प्रथम क्रान्तिकारी बुद्ध
संसारमा द्रुत गतिले जुन उथलपुथल र प्रगति भइरहेछ, म देख्छु तिनको सञ्चालन निम्न कुराहरूबाट भइरहेछ— धार्मिक तथा सामाजिक क्रान्ति, राजनीतिक चेतना र वैज्ञानिक विकास । धार्मिक क्रान्तिको प्रारम्भ गर्ने विश्वकै प्रथम व्यक्ति भगवान् बुद्ध हुन् । सुरुसुरुमा अधिकांशत: अहिले पनि समाज धार्मिक भावनामा टाँसिइरहन्छ । धार्मिक तŒव अर्थात् धर्मप्रवर्तक र धर्माधिकारीको विचारका आधारमा समाजको संस्थापन हुन्छ । त्यसैले समाजको रूपरङ्ग र विधिविधान सबै उनका प्रवर्तक र अधिकारीका विचारअनुरूपकै हुने भए । संसारका प्राय: सबै धर्म वा सम्प्रदायको समाजमा यद्यपि प्रथम धर्मप्रवर्तक वा धर्माधिकारीको स्वार्थ सायद थिएन होला पनि, तर तिनका उत्तराधिकारी नेताहरूमा सम्भवत: कसैले पनि निजी सुख र अधिकार पाउने लोभ त्याग्न सकेनन् । जुन धर्म वा सम्प्रदायमा तपाईं दृष्टि दिनुहोस्, उनीहरूका पाँचै औँलाहरू घिउमा डुबेको पाउनुहुनेछ । हिन्दू जातिमा त यिनै धार्मिक उत्तराधिकारी नेताहरूका सन्तान ब्राह्मण र तिनका पृष्ठपोषक क्षत्रिय तथा वैश्य नै क्रमश: बढीमात्रामा सुख र अधिकारका भागी हुन्छन् र यिनैको भाग्यमा सदैव चार चाँद लागिरहन्छन् । यीबाहेकका शूद्र र अवर्ण हिन्दूहरू जो सङ्ख्यामा अरू तीन वर्णहरूभन्दा पनि धेरै छन्, सदैव सुख र अधिकारका लागि र्याल काटिरहेका हुन्छन् । हिन्दू जातिका धर्माधिकारीहरूले त स्त्रीजातिलाई पनि खासखास सुख र अधिकारबाट वञ्चित पारेका छन् जो सङ्ख्यामा पुरै आधा छन् । यसप्रकार हिन्दू जातिका केही धर्माधिकारी र वरिष्ठ मानिसहरूले सामाजिक सुख र खास अधिकारहरूमाथि एकाधिकार जमाएका छन् ।
यसरी नै धर्मको नाममा अधिकारीहरूका स्वार्थ समाविष्ट हुनाले अर्थात् धर्मको मन्दिरमा स्वार्थको देउता प्रतिष्ठापित हुनाले समाजमा छिन्नभिन्नता र असन्तुष्टि छाउन थाल्यो र प्रेम तथा एकताको ठाउँमा मनोमालिन्य र फुट उत्पन्न हुन थाल्यो । कहाँसम्म भने यसबाट बिस्तारैबिस्तारै समाजमा अतिशयता र अत्याचारको बाढी आउन थाल्यो । यसको फलस्वरूप भगवान् बुद्धले धार्मिक क्रान्ति गर्नुपर्यो, जुन त्यस समय संसारमा नयाँ चीज थियो र जसलाई सुधारका लागि एक जबर्जस्त नयाँ साधन लागेकाले युग र जनताले हृदयदेखि नै स्वागत गरे । बुद्धको धार्मिक क्रान्तिमा धार्मिक कुराका अतिरिक्त सामाजिक विप्लव र केही मात्रामा राजनीतिक उद्गार पनि समाविष्ट थिए, त्यसैले त्यो क्रान्ति अझ बढी हृदयग्राही भयो । साँच्चै भन्ने हो भने विश्वमा विकास, जागृति र आधुनिक प्रगतिको जग बुद्धले नै हालेका थिए र संंसारको स्तर आज यहाँसम्म पुग्नु बुद्धको कामनाकै परिणाम हो ।
राममोहन राय, दयानन्द र गान्धी
बुद्धपछि भारतवर्षमा राजा राममोहन राय र स्वामी दयानन्द सरस्वतीले धार्मिक एवं सामाजिक क्रान्तिको दियो बालेका थिए, जो चारैदिशा प्रज्वलित भएर अँधेरोमा अन्धा भएका जनतानिम्ति तेजस्वी आँखा हुन पुगे । स्वामी दयानन्दका क्रान्तिकारी विचार र उनीद्वारा स्थापित आर्यसमाजले त हिन्दू समाजलाई कति धारिलो र तीक्ष्ण दृष्टि दियो भने त्यसबाट कट्टर र सङ्कीर्ण हृदय भएका हिन्दूहरूका सारा महलहरू हल्लन थाले र ढल्दै छन् । संसारलाई सङ्कीर्णताबाट मुक्त राखेर शान्ति दिने कामना गर्ने व्यक्तिहरूमा महात्मा गान्धीको व्यक्तित्व बेजोड छ । गान्धीको विलक्षणता के कुरामा छ भने धर्मको प्रत्यक्ष आलोचना वा टिप्पणी नगर्दा नगर्दै र कुरैकुरामा त्यसको प्रशंसा गर्दै उनले प्रशस्त मात्रामा धार्मिक तथा सामाजिक क्रान्ति गरेका छन् । गान्धीले घरको चारदिवारीमा खुम्चिन बाध्य महिलाहरूलाई मैदानमा खडा गरेर जीवनसङ्ग्रामका योद्धा बनाइदिए । कुनै पुरुषलाई देख्नासाथ घुम्टो हालेर भाग्ने नारीहरूलाई कति बहादुर बनाइदिए भने महिलाहरू स्वतन्त्रताको सङ्घर्षमा अग्रणी भएर अङ्ग्रेजविरुद्ध युद्ध गर्न मैदानमा उत्रे । हजारौँ वर्षदेखि पुरुषको दबाबमा परेर मुख खोल्ने हिम्मत पनि नगर्ने नारीजातिमा उनले कतिसम्म साहस भरिदिए भने आज नारी पुरुषसित समानताको व्यवहार खोज्दै आफ्ना अधिकारनिम्ति दावा गर्दै छन् । हिन्दू धर्मको जग रहेको वर्णव्यवस्थाका विरुद्ध स्वयं व्यवहार गर्दै गान्धीले अनुसूचित जातिलाई ‘हरिजन’का नामले शिर र काँधमा राखीराखीकन जिन्दगीभरि मन्दिरमा लग्दै रहे जसबाट हिन्दू जगत्मा धेरै मात्रामा भेदभावको भावना घट्दै गयो । उनले जातपात, छुवाछुत एवं भेदभावको नीतिका विरुद्धमा चर्को आन्दोलन गरेर सङ्कीर्ण प्रवृत्तिलाई नै बदलिदिए । कतिपय परम्पराहरूलाई मानेर पनि खराब रूढिहरू र त्यस्ता रीतिरिवाजहरूलाई उनले जरैदेखि उखेलेर फाल्नमा सक्रिय प्रयत्न गरेका छन् । उनको राजनीतिक चाल, क्रान्ति र सङ्घर्षमा धार्मिक एवं सामाजिक क्रान्तिको पनि आड हुनाले तिनले अभूतपूर्व सफलता प्राप्त गर्न सके तथा घर र बाहिर प्रतिष्ठा र सम्मान पाउन सके । पिछडिएका जाति हुँदाहुँदै पनि गान्धीको इमानदार नेतृत्व र सच्चा क्रान्तिका कारण भारतराष्ट्र आज संसारमा सर्वोच्चताको कक्षमा छ र नयाँ बिहानीमा स्थित भएकाले उसको भविष्य झनै उज्ज्वल छ ।
त्यसो त यी सबै कामको प्रारम्भ बुद्धले २५०० वर्षपहिले नै गरिसकेका थिए । बुद्धले यसका लागि चर्को आन्दोलन र क्रान्ति गरेका थिए । बुद्धपछि अरू पनि अनेक महात्माहरूले यसको सिलसिला जारी राखेका थिए । तर महात्मा गान्धी यसमा जति सफल भए त्यति सायद बुद्ध पनि आफ्नो जमानामा सफल भएनन् होला । बुद्धले दुनियाँँको आँखा त खोलिदिए र उपदेशद्वारा त्यसको बोध जनतालाई राम्ररी गराए पनि तर बुद्धमा सन्न्यासप्रवृत्तिको प्रधानता हुनाले उनले सामाजिक व्यवहारमा त्यति घुलमिल गर्न सकेनन् किनभने उनको प्रवृत्ति विरक्तितर्फ नै बढी उन्मुख थियो । फेरि पनि बुद्धको हार्दिक उपदेशको प्रभाव र उनको क्रान्तिकारी विचारको प्रेरणा एवं आकर्षणबाट मान्छेको हृदयमा उदार भावना जाग्यो र ऊ जिउँदो भएर रहन सक्यो । तर उनी र उनका केही सुविज्ञ तथा प्रतिभाशाली अनुयायीहरूभन्दा पछि तथा बुद्धद्वारा प्राप्त भ्रातृत्वभावना मान्छेको हृदयमा जीवित हुँदाहुँदै पनि फेरि हिन्दूत्वको प्रभाव बढ्न थाल्यो र वास्तवमा घरको दीप भएर पनि हिन्दूकै अस्तित्वमा नै आगो लगाउने भेदभावपूर्ण उही पुरानो कालो भावनाले टाउको उठाउन थाल्यो । बुद्धको क्रान्ति र भावनामा सन्न्यासप्रवृत्तिको उन्मुखता भएकै कारण यस्तो स्थिति हुन पुग्यो, यस्तो म सोच्दछु । फेरि पनि बुद्धले जुन जग हाले त्यो पक्का बलियो जग भएर नै रह्यो । आज हाँस्दै उठिरहेको समानता र भाइचाराको महल त्यही जगमा खडा गरिएको हो ।
बुद्धपछिका करिब पाँच सय वर्षपछि क्रमश: शक, यवन, हूण आदि जाति र तिनको संस्कृति हिन्दूस्तानमा घुस्यो । भनिन्छ, बुद्धबाट सन्न्यासप्रवृत्ति बढेकाले र त्यसकै कारण युद्धशक्ति शिथिल भएकाले विदेशी र विधर्मीहरूको प्रभुसत्ताले भारतवर्षमा प्रवेश पाउन सकेको हो । सम्भवत: यस कथनमा केही सच्चाइ पनि छ, तर यसको विशेष कारण योभन्दा बढी हिन्दूस्तानको एकता छिन्नभिन्न हुनु होे किनभने सदैव आपसी लडाइँझगडा तथा सत्ताको लुछाचुँडीबाट राष्ट्र कमजोर भएको थियो । बाहिरका आक्रमणकारीहरूका निम्ति यो नै मौका भयो । तर शक, यवन, हूण आदि विदेशी जातिहरू आइपुग्दासम्म जातिभेदका कारण उत्पन्न घृणा र भ्रातृत्व वा मानवताको भावना जगाउने बुद्ध विचारधाराकै बोलबाला थियो र ती सबै आक्रामक जातिहरू भारतीय संस्कृति अँगालेर भारतीयतामा नै विलीन हुन गए । तिनको आक्रमणले भारतलाई हानि हुँदाहुँदै पनि लाभ पनि भयो, यस्तो पनि भन्न सकिन्छ । पहिले विजातीय आक्रमणकारीहरूसँग वीरतासाथ जुध्नु र असफल भएपछि तिनलाई नै अँगालेर तिनीहरूलाई आफ्नो संस्कृति र अस्तित्वमा सम्पूर्णत: विलीन गराउन सक्नु धेरै महŒवको कुरा हो किनभने सांस्कृतिक विजयले राज्यको पराजयबाट भएको वा हुने नोक्सानीलाई ब्याजसहित असुलउपर गर्दछ ।
मुसलमानको प्रवेश
भारतका विशालरूपमा हाँस्दै गरेका जमिन, झुल्दै गरेका अन्न र मुस्कुराउँदै गरेका वैभवहरूलाई देखेर सन् १००१ शताब्दीमा मरुभूमि(अरब)मा बस्ने मुसलमान जाति भारतमा घुस्न आयो; त्यसले जोडदार आक्रमण गरी भारतलाई आफ्नो बनायो । त्यस समयमा भारतमा आफ्नै दाजुभाइमा काटमार चलिरहेको थियो, एकअर्काको रगत पिइँदै थियो । शिरपेच तथा गद्दीको लुछाचुँडीमा सबै शासक, सामन्त र कुटनीतिकहरू ज्यानको बाजी लगाइरहेका थिए । जातिभेद, सङ्कीर्णता र साम्प्रदायिकताहरू ताण्डवनृत्य गरिरहेका थिए । चारैतिर आपसी फुटका बिरुवाहरू उम्रिरहेका थिए, वैमनस्यका बादलहरू पैmलिरहेका थिए र एक ठूलो समूह र सङ्ख्या धार्मिक नशामा चूर भएर मन्दिरहरूको दौडधूप र पूजापाठमा मस्त थियो, शङ्खघण्टका आवाजहरूमा मुग्ध थियो एवं ‘ब्रह्मसत्यं जगन्मिथ्या’को भावनामा निष्क्रिय थियो । यी सबै कारणले भारत रगतहीन भएको थियो, सुकेर अस्थिपञ्जर भइरहेको थियो । साम्राज्यका भोका र आक्रमणको ताकमा रहेका मुसलमानहरू भारतको यस्तो कमजोरीलाई आफ्नो हातबाट किन गुमाउँथे ? सुनौलो अवसर ठानेर धावा बोलिदिए । आपसमा लड्दालड्दा थाकेका राजाहरू र गरिबहरूको रगतले सिन्चिएर हराभरा भएका राज्यहरू एकपछि अर्को रूपमा सबै आक्रान्त भएर मुसलमानहरूका हातमा पर्न गए र जनताले ‘गार्ड अफ अनर’ दिएर मुसलमानहरूको स्वागत गरे । हिन्दूहरूका कतिपय यस्तै कमजोरीहरू भेटेर मुसलमानहरूले रगत त के पसिना पनि बगाउनुपरेन; हिन्दूस्तान हात लाग्यो ।
तर दु:खको कुरा के भयो भने मुसलमानहरूलाई हिन्दूहरूले अपनाउन सकेनन् जसरी शक, यवन, हूण आदि जातिलाई अपनाउन सकेका थिए । त्यस समय भारतमा बौद्धहरूको बोलबाला समाप्त भइसकेको थियो । त्यसैले फेरि हिन्दूहरूकै चहलपहल जाग्यो र शङ्कराचार्यको अद्वैतवादको नारामा हिन्दूहरू धुमधामले फेरि उहीँ पुगे जहाँ जातिभेद, छुवाछुत आदि सङ्कीर्णताहरूका चिहानहरूका थुप्रा थिए र उनीहरूले सबै गाडिएका सङ्कीर्णताका लासहरू उखेल्न सुरु गरे । शङ्कराचार्य दीर्घकालसम्म जिउँदा रहन्थे भने आह भरीभरीकन भन्ने थिए— हिन्दूहरू मेरो पछिपछि त आउँछन् तर म जे चाहन्नँ त्यहीत्यही गर्छन् । अझ उनी यस्तो भन्ने थिए त्यसैले त बुद्ध जन्म्यो एवं फेरि पनि दोस्रो बुद्धले जन्म लिन सक्छ । हिन्दूत्वको पुनर्जीवनपछि हिन्दूहरूका सङ्कीर्ण संस्कारहरू पहिलेभन्दा पनि बढी चक्चके भएर निस्के र सङ्कीर्णता र जातिभेदले कति धेरै जोड पक्डन थाले भने ७ हिन्दूका ९ चुलाहरू बन्न थाले तथा हरिजनहरूको गन्ती कुकुरको भन्दा पनि तल्लो तहमा हुन थाल्यो । यस्तो समयमा मुसलमानहरू आउँदा तिनलाई अपनाउनु मुस्किलकै काम थियो । म सम्झन्छु, यसै कारणले मुसलमान भारतीय संस्कृतिमा घुलमिल भएर रहन सकेनन् । हुन सक्छ, मुसलमानहरू पनि परहेजमा रहनेछन् किनभने तिनीहरू पनि हिन्दूहरूभन्दा कम कट्टर, कम धार्मिक र कम साम्प्रदायिक छैनन् । “इस्लाम खतरामा छ”मा बहकिन थाल्यो भने मुसलमान कतिसम्म अन्धा बन्छन् भने समाज, राष्ट्र तथा विश्वको हितलाई समेत देख्नै सक्दैनन् । त्यसैले हिन्दू र मुसलमान दुवैको सङ्कीर्णताकै कारण आजको प्रगतिशील युगमा पनि एक देश, एक राष्ट्रमा जन्मेर रहँदा पनि दुवै एकदोस्रोका लागि विदेशी तथा विधर्मी बनिरहेका छन् । अन्य जातिहरूलाई जस्तै हिन्दू संस्कृतिमा अपनाउन नसक्नाले र अन्य विजातिहरूलाई जस्तै आफ्नो ठान्न नसक्नाले हिन्दू र मुसलमान एकअर्काबाट अलग भएरै रहिरहेछन्, तथा एक अखण्ड भारत यसै कारण हिन्दूस्तान र पाकिस्तानमा दुई टुक्रा भयो । त्यसैका कारण नै अहिलेसम्म अरूलाई लडाएर मस्ती गर्नेहरूका लागि दुवैले मीठो सिकार भएर रहनुपरेको छ ।
साम्प्रदायिक भावनाको अझै वृद्धि
हिन्दूस्तानमा मुसलमानहरूको प्रवेशपछि हिन्दूहरूको समस्या विकट हुन गयो । जातिभेद आदि सङ्कीर्णताका कारण त्यसै पनि हिन्दूसङ्घ अस्वस्थ भइरहेको थियो, त्यसमाथि आफ्नो भूमिमाथि मुसलमानहरूको अतिक्रमणले झनै समस्या हुन थाले । खास गरी एउटा अर्को बन्धनको दिक्दारी हिन्दूहरूमा बढ्न गयो । जुन समयमा पनि र जहाँसुकै पनि उनीहरूले नाक खुम्च्याउनु पर्यो । महाराणाप्रताप, शिवाजी जस्ता दुईचार देशका गौरवहरूलाई मात्र आफ्नो देश लुटिएकोमा दु:ख भयो र उनीहरूले उद्धारका लागि जीउज्यान लगाएर आजीवन प्रयत्न पनि गरे । प्राय: अरू हिन्दूहरूलाई त आफ्नो मातृभूमि अरूको हातमा पर्दा पनि त्यति दु:ख भएन होला जति नीच र विधर्मीहरूका साथमा संसर्ग वा सम्बन्ध स्थापना गर्न विवश हुनुपर्दा भयो होला । हिन्दू जति कट्टर र साम्प्रदायिक गर्वी छ त्यति नै मुसलमान पनि, त्यसैले सौमनस्यको त कुरै रहेन । मात्र वैमनस्य बढ्यो । परिगणित र अनसूचित जातिजस्तै मुसलमान पनि विजाति र विधर्मी भएकाले हिन्दू तिनीहरूबाट टाढै रहन र छि:छि: दुर्दुर् गर्न चाहन्थ्यो तर मुसलमान स्वभावैले साम्प्रदायिक दिमागको र शासकजाति भएको हुँदा ऊ हिन्दूहरूको शिरमा आफ्नो खुट्टा राख्न चाहन्थ्यो । बस एकपछि अर्को गर्दै गडबडको अध्याय भइरहनुमा के आश्चर्य ? ज्यान जाओस् तर गौरव जान दिने जाति हिन्दू होइन । त्यसैले मुसलमान शासकजाति हो त के भो, त्यसले छोएको पानीसम्म हिन्दूले खाँदैनथ्यो । उता मुसलमान विजेता र शासकजाति हो । ऊ किन भङ्गीचमारलाई जस्तो छि:छि: दुर्दुर् गरिँदा पनि चुपचाप सहेर बस्थ्यो ? जातिभेद र साम्प्रदायिकताको प्रतिक्रियास्वरूप मुसलमानहरूले हिन्दूहरूका प्रतिष्ठित र श्रद्धेय देवताहरू र मन्दिरहरू तोडफोड गर्न थाले । यसप्रकार हिन्दूस्तानमा साम्प्रदायिकताको आगो झन् तेजीका साथ बढ्न थाल्यो; हिन्दूहरूको आफ्नै भित्र पनि र हिन्दू–मुसलमानहरूमा पनि ।
मुसलमानहरूको हातमा हिन्दूहरूको आफ्नो देश गयो, शासन गयो, सम्पत्ति गयो, यतिमात्र होइन, आफ्नै जातिबाट उत्तरोत्तर ठूलोठूलो समूह पनि गई नै रह्यो । सवर्ण हिन्दूहरूद्वारा सदासदा तिरस्कृत तथा अपमानित अवर्ण हिन्दूहरूमध्ये कतिले मुसलमान हुनुमा नै सुख, चैन र इज्जत देखेर मुसलमानहरूको स्वागतपूर्ण काखमा गएर राहत लिए । यसैगरी समाजद्वारा तिरस्कृत र लाञ्छित असङ्ख्य विधवाहरूबाट ठूलै समूहमा हिन्दू विधवाहरूले मुसलमान युवकहरूको स्वागतलाई शिरोधार्य गरेर आफ्नो प्राकृतिक तिर्खा र भोक मेटे । हिन्दूहरूको कट्टर धर्मले अनुसूचित जातिहरूको विन्ती पनि सुन्दैनथ्यो र विधवाहरूको आर्तनाद र मौन गुहार पनि सुन्दैनथ्यो । हिन्दूहरूद्वारा यसरी नै तिरस्कृत र पीडित भएका व्यक्तिहरू नै मुसलमान जातिको सङ्ख्या बढाउने वैभव बने ।
तर हिन्दूहरूले यी सबै कुरा आफ्नो त्रुटिका कारण र आफ्नै काला कुकर्मका कारण भएकोे बुझ्न सकेनन्, उल्टै मुसलमानहरूसित डाढिन र ईष्र्यालु बन्न थाले तथा उनीहरूसित अझ बढी शत्रुता बढाउन थाले । हिन्दू र मुसलमानहरूबीचको दूरी बढ्दै गयो । साम्प्रदायिक भावना, त्यसप्रकारका क्रियाकलाप र शत्रुता बढ्दाबढ्दा दुवै जाति एकअर्काको रगतका प्यासा बन्न थाले । दुवै जातिमा अनबन र छिटाकसी कतिसम्म बढ्न गयो भने सज्जन र असल व्यक्तिहरूका बीचमा समेत एकअर्काले टेढो आँखाले हेर्ने बानी बन्न गयो । गुन्डाहरू र दुर्जनहरूको भेटमा त छुरी र खन्जरको ताण्डव नृत्य नै हुन थाल्यो ।
कबीर, नानक आदिको शान्तिप्रयास
यी दुवै जातिमा सौमनस्यको भावना जगाएर हिन्दूस्तानमा शान्तिस्थापना गर्नका लागि कबीर, नानक आदि सन्तहरूले सकेसम्मको प्रयत्न गरेका थिए । उनीहरूको प्रयासले व्यवहारमा त हिन्दूमुसलमान खासै मेलमिलापमा आउन सकेनन् तर दुवैको हृदयमा सद्भावनाको बीउ रोपियो । दुवैको अन्त:स्करण उनका सन्देश र उपदेश सुन्नलाई कान थाप्न थाले र दुवैले एकअर्कालाई नजिकैबाट हेर्ने गरी सोच्न थाले । कबीर र नानकको सद्भावपूर्ण मध्यस्थता, सत्प्रयास, सत्सन्देश र सदुपदेशबाट हिन्दूमुसलमान दुवै यति त अवश्य पनि प्रभावित भए कि अदृष्ट स्थितिमा दुवैको हृदयमा एकअर्कालाई पहिचान गर्ने कौतूहल जागृत हुन थाल्यो र मुस्कुराउनका लागि मौन आकाङ्क्षा गिडगिडाउन थाल्यो ।
कबीर, नानक आदिको मध्यस्थता र सौमनस्य स्थापनाको चेष्टाबाट प्रभावित भएर कवि र साहित्यकारले पनि आफ्ना काव्य र साहित्यमा यस भावनालाई भर्न थाले र ती काव्यहरू– साहित्यहरूको सुन्दर, सुष्ठ र स्थायी प्रभावबाट हिन्दूस्तानमा मीठो वातावरणको गर्भ स्थापित हुन लाग्यो ।
तर फेरि पनि चिरकालदेखि हृदयमा जमेर तथा गडेर बसेको पुरानो प्रवृत्तिको प्रभावमा नयाँ भावना दबेजस्तै हुन्छ र दुवैको भेटघाट तथा देखासिकीमा सहसा सुधबुध हराउँछ अनि तुरुन्तै दुवैका बीचमा इँटको जवाफ पत्थरले दिन थालिन्छ । यसप्रकार हिन्दूस्तानमा स्थिति भयानक नै थियो र वातावरण दु:खदायी । हिन्दूमुसलमानहरूको वैमनस्य र हिन्दूहरूबीचमा जातिभेद आदिको सङ्कीर्णताको कटुसम्बन्धका फिलिङ्गाहरू उडीउडीकन सम्पूर्ण हिन्दूस्तानको सुखशान्तिमा आगो लगाइरहेका थिए र आगो लागिरहन्थ्यो ।
आफ्नै हिन्दू जाति र धर्मभित्र एवं विजाति र विधर्मीहरूका साथ अर्थात् सबै मिलाएर हिन्दूस्तानमा जति पनि धार्मिक तथा साम्प्रदायिक कलह, लडाइँ, झगडा तथा उत्पातहरू भएका छन् त्यति दङ्गाफसाद संसारको कुनै पनि देश र ठाउँमा भएका छैनन् । त्यस्तै साम्प्रदायिक तथा धार्मिक दङ्गाफसादबाट जति धेरै मान्छे संसारमा मृत्युको घाटमा पुगेका छन्, ठीक तथ्याङ्कद्वारा हिसाब गर्ने हो भने त्यति मृत्यु महाभारतदेखि आजसम्मका युद्धमा भएका छैनन् होला ।
फ्रेन्च तथा अङ्ग्रेजहरूको प्रवेश
यथार्थमा साम्प्रदायिकता, धार्मिक अन्धता र एकताको कारणले नै हिन्दूस्तान तहसनहस भएको छ र भइरहेको छ तथा उसको विशालता बलहीन भइरहेको छ । त्यसैले नै विदेशी, विजातिहरूका आँखा यसमाथि लाग्न थाले र यति विशाल र विराट देश एवं यति ठूलो जनसमूहमाथि सानासाना देशका सानातिना फौजहरूले आक्रमण गरी विजय पाउन सके । मुसलमानहरूको प्रवेशपछि हिन्दूस्तानमा साम्प्रदायिक र धार्मिक वैमनस्यको एक अरू लामो अध्याय थपियो । हिन्दूहिन्दूमा जातिभेद आदि सङ्कीर्णताको कारण वैमन्यस्य त थियो नै, हिन्दू–मुस्लिमको वैमनस्यभाव त झन् जानीदुश्मनकै थियो र साम्राज्यलिप्साको तीव्रताका कारण मुसलमान–मुसलमानका बीचमा पनि सङ्घर्ष भई नै रहन्थ्यो । यसप्रकार हिन्दूस्तानमा वैमनस्य, फुट र एकताको छिन्नभिन्नताले खुट्टा जमाइरहेको थियो । यस्तो कमजोर अवस्थाको मौका पाएर अरू विदेशी र विजातिहरूले पनि भारतमाथि गिद्धे दृष्टि दिए । भारतभूमिमा सदैव सुन फलिरहेको देखेर पहिले फ्रेन्चहरूले र्याल काढे, पछि अङ्ग्रेजले पनि थुक निल्न थाले । यसप्रकार भारतमाथि इसाईहरूका आँखा गढ्न थाले र व्यापारको बहानामा बिस्तारैबिस्तारै हिन्दूस्तानको शस्यश्यामला भूमिमा तिनीहरू घुस्न थाले ।
इसाई धर्मको प्रवाह
भारतमा जुनसुकै विदेशी, विजाति र विधर्मी चाहे विजेता भएर आओस्, चाहे सुस्ताउन प्रभु बनेर दूधको तलाउमा पौडिरहने षड्यन्त्र गर्दै आओस्, सुरुसुरुमा उनीहरूलाई अनायास नै हिन्दूमानिस, हिन्दूजातिहरू अर्थात् हिन्दू कलेबरलाई लुट्ने अवसर मिल्दछ । तथाकथित उच्च वर्णका भनिनेहरूद्वारा तिरस्कृत र अपमानित परिगणित एवं अनुसूचित जातिका मानिस, समाजद्वारा तिरस्कृत तथा लाञ्छित जवान विधवाहरू र सामन्ती तथा पुँजीपतिहरूद्वारा शोषित र उत्पीडित गरिबहरू सजिलै तिनीहरूका हातमा लाग्छन् । अर्थात् तिरस्कार, यौन र दारिद्र्यलेतड्पिरहेका मानिसहरू विजाति र विधर्मीहरूको धर्म र सङ्गठनमा चाँडै विलीन हुन जान्छन् । समानताको सम्मान, यौनक्षुधाको तृप्ति र भोक मेटिने लोभ, प्रोत्साहन एवं आश्वासन पनि उनीहरूलाई मिल्छन् । यसप्रकार गोवामा पुर्तगाली बस्ती बस्नुभन्दा पहिले अर्थात् हिन्दूस्तानमा फ्रेन्चहरूको अधिकार हुनुभन्दा पहिले नै हिन्दूहरूलाई फटाफट इसाई बनाइयो । अङ्ग्रेजहरूको छत्रछाया भएपछि त अझै बढी समूह र सङ्ख्यामा हिन्दूका सन्तानहरू इसाई रङमा रङ्गिए । यसप्रकार उता मुस्लिम र यता इसाईहरू हिन्दूहरूलाई अँगालोमा लिन हात बढाइरहेका थिए र तिरस्कृत, लाञ्छित र पीडित हिन्दूहरू धमाधम प्रेम र आदरको तृष्णामा उनीहरूतिर बढ्दै गइरहेका थिए ।
स्वामी दयानन्द र उनको आर्यसमाज
धेरै समयपछि हिन्दूस्तानी धरती र हिन्दू कुलमा एउटा नयाँ रगत उत्पन्न भयो जसको नाम हो स्वामी दयानन्द सरस्वती । त्यस प्रखर प्रतिभाबाट प्रज्वलित व्यक्तिले के कुरा राम्ररी बुझेको थियो भने यी सबै कुरा हिन्दूहरूका सङ्गठन त्रुटि, धार्मिक अन्धता र साम्प्रदायिक भावनाहरूका नै दुष्परिणामहरू हुन् । उनले अनेक सामाजिक कुरीतिहरू र खराबीहरूलाई सुधारे र धेरै ठूलो धार्मिक तथा सामाजिक क्रान्ति गरे । उनको क्रान्ति र आन्दोलनबाट हिन्दूत्वमा नयाँ शक्तिको सञ्चार भयो । उनले हिन्दूहरूसित एकताका लागि अपिल गरे र उनका कदमहरू हिँड्दाहिँड्दै राजनीतिसम्म पुगे । भारतमा स्वतन्त्रताको आवाज उठाउनेहरूमा स्वामी दयानन्द सरस्वती एक अग्रणी क्रान्तिकारी थिए । उनले स्वतन्त्रताका लागि धर्म र भाषाको एकता आवश्यक ठाने । विशेषत: स्वामी दयानन्दले हिन्दूहरूलाई अन्य धर्म र जातिमा फस्नबाट बचाउने चेष्टा गरे र जो भूलले वा बलात्कारले अर्को धर्म या जातिमा मिलिसकेका थिए, तिनलाई यिनले फेरि निजी जाति र धर्ममा फर्कन सक्ने छूट दिए । त्यस्तै जसरी इस्लाम, इसाई आदि धर्मावलम्बीहरूले अन्य धर्म र जातिका व्यक्तिहरूलाई अपनाएर आफ्नो धर्म र जातिमा मिलाउँछन् त्यसरी नै हिन्दू धर्म कुनै जाति वा विधर्मीहरू आउन चाहन्छन् भने तिनका निम्ति पनि ढोका खोलिदेओस् भनेर पनि उनले आन्दोलन गरे । उनले के कुरा गहिराइका साथ सोचे भने गल्ती वा बलात् दोस्रो धर्ममा गएको व्यक्तिलाई वापस नलिनाले र ढोका सबैका लागि बन्द गर्नाले हिन्दू धर्म, जाति आफ्ना धर्म र जाति अर्थात् हिन्दू सङ्गठन क्षीण हुँदाहुँदा दोस्रो जातिमा विलीन हुन सक्ने पूर्ण सम्भावना छ । त्यसैले समय बाँकी छँदै सँभालिएर स्वामी दयानन्द सरस्वतीले हिन्दू संस्कारहरूलाई आवश्यकताअनुसार एक अर्को नयाँ संस्कार दिए जसबाट पुन: हिन्दू र नयाँ हिन्दू दुवै बनाउन सकियोस् । यस नवीन संस्कारद्वारा स्वामी दयानन्दले हिन्दूहरूको रक्षामात्र गरेनन्, साथमा वृद्धि पनि गरे । पहिले इस्लामी वा इसाई केटाकेटीका साथमा हिन्दू केटाकेटीको सामान्य सम्बन्धमात्र रह्यो भने या अपहरण, बलात्कार आदि केही भयो भने हिन्दूहरू आफ्ना केटाकेटीसमेतलाई बहिष्कार गरिदिन्थे जसले गर्दा हिन्दूहरू क्षीण हुँदै जान्थे र विधर्मी वा विजातिका मानिसहरू अनायास पुष्ट हुँदै जान्थे तर अब हिन्दूहरू इस्लामी वा इसाई केटीहरूसित बिहेसमेत गरेर वृद्धित्व प्राप्त गर्दै छन् । हिन्दू धर्मबीच यस आन्दोलनका सञ्चालक एकमात्र स्वामी दयानन्द सरस्वती नै थिए । यसबाट हिन्दूत्वले ह्रासत्वबाट बचेर वृद्धित्व प्राप्त गरिरहेको मात्र छैन, साथमा विधर्मीहरू वा विजातिका मानिसहरूका बीच सौहाद्र्र स्थापना भएर आज उत्तरोत्तर मधुर सम्बन्धसमेत जोडिँदै छ । यद्यपि यो सम्बन्ध ‘दिनु’बाट नियन्त्रण गरी ‘लिनु’का रूपमा नै थियो तापनि यो ‘लिनु’ पछि आएर ‘दिनु’को भावले पनि अवश्य भरिनेछ ।
स्वामी दयानन्द सरस्वतीले हिन्दूत्वको उद्धार र यसको सङ्गठनलाई बलियो पार्न अभूतपूर्व क्रान्ति तथा आन्दोलन गरे र त्यो सफल पनि भयो । कहाँसम्म भने उनको आन्दोलन र क्रान्ति हिन्दूत्वका लागि आजसम्म पनि ‘न भूतो न भविष्यति’ बनेको छ । तर उनको आन्दोलन र क्रान्ति प्रधानतया हिन्दूत्वको उद्धारको उद्देश्यले नै भएको थियो । यद्यपि केहीकेही राष्ट्रिय भावना पनि ध्वनित भएर स्वराज्यका लागि छट्पटिएको देखिन्थ्यो । वास्तवमा उनी हिन्दूकै लागि जन्मेका थिए र हिन्दूकै लागि मरे । उनको स्वतन्त्रता अर्थात् स्वराज्यको आवाजमा हिन्दू तन्त्र र हिन्दू धर्मकै स्थापनाभाव भरिएको थियो ।
स्वामी दयानन्द सरस्वतीले आर्यसमाजको स्थापना गरेर हिन्दू सङ्गठनमा जीवनसञ्चार गरे र हिन्दू नस्लमा नयाँ रगत भरिदिए । उनको नेतृत्वबाट हिन्दू जगत्मा अपूर्व जागृति आयो । तर हिन्दूमात्रै हिन्दूस्तानको प्राण होइन । हिन्दूस्तानको काखमा सदियौँदेखि मुस्लिम आएर बसेकोे छ, इसाई आएर बसेको छ र अरू पनि अनेक जातिहरू आएर बसेका छन् । बौद्ध र जैन पनि हिन्दू होइनन्, वैदिक होइनन्, सनातनी होइनन् । यी सबै पनि हिन्दूस्तानका प्राण हुन् । अतएव यी सबैको मेलमिलाप, साँठगाँठ र एकअर्काका साथ आदर– सद्भावविना हिन्दू धर्म वा हिन्दू जातिमात्रले अर्थात् एकधर्म जातिविशेषको नस्लको जागृति र एकतामात्रले हिन्दूस्तानको भलाइ हुन सक्दैन । किनभने सबै अङ्ग, विभिन्न तŒव र तिनका बीचको अन्वयले हिन्दूस्तान एक राष्ट्र बनेको हो । त्यसैले एकअर्को जाति र धर्मका साथ सहअस्तित्वको भावना, प्रेम र आदरको व्यवहारले नै वास्तवमा हिन्दूस्तानलाई उठाउन सकिन्छ । दयानन्द सरस्वतीले यद्यपि स्वतन्त्रताको आवाज उठाए र राजनीतिक चेतना पनि जगाए तर यस कुराको श्रेय उनलाई दिँदादिँदै पनि उनको आवाज र जागरण हाम्रो राजनीतिक पृष्ठभूमिका लागि हामी त्यति उपयुक्त देख्न पाउँदैनौँ । वास्तवमा उनको सङ्कल्प, चेष्टा र सक्रियता हिन्दू धर्म र हिन्दू जगत्का लागि मात्र उन्मुख थिए ।
दयानन्दको धार्मिक साम्राज्यवाद
स्वामी दयानन्दले स्वतन्त्रताका लागि एक भाषा र एक धर्मको आवश्यकता बताएका थिए । यी दुवै कुरा समाधानलाई पनि समस्या बनाउने खालका थिए । यिनमा सायद एक भाषाको कुरा त हल हुन पनि सक्ला किनभने सरलताका दृष्टिले, व्यवहार र व्यापकताका दृष्टिले र बहुसङ्ख्यक–अल्पसङ्ख्यकका हिसाबले सम्झौता हुन सक्छ र आफ्नो मातृभाषा अर्कै हुँदाहुँदै पनि, कुनै अन्य देशमा लामो समयसम्म प्रवासी हुँदा पनि, कुनै विभाषीका बीचमा रहँदा पनि त्यस परिवारमा नवसन्तानहरूका साथ त प्राय: उही भाषामा बोलिरहेका देखिन्छन् तर एक धर्मको कुरा पूर्णत: असम्भव छ किनभने धर्म भन्ने कुरा नै कट्टरपना र अन्धपरम्परामा बाँच्ने गर्दछ । कुनै धर्मलाई मेटाइदिनु त त्यसका अनुयायीहरूले आपूm र आफ्नो पुस्ता, आफ्ना पूर्वज या गुरु–आचार्य जो त्यस धर्मका प्रवर्तक हुन् ती सबैलाई मराउनु सम्झन्छन् । त्यसैले एउटा धर्मका मानिसहरू आफ्नो अस्तित्व मेटाएर अर्को धर्ममा विलीन हुन कहिल्यै चाहनेछैनन् । अरूहरूको साथ त के, हिन्दूहिन्दूमा नै धार्मिक एकता हुनु सम्भव छैन । हिन्दू, बौद्ध, इस्लाम, इसाई इत्यादि विविध धर्म एक धर्ममा परिवर्तन हुने कुराको त आशा नै गर्न सकिन्न । के यिनमा कुनै एउटा धर्म पनि आफ्नो अस्तित्व अर्को धर्ममा विलीन गर्न तयार हुनेछ ? मलाई जहाँसम्म विश्वास छ, एउटाले पनि गर्नेछैन अथवा हिन्दूस्तानमा जति धर्म प्रचलित छन्, सबैको समन्वय गरेर एउटा अर्कै नयाँ धर्मको आविष्कार गर्नु स्वामीज्यूको लक्ष्य हो तर उनको कथनमा यसका कुनै सङ्केत छैन । दयानन्द स्वामी एक कट्टर वैदिकधर्मी हुन् र वैदिक धर्मको प्रचार तथा सुधारमा नै उनी तल्लीन पनि छन् । त्यसैले अनुमान गर्न सकिन्छ, उनको धर्मको सोझो अभिप्राय वैदिक धर्म नै हो जो अन्य धर्मीहरूका लागि एकमात्र हिन्दू धर्म हो । वास्तवमा दयानन्दको एकताको लक्ष्य हिन्दू र हिन्दू धर्ममात्रै हो । त्यसैले दयानन्द सरस्वतीले हिन्दूस्तानको स्वतन्त्रताको आवाज उठाए पनि उनको तौरतरिका कहिल्यै फलदायी हुन सक्दैन किनभने हिन्दूस्तानका नागरिकमा हिन्दूमात्र छैनन्, यसका अतिरिक्त अरू पनि अनेक जाति र धर्मी यहाँ छन् । यी सबैको एकताविना हिन्दूस्तान कहिल्यै स्वतन्त्र हुन सक्दैन ।
यथार्थमा भयो पनि यस्तै । स्वामी दयानन्द सरस्वतीले हिन्दूस्तानको स्वतन्त्रताको आवाज त उठाए तर उनको आवाज राजनीतिका लागि गिड्गिडाउनु मात्र साबित भयो, खासै जागृति ल्याउन सकेन । उनको आन्तरिक उद्वेग र प्रवाह हिन्दू तथा हिन्दू धर्मप्रति झुकेका छन् । त्यसैले खालि हिन्दू धर्म र समाजको क्रान्तिमा नै उनी सफल मानिएका छन् ।
स्वामी दयानन्द सरस्वतीको एकधर्मको कुरा त एकदमै धार्मिक साम्राज्यवाद हो । भारतका सबै अल्पसङ्ख्यक धर्महरूलाई हड्पेर उनी वैदिक धर्मको साम्राज्य बढाउन चाहन्थे । तर अरू सबै कुराहरूमा साम्राज्यवाद सायद फलप्रद हुन सक्दैन । संसारमा आजसम्म कुनै पनि धर्म पूर्णत: नष्ट भएको छैन । जति पनि धर्म प्रवर्तित भएका छन् ती सबैले कुनै न कुनै रूपमा टाउको उठाई नै रहेका छन् र आफ्नो दम्भ भर्न छाडेका छैनन् । धर्म अर्थात् साम्प्रदायिकता भन्ने कुरा नै कस्तो हुन्छ भने यो एकपटक जन्मेपछि मर्दैन । हिन्दूस्तानका सन्दर्भमा त यो कुरा झन् बढी सत्य हो । राजनीतिका एकतन्त्रवाद, साम्राज्यवाद, सामन्तवाद आदि मर्दै छन् अर्थात् राजनीति पनि मर्छ, हिन्दूहरूको कथनअनुसार त शिल्प, कला, विज्ञान आदि पनि मर्ने गर्दछन् अर्थात् प्राचीन कालमा त भारतमा विमान थियो, जहाज थियो, रेलगाडी पनि थियो, राकेट पनि थियो, यो पनि थियो, त्यो पनि थियो, यो बनाउन जान्दथ्यो, त्यो बनाउन जान्दथ्यो भन्ने कुराहरूबाट यही न सिद्ध हुन्छ कि अब शिल्प, कलाविज्ञान सबै मरेर गएका छन् । तर धर्म यस्तो वस्तु नै होइन जो कुनै प्रवर्तकले आफ्नो समयलाई देखेर धर्मलाई परिवर्तन गर्यो र केही अनुयायी पनि बनायो भन्दैमा ऊ अनन्त कालसम्म अमर भएर रहन्छ या आफ्नो पहिलेकै स्थितिमा चलफिर गर्न चाहन्छ र आआफ्नो डीङ हाँकेर अर्को धर्मका साथ सदैव लडाइँझगडा गरिरहन्छ । भनिन्छ, धर्म अर्थात् सम्प्रदायका लागि जति रगत बगेको छ, त्यति अरू कुनै कुराका लागि बगेको छैन ।
धर्मका आधारमा एकता र प्रगति असम्भव
देशको उत्थान, राष्ट्रको उद्धार र मानिसहरूको जागृति, प्रगतिका लागि धर्मको कुञ्जी खोज्नु र धर्मका आधारमा दगुर्नुको काम नै छैन; धर्मको आधारमा र एकधर्मको प्रयासबाट यो सफल हुने कुरा नै होइन । मेरो विचारमा त धर्म यी सबैका लागि बाधा हो, अड्चन हो । धर्मको मुख ताकेर यस बाटोमा कोही हिँड्छ भने त्यो खालि गिर्नेछ र लड्खडाइरहनेछ, एक पाइला पनि अगाडि बढ्न सक्नेछैन । त्यसैले एउटा धर्मलाई त्यागेर अर्को धर्म ग्रहण गर्नु अरू कुनै धर्मलाई परिवर्तन गर्ने चेष्टा गर्नुमात्र होइन, कुनै पनि धर्म नमान्नु अर्थात् धर्ममात्रबाट अलग हुन सक्नुपर्दछ । अनिमात्र हामी केही अगाडि बढ्न सक्छौँ र चाँडै नै संसारलाई सुन्दर र सुमधुर बनाउन सक्नेछौँ । मेरो हेराइमा त धर्म एक केवल मूढ भावुकता, अन्धविश्वास र मृतहितको भावनाको प्रतिरूप मात्र हो । धर्म एउटा यस्तो वृक्ष हो जसको बीउ त कल्याणको हो तर त्यसले फल दिन्छ झगडाको । धर्मले हामीलाई कहिल्यै एक हुन दिनेछैन, उल्टै यो एकलाई नै अनेक बनाउने तŒव हो । त्यसैले हामीले धर्मका निम्ति प्रयत्न गर्ने होइन, बरु धर्म नामको चीजबाट टाढा रहनका लागि आन्दोलन गर्नुपर्छ । तब समाज र संसारमा वास्तविक जागृति र प्रगति हुनेछ । हाम्रो दिल र दिमागबाट जब धर्मको गन्ध हट्नेछ, हाम्रो मुखबाट जब धर्मको मुखुन्डो उत्रनेछ एवं जब हाम्रो रहनसहन र व्यवहार–वातावरणबाट धर्म निस्कनेछ तब संसारका समस्त मानिस ‘सम्बन्धी’ भएर ‘परस्पर’मा एक हुनेछन् । आजजस्तो, अबको जस्तो हिन्दू, मुस्लिम र इसाई आदि विभिन्न भएर अलग अलग हुनेछैनन् । धर्मलाई नमान्नुमात्रले नै ईश्वरको अस्तित्व मेटिनेछ । तब वर्णभेद, जातिभेद, छुवाछुत, तँ–तँ म–म को भूत मान्छेको मनमस्तिष्कबाट भाग्नेछ । यति भएपछि मात्र सही अर्थमा मान्छे ‘मान्छे’ बन्नेछ र मान्छेको मन मानवता र राष्ट्रियताको भावनाले सदैव भरिएर रहनेछ र त्यसको सुपरिणामबाट समाज र राष्ट्रमा सदासर्वदा जागृति वा प्रगति मुस्कुराइरहनेछ ।
भारतीय संविधान धर्मदेखि टाढा
धर्मको यही नराम्रो परिणाम र धर्मको यही झगडालु प्रकृतिलाई राम्ररी बुझेर नै हिन्दू धर्मको रजाइँ चाहने हिन्दूहरू बहुसङ्ख्यक हुँदाहुँदै पनि पण्डित जवाहरलाल नेहरूको नेतृत्वमा बनेको हिन्दूस्तानको सरकारले धर्मलाई कुनै महŒव दिएन । जब मुसलमानहरूको प्रतिनिधित्व गर्ने मुस्लिम लीगले आफ्नो भाग अलग गर्नका लागि हिन्दूस्तानलाई टुक्रा पारेर पाकिस्तानको स्थापना गर्यो र मुसलमानी हित र धर्मका आधारमा उसको सरकारले संविधान बनायो भने बहुसङ्ख्यक हिन्दूहरूको हिन्दूस्तानले पनि हिन्दूहरूको हित र धर्मका आधारमा संविधान बनाएको भए केही भन्नका लागि ठाउँ हुँदैनथ्यो तर हिन्दू नेताहरूले यस्तो गरेनन् । उनीहरूले धर्मनिरपेक्ष र व्यक्तिगत स्वतन्त्र सरकार बनाएर संसारमा एक विशुद्ध लोकतन्त्र भएको सरकारको जग राखे । हिन्दूस्तानमा कुनै पनि धर्ममाथि हस्तक्षेप र प्रतिबन्ध लगाइएको छैन, आफ्नोआफ्नो बाटोमा सबै धर्म स्वतन्त्र छन् पनि हिन्दूस्तान सरकारले धर्मलाई स्वागत गरेर कुनै प्रोत्साहन पनि दिएको छैन । यतिमात्र होइन, हिन्दू बहुसङ्ख्यक सरकारले त हिन्दू धर्मलाई नै मोड्न खोजेको छ । उसले यस्तो संविधान बनाइदिएको छ जुन प्रशंसायोग्य छ । अब बिहे वयस्क उमेरमा मात्र गर्न सकिन्छ र वैवाहिक स्वतन्त्रतासमेत दिइएको छ । बहुविवाहमाथि प्रतिबन्ध लगाएर दुवै लिङ्गका लागि पुनर्विवाहको ढोका खुला गरिएको छ । छुवाछुतलाई मेटाइएको छ । कानुनी रूपमा अब हिन्दूस्तानमा एक ब्राह्मणकी छोरीले एक चमारको छोरासित खुलेआम प्रेम गर्न सक्छ र बिहे गरेर आफ्नो घर भिœयाउन सक्छ । एक अछुत भनिने जातिको व्यक्तिले सबैसित बसेर खान सक्छ र मन्दिर, पाठशाला, होटेल आदि सबै ठाउँ प्रवेश गर्न सक्छ । यस्ता अनेकौँ कानुन बनाइएका छन् जुन हिन्दूू वर्णाश्रम धर्म र कैयन् धार्मिक रीतिरिवाजका लागि एक्कासि गरिएका आक्रमण हुन् ।
हिन्दूस्तानी नेता तथा कर्णधारहरूले राष्ट्रमा धर्मलाई विशेष महŒव नदिन र साम्प्रदायिक भावना उत्पन्न गर्ने प्रचलनहरूलाई हटाउन यथासाध्य प्रयत्न गरेका छन् । अब हिन्दूस्तानको कहीँ पनि— स्टेसन र बजारमा ‘हिन्दू चाय’ र ‘मुस्लिम होटिल’ आदिजस्ता साम्प्रदायिक रगत उमाल्ने आवाज र नारा सुनिनेछैनन् ।
कट्टर हिन्दू अब गाउ“मा मोर्चा सम्हाल्दै छ
कानुनी क्रान्ति गर्नमा त सरकारले कुनै कसर बाँकी राखेको छैन । कानुन बनाउनु र त्यसैअनुसार अपराधीलाई दण्ड दिनु, यतिमात्रै त सरकारले गर्न सक्छ । तर कानुन र दण्डले मात्रै सम्पूर्ण सफलता मिल्न सक्दैन । यिनलाई सफल बनाउन आखिर जनताकै सहयोग र तन्मयता चाहिन्छ । कट्टरवादी र परम्पराभक्त हिन्दू कर्णधारहरूले केन्द्रीय र राजकीय विधानसभाहरूमा आफ्नो दाल नगल्दा पनि हातखुट्टा छाडेका छैनन् । अब उनीहरू पुरानै ढोल बजाउने लकीरफकीरका आफ्ना केही भक्तसदस्यहरूको सहारा लिएर सिधासाधा, भोलाभाला मानिसहरूलाई भड्काउनका लागि नाइटोदेखिको बल लगाइरहेका छन् । सहरहरूका बस्तीहरूमा त शिक्षाप्रचार र युग तथा विकासको हावा लाग्नाले सायदै कसैले उनको रातको भैरवी राग सुन्ला तर गाउँहरूमा आज पनि उनीहरूकै दाल गलिरहेको छ । नौलाख गाउँहरू हुनाले वास्तविक हिन्दूस्तानको बस्ती र सङ्ख्या गाउँमै छ र गाउँ नै भारतको असली प्राण हो । आज पनि गाउँहरूमा परिगणित जातिलाई अछुत मानेर पानीको कुवालाई छुनसमेत दिइन्न । त्यहाँ हिन्दूहरू मुसलमान र इसाईहरूसित धेरै परहेज गर्छन् । अर्थात् भारत सरकारको आजको कानुनअनुसार त्यहाँ केही पनि हुँदैन । गाउँहरूमा त आजको कानुनलाई कुकुरको पुच्छरमा बाँधेर पुरानै चिराग जलाउने गरिन्छ ।
अहिलेसम्म गाउँहरूमा सबै चीज शुद्ध पाइन्छ, सबै वस्तुहरू पवित्र पाइन्छन् । त्यहाँको दूधमा पानी मिलाइन्न, दही बिल्कुल सही हुन्छ, घिउमा कुनै खराबी छैन, यसरी नै सबै खाद्यवस्तु विशुद्ध रहन्छन् । अहिलेसम्म गाउँहरूमा खाद्यवस्तुहरूमा मिसावट गर्ने सहरी बेइमानीले टाउको घुसाउन पाएको छैन । जसरी गाउँहरूमा चीजहरू शुद्ध हुन्छन् त्यसरी नै त्यहाँको व्यवहार पनि पवित्रै छ, कुनै छलछाम, छिद्र र छद्मवेश त्यहाँ समाहित हुन पाएका छैनन् । त्यहाँ सदैव निस्वार्थता बगिरहन्छ र चारित्रिक पवित्रता सुगन्धित भइरहन्छ । तर गाउँहरूमा सबैसबै कुराहरू राम्रा भएर पनि एउटा कुरा एकदमै खराब छ जसले सबै राम्रा कुराहरूलाई खरानी बनाइदिन्छ—त्यो हो खराब विचार । त्यहाँ अझै पनि सडेगलेका विचार छन् । विचारमा ताजापन उत्पन्न हुनै पाउँदैन किनभने त्यहाँको विचार हरहमेसा अन्धविश्वास र रूढिवादले घेरिइरहन्छ । त्यहाँ नयाँ जमानालाई हेर्ने र नयाँ हावामा सास फेर्नसम्मको विचारलाई मन पराइन्न । त्यसैले त्यहाँको विचार एकदम अस्वस्थ रहन्छ । फलस्वरूप आज त्यहाँको भावना खराब भइरहेछ र प्रगतिले रुनु परिरहेछ । त्यसैले गाउँहरूमा फसलहरू हाँसेर पनि अन्नभण्डार फैलिन सकेको छैन । त्यहाँ नारीहरूका हृदय रोइरहेका छन््, हरिजन टाउको उठाएर चल्न सक्दैनन्, प्रेमिकाहरू ‘आह !’ भरिरहेका छन् ।
धर्मको नाममा भाइचाराको भावनामाथि आगो लगाउनेहरू र प्रगतिको रगत सुकाएर दुनियाँलाई ध्वस्त पार्ने कट्टरपन्थी सङ्कीर्ण धर्माधिकारीहरू सहरहरूबाट आफ्नो गुन्टा कसेर अब गाउँहरूमा आफ्नो खिच्रो पकाउन जाँदै छन् किनभने गाउँका मानिसहरू सोझा र भोलाभाला छन् । त्यसैले त्यहाँ किल्ला बनाई आफ्ना गढहरू बलिया बनाएर उनीहरू अरू धेरै समयसम्म आफ्नो स्वार्थ सिद्ध गरी महमा हात डुबाइरहन सक्छन् । अचेल यही चाल चलिरहेछ । गाउँको कट्टरपन र रूढिवादमाथि सिमेन्टी प्लास्टर लगाएर तिनीहरूलाई अझ बढी जब्बर बनाइँदै छ । अहिले पनि गाउँहरूमा बीसौँ शताब्दीको हावा लाग्न पाएको छैन र विकासको प्रकाश पुग्न पाएको छैन ।
अब कदम बढाउनुपर्छ गाउ“हरूमा
त्यसैले अब नेताहरूले, विशेष गरी समाजका निर्माताहरूले आफ्ना शिविरहरू गाउँहरूमा लैजानुपर्छ र त्यहीँ आफ्नो कार्यक्षेत्र बनाएर गाउँलेहरूलाई जगाउनुपर्छ । खालि ठूलाठूला सहरहरूमा दौडधुप गरेर र भाषण ठोकेर मात्र प्रगति हुन सक्दैन । त्यसका लागि गाउँहरूमा गएर रूढिबुढी र अन्धविश्वासहरूको नशा उतारिदिनुपर्छ एवं विरोधी प्रतिगामीहरूसित डटेर मुकाबिला गर्नुपर्छ । केही पुराना संस्कारहरू धेरै प्रतिगामीहरूद्वारा बहकिने कारणले अहिलेसम्म धेरैजसो गाउँलेहरूले भारतको धर्मनिरपेक्ष लोकतान्त्रिक संविधान अर्थात् कानुनहरूलाई भोटका लालची शासकहरूको मनोमानी र जो जबर्जस्ती ठानेका छन् । त्यसैले तिनको उल्लङ्घन गरी पुरानै परम्परा कायम गर्न लागिपरेका छन् । अत: प्रतिभासम्पन्न र प्रभावशाली व्यक्तित्व भएका नेता तथा समाजप्रबन्धकहरूले गाउँहरूमा गएर तिनीहरूलाई राम्ररी सम्झाउनुपर्छ । आजको लोकतान्त्रिक र धर्मनिरपेक्ष संविधान वा कानुन कुनै मनोमानी र जबर्जस्ती होइन, बरु मानवताको आदर हो, बन्धुत्वको पुकार हो र विकास तथा प्रगतिको निमन्त्रण हो । उनीहरूलाई मान्छे–मान्छेको रगतको सम्बन्ध देखाइदिनुपर्छ, मानवतासित परिचित गराइदिनुपर्छ र एक मनुष्यप्रति अर्को मनुष्यले प्रेम गर्ने भोक जगाइदिनुपर्छ एवं समाज र संसारलाई स्वर्ग बनाइदिने उपाय बताइदिनुपर्छ ।
नेताहरू, समाजनिर्माताहरू र लोकतन्त्रको हिमायती सरकारले यस देशलाई–समाजलाई साँच्चै राम्रो बनाउने सङ्कल्प छ भने प्रगतिका अन्य पाइलाहरूका साथै खासगरी गाउँहरूमा शिक्षा फैलाउनुपर्छ । यसको सख्त आवश्यकता छ । त्यहाँ शिक्षितहरू बस्नु, तिनीहरूलाई बसाउनु र पर्याप्त मात्रामा विद्यालयहरू खुल्ने काम भएमा मात्र राष्ट्रको प्राणतŒव गाउँलेहरू शिक्षित भएर नवनिर्माण हुन सक्नेछ । तब राष्ट्र बन्नेछ, समाज फुल्नेछ, र लोकतन्त्र बलियो हुनेछ । खालि गफ लडाएको भरमा लोकतन्त्र टिक्न सक्दैन; तासको घरजस्तै तुरुन्तै ढल्नेछ । तर दु:खको कुरो छ— यतातिर अहिलेसम्म खासै ध्यान दिइएको छैन । मेरो हेराइमा भोकको समस्या त्यति सङ्गीन छैन जति शिक्षाको अभावको समस्या छ । भोक मेटिन नसक्दा केही मान्छे मर्न सक्छन् । यस्तो स्थिति हुन दिनु आत्मघात गर्नु हो तर शिक्षाबाट वञ्चित गराएर मान्छेलाई मूढताबाट मुक्त गर्न नसक्नु जाति, समाज र राष्ट्रकै हत्या गर्नु हो । शिक्षाबाट रहित हुनाले मान्छेमात्र होइन, समाज र राष्ट्र नै मर्नेछ । सबैभन्दा ठूलो कुरो त मनुष्यत्व नै मर्नेछ । जब मनुष्यत्व मर्नेछ तब संसारमा खालि पत्थर, लाठी, छुरी र अन्धकारमात्र जिउँदा रहनेछन् ।
मनुष्यत्व बा“च्न सकेन भने मान्छे मर्नेछ
हामी विज्ञानमा अगाडि बढ्न त के, अहिले उभिनसम्म सकेका छैनौँ तापनि हामीले त्यति धेरै आत्तिनुपर्र्ने आवश्यकता छैन, यद्यपि हामी वैज्ञानिक दौडमा पिछडिएर हरेक कुराहरूमा अरूहरूको दयापात्र बन्नेछौँ । मलाई विश्वास छ— यसबाट भलै हामी सर्वसम्पन्नताको खुसीयालीमा बस्न नपाऔँला तर हामी बिग्री नै हाल्नेछौँ वा हाम्रो अस्तित्व खत्तम नै हुनेछ र हाम्रो जीवन रोईरोईकन बित्नेछ भन्ने कुरा होइन । हामी हाम्रो पसिना, जमिन, औजार र आफन्तहरूको सहयोगबाट जिन्दगीलाई हँसाउन सक्नेछौँ तर हाम्रो देश, हाम्रा जातिहरू, हाम्रो समाजमा छुवाछुत, जातपात आदि भेदभाव र नारीजातिमाथिका बन्धन र हप्काइ(थिचोमिचो) अहिलेकै जस्तै रहिरहे भने हजारौँ वैज्ञानिक प्रगति गरी चन्द्रमामाथि अधिकार गरेर पनि खुसीयाली पाउन सक्नेछैनौँ किनभने वैज्ञानिक आदि प्रगतिले मानिस त बाँच्न सक्छ तर मनुष्यत्व बाँच्न सक्दैन । मनुष्यत्व बाँच्न सकेन र मर्यो भने मान्छे शीघ्र नै मर्नेछ । त्यसैले मनुष्यको औपभोगिक हितभन्दा पनि हाम्रो लक्ष्य एवं उद्देश्य मनुष्यत्वको स्थापन गर्ने हुनुपर्छ । जातपात, छुवाछुत र नारीहरूको रोदनबाट अवश्यमेव मनुष्यत्व मर्नेछ; तब हामी पनि बाँच्न पाउनेछैनौँ । यी सबै कारणले गर्दा हाम्रो प्रगति रोगी भएर हामी तहसनहस त भई नै रहेका छौँ, भोलि मर्ने पनि छौँ र पर्सि हाम्रो निसानीसम्म बाँकी रहनेछैन ।
तिब्बत र भूटान
आज संसारमा तिब्बत र भूटान अत्यन्त पिछडिएका मुलुक हुन् । त्यहाँका मानिसहरूलाई अहिलेको हावाले छुनसम्म पाएको छैन । त्यहाँ अहिलेसम्म विज्ञान कुन चराको नाम हो, केहीे थाहा छैन । तर यसै कारणले त्यहाँ कुनै उन्नति छैन, सुख छैन, शान्ति छैन, समाजमा खालि दु:ख, व्यथा, पीडा आदिको वर्षा छ भन्ने कुराचाहिँ होइन । त्यहाँ काफी सुख र शान्ति छ । त्यहाँको आर्थिक स्थिति कति राम्रो छ भने त्यहाँ सबैको घरमा प्राय: घिउको बत्ती बल्दछ र सबैको अनुहारमा प्रसन्नता मुस्कुराउँछ, पूmल हाँस्छ । यसवर्ष भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू भूटान गएका थिए । उनले यस पिछडिएको मुलुकको सुखद पक्ष देखेर जिब्रो टोके र त्यहाँको राम्रो स्थितिमाथि प्रशंसा गर्दै भने— “भूटानमा मैले गरिबी र कुनै भिखारी देखिनँ ।” र उनले के आशय पनि प्रकट गरे भने “त्यहाँ आजको विज्ञान र हावा नपुग्नु नै राम्रो हो ।”
तिब्बत र भूटानको खुसहालीबाट के सिद्ध हुन्छ भने सामाजिक सुखसुविधा र शान्तिका लागि विज्ञानमात्रै सबै होइन, विज्ञानविना पनि देश समृद्धशाली बन्न सक्छ । समाजमा शान्ति छाउन सक्छ र घरघरमा खुसीयाली आउन सक्छ, यदि देशमा एकता छ, समाजमा कुनै जाति या कुनै व्यक्तिप्रति कुनै घृणा र तिरस्कार छैन, सबैप्रति आदर सम्मान तथा समान व्यवहार छ र घरमा सबैलाई समुचित स्वतन्त्रता एवं समाजअधिकार प्राप्त छन् भने आज तिब्बत र भूटानमा जातपात, छुवाछुत आदि भेदभावलाई कसैले जानेकै छैनन्, सबै जाति, सबै व्यक्तिलाई धार्मिक स्थान, सामाजिक रीतिरिवाज र आर्थिक क्षेत्रमा समान अधिकार छ; नारीजातिमाथि कुनै प्रतिबन्ध छैन; आफ्नो इच्छाअनुसार आफ्ना प्रेमीप्रेमिकाका साथ विवाह गर्न सक्छन् तथा पछि आपसी सम्बन्ध बिग्रँदा तलाक (पारपाचुके) गर्न पनि सक्छन्; जसको साथमा जहाँ चाह्यो त्यहीँ एक्लै जानआउन घुम्न सक्छन् । अर्थोपार्जनका लागि हरेक काम गर्ने छूट छ अर्थात् पुरुषजातिलाई जेजति अधिकार छ, त्यति नै अधिकार स्त्रीलाई पनि छ । त्यसैले त्यहाँ सामाजिक जिम्मेवारी, घरको जिम्मेवारी र जीवनका समस्त आवश्यकताहरूको बोझ सरलता र अत्यन्त सुविधाका साथमा उठाउने गरिन्छ । स्त्री र पुरुष दुवै काँधमा काँध मिलाएर कडा परिश्रम गर्ने गर्दछन्, त्यसैले त्यहाँको माटोबाट सुन फल्छ, त्यहाँको व्यापारमा लक्ष्मी पद्मासन लगाएर बस्न आउँछिन् । त्यहाँ बेकारी छैन त्यसैले भोक छैन, त्यहाँ भेदभाव तथा बेकारको प्रतिबन्ध र त्यसप्रकारको कुनै अत्याचार छैन । त्यसैले ‘आह !’ छैन, आँसु छैन । बेकारी र भिखारीको समस्या समाधान गर्नलाई रूसमा हजारौँलाखौँ मानिसहरूको रगत बगाउनुपर्यो । मानवसभ्यताका कैयौँ पुस्तापछि जब पश्चिमा मुलुकहरूले स्त्रीस्वतन्त्रतालाई सम्मान, समान अधिकारको आदर, पारपाचुके तथा पुनर्विवाहको प्रथालाई सत्कार गर्न जाने तब उनीहरूलाई आफ्नो प्रगतिमाथि कति गर्व भएको थियो । यी चीजहरूलाई उनीहरूले खूब गौरवको मानेका छन् र ती कुराहरूलाई अँगाल्दा आपूmलाई काफी सभ्य सम्झेका छन् । यी सबै कुराहरू तिब्बत र भूटानमा त अनादिकालदेखि अनायास अजस्र रूपमा अनवरत बग्दै आइरहेका छन्, यस्तो भनियो भने पनि अत्युक्ति हुनेछैन ।
अतएव मेरो विचार छ— व्यक्तिप्रति आदर, स्वतन्त्रताप्रति सम्मान, समाजप्रति दायित्व र यी सबैका साथमा श्रमप्रति आस्था तथा एकताप्रति निष्ठा नै वास्तवमा जीवनप्रति श्रद्धा र प्रगतिको पूजा हो, यसमा विज्ञानको उमङ्ग, उत्साह र उल्लास पनि आए भने चार चाँद लाग्नेछन्, यसमा सन्देह छैन ।
हामी आध्यात्मिक
तर हिन्दूहरूको भूमिमा, तिनीहरूको जाति, समाज र सङ्गठनमा यिनीहरूको अभाव खट्किन्छ मात्र होइन, खट्किने कुरा त टाढै रहोस्, यिनीहरूलाई हिन्दूहरूले केही मान्यता नै दिएनन् । हिन्दूहरूलाई त आफ्नो आध्यात्मिकतामाथि नै गर्व छ र हाम्रो आध्यात्मिक धरातल छ, नैतिक पृष्ठभूमि छ र अहिंसात्मक भावना छ इत्यादि कुराहरूमा नै हिन्दूहरू फुलेका छन् । म पनि हिन्दू प्रवाह अथवा स्रोतको एक थोपा हुँ तर सत्य र इमानदारीको घाँटी नथिची साँचो कुरा भन्ने हो भने मैले भन्नै पर्छ— हामी हिन्दूहरू आध्यात्मिक तŒव र कुराहरूमा पनि नराम्ररी गिरेका छौँ । अध्यात्मको सम्बन्ध ईश्वर, परलोक र मोक्षलाई छाडेर जीवनलाई प्रज्वलित पार्ने नैतिकता र जीवनमा सत्य–शिव–सुन्दर ल्याउने प्रेम, दया, करुणा, ममता, समता तथा अहिंसासित पनि प्रतिष्ठित हुन्थ्यो भने आध्यात्मिकतासित मेरो कुनै शत्रुता छैन । यी सबै तŒवहरूका समाविष्ट र एकत्रित भावहरूलाई नै अध्यात्म वा आध्यात्मिकताको नाम दिइएको हो भने यो राम्रो कुरा हो, कसैले खराब कुरा भन्नेछैन । तर फेरि पनि हिन्दूहरूले अध्यात्म वा आध्यात्मिकतामाथि गर्व गर्नु अत्यन्त लज्जास्पद कुरा हो । के एक मानिसले अर्को मानिसलाई नीच सम्झनु, अछुत सम्झनु र त्यसलाई हरेकप्रकारबाट वञ्चित पार्नु नै आध्यात्मिकता हो ? के वंशानुगत, जातिगत आधारमा मानिसलाई घृणा–तिरस्कार गरेर उसलाई— उनीहरूलाई र उनीहरूको वंशपरम्परालाई नै कहिल्यै उठ्न नदिने काम र भावना नै आध्यात्मिकता हो ? यदि हो भने यस्तो आध्यात्मिकतामाथि तत्कालै आगो लगाइदिनुपर्छ; होइन भने हाम्रा हिन्दूहरूलाई संसारमा टाउको उठाउने ठाउँ कतै मिल्नेछैन । हामी अलिकति पनि आध्यात्मिक छैनौँ र हामी संसारका जातिहरूमा सबैभन्दा बढी पाशविक, अमानवीय र जङ्गली छौँ । हाम्रो सभ्यता, संस्कृति र वेदउपनिषद्हरूमा जति राम्रोपन छ, जेजति गर्व तथा गौरव गर्नलायक वस्तुहरू छन्, ती सबै चीजहरू र सुभावनाहरूलाई हामीले कुल्चिदिएका छौँ र कुठाराघात गर्दै छौँ । आध्यात्मिकताको यस अर्थमा साँच्चै भन्ने हो भने संसारका समस्त जाति र समाज अत्यधिक आध्यात्मिक छन् जसलाई हामी यवन, म्लेच्छ, भौतिकी आदि भनेर अपवित्र तथा नीच सम्झन्छौँ । किनभने कुनै पनि मुलुक, जाति वा समाजमा एक मानिसले अर्को मानिसलाई नीच, अपवित्र र अवाञ्छनीय सम्झिँदैन, न आफ्नी जन्मदाता आमाको जातिलाई दबाइदबाइकन जिउँदै निष्प्राण र एककिसिमको योग्यमात्र बनाइन्छ ।
के हामीसँग यसको कुनै उचित जवाफ छ ? के सन्तोषजनक उत्तर छ हामीसँग कुनै ? वास्तवमा हामी सबैभन्दा ठूला कुराहरूमा अत्यन्त अआध्यात्मिक छौँ जुन कुराहरूमा पशुपन्छी र राक्षसहरूसमेत आध्यात्मिक हुनुपर्दथ्यो । निर्लज्ज भएर हामी नै अझ आध्यात्मिकताको दम्भ भर्दै छौँ जबकि हामीमा–हामीभित्र आध्यात्मिकता नराम्ररी मरिसकेको छ । म त के देखिरहेछु भने आध्यात्मिकताको प्रत्यक्ष हत्या भइरहेछ । त्यसैले हामी आध्यात्मिकताका अलिकति हिमायती पनि होइनौँ, बरु साँचो अर्थमा हत्यारा नै हौँ । जसको देशमा, जातिमा र समाजमा जातपात, छुवाछुत इत्यादि खराब प्रथाहरू हुनाले असङ्ख्य आत्माहरू घृणित, तिरस्कृत, उत्पीडित र गतिहीन भएर सदैव रोइरहन्छन्, तिनका कर्णधार तथा सञ्चालकगण सबै अध्यात्मवादी वा आध्यात्मिक हुन् भने योभन्दा ठूलो बिडम्बना अरू के हुन सक्छ ? जुन भावना र धारणामा मनुष्यप्रति कुनै सम्मान छैन, व्यक्तिप्रति कुनै आत्मीयता छैन तथा मानवताप्रति कुनै उद्भव र आभास छैन, त्यो कस्तो आध्यात्मिकता हो ? के त्यो भावना पनि सद्भावना हो ?
जाति र धर्मवाद
हिन्दू धर्म र सभ्यतालाई संसारको आँखामा सबैभन्दा बढी गिराउने सबैभन्दा बढी खराब कुरा हो वर्णव्यवस्था, जसले जातपात, छुवाछुत आदि कुभावना उत्पन्न गरेर हिन्दू र हिन्दूत्वलाई सहसा नर्कमा लैजान्छ । विकासप्रिय र प्रगतिशील तŒवको प्रतिनिधित्व सरकारमा हुनाले कानुनीरूपमा त यो खराब कुरा हिन्दूस्तानको भूमिबाट खत्तम भएको छ तर समाज र व्यवहारमा अभैm यसका हिमायतीहरूको बोलबाला हुनाले र पुराणशास्त्रहरूको दुहाई दीदीकन तिनको ढोल पिटिरहनाले यस खराब कुराको चहलपहल छ नै । दु:खको कुरो के छ भने हिन्दू शक्तिप्रधान अर्को राष्ट्र नेपालमा त नर्कमा लग्ने यो वर्णव्यवस्था कानुनी रूपमै सम्मानित छ । त्यहाँ यस खराबीलाई मान्यतामात्र छैन, सरकारका तर्फबाट पोषणसमेत मिलिरहेको छ । विश्वका सरकारहरूमा, विशेषत: गणतान्त्रिक सरकारहरूमा अब केवल तीन मुलुकमात्र बाँकी छन् जहाँ जाति तथा धर्मका आधारमा सरकार चलाइन्छ र त्यस्ता नीति तथा कानुनहरू बनिरहेका छन् । ती तीन मुलुक हुन्— नेपाल, पाकिस्तान र दक्षिण अफ्रिका । सरकारको हैसियतमा त यो जातिवाद वा धर्मवाद राष्ट्रलाई नर्कमा लैजाने कुरामा झन् बढी प्रभावशाली छ । आजको जमानामा राष्ट्र वा सरकारका लागि योभन्दा बढी लज्जास्पद कुरा अरू केही छैन; तर हर्षको कुरा के छ भने नेपालको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसले जातपात, छुवाछुत समाप्त गरेर भारतमा जस्तै धर्मनिरपेक्ष सरकार बनाउने घोषणापत्र निकालिसकेको छ । आशा गर्न सकिन्छ, अरू प्रजातान्त्रिक पार्टीहरूको पनि यस विचारप्रति झुकाव छ । कम्युनिस्ट पार्टीले त सिद्धान्तले नै जातपात, छुवाछुत र धर्म आदिलाई मान्दैन । नयाँ हावालाई रोक्ने प्रतिगामीहरूका पनि नेपालमा दुईतीन दलहरू बनेका छन् तर ती अँधेरोमा निस्सासिएर घँुडाको बल चलिरहेछन् । अब नेपालमा उनीहरूको दाल गल्न सक्दैन । त्यसैले जनताको चाहनाअनुसार नेपालमा जातपात र छुवाछुत, चाँडै नै समाप्त गरेर भारतकै जस्तो धर्मनिरपेक्ष सरकार बनेरै छाड्नेछ ।
होटल र सहशिक्षा–प्रणाली
जातिवाद अर्थात् जातपात, छुवाछुत आदि सङ्कीर्णतालाई समाजबाट र देशैबाट मेटाउनका लागि कानुन र नेताहरूको क्रान्ति, आन्दोलन आदि जबर्जस्त सम्झाउने प्रक्रिया छन् । यिनका अतिरिक्त स्वाभाविक तरिकाले प्रभावित गर्दै जाने अरू दुई प्रक्रियाहरूलाई म देखिरहेछु, एक होटलप्रथा र दुई सहशिक्षा–प्रणाली । मेरो विचारमा यदि होटलमालिक तथा साथसाथमा सरकार र नगरपालिकाहरूद्वारा राम्ररी निगरानी गर्ने हो भने होटलप्रथा नराम्रो प्रथा होइन, बरु सामाजिक सुविधा र प्रगतिका लागि यो अत्यन्त हितकर छ । सरसफाइ तथा स्वास्थ्यका लागि पूरा प्रबन्ध गर्ने र धेरै नाफा नलिने तरिका अँगालियो भने जातपात र छुवाछुतको भेदभाव समाप्त पार्न होटल एउटा ठूलै मौनआन्दोलन वा क्रान्ति सिद्ध हुनेछ । यसबाट स्वाभाविक रूपमा मान्छेको दिमागबाट जातिवादका सङ्कीर्ण भावनाहरू मेटिँदै जानेछन् र मनमा यस्ता भावना नराख्ने बानी पनि पर्नेछ । बिस्तारै यही बानी होटलबाहिरका व्यवहारमा पनि मूर्तिमान् बन्नेछ । वास्तवमा होटलप्रथाबाट यस्तो मौनआन्दोलन वा क्रान्ति भई पनि रहेको छ । होटलहरूमा पुग्ने मानिसहरूको मनबाट यो सङ्कीर्णता मेटिँदै गइरहेको छ । त्यसैले कट्टरवादी मानिसहरू होटलप्रथाको पनि विरोध गर्दछन् । रेलगाडी आदिको यात्राबाट पनि यस कुरामा पुरै मदत मिलिरहेको छ । थोरै दूरीको यात्रामा त भोकै रहेर पनि आफ्नो शान राख्न सकिन्छ तर सुदूरको यात्रामा त भोकै रहनु सम्भव छैन र स्टेसन तथा जङ्क्सनका पसलहरू वा बजारहरूका सामान पनि सबैले छोएकै वस्तु हुन् । केही समयमात्र रोकिन पाउने जङ्क्सनमा आफै पकाउने काम गरियो भने रेल नै छुट्ने डर हुन्छ । तब बिचराहरू के गरून् ? आँखा चिम्लेर ‘राम राम’ गर्दै खाई नै हाल्नेछन् । यसका अतिरिक्त अरू चारा नै के छ र ? प्रगतिको युगमा प्रत्येक वस्तु र व्यवहार प्रगतिशील हुन्छ ।
जातिवाद वा वर्णव्यवस्थालाई समाप्त पार्ने साधनहरूमा होटलभन्दा पनि बढी शक्तिशाली र सशक्त साधन सहशिक्षा–प्रणाली हो । यो प्रणाली दुई जातिबीच पुल बन्नमा सहायक हुन सक्दछ । अर्थात् यस सहशिक्षा प्रणालीबाट विद्यालय वा महाविद्यालयहरूमा विभिन्न जातिका युवायुवतीहरू साथसाथ रहने र बस्ने हुनाले प्रकृतित: मान्छेको जीवनमा हुने एकदोस्रोलाई जीवनसाथी बनाउने खोजीको प्रक्रिया तिनीहरूमा चल्नेछ र त्यसका प्रभावले एकअर्कालाई प्रेम गर्नेतिर उनीहरू आकर्षित हुनेछन् । यसरी दुई जातिको एक सङ्गम हुनेछ किनभने प्रेम जातिलाई हेरेर गरिने कुरा होइन, आपैm हुने प्रक्रिया हो । त्यसैले जातिलाई प्रेम देखिँदैन ।
वर्णसङ्कर र सहशिक्षा
परिणामत: यस प्रणालीबाट समाज र राष्ट्रमा ठूलो सङ्ख्यामा वर्णसङ्करहरू जन्मनेछन् जो एकताको स्थापनाका लागि अत्यन्त हितसाधक सिद्ध हुनेछन् । दुई हृदय अर्थात् दुई जातिहरूलाई एक सूत्रमा बाँध्नमा प्रेमको परिणाम बन्ने वर्णसङ्कर एक शक्तिशाली स्थायी साधन हो किनभने जो वर्णसङ्कर हुन्छ त्यो वास्तवमा दुई भिन्न जातिको अंश हुन्छ । त्यसैले उसले दुवै जातिको सम्मान गर्नेछ र तिनलाई श्रद्धाका साथ हेर्नेछ । यसबाट बिस्तारैबिस्तारै एकअर्काले एकअर्को जातिप्रति घृणा र तिरस्कार गर्न नै बिर्सनेछ जसको परिणाम सामञ्जस्य र एकता स्थापित गर्नका निम्ति वरदान सिद्ध हुनेछ । हिन्दूहिन्दूका बीचमा मात्र होइन, देशभित्रका हिन्दू–मुसलमान, हिन्दू–इसाई आदिका साथमा हुँदै अन्तर्जातीय, अन्तर्देशीय र अझ अगाडि गएर अन्तर्राष्ट्रिय प्रेम, सामञ्जस्य तथा एकतास्थापनका लागि पनि यो कुरा मन्त्रसिद्ध साधन हुनेछ । त्यसैले वर्णसङ्करलाई म मानवमानवबीचको सम्झौताको सन्धिपत्र ठान्दछु ।
‘वर्णसङ्कर’ तŒवबाट विशेषत: हिन्दू र हिन्दूशास्त्री साह्रो घबराउँछन् । यस्तो घबराहट प्राचीन कालमा सायद हितकर नै सिद्ध भएको होला तर यस कुरामा कुनै पनि दूरदर्शिता छैन र आजका लागि त यो अभिशाप नै सिद्ध भइरहेको छ । त्यसैले मेरो सल्लाह र अनुरोध के छ भने पुरानो आँखाले तथा अन्धो अनुयायी भएर होइन, अगाडि उभिएको नयाँ जमानालाई देखेर हेर्नुहोस् र सोच्नुहोस् ।
समाजमा वर्णसङ्करको सृष्टि हुनाले पिण्ड नै लुप्त भएर कुलको पतन हुनेछ । यसबाट वर्णसङ्करको स्रष्टा त नर्कमा जानै नै छ, उसको साथमा उसको कुल र स्वर्गवासी पितृगणसमेत नर्कमा खस्नेछन् भन्ने कुराहरू अनर्गल र वाहियात हुन् । यस्ता कुरामा अलिकति पनि सत्यता छैन । हिन्दू शास्त्रहरूका यी शिर न पाउका कुराहरू अर्जुनद्वारा भन्न लगाएर श्रीमद्भागवत् गीतामा पनि उद्धृत गरिएको छ ।घण् तर चाहे गीतामा होस् चाहे वेदउपनिषद्मा, आफ्नै आँखाले हेरेर हिँड्ने कुनै पनि व्यक्तिले यसलाई सही कुरा भन्नेछैन ।
एक धर्म, एक सम्प्रदाय, एक संस्कृति र एक आचारविचार तथा एउटै रहनसहन भएका जातिहरूलाई बनाइराख्न र तिनलाई परिपुष्ट बनाउन यी कुराहरू अवश्य हितकर छन् र वास्तवमा त्यसनिम्ति एक धर्म तथा संस्कृति आदिको जातिमा रहनु र आदान–प्रदानको व्यवहार गर्नु मधुर र सुखदायी पनि छ; त्यसैले यस कुरालाई शास्त्रका रूपमा नमान्ने संसारका अरू जातिहरू पनि प्राय: आफ्नै धर्म, सम्प्रदाय र संस्कृति भएका जातिमा रहन्छन् र व्यवहार गर्छन् । थोरैमात्र मानिसहरू दोस्रो धर्म र संस्कृति भएका जातिसँग वैवाहिक सम्बन्ध जोड्न मन पराउँछन् । कहाँसम्म भने मानिसलाई रहन, बस्न र वैवाहिक सम्बन्ध जोड्नमा दोस्रो देशसमेत मन पर्दैन, यद्यपि धर्म र संस्कृति एउटै भएर एउटै जातिको साथ किन नहोस् । असलमा म पनि आफ्नै जाति, संस्कृति, देश र भाषाभाषीहरूका बीच रहन–बस्न मन पराउँछु । म ठान्दछु, दुनियाँका तमाम मानिसहरू पनि यही नै चाहन्छन् होला; तर कोही स्वेच्छाले र स्वतन्त्रतासाथ अन्य भाषाभाषिका साथ सम्बन्ध जोड्न र सम्पर्क बढाउन चाहन्छ भने यसमा हानि के छ ? बरु यो सम्बन्ध व्यक्ति, समाज, राष्ट्र र अन्तर्राष्ट्रका लागि हितकारी नै सिद्ध हुनेछ । समाज, राष्ट्र र अन्तर्राष्ट्रमा भाइचारा, बन्धुत्व र आत्मीयताको भावना वृद्धि गर्न यस्ता विभिन्न जाति, धर्म, संस्कृति जोडेर उठबस गर्ने आन्दोलन गर्नु अब आवश्यक भइरहेको छ ।
सहशिक्षा–प्रणाली यस विषयको एउटा शक्तिशाली मौन आन्दोलन हो । यस प्रणालीबाट जातीय द्वैतता, धार्मिक तथा साम्प्रदायिक द्वेष र भाषागत विवाद मेटिएर मानवजातिबीच सौमनस्य स्थापित गर्न आशातीत सहयोग मिल्नेछ भन्ने आशा म गर्दछु । पुरानो विचारका मानिसहरू यस प्रणालीका घोर विरोधी छन् । उनीहरू यसलाई फुटेको आँखाले पनि हेर्न चाहन्नन् । उनीहरूको भनाइमा यस प्रणालीलाई अपनाउनाले मान्छेको चरित्रमा किराहरू पर्छन् । युवायुवती सदैव एकसाथ संसर्गमा रहिरहनाले परिणाम कहिल्यै राम्रो निस्कन सक्दैन किनभने ती दुई आगो र घिउ हुन् । त्यसैले यो प्रणाली मानिसहरूलाई दुश्चरित्र बनाउनका लागि खुल्ला छुट हो । यौनिक तŒवले हेर्ने हो भने त यस प्रणालीलाई तिलाञ्जली दिने आवश्यकता पर्नेछ किनभने दुई आकर्षक तŒवलाई एकै ठाउँ छाडिदिनाले वाञ्छित कुरा प्राप्त हुन मुस्किल छ । त्यस दृष्टिले त व्यभिचार नै घनीभूत रहन जानेछ । त्यसो हो भने त्यस दृष्टिकोणका मान्छेहरूको मन शान्त पार्नका लागि अहिले पनि नारीहरूले पर्दा र घरको चारदिवारीभित्र रहनुपर्दछ र बाहिर कतै जाने आवश्यकता पर्यो नै भने पनि घरको ढोकाबाट निस्कनासाथ घुम्टोमा लुकेर जानुपर्दछ किनभने के थाहा कोही कसैसँग आकर्षित भई पो हाल्छ कि !
पहिले हामीकहाँ यस्तै स्थिति थियो । हिन्दूस्तानका कतिपय स्थानहरूमा आज पनि यही स्थिति छँदै छ । त्यसोभए के त्यहाँ व्यभिचार हुँदैनथ्यो ? दुश्चरित्रता थिएन ? र छैन ? के सबै युवक र युवती एकअर्काबाट आकर्षित हुँदैनथे ? पहिलेको र यस्तो स्थितिबाट प्रभावित ठाउँहरूमा आजको समाजको पनि वातावरण र रूपरङ्गबाट के थाहा हुन्छ भने एक युवक युवतीबाट र एक युवती युवकबाट आकर्षित हुने गर्छन् र आपसमा मिल्नका लागि तड्पिरहन्छन् एवं उत्कण्ठा तीव्र हुनाले प्राय: सफलता पनि प्राप्त गर्ने गर्छन् । यो कुरा आजको वा भोलिको मात्र होइन, यो त सृष्टिको आदिकालदेखि चल्दै आइरहेको छ सभ्य ढङ्गले वा असभ्य ढङ्गले । यसलाई रोक्नका लागि अर्थात् युवायुवतीहरूको आकर्षणबाट बच्नकै लागि नै हिन्दूहरूले चलाएको बालविवाहको प्रथाबाट के समाजमा युवायुवतीहरूले एकअर्कासित आकर्षित हुने काम बन्द भयो ? के प्रेमलीला र जबर्जस्ती अपहरण वा गुप्तवरणको काम समाजमा रहेन ? के बालविवाह गर्ने सबै नारीहरू(बालिकाहरू)मा युवती भएपछि उक्त कुराप्रति सन्तोष छ ? के ती सबैमा आफ्ना पतिप्रति प्रेम छ ? के ती सबै त्यस्ता पतिप्रति आकर्षित छन् ? आखिरमा समाजका लागि यो प्रथा नै समस्या बन्यो । आज स्पष्ट भएको छ— यो प्रथा समाजका लागि कोढ हो । यसबाट समाजमा अत्यन्त अशान्ति, प्रशस्त व्यभिचार र दुश्चरित्रता बढ्न गयो ।
सारांश के हो भने सहशिक्षा–प्रणाली सुरु हुनुभन्दा पहिले पनि समाज र संसारमा प्रेमलीला चल्थ्यो र युवक–युवतीहरू एकअर्काबाट आकर्षित हुन्थे । यो क्रम सृष्टिको आदिकालदेखि तै चलिआएको छ । त्यसैले यसको दोष सहशिक्षा–प्रणालीलाई दिन सकिन्न । तपाईं भन्नुहुनेछ— यस प्रणालीबाट युवायुवतीहरूको नित्य र निरन्तर जमघट तथा मिलन हुने हुनाले मनमा कामुकताको भावना बढ्न जान्छ, जसले गर्दा सहपाठी जोडी दुराचार र व्यभिचारसम्म पुग्दछन् । सामान्य दृष्टिले हेर्ने हो भने यस कुरामा केही सत्यता र तथ्यको आत्मा झल्किन्छ तर वास्तवमा यो सामन्ती, पुँजीवादी र पुरोहितवादी कुरा हो जबकि प्राय: जनतालाई अशिक्षित र मूर्ख बनाएर तिनको पसिनामा मोजमस्ती गरिँदै छ । यथार्थमा त्यस स्थितिका लागि यो प्रणाली खतरनाक नै छ किनभने यौवनकालमा मान्छेहरूलाई केही नयाँ गर्न र अगाडि बढ्नमा सदैव जोस, उमङ्ग र उत्साह भइरहन्छ । युवायुवतीहरू दुवै उत्साही लिङ्गहरूको एकता तथा अग्रगामिताबाट के हुन सक्दैन ? तरुण–तरुणीहरूमा यदि शिक्षातŒवको सञ्चार भयो भने तिनीहरू कुप्रवृत्तितर्फ कहिल्यै अग्रसर हुनेछैनन्, बरु मनोवृत्तिलाई नै प्रगतितर्फ झुकाएर समाजलाई अगाडि बढाउने प्रयत्न गर्नेछन् जुन पुराना प्रवृत्ति भएकाहरूलाई हानिकारक र खतरनाक पनि छ ।
अशिक्षित समाज र त्यस्तो जमानाका लागि यौवनावस्था एकदमै खतरनाक अवस्था छ, यो पनि म मान्दछु । यद्यपि आज शिक्षाको प्रचारप्रसार जोडतोडले भइरहेछ, तथापि आज पनि म त्यस अवस्थालाई खतरनाक अवस्था मान्दछु किनभने अभैmसम्म त्यसको खासै विकास भएको छैन । त्यसैले खास गरी युवतीहरूका लागि थोरै मात्रामा निगरानी वा नियन्त्रण राख्नुपर्ने पक्षमा म पनि छु र तिनीहरूलाई आफ्नो जीवनसाथी चुन्ने कुरामा पूर्ण स्वतन्त्रता दिने कुरामा म अहिले पूर्ण उदारता प्रकट गर्न चाहन्नँ किनभने विकास र स्तरको कमी यताउता चारैतिर छ र चारैतिर प्राय: गुन्डाहरू र भद्रताको आडमा लुकेका गतिछाडा युवकहरू छरिएका छन् । त्यसबाट यौवनको तिर्खा अरू पनि बढ्न सक्दछ । तब यौनतृष्णा मेटाउनका लागि छटपटीमा जोसुकैले जोसुकैका साथ हात मिलाउन सक्छन् । यस्तो स्थितिमा आफ्नै नोकर, नातेदार तथा रोगी, बूढा, मूर्ख, दरिद्र, कुरूप र बदमासहरूका साथमा समेत गठबन्धन हुन सक्दछ । त्यसैले आमाबाबु र अभिभावकहरूले निगरानी, नियन्त्रण र खुल्ला स्वतन्त्रता नदिने कन्जुसीपन ती केटीहरूका लागि हितकर नै सिद्ध हुनेछ ।
तर संयुक्त स्कुल वा कलेज वा विश्वविद्यालय यस्ता क्षेत्र होइनन् । त्यहाँ प्राय: शिक्षित, बुद्धिमान्, सज्जन र स्वस्थ युवायुवतीहरू रहन्छन् र हुन्छन् । त्यसैले त्यहाँ युवायुवती विद्यार्थीहरूबीच संयोगवश आकर्षण भइहाल्यो भने पनि ‘योग्यं योग्याय’का अनुसार एक लायक व्यक्तिको साथ नै प्राप्त हुन्छ किनभने यौवनावस्था अन्य राम्राराम्रा काम गर्नका अतिरिक्त जीवनसाथीका लागि मन पर्ने व्यक्तिसित प्रेम गर्ने विशेष अवस्था पनि हो । दुई योग्य तथा मन मिलेका व्यक्तिहरूको गठबन्धनबाट नै सांसारिक स्थिति कायम रहन सक्दछ । त्यसैले दुई योग्य र मन मिल्ने वा मन मिलेका युवायुवतीहरूको प्रेम र गठबन्धनमा प्रतिबन्ध लगाउनु र तिनलाई यस काममा स्वतन्त्रता नदिनु शान्ति र प्रगतिमा आगो लगाउनु हो ! संयुक्त विद्यालयका युवायुवती छात्रछात्राहरूले पहिले मौन रूपमा सबै दृष्टिले र हर तरिकाबाट छानबिन, नापतौल र लेखाजोखा गरेपछि मात्र एकअर्कालाई मन पराउनेछन्, चुन्नेछन् र प्रेम गर्नेछन् तब उनीहरूको प्रेम त्यहाँ स्वत: घोषित पनि हुन जानेछ । त्यो सत्पे्रम लुकेर रहन पनि सक्दैन । त्यसैले फेरि अर्कोसित प्रेम तथा बदमासी हुने सम्भावना पनि छैन । वास्तवमा एक योग्य, सच्चा र मनपर्ने प्रेमी मिल्नाले अरू कसैसित प्रेम र व्यभिचार हुनु असम्भव कुराजस्तो हुन्छ । यसरी एकपछि अर्को वा जुनसुकैसित पनि प्रेम त तबमात्र हुन्छ जब पे्रमीप्रेमिका अपठित र अविकसित गुन्डा–बदमास होऊन् वा पे्रमीको साथ मिल्नमा वा पाउनमा कुनै कठिनाइ होस् वा मिल्ने मौका नमिलोस् वा प्रेमीले धोका दिएको होस् र सबैभन्दा ठूलो कुरा केवल यौनप्यासले छट्पटाएर यौनतिर्खा मेट्नका लागि आँखा चिम्लेर सम्बन्ध गाँसिएको होस् । सहशिक्षा–प्रणालीमा यस्तो कुनै सम्भावना छैन । त्यहाँ जीवनसाथीका निम्ति होस् वा यौनतिर्खाको तृप्तिकै लागि नै किन नहोस्, प्रेम भयो भने त्यो स्थायी भएरै रहन्छ । त्यसैले यौवनावस्था एक दृष्टिले खतरनाक अवस्था भएर पनि शिक्षाको मार्गमा छ र संयुक्त स्कुल, कलेज र विश्वविद्यालयमा छ भने चिन्ताका साथ निगरानी, नियन्त्रण तथा अनावश्यक प्रतिबन्ध लगाउने र स्वतन्त्रतामा हस्तक्षेप गर्ने आवश्यकता खासै छैन । त्यसो त शुभेच्छाका साथ सावधानी अँगाल्नु आफ्ना केटाकेटी हुनुको नाताले कर्तव्य नै हो । फेरि पनि के भन्न सकिन्न भने त्यहाँ व्यभिचार वा दुराचार बिल्कुलै हुन सक्दैनन् किनभने हरेक कुरामा अपवाद पनि हुन्छन् भन्ने कुरा सम्झनुपर्दछ ।