साहित्यको विविध विधामा कलम चलाई रहेकी स्रष्टा हुन्, राधिका कल्पित । सानै देखि साहित्य लेखनमा लागेकी कल्पित कलेज जीवन देखि सक्रिय भएर साहित्य सिर्जनामा लागिन् । अध्यापन पेसामा संलग्न उनी अङ्ग्रेजी साहित्यकी विद्यार्थी हुन् । उनको बरफका कोइलाहरू कविता सङ्ग्रह प्रकाशित छन् । धवलागिरि साहित्य पुरस्कार प्रतिष्ठान, बागलुङ , विश्व नेपाली साहित्य महासङ्घ नेपाल गण्डकी प्रदेश, भूपी शेरचन पुरस्कार, बागलुङ , पर्वत साहित्य सङ्गम , पल्लव साहित्यिक प्रतिष्ठान, नुवाकोट साहित्य समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लगायत साहित्यिक संस्थाहरूमा आबद्ध कल्पित फुर्सदको समय पुस्तकहरू पढेर बिताउन रुचाउँछिन् । असल साहित्य भित्र छिरेर त्यसको संसारमा रमाउँदा पाँचै इन्द्रियहरू सक्रिय हुन्छन् भन्ने स्रष्टा राधिका कल्पितसँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी :
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
केही दिन अगाडि पर्ल एस बकको “दि गुड अर्थ” पढेर सक्काएँ किताबले यति मोहित बनायो कि केही दिनसम्म त्यसकै ह्याङ्गओभरबाट निस्कनै सकिन । त्यसपछि भारतीय लेखिका डा.प्रतिभा रायद्वारा लिखित, बिन्द्या सुब्बाद्वारा नेपाली भाषामा अनूदित उपन्यास “द्रौपदी” पढिरहेको छु । सँगसँगै बजारमा आएका नयाँ कविता कृति पनि पढ्दै छु । मैले अक्सर पुराना पुस्ताका आफूले नपढेका किताब र भर्खरै बजारमा आएका किताब सङ्ग–सङ्गै पढ्ने गर्छु । किनेर ल्याएका नयाँ किताबको चाङ छ । पढ्ने फुर्सद नभएर अत्तालिएको अवस्थामा छु ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मनपर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
मन पर्ने पुस्तकको सुचि लामै छ । एउटा मात्र पुस्तकको नाम भन्न चाहिँ निकै नै गाह्रो कुरा हो तर पनि नेपाली साहित्यको एक मात्र नेपाली पुस्तकको नाम लिनुपर्दा बिपी कोइरालाको तीन घुम्ती लिन्छु ।
अङ्ग्रेजी पुस्तकको नाम लिँदा चाहिँ पर्ल एस बकको “दि गुड अर्थ” उपन्यासको विषयवस्तु, प्रस्तुति र वृत्तान्तले खिच्नुसम्म खिच्यो मन । उसो त यो बाहेक अन्य मन पर्ने पुस्तकहरू पनि थुप्रै छन् । हिन्दी साहित्यको सन्दर्भमा चाहिँ यो राम्रो यो नराम्रो भनेर भन्न सक्ने अवस्थामा छैन किनकि हिन्दी भाषामा लेखिएका पुस्तक त्यति धेरै अध्ययन गरेको छैन ।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
मेरो दैनिकी अत्यधिक व्यस्तता अझ भनौँ अस्तव्यस्त हिसाबले गुज्रने गर्छ । एउटा लेखकीय यात्रामा लागेको मान्छे भएर पनि बढो दुख र इमान्दिारिताका साथ भन्नु पर्दा लेखपढका लागि भनेर निश्चित समय छुट्टाउन सकिरहेको अवस्था छैन । एउटा जागिरे महिला र गृहिणीको भूमिकाअनुरूप निर्वाह गर्नुपर्ने कुनै निश्चित कामका लागि छुट्ट्याइएको समयभित्रको समयबाट चोरेर लेख्ने गर्छु । भान्साको कामबाट चोरेर भान्सामै पकाउँदा पकाउँदै, अलिकति रातमा सुत्ने समयबाट कटौती गरेर, थोरै परिवारसँग बिताउने समय र सामाजिक कामबाट छलेर ।
धेरैजसो लेखनीको ड्राफ्ट सार्वजनिक बस चढेर घर र अफिस आउजाउ गर्ने क्रममा गर्छु । काठमाडौँको सार्वजनिक यातायात सिङ्गो देशको झल्को दिने सानो नमुना देश नियाल्नुजस्तै लाग्छ मलाई । एउटा राम्रो अवलोकनकर्ताले साहित्यका असङ्ख्य विषयवस्तु भेट्न सक्छ यहाँ । त्यसैले मेरा धेरैजसो रचनाहरू पनि सार्वजनिक यातायातको यात्रा अनुभूतिका परिणति हुन् ।यात्रामा देखिएका कुनै परिवेश या घटनाले स्पार्क गर्छ र तुरुन्तै मोबाइलको नोटमा लेखिहाल्छु। अहिले त प्रविधिले धेरै सजिलो बनाइदिएको छ लेखपढ गर्न ।
मेरा धेरैजसो छोटा कविताहरू सार्वजनिक यातायातमै यात्रा गर्ने क्रममा लेखिएका हुन् । विशेष गरी लामा कविता, मुक्तक र कथाका प्लटका खाकाहरू भान्सामा काम गर्दागर्दै खाका कोरेर छाड्छु । खाका बनाएको प्लटलाई पूर्णता दिने र साफी गर्ने काम भने राति उठेर गर्ने गर्छु ।एउटा श्रष्टाका लागि लेखनका लागि निर्दिष्ट समय नहुनु बढो दुर्भाग्यपूर्ण कुरा हो जस्तो लाग्छ ।
अँ, अध्ययनका सन्दर्भमा समय मिल्यो भने जतिखेर पनि पढ्न सक्छु । एक ठाउँमा थपक्क बसेर पढ्ने मौका विरलै मात्र पाइन्छ तर पनि प्रविधिको सहायताले जसरी हुन्छ अध्ययनलाई दैनिकीको हिस्सामा समेट्ने प्रयास गरिरहेको हुन्छु । यात्रामा हुँदा इन्टरनेटमा उपलब्ध अध्ययनका सामाग्रीहरू डाउनलोड गरेर पनि पढ्छु । सीमित समयबाट अधिकतम लाभ लिन सकियोस् भन्ने हेतु घरको काम गर्ने ई बुकबाट सुनेर समेत धेरै वटा किताब सक्काएको छु ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
सबै विधाको आ–आफ्नो महत्त्व हुन्छ जस्तो लाग्छ । साहित्यको कुन विधा शक्तिशाली भन्ने प्रश्नमा ठ्याक्कै यो भनेर भन्न अलि गारो होला । तर पनि सामान्य पाठकलाई छिटो भाव सम्प्रेषण गर्न सक्ने विधा आख्यान र निबन्ध हुन् । तर विशिष्ट पाठकले विशिष्ट विधालाई अध्ययनको प्राथमिकता राख्छ । एउटा विधाले पस्कने स्वाद अर्कोले दिन सक्दैन । कुनै कुनै कविताहरू युग बदल्न सक्ने चेत बोकेका हुन्छन् । कुनै निबन्धहरू कालजयी हुन्छन् । समष्टिमा भन्दा सामान्य भन्दा सामान्य मान्छेसम्म पुगेर उनीहरूको सोचमा परिवर्तन ल्याउन सक्ने विधा चाहिँ आख्यान नै होला जस्तो लाग्छ । कविता पढेर आनन्द लिन सक्ने र यसलाई बोध गर्न सक्ने क्षमता राख्ने पाठक एकदम सीमित हुन्छन् ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
स्कुल पढ्ने ताका हाम्रो गाउँमा बाल साहित्य एकदम दुर्लभजस्तै थियो । न अभिभावकले नै किताब पढ्न प्रोत्साहित गर्ने जमाना थियो। “बाल साहित्य” भन्ने छुट्टै हुन्छ भन्ने ज्ञान समेत धेरै पछि मात्र थाहा पाएकी हुँ म त । हामीले पढ्ने विद्यालयमा पुस्तकालय पनि थिएन । पुस्तकालय कस्तो हुन्छ भन्ने समेत थाहा थिएन । साहित्यिक कार्यक्रम भन्ने कुरा क्याम्पस पढ्दा मात्र थाहा भएको हो मलाई ।घरमा बुबाले सधैँ रामायण, महाभारत, कृष्ण चरित्र लगायत थुप्रै धर्म ग्रन्थहरू पढ्नु हुथ्यो।हामीलाई त्यसका कथाहरू र पात्रहरूको व्याख्या गरिदिनुहुन्थ्यो ।
सुन्दासुन्दै रामायण र महाभारतका प्रत्येक पर्व र पात्र चिरपरिचित थिए । थिन् धर्मग्रन्थका दुई पात्रहरु : अभिमन्यु र मधुकरसँग विशेष प्रेम थियो मेरो । मधुमालती, सुनकेस्रा, नलदमयन्ती, लव कुस, अकबर र बिरबलका कथाहरू कण्ठ थिए । अलिअलि बुझ्ने भएदेखि नै मैले निकै दिलचस्पी दिएर ती कथाहरू सुन्थेँ, तर्क वितर्क गर्थेँ । मलाई लाग्छ मेरा साहित्यिक यात्राका जग ती धार्मिक ग्रन्थहरू नै थिए । छ कक्षामा पढ्दा जिल्ला सदरमुकाम बागलुङ बजार जाँदा केही बालकथाहरू भेटेँ । “मन्टोकी बज्यैको कथाको पेटारो” भन्ने बालकथा सङ्ग्रह मैले पढेको पहिलो बालकथा हो । गोर्किको “आमा” पहिलो उपन्यास हो, जुन आठ कक्षा पढ्दा पढेको थिएँ । त्यसपछि पैसा जम्मा गरेर बजारमा भेटे जतिका किताब किन्थेँ । तर साहित्यिक किताब भेट्नु नै मुस्किल पर्थ्यो । हाई स्कुलमा पुग्दा भाइका अङ्ग्रेजी बोर्डिङ स्कुलका किताब पढ्न थालेपछि अङ्ग्रेजी कथा र कविताहरूतिर तानिएँ ।
कस्ता पुस्तकहरू पढ्न बढी मन पथ्र्यो ?
त्यस समयमा आफूले रोजेर यो या त्यो पढ्ने भन्ने च्वाइस हुन्थेन,हातमा जे पर्थ्यो त्यही पढिन्थ्यो । कहिलेकाहीँ हातमा पत्रिका पर्यो भने विज्ञापन समेत नबिराई पढ्ने बानी थियो मेरो । सनसनीपूर्ण कथामा एकदम रुचि थियो तर त्यस्ता कथा बजारमा भेटिन्न थे । न यो पढ त्यो पढ भनेर सुझाउने मान्छे कोही थियो । त्यसैले बजारमा भेटिएका केही बालकथाहरू पढियो । भाइले पढ्ने अङ्ग्रेजी बोर्डिङका कोर्सका सिन्ड्रेला, टम स्वेर, गुलिभर ट्राभेल लगायत थुप्रै कथाहरू पढेँ ।
पछि केही अनुवादित विश्व कथाहरू बढी पढियो। मिसनरी समूहहरू गाउँगाउमा बाइबलका अनुवादित साना साना किताब र कथाहरू लिएर हिँड्थे, त्यसका कथाहरू दोहोराइ तेहराइ पनि पढियो । हाई स्कुले जीवनमा पुगेपछि लुकी लुकी प्रकाश कोविदका उपन्यासहरू रात रातभर पढेर उज्यालो बनाइन्थ्यो तर एउटा सकिएपछि अर्को उपन्यास पाउन महिनौँ कुर्न पर्थ्यो । अहिलेजस्तो सजिलै संग किताब पाइँदो हो त कति पढिन्थ्यो होला त्यो बेला ?
तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
मैले सबैभन्दा धेरै पुस्तक पढेको समय भनेको १६ देखि २५ वर्षको उमेरमा हो । एसएलसी दिएपछि स्नातक पास गर्ने बेलासम्म एकदमै धेरै पुस्तकहरू पढेँ । नेपाली साहित्यका धेरैजसो कृतिहरू मैले यही बेलामा पढेको हुँ । अङ्ग्रेजी साहित्यको विद्यार्थी भएकाले क्याम्पस जीवनमा अङ्ग्रेजी साहित्यका किताबहरू पनि थुप्रै पढियो ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
धेरै चोटी दोहोराएर र पढेको पुस्तकमा चाहिँ शिरीषको फूल, सुम्निमा, अनुराधा, पल्लो घरको झ्याल, एब्स्ट्रयाक्ट चिन्तन प्याज, घुम्ने मेच माथि अन्धो मान्छे हुन् ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
एउटै कृतिले पार्ने प्रभाव र बुझाई पनि उमेर अनुसार फरक फरक हुँदो रहेछ । किशोरावस्थामा बिना जजमेन्ट सतही हिसाबले पढियो । बुझ्न पनि सतही नै बुझियो । अलिकति साहित्यको चस्को पसेपछि अलि कला, भाषाजस्ता विषयवस्तु केलाउँदै पढियो । कुनै कुनै कृति चाहिँ बहु आयामिक दृष्टिकोणबाट समीक्षाहरू आएपछि फेरि पढियो ।
ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
बिपीका कृतिहरूमा सबैभन्दा नपर्ने पक्ष भनेको सूक्ष्म यौन मनोविज्ञान, गोविन्द बहादुर गोठालेका कथा र उपन्यासमा चेतन र अवचेतन मनको द्वन्द्व हो । पारिजातको मन पर्ने पक्ष चाहिँ उनका क्यारेक्टरको बोल्डनेस । कला पक्ष त भइ नै हाल्यो ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
मनपर्ने पात्र र परिवेशले लामो समयसम्म पछ्याइरहन्छ मलाई । विजय मल्लको अनुराधा लघू उपन्यास पढिसकेपछि अनुराधा प्रति म यति प्रेममा डुबेँ कि त्यसकै छाया स्वरूप अनुराधालाई सम्बोधन गरेर “चिठीको चिता” भन्ने कथा नै लेखेँ ।
क्याम्पस पढ्दा सेक्सपियरको ओथेलो उपन्यास पढेपछि ओथेलोले यति प्रभाव पार्यो कि ६/७ सय शब्द लामो कविता नै लेखेकी थिएँ । त्यसैसरि सुम्निमाको छाप यति छ कि कोशि टप्पु तिर पुग्दा सुम्निमाका पाइतालाका डोब भेटिन्छन् कि जस्तो लाग्छ । सरुभक्तको पागल बस्ती पढिसकेपछि पोखरा जाँदा कास्कीको कार्किनेटा भन्ने ठाउँमा झरेर पागल वस्ती कता पर्छ भनेर स्थानीयलाई सोध्दाखेरि स्थानीय मान्छे सबै अचम्म परेका थिए । अहिले पनि कुस्मा हुँदै बागलुङतिर लाग्ने क्रममा पारिपट्टिको बलेवा मुनिको भीर देख्ने बित्तिकै भुपिनको मैदारो उपन्यासको नदीनलाई भीरमा अड्किरहेको देख्छु ।
तपाईँको विचारमा पढ्नु केका लागि हो ?
पढ्नु सबैका लागि एउटै उद्देश्य नहुन सक्छन् । कुनै मिठो खानेकुरा खाँदा या सुन्दर र नयाँ ठाउँ घुम्न जाँदा या एकदम प्रभावशाली व्यक्ति भेट्दाको जस्तो आनन्दको अनुभूति हुन्छ । असल साहित्य भित्र छिरेर त्यसको संसारमा रमाउँदा पाँचै इन्द्रियहरू सक्रिय हुन्छन् । पछिल्लो समयमा आनन्दका लागि मात्र नभएर आफूलाई अपडेट गर्न, नयाँ शैली, दृष्टिकोण, भाषा, संरचना इत्यादिजस्ता कुराहरूसँग बढी भन्दा बढी साक्षात्कार गर्न पनि पढिन्छ ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
विभिन्न पुस्तकका आ–आफ्नै प्रभावहरू हुन्छन् । सानोमा सुन्ने गरेका धार्मिक ग्रन्थले नैतिक चरित्र निर्माणमा सघाए । सानो हुँदा पढेका अङ्ग्रेजी बाल साहित्यको प्रभाव स्वरुप अङ्ग्रेजी साहित्यतिर झुकाव बढायो । असल र समयसापेक्ष बाल साहित्य भनेको नैतिक चरित्रका स्तम्भजस्ता हुने रहेछन् । किशोरावस्थामा पढेका आमा, वसन्ती, सेतो बाघजस्ता उपन्यासले राजनैतिक चेतना बीजारोपण गरेको थियो भने हेमिङ्वेको ओल्डम्यान एन्ड सि जस्ता उपन्यासले अस्तित्वका लागि कतिसम्म सङ्घर्ष गर्नुपर्दो रहेछ भन्ने तथ्य आत्मसात् गर्न सघाए ।पछिल्लो समय पढिरहेका किताबहरूले समाजलाई हेर्ने दृष्टिकोण फराकिलो भएको महसुस हुन्छ ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
पुस्तक सिफारिस गर्ने कुरा मलाई अलि गारो लाग्छ किनकि सबैका आ– आफ्ना रुचि हुन्छन् यद्यपि राम्रा किताबहरूले सबै स्तरका पाठकलाई तान्छन् । तपाईँलाई एक सशक्त नारी पात्र मन पर्छ भने तपाईँले बानीरा गिरीको “निर्बन्ध” र “कारागार” पढ्न सक्नुहुन्छ ।
मनोविज्ञान मन पर्नेलाई पारिजात, बिपीका, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल र प्रेमा शाहका कृतिहरू पढ्न सुझाउँछु ।
निबन्ध मन पराउनेका लागि शङ्कर लामिछानेका “गोधुली संसार” र “एब्स्ट्याक्ट चिन्तन प्याज” अनि देवकोटाको “लक्ष्मी निबन्ध सङ्ग्रह” पढ्न सक्नुहुन्छ ।
आफ्नो इतिहास, संस्कृति र भूगोलसँग रुचि हुनेहरूका लागि “उज्यालो कर्णाली”, “योगमाया”, “शून्यको मूल्य”, “खलङ्गामा हमला”, “मुगलान” इत्यादि सुन्दर कृतिहरू हुन् ।
कविताका पारखीका लागि घुन्ने मेच माथि अन्धो मान्छे, पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ, मफलर इत्यादि हुन् । र कसैले पनि पढ्न छुटाउन नहुने किताब भागवत गीता हो ।
तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
बिधार्थी कालमा जम्मा गरेका पुस्तकहरू सबै कता कता हराए, छैनन् । स्थायी बसोबास नहुनाले पनि किताबको जतन गर्न र संरक्षण गर्न बहुत गारो हुने रहेछ । वासस्थानको अलि टुङ्गो लागेपछि सङ्कलन भएका किताबको सङ्ख्या पाँच छ सय होला ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
पढ्न चाहेर पनि पढ्न नपाएको किताब धेरै छन् ती मध्ये माधवी, हन्ड्रेडबइयर्स अफ सलिट्युड, सुटेबल ब्यो, वार एन्ड पिस इत्यादि हुन् ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
विदेशी लेखकको कुरा गर्दा ओ हेनरी, एन्टन चेखब, मन्टो, इस्बेन आदि मेरा मन पर्ने कथाकार हुन् । कविहरूमा माया एन्जेलो र अमृता प्रितम एकदम मन पर्छ ।
स्वदेशी लेखकमा पारिजात, विश्वेश्वरप्रसाद कोइराला, गोविन्द बहादुर मल्ल गोठाले, वासु शशी, भूपी शेरचन ।
अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
म तीन वटा चिजहरूको सूक्ष्म अध्ययन गर्छु । पुस्तक,प्रकृति र मान्छे । अध्ययनपछि मन पर्ने कुरा एकान्त बास हो । आजकल मलाई एक्लै बस्न र एक्लै डुल्न एकदम मन पर्न थालेको छ । प्रकृतिको सामीप्यमा रहेर कविता लेख्नु र किताब पढ्न पाउनु मेरो लागि सबैभन्दा ठुलो उत्सव हो । त्यसपछि मलाई मन पर्ने विषय हो मान्छेको व्यवहार को अध्ययन हो । कसैले थाहा नपाउने तरिकाले मान्छेलाई नियाल्न खुब मन पर्छ । यसैले कहिलेकाहीँ बिना उद्देश्य इन्द्रचोक, ठमेल, रत्नपार्क जस्ता भीडमा गएर उनीहरूले थाहा नपाउने गरी अवलोकन गर्छु ।
भिडमा मान्छेभित्रको पागलपन, इमानदारिता, ऊ भित्रको अन्तर्निहित स्वभाव प्रकट भएको हुन्छ । एउटा लेखक बन्न रहर गर्ने मान्छेले प्रकृति र मान्छेको अध्ययन गर्नु बहुत जरुरी छ । प्रकृति र मानव मनोविज्ञान लेखेर र पढेर कहिल्यै नसकिने साहित्य हो । प्रकृति पूर्वाग्रह रहित मित्र पनि हो । म प्रकृति प्रेमी हुँ । भगवानलाई चढाउन समेत मैले कहिल्यै फूल टिप्न सक्दिन । भगवानलाई रिझाउन पशुको हत्या गर्न सक्दिनँ । अलिकति फुर्सद मिल्यो कि फूलहरू सार्ने, बारीमा काम गर्ने गर्छु । वनस्पतिसँगको संवाद र साक्षात्कारले मलाई असाध्यै शीतलता र आत्मिक शान्ति दिन्छ ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
युवा पुस्ताले असल चरित्र निर्माणका लागि भागवत गीता पढ्नु अत्यन्तै जरुरी छ । त्यस्तै व्यक्तित्व र दृष्टिकोण निर्माणका लागि विश्व प्रसिद्ध व्यक्तिहरूको जीवनी पढ्न राम्रो हुन्छ । नेल्सन मन्डेलाको “दि लङ वाक टु फ्रिडम” मलाला युसुफजाइको “आइ एम मलाला”, महात्मा गान्धीको “दि स्टोरी अफ माइ एक्सपेरियन्स विद ट्रुथ”, माया एन्जेलोको “आइ नो ह्वाइ दि केज बर्ड सिङ्स, एन्नी फ्रेङ्कको “दि डायरी अफ योङगर्ल” इत्यादी उत्कृष्ट कृतिहरू हुन् । दि अल्केमिस्ट, ओशोका कृतिहरू, झमक घिमिरेको जीवन काँडा कि फूल, राधा पौडेलको “खलङ्गामा हमला” जस्ता किताबहरू पढ्नु राम्रो हुन्छ ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
साहित्यिक योजनाहरू त धेरै छन् । यसमा मुख्यतः तयार भएका एउटा कविता संग्रह तुरुन्तै निकाल्ने सोच छ । कथा सङ्ग्रह पनि तयार भएको छ त्यसलाई साफी गर्ने काम गरिरहेको छु ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा र सिर्जनाको सम्बन्ध नङ मासुको जस्तै अझ भनौँ शरीर र सासको जस्तो सम्बन्ध हुन्छ किनभने सृजनाले स्रष्टाको अस्तित्व बनाएको हुन्छ । एउटा स्रष्टालाई उसको सिर्जनाबाट अलग्याएर हेर्ने हो भने ऊ आम मान्छे सरह हुन पुग्छ । उसको विशेषता भन्नु लेखन मार्फत उसले बनाएको बिचारको छवि हो । त्यसैले त एउटा स्रष्टा मरेर गए पनि उनको बिचार उनका सिर्जना मार्फत बाँचिरहेका हुन्छन् ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मेरो जीवनमा कुनै त्यस्ता रेडिमेड रोल मोडेल आएनन् तर जिन्दगीको पाइला पाइलामा भेटिने सङ्घर्षरत र कठिन परिस्थितिमा पनि हिम्मत नहारी काम गर्ने हरेक इमानदार र कर्तव्यनिष्ठ मान्छे मेरा रोल मोडल हुन् । कुनै एउटा चर्चित सेलिब्रेटी भन्दा दिनभर गिट्टी कुटेर छोराछोरी स्कुल पठाउने श्रमिक मेरा लागि असली रोल मोडेल लाग्छन् ।