शास्त्रीय सङ्गीतमा रम्दै स्रष्टाहरूले विश्व सङ्गीत दिवस मनाएका छन् । विश्व सङ्गीत दिवसको अवसरमा काठमाडौँमा मङ्गलवार र बुधवार विभिन्न साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।
यस्तै क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विश्व सङ्गीत दिवसको अवसर पारेर काठमाडौँमा शास्त्रीय सङ्गीत उत्सव परम्परा……..एक सुरुवात नाम दिई गुरु शिष्य परम्पराको सिर्जना कार्यक्रम आयोजना गरेको छ ।
शास्त्रीय सङ्गीतकर्मी चन्दन श्रेष्ठको समूहको शास्त्रीय साङ्गीतिक प्रस्तुतिबाट उत्सवको सुरु भएको थियो । उनीहरूले झलकमान गन्धर्वको गीत गाएर उत्सवको शुभारम्भ गरेका थिए । काठमाडौँको रसियन कल्चर सेन्टरमा आयोजना गरिएको उत्सवमा त्यसपछि दुई घण्टासम्म विभिन्न कलाकारले शास्त्रीय सङ्गीत प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध तुल्याए ।
उत्सवमा उस्ताद गणेशलाल श्रेष्ठको शिष्य परम्पराका साधक मोहनप्रसाद जोशी र उनका शिष्यहरूको चार पुस्ते प्रस्तुति दिएका थिए ।। मोहनप्रसाद जोशीका चेलाहरू इसराज वादनमा सन्तोषभक्त श्रेष्ठ,सरोद वादनमा सुरेशराज बज्राचार्य, भ्वाइलिनमा मिलन तण्डुकार, तबलामा मिलेश तण्डुकारका साथमा उहाँहरूका चेलाहरू सुमन महर्जनले सरोद र शैलेन्द्र शाक्यले भ्वाइलिन प्रस्तुत गरेका थिए भने चौंथो पुस्ताको रूपमा शैलेन्द्र शाक्यका चेलाले भ्वाइलिनको प्रस्तति दिएका थिए ।
ललितकला केन्द्रीय विभावको गायन प्रस्तुति, अमता दरभङ्गा घरानाका विष्णु आचार्य र शिष्यहरूको ध्रुपद गायन, जीवन आलेको समूहको बाँसुरी वादन, श्री केसी र उनका चेलाहरूको शास्त्रीय गायन, अच्युतराम भण्डारीको समूहको तबला वादन, सुलोचना कपालीको समूहको शास्त्रीय नृत्य पनि उत्सवको आकर्षक बिन्दु थियो ।
यस्तै ध्रुपद गुरुकुल काठमाडौँका तर्फबाट उनेउवे शो र विशल भट्टराई तथा उनका शिष्यहरूबाट प्रस्तुत गरिएको ध्रुपद गायनले दर्शकलाई तरङ्गित बनायो । यो प्रस्तुतिमा दर्शकले निरन्तर तालीले साथ दिए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले सङ्गीतको मुल नै शास्त्रीय सङ्गीत भएकाले यसको प्रवर्धनमा सबैको साथ हुनु पर्ने बताए । अग्रज शास्त्रीय सङ्गीतज्ञ मोहन प्रसाद जोशीले यस्ता उत्सवले शास्त्रीय सङ्गीतको विकाशमा ऊर्जा थप्ने बताए । जोशीले हार्मोनियम तथा जल तरङ्ग बजाएर उत्सवको उद्घाटन गरेका थिए । प्राज्ञ तथा सो उत्सव संयोजक प्राज्ञ धीरेन्द्र प्रेमर्षिले सङ्गीत ईश्वरीय आराधनाको सर्वोत्तम र सर्वसुलभ माध्यम भएको बताए ।