भूकम्पको कम्पनले
एकपटक मज्जासँग झापड हानेपछि
सरिरहेछन् पराकम्पनहरु
आफ्नै मनभित्रहरु
धेरैपटक जोरी खोजेको हुँ मैले मृत्युसँग
धेरैपटक रोकेको हुँ अनिकाल र रोगको पहिरो
धेरैपटक फिर्ता पठाएको हुँ मैले
मेरै खुट्टा र आखाहरु कच्याककुचुक पार्न खोज्ने शत्रुहरुलाई
एउटा भुईंचालोले भने
किन हल्लाइरहन्छ मुटु, यस क्षणसम्म
भ्रमहरु
किन कम्पन बनेर व्युँझेका छन्
मेरा शिरा र धमनीका कुलोहरुमा
तिम्रा सल्लाह, साउती र चुम्बनहरुमा
कम्पन भेट्न थालेको छु मैले
देश हाँक्ने अगुवाहरुको आवाजमा पनि
किन बढिरहेछ भीषण थर्थराहट
ढलेका सपनाहरु फुल्दा फुल्दै भाँचिएको वेगमबेलीको बोट
घर र परिवार पूरै हिउँ पहिरोले बगाएको उदास मान्छेको अनुहार
सबै सबैमा किन देख्दैछु म अवीरल पराकम्पनहरु
मेरै अघिल्तिरको बोतलभित्र हल्लिरहेको पानी
मेरै घर अघिल्तिर बार्दलीमा बसेर
प्रेमपत्र च्यातिरहेकी नानीको जवानी
सडकमा घिच्चिरहेका बूढा गाडीहरुको घर्षणले
थर्थराईरहेका मापदण्ड विपरीत बनेका घरहरु
प्रेमको पराकाष्ठा खोज्न भौंतारिहेका चराहरु भुर्भराउँदा
हावासँगै लहरिरहेका हाँगा र पातहरु
हावाले लतार्दै टेबुलबाट खसाल्दै गरेको खबरकागजको गति
सबै सबैले व्युँताइरहन्छन् मेरो मुटुमा पराकम्पन
भोग्न भन्दा
अनुभूति गर्न अप्ठेरो हुँदोरहेछ
कम्पनको
जसरी सजिलै बसेको हाम्रो प्रेम बचाउँन
धेरै कम्पन खप्नु परको छ हामी दुवैले ।