० तपाईंको साहित्य–लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
म स्कुल पढ्दादेखि नै कविता लेख्ने गर्थें । साहित्यिक कार्यक्रमहरूमा भाग लिन्थेँ । केही कविताहरू त्यसै समयमा प्रकाशित पनि भए । यो क्रम कलेज पढुन्जेल पनि जारी रह्यो । त्यसपछि लामो समय मैले लेखिनँ र पछि २०४३ सालताका सुरु भएको प्रतिभा–प्रवाह र त्यसै बेला साहित्यसन्ध्या कार्यक्रमको म नियमित स्रोता थिएँ । यी कार्यक्रमहरूले मलाई पुनः लेख्नलाई उत्साहित बनाए ।
० साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र कोबाट प्राप्त गर्नुभयो ?
हामीले केटाकेटीमै कवि दुर्गालालका बालकविता पढ्नुपथ्र्यो नेपालभाषामा । उहाँले रच्नुभएको एउटा बालकविता सङ्ग्रह चिनियाम्ह किसिचाका कविताहरू म मात्रै होइन अधिकांश मेरा सहपाठीलाई कण्ठै हुन्थ्यो । ती कविताहरूले मलाई रमाइलो अनुभूति दिन्थे ।
संवेदनशीलता अर्को पक्ष हुने रहेछ लेखनमा । कुनै घटना देख्दा, भोग्दा वा सुन्दा मन छुने भएपछि जस्तोसुकै घटना भए पनि त्यसलाई कवितामा उतार्ने प्रयत्न गर्थे । मेरो अनुभूति मेरो वरिपरिका असमानता, लैङ्गिक र जातीय भिन्नता, वर्गविभेदका कारण म आफूलाई भित्रभित्रै असन्तुष्ट भएको पाउँथेँ र त्यसलाई म कविताका रूपमा अभिव्यक्त गर्न प्रत्यन्न गर्थें ।
केटाकेटीमै लेख्न त लेख्थेँ तर जब मैले सचेत रूपमा लेख्न सुरु गरेँ, लेख्नका लागि प्रेरणाको स्रोत बन्नुभयो मेरो श्रीमान् स्नेह सायमी र उहाँका साहित्यिक सङ्गत । ४० को दशकदेखि मैले पाएको साहित्यिक वातावरणले पनि मलाई लेख्न प्रेरित ग¥यो ।
० साहित्यसेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
म आफू कविता लेख्ने हुँदा कुनै घटनाप्रतिको अभिव्यक्तिका रूपमा कविता लेख्दा मात्रै पनि आनन्द आउने रहेछ । त्यो कवितालाई परिमार्जन गरेर चित्तबुझ्दो किसिमले तयार पार्दा र साथीहरूबीच सुनाउँदा अर्को आनन्द आउँछ । एकजना कविलाई कसैले राम्रो भनिदिँदा पनि सन्तुष्ट हुन्छ ।
सही मानेमा सन्तुष्ट तब भइने रहेछ जब कविताले कविलगायत आफ्नो समाजलाई अग्रगामी बनाउन थोरै भए पनि योगदान रह्यो भन्ने अनुभूत हुन्छ । म आफू आफ्ना कविताहरूबाट सन्तुष्ट छु ।
० नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिताका सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
कुनै पनि घरमा साधारणतया आमाको प्रभाव र भूमिका बढी रहन्छ । आमाको कमाइ र बाबुको कमाइबाट परिवारमा हुने खर्चको सन्तुलन नै फरक हुन्छ । पितृसत्तात्मक हाम्रो समाजमा पुरुषहरू परिवारको आवश्यकताभन्दा आफ्नो रुचिअनुसार चल्ने गर्छन् । आमाहरू आफ्नो निजी रुचिभन्दा परिवारका कुरा सोच्छन् र परिवारका लागि गर्छन् ।
साहित्यमा महिलाहरू अग्रसर भइदिए साहित्यिक वातावरणको घेरा ठूलो हुन्थ्यो । त्यसले ल्याउने अभिव्यक्ति फरक र विशाल हुन्थ्यो । मलाई लाग्छ महिलाहरू महिलावादी मात्र हुन सक्दैनन् । महिलाहरू महिला र पुरुषलाई समान देख्न चाहन्छन् तर पुरुषहरू अझै महिलाप्रति संवेदनशील छैनन् । जो महिलाहरू सङ्घर्ष गरेर वा पारिवारिक वातावरण पाएर साहित्यमा अग्रसर भएका छन् उनीहरूको अभिव्यक्ति पुरुषहरूको भन्दा कम छैन । तर विडम्बना के छ भने महिलाहरूलाई घर, परिवार, सम्बन्ध र समाजले यसरी किचेको छ कि उनीहरूलाई यी सबै कुरा भ्याएर साहित्यमा समय दिन कठिन छ ।
अर्को कुरा, समस्या हो अध्ययनको कमी । जस्तोसुकै लेखनलाई कविता भन्न सकिँदैन । कविता लेख्न सुरु गर्नु एउटा कुरा, विचार र शिल्पलाई संयोजन गरेर सही कविता बनाउनु अर्को कुरा हो । मलाई यहीँनेर डर लाग्छ । कविता कविता जस्तो भयो कि भएन ? यसका लागि मैले, हामीले, सबै महिला साहित्यकारहरूले प्रशस्त राष्ट्रिय, अन्तर्राष्ट्रिय साहित्यको अध्ययन गर्नुपर्छ । हाम्रो साहित्यको औसत स्तर माथि उठ्न सकेको छैन । हामी अग्रसर त भयौं तर स्तरीयतामा ध्यान पु¥याउन बाँकी छ ।
० “साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउ“छन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पु¥याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यका साथ प्रस्तुत गरिन्छ ।” यस भनाइप्रति तपाईंको के धारणा छ ?
म माथिको धारणाप्रति सकारात्मक दृष्टिकोण राख्छु । म मेरो दृष्टिकोणप्रति स्पष्ट छु र त्यो दृष्टिकोणलाई कवितामा प्रस्तुत गर्दा मेरा लक्षित पाठकहरूको हृदय छुने शिल्प नरहला कि भनेर म डराउने गर्छु । मेरा कविता पढेर पाठकहरूले भनून् – म यी कविताबाट प्रभावित भएँ । तब म ठान्छु कि मैले लेखेका कुरा कविता भएछन् ।
० हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धाराका सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
धेरै साहित्यिक प्रतिष्ठानहरूबारे मलाई राम्रो जानकारी छैन । धेरैजसो प्रतिष्ठानहरूले साहित्यकारहरूलाई सम्मान गरेको, पुस्तक विमोचन गरेको समाचारमा पढ्थेँ ।
एउटा कुरा मलाई खट्किरहेको छ । साहित्यिक प्रतिष्ठानहरूले नयाँ लेखकहरूलाई औपचारिक प्रशिक्षण दिने, रचनाहरूको स्तरको ज्ञान दिने, अन्य मुलुकका साहित्यसँग तुलना गर्न सिकाउने काम भए म र मजस्ता थुप्रै साहित्य लेख्न चाहनेहरूले सिक्ने मौका पाउँथ्यौं ।
० तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
लक्ष्मीप्रसाद देवकोटा, पारिजात, भूपि शेरचन, गोपालप्रसाद रिमाल, बीपी कोइराला, गोविन्द वर्तमान, खगेन्द्र सङ्ग्रौला, श्यामल, विमल निभा, नारायण ढकाल, हरिगोविन्द लुइँटेल आदि र म्याक्सिम गोर्की, बर्तोल ब्रेख्त, शरद्चन्द, प्रेमचन्द, अमृता प्रीतम, तसलिमा नसरिन आदि ।
० तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानीकन उल्लेख गरिदिनुहोस् ।
२०२४,२५ सालतिर म नेपाल आदर्श हाइस्कुल, गणबहालमा पढ्थेँ । त्यतिखेर प्रत्येक वर्ष बालमन्दिर नक्सालमा बालकविगोष्ठी हुने गथ्र्यो । त्यसैताका म र मेरा एकजना सहपाठी बालमन्दिरमा कविता पाठ गर्न छानियौं । पानी परिरहेको थियो । कसरी गणबहालबाट नक्सालसम्म पुग्ने होला भनेर सोचिरहेका थियौं । यो कुरा गुरुहरूसमक्ष पनि पुगेछ । संयोगवश प्रसिद्ध नाटककार बालकृष्ण सम (जो हाम्रो स्कुलको सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो) स्कुलमा आउनुभएको रहेछ र उहाँ पनि बालमन्दिरकै कार्यक्रममा जानु हुने रहेछ । उहाँको मोटरमा हामी पनि बालमन्दिरतिर लाग्यौं । प्रसिद्ध साहित्यकार बालकृष्ण समको मोटरमा गणबहालदेखि नक्सालसम्म सँगै जान पाउनु मेरा लागि रमाइलो घटना थियो ।
दोस्रो रोचक घटना – २०३० तिर पद्मकन्या कलेजबाट एक हप्ताको गाउँफर्क कार्यक्रममा एक साँझ रमाइलो गर्ने कार्यक्रम राखियो । त्यस कार्यक्रममा स्थानीय २–४ जना बुद्धिजीवीहरू पनि हुनुहुन्थ्यो । गीत गाउने, चुटकिला भन्ने, उखानटुक्का भन्ने, बाँसुरी बजाउने, कसैको क्यारिकेचर गर्ने गरियो । मैले चाहिँ आफ्नै एउटै कविता वाचन गरेँ । मेरो कविता सुनिसकेपछि बुद्धिजीवीमध्ये एकजना मेरो नजिक आउनुभएर कत्तिको लेख्नुहुन्छ ? भनेर सोध्नुभयो । मैले ‘अलिअलि’ भनेँ । उहाँले भन्नुभयो – होइन नानी तपाईंले लेख्ने गर्नुस् है । तपाईंको कविता राम्रो छ । एकचोटि फेरि वाचन गर्नुुस् त ! मैले दोहो¥याएर कविता पढेँ । पछि थाहा पाएँ उहाँ हुनुहुँदो रहेछ प्रसिद्ध साहित्यकार रमेश विकल । यो घटना पनि मेरा लागि नबिर्सने घटनामा पर्छ ।
० तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
मेरा प्रकाशित रचनाहरूमा पहिलो रचना हो कविता मलाई मनपर्छ, त्यो २०२८–२९ सालतिर रत्नश्री साहित्यिक पत्रिकामा प्रकाशित भएको थियो । मेरा रचनाहरू सबै नै मनपर्छन् मलाई । अलि छानेर हेर्दा अहिलेसम्मको रचनामा मलाई आमा तिम्रो नाम के हो ? कविता मनपर्छ ।
० यसबाहेक तपाईंको साहित्यको सम्बन्धमा केही कुरा भन्न बाकी छ भने बताइदिनुहोस् ।
हामीहरू आफ्नो साहित्यमा मात्र सीमित हुनु हुँदैन । एक–अर्काको कविता प्रकाशित वा पाठ गरेर मात्र रम्नु हुँदैन । साहित्यको स्तरका बारेमा कठोर रूपमा प्रश्न उठाउनुपर्छ । होइन भने हामी सुध्रिन सक्दैनौं । साधारण प्रशंसा वा आलोचनाले मात्र पनि पुग्दैन । एकएक हरफ केलाएर समालोचना गर्ने परम्परा बसाल्नुपर्छ ।
त्यस्तै अर्को आवश्यकता हो हामीले हाम्रो साहित्यलाई विश्वसाहित्यसँग दाँज्नु, विश्वका चर्चित साहित्यकारहरूको साहित्य पढ्नु र विश्वसाहित्यको वर्तमान स्थितिमा नेपाली साहित्य कहाँ पर्छ भनेर चासो लिनु ।
मलाई लाग्छ यी कार्य प्रलेसङ्घ लगायत साहित्यिक प्रतिष्ठानहरूले गर्नेछन् ।