भानुभक्तका रचना त्यसबेला निकै लोकप्रिय बनेपछि र मोतीरामले प्रकाशित गरिदिएपछि स्वदेश तथा विदेशका नेपाली भाषाप्रेमीका हात हातमा पुगे । अध्यात्म रामायणको कथावस्तु लिएर आफ्नै पाराले रामायण तयार पारे । बधुशिक्षा औपदेशिक काव्य पनि लेखे । फुटकर रचनामा पनि तत्कालीन सामाजिक यथार्थ स्थितिको झलक पाइन्छ । सबैतिर सरल, सरस र रोचक पद्यहरूको रचनाद्वारा ख्याति पाउने भानुको जीवनी १९८४ मा मोतीरामले र १९६९ मा शम्भुप्रसादले लेखे । त्यसपछि नेपाली सम्मेलनले भानुभक्त स्मारक ग्रन्थ निकाल्यो । जुद्ध शमशेरले आदिकविको सम्मान प्रदान गरे । नेपाली भाषा र साहित्यका आदिकविका रूपमा उनको महत्वपूर्ण स्थान छ ।
— घटराज भट्टराई
कविका रूपमा देखिने पहिलो व्यक्ति भानुभक्त नै हुन् । अतः उनलाई नै आदिकवि मान्नुपर्छ । रामायण अनुवाद भए पनि शैली छ, मिठास छ, आफ्नो भाषा छ, लोकको हित गर्ने लक्ष्य छ । उनको फुटकर कविताले उनको कवि व्यक्तित्वलाई झन प्रष्ट पारेको छ ।
— मोहनराज शर्मा
शब्दयोजना, सुन्दर शैली, विषयवस्तु तथा कथावस्तुको एकता भानुभक्तका काव्यमा अक्षुण्ण रूपले सुरक्षित छन् । यसैले भानुभक्तका काव्य–साहित्यले नेपाली जनहृदयको धड्कनलाई छुन सकेको छ र भानुभक्त नेपाली साहित्यसंसारका नायक र अमर गायक मानिएका छन् ।
— प्रा. डिल्लीराम तिमसिना
अङ्ग्रेजी साहित्यको जग स्थापित गर्ने चसरको जो स्थान छ कवि भानुभक्तको हाम्रो भाषा र साहित्यमा त्यहि स्थान हुनुपर्छ । भानुभक्त नेपाली भाषाका चसर हुन् ।
— रूपनारायण सिंह
भानुभक्तभन्दा अघि वर्तमान नेपाली भाषा केवल खस कुरा थियो, नेपाली भाषालाई राष्ट्रभाषामा ल्याएको श्रेय भानुभक्तलाई नै छ ।
— हृदयचन्द्रसिंह प्रधान
यिनको रचनाप्रणाली अत्यन्त सरल र आकर्षक छ, काव्यमा (कवितामा) रहनुपर्ने प्रसाद, अर्थव्यक्ति, ओजकान्ति, समाधि प्रभृति गुण र रसाभिव्यक्ति समेत यिनका काव्यमा यत्रतत्र व्याप्त छन् ।
— कुलचन्द्र गौतम
संस्कृतको परम्परालाई वास्ता नगरी सर्वसाधारणले समेत बुझ्ने ढङ्गले भाषामा लयवद्ध गरी भाषालाई साहित्यिक परिधान दिने श्रेय भानुभक्तलाई छ ।
— यज्ञराज सत्याल
सरस, सरल, सुन्दर र सुकोमल अभिव्यञ्जना भानुभक्तको काव्यात्मक गुण हो ।
— अगमसिंह गिरी
भानुभक्त कविताको मर्म जानी पद्य लेख्ने प्रथम कवि हुन् ।
— मोतीराम भट्ट
भानुभक्त शुद्ध नेपालीका प्रथम प्रयोक्ता हुन् ।
— पारसमणि प्रधान
लेखनाथ पूर्व सरलता र लालित्य केवल भानुभक्तमा थियो ।
— बाबुराम आचार्य
हाम्रो साहित्यको यो महलकन खडा गर्नमा अग्रगण्य
उत्साही भानुभक्त प्रिय कविवर लोक सम्पूज्य धन्य ।
— लेखनाथ पौड्याल
भानुभक्त जनताका कवि भएका हुनाले महान् छन् ।
— कृष्णप्रसाद ज्ञवाली
हाम्रा आदिकवि भानुभक्तले हाम्रो देशमा युग परिवर्तन ल्याए । उनको प्रेरणाले नेपाल नयाँ बन्यो ।
— बालकृष्ण सम
साहित्यलाई मूलतः जातीय उत्थानको माध्यम बनाई जातीय सेवाको कवि कर्तव्यको निर्वाहमा उनले जुन भूमिका खेले त्यो नेपाली साहित्यको इतिहासमा अविस्मरणीय छ ।
— केशवप्रसाद उपाध्याय
बडामहाराज पृथ्वीनारायण शाहले खुकुरी, तरवार र बन्दुकका बलले नेपाललाई एकताको सूत्रमा आवद्ध गरेका थिए । त्यस्तै आदिकवि भानुभक्त आचार्यले कलम, मसी, कागजको शक्तिले नेपाली जातिमा भावनात्मक एकता स्थापित गरे ।
— भीमनिधि तिवारी
भानुले नेपाली साहित्यको आदिकालको प्रवर्तन गरे, उनी आदिकवि हुन् ।
— रत्नध्वज जोशी
उनी स्वयं पनि एक सोझा र इमान्दार व्यक्ति थिए र उनमा अहंवाद थिएन । सामन्ती समाजमा सबै तर्फबाट हेपिएको साधारण निम्नवर्गीय घाँसीबाट पनि अर्ती लिने र सार्वजनिक रूपमा आत्म—आलोचना गर्दै ऊभन्दा आफू पछि परेको कुरा निशंकोच सकार्ने भानुभक्तको त्यो स्वाभाविक सरलता र इमानदारी अचेलका अहंकारी–व्यक्तिवादी साहित्यकारहरूको अगाडि एक अनुकरणीय उदाहरण बन्न सक्दछ ।
— गोविन्द भट्ट
भानुभक्त आदिकवि हुन् र रहिरहने छन् ।
– महानन्द सापकोटा
भानुभक्त हाम्रो जुन आस्थामा बाँचेका छन्, जुन कृतज्ञतामा उनले गौरव पाए, जुन सद्भावनामा उपाधि कमाए ती हाम्रा दया होइनन्, कृपा होइनन्, उनकै ऐतिहासिक कार्य र कृति विशेषको निरापद कमाइ हो ।
— कृष्णचन्द्रसिंह प्रधान
कविवर भानुभक्तको मूल महत्व रामायणको काव्यमा त्यति छैन जतिको उनको साँस्कृतिक उत्थानमा छ । सजिलो नेपाली भाषामा, गद्य छन्दमा रामकथा गाउन लगाइदिने मद्दत सेवाको काम श्री भानुभक्तले नै गरे । रामकथालाई सीमित ज्ञानीहरूकै परिधिमा नछोडी जनसाधारणमा पु¥याउने काम भानुभक्तीय रामायणले नै गरेको छ । नेपाली संस्कृति उनको चिरऋणी रहने छ ।
— भवानी भिक्षु
नेपाली भाषा छउन्जेल भानुभक्त कहिल्यै बिर्सिने छैनन् । हामीलाई यस देशमा जीउन र जिलाउन उनले ठूलो गुण लगाएर गएका छन् । हामी उनलाई महापुरूषको गणनामा राख्छौं ।
— सिद्धिचरण श्रेष्ठ
भानुभक्तलाई हामीले पायौं, बाहुन र पण्डितले मात्र होइन, थोरै पढेकाले पनि ‘एक दिन नारद सत्यलोक’ भन्दै भाखा हाल्दै पढ्न पाए । हाम्रो मातृभाषा नेपाली साझे बोली भयो । हाम्रो साहित्यिक र सांस्कृतिक एकता भण्डारमा पनि सामल थपियो । अब यसलाई बढारेर फ्याँक्ने कि जोगाइराख्ने ?
— देवकुमारी थापा
भानुभक्तको छन्द चुनाइ, वाक्य योजना, शैलीको माधुर्य सबैले उनी महान् छन् । विभिन्न प्रकारले भेदभाव भएका हाम्रा मानिसहरूलाई एक गराए भानुले —उनी हाम्रा एकताका केन्द्र बने ।
— जगत क्षेत्री