भन्दा बढी सम्प्रेषित हुन सकेकैले चर्चित पनि भएको हो कि ?