‘ जातस्य हि धु्रर्वाे मृत्युर्धु्रवं जन्म मृतस्य च …’ अर्थात् जन्म लिएका सबैको लागि मृत्यु निश्चित छ र मरणोपरान्त पुनर्जन्म अपरिहार्य छ । यस सत्यको ज्ञान हुँदाहुँदै पनि मरणप्रति मानिसको धारणा जीवनको विभिन्न चरणमा फरकफरक हुन्छ । सामान्यत: बाल्यकालमा मृत्युबारे खासै ज्ञान हुँदैन, युवावस्थामा ज्ञान भए पनि वास्ता हुँदैन र वयस्कावस्थामा पुगेपछि जति उमेर घर्कदै जान्छ उति मानिस यसबारे संवेदनशील हुँदै जान्छ । पुनर्जन्मलाई भने यस जीवनबाट निकै टाढा रहेको धुमिल र फगत कल्पनामा सीमित सम्भावना मानेर साधारण मानिसहरु प्राय त्यसबारे खासै चिन्ता गर्दैनन् कैयन त विश्वास पनि गर्दैनन् । मरणसम्बन्धी धारणामा मानिस हुर्कदाको वातावरणले पनि ठूलो प्रभाव पार्दछ । लौकिक सुखले मोहित भएका या त्यस्तो सुखको अपेक्षा राख्नेहरु जीवनलाई त्यसैको साधन या अवसरको रुपमा देख्छन् । तर कतिपय यस्ता साधकहरु पनि छन् जो आफ्नो आस्था र दृष्टिलाई अहिले जिएको जीवनको समय सीमाले बाँध्न चाहँदैनन् । साहित्य कल्पना र वास्तविकताको संगम भएकाले यसका स्रष्टाहरुले जीवन, मरण र पुनर्जन्मका सबै पक्षलाई सिर्जनाको दायराभित्र राखेका छन् ।
यस आलेखमा विश्वविख्यात रुसी उपन्यासकार, लेखक तथा दार्शनिक लेभ तोल्सतोय जीवन र मरणबारे कस्तो धारणा राख्थे भन्नेबारे उनका केही प्रमुख साहित्यिक कृतिको विवेचनामार्फत् चर्चा गरिएको छ । हिन्दू र बौद्ध दर्शनको गहिरो प्रभाव परेको कारण तोल्सतोयले मरणलाई जीवनको अन्त्यभन्दा यसको निरन्तरता मानेका छन् । उनको विचारमा मरण फगत एक संयोग र जीवनको अनिवार्य अवसान मात्र होइन, यो त जीवनको सर्वाधिक ठूलो रहस्य हो । शायद यसै कारणले उनले आफ्ना कृतिहरुमा जीवनको जस्तै मरणको पनि विभिन्न स्वरुपको चित्रण गरेका थिए । जीवन र मरण बीचको अन्योन्याश्रित सम्बन्धलाई उनले कहिले वीभत्स त कहिले करुणा, कहिले वीर त कहिले शान्त जस्ता विभिन्न रसको माध्यमबाट वर्णन गरेका छन् जसमा उनको मानवतावादी र अहिंसावादी दर्शन तथा परम शान्तिको भावना झल्केको पाइन्छ । जीवनको उत्तराद्र्धमा पुगेर उमेर निकै घर्किसकेको बेला आफ्ना समकक्षीहरुसँग गरेको पत्राचारमा उनले लेखेका थिए, ‘अहिलेको एक चोलामा मात्र यो जीवन सीमित छैन, यो अनन्त छ भन्ने बुझेर मात्र होइन, त्यसलाई अनुभूति गर्न पाउँदा अनौठो आनन्द हुँदो रहेछ ।’२ यसै भावनालाई निरन्तरता दिँदै एक अर्को पत्रमा उनले जीवन एकै चोलामा सकिन्छ भन्ने ठान्नु बौलट्ठीपन र उन्माद हो भनेर पुनर्जन्ममा आफ्नो गहिरो विश्वास व्यक्त गरेका थिए ।
तोल्सतोयले बुढ्यौली लागेपछि मात्र मरणलाई साहित्यिक सिर्जनाको विषयवस्तु बनाएका होइनन् । यस सम्बन्धी पहिलो कृति ‘तीन मृत्यु’ शीर्षकको एक लघुकथा थियो जुन उनले एकतीस वर्षको तन्नेरी उमेरमा नै प्रकाशित गरेका थिए । सो कथामा उनले एक अभिजात महिला, एक साधारण गाडीवान र एक रुख गरी तीन प्राणीले लगभग एकै समय र एकै स्थानमा सामना गरेको मृत्युको अवस्थाको तुलनात्मक वर्णन गरेका थिए र जीवनको सामाजिक परिवेशले मरणप्रतिको चिन्तन र सरोकारलाई कसरी प्रभाव पार्छ भनेर देखाएका थिए । अभिजात महिला सिकिस्त विरामी थिई र ऊ पतिले इटली लगेर उपचार गराइदिएको भए उहिल्यै सञ्चो भइसक्थ्यो भन्ने गुनासो पालेर बसेकी थिई । मृत्युवरण गरेको समयमा ऊ आफ्ना अतृप्त चाहनाको गह्रौं भारीले थिचिएकी थिई । उसको जिउने रहर बाँकी नै थियो र मृत्यु उसको लागि मुक्तिको मार्ग थिएन । तोल्सतोयका आफ्नै शब्दमा ऊ तिरस्कार र दयाकी भागी थिई । तर गाडीवानको मृत्यु सहज र सामान्य थियो; उसका कुनै आकांक्षा थिएनन् । ऊ एउटा छाप्रोमुनि अँगेनाको छेउमा पल्टेर मृत्युको प्रतीक्षा गरिरहेको थियो । मर्नुअघि अब किन चाहिएला र भनेर उसले आफ्नो जुत्ता पनि अर्को तन्नेरी गाडीवानलाई दियो र त्यस वापत आफ्नो चिहानमाथि एक क्रस उठाइदिनु भन्ने इच्छा जाहेर गर्यो । गाडीवान मरेपछि उसको चिहानमा क्रस उठाउन काठ चाहिएकोले तन्नेरी गाडीवान बञ्चरो लिएर नजिकैको वनमा गयो, एउटा कलिलो रुख ढाल्यो र रुखको मृत्यु भयो । यी तीन प्राणीको मरणको विश्लेषणले तोल्सतोयको भावी चिन्तनमा ठूलो प्रभाव पार्यो ।
मरण – एक सुखद संक्रमण
कथामा चित्रण गरिएका ‘तीन मृत्यु’मध्ये रुखको मरणलाई तोल्सतोयले सबैभन्दा सुन्दर मरण भनेका छन् । किनभने त्यो एक प्राकृतिक मृत्यु थियो र त्यसमा कुनै झूट, कुण्ठा र पश्चात्ताप थिएन । रुखले आफू मरेर अर्को रुख हुर्कनको लागि ठाउँ खाली गर्यो र मरणोपरान्त दिवंगत गाडीवानको स्मृतिको प्रतीक बनेर स्वयम् खडा भयो । जिउँदो हुँदा उसका कुनै लोभ र आकांक्षा थिएनन् भने मरेपछि पनि ऊ उपयोगी रही नै रह्यो । रुखलाई न मृत्युको प्रतीक्षा थियो न मरिएला भन्ने त्रास नै थियो, उसको लागि मरण अन्त्य थिएन एक रुपबाट अर्को रुपमा संक्रमण थियो । यसै चिन्तनलाई तोल्सतोयले जीवनको अन्त्यतिर आइपुग्दा डायरीको एक पानामा लेखेका थिए, ‘अब समय नजिकै आएको महसुस गर्न थालेको छु, तर मृत्युको होइन, मृत्यु त एक अपभ्रंस भएको र कुनै त्रासदीसँग जोडिएको शब्द हो । एक असल र महत्वपूर्ण संक्रमणको नजिक, यो संक्रमण र यसको निकटताले मलाई आनन्दित बनाउँछ ।’
‘तीन मृत्यु’ कथामा तोल्सतोयले मरणको विश्लेषण इसाई धर्मदर्शनको मान्यताको आधारमा गरेका थिए । जन्मको तुलनामा मरणको मार्ग ज्यादा मुक्तिको मार्ग जस्तो लाग्दथ्यो । तर आत्माले त्यो उन्मोचन सहजै प्राप्त गर्न सक्दैन किनभने मरणको बाटो दुखद र पीडादायी हुन्छ । आफ्नै कथाको विश्लेषणमा उनले लेखेका थिए, इसाई धर्मले अभिजात महिलालाई जीवन र मृत्युको भिन्नता बताउन सकेन र बाँच्ने रहर छँदै किन मर्नुपर्छ भन्ने उसको प्रश्न अनुत्तरित रहन गयो । ‘तीन मृत्यु’पछिका रचनाहरुमा तोल्सतोय मरणका अभिप्राय खोतल्ने प्रयास गर्छन् र यसको लागि हिन्दू (खासगरी, ब्रम्हाण्ड पुराण, उपनिषद, गीता) र बौद्ध दर्शनको सहारा लिन्छन् । उनी के निष्कर्षमा आइपुग्छन् भने मरण जीवनको अपरिहार्य र अन्तिम सत्य भएकाले यसबाट त्रसित रहनुहुन्न । मृत्युबाट भयभित भएर मानिसहरु त्यसको द्वार सबैले पार गर्नुपर्छ भन्ने तथ्यलाई इन्कार गर्न चाहन्छन् । तर त्यो मृत्यु अर्कै स्वरुपको जीवनतर्फ संक्रमण हो, अर्थात संसारबाट
(तोल्सतोयले आफूमा बौद्ध दर्शनको प्रभाव जनाउन संसार शब्द रुसीमा अनुवाद नगरी संस्कृतकै ‘संसार’ लेखेका छन्) मोक्ष प्राप्त गर्ने सम्भावना हो भन्ने अर्थमा बुझ्यो भने यसले अर्कै अर्थ र दिशा प्रदान गर्दछ ।३
यसै चिन्तनलाई उनले आफ्नो सुप्रसिद्ध कृति युद्ध र शान्तिमा पनि व्यक्त गरेका छन् । युद्ध र शान्ति सन् १८१२ मा नेपोलियनले रुससँग गरेको युद्धको ऐतिहासिक पृष्ठभूमिमा केन्द्रित रहेर लेखिएको उपन्यास हो जसमा लेखकले युद्धको विभीषिका र साथसाथै रुसी जारको दरवार र पाँच घरानियाँ परिवारभित्रको सम्बन्ध, प्रेम, इष्र्या र अन्तरविरोधहरुको यथार्थवादी चित्रण गरेका छन् । तोल्सतोय आफै यस कृतिलाई उपन्यास भन्न मन पराउँदैनथे तापनि समालोचकहरुले यसलाई विश्व साहित्यकै सर्वाधिक उत्कृष्ट उपन्यास भनेर मूल्यांकन गरेको पाइन्छ । उपन्यासका कैयन खण्डहरु लेखकका विचारधारा, दर्शन र आस्थाबारे लेखिएका निबन्ध जस्ता छन् । मरणबारे पनि यस कृतिमा उनले आफ्ना पात्रहरुको मनोवाद या संवादमार्फत् प्रशस्त विचार पोखेका छन् । युद्धको विभत्स अवस्थामा घोइरेर बसेको उपन्यासको एक प्रमुख पात्र पियर बेजुखोभलाई एक कथाको सम्झना हुन्छ जसअनुसार लडाईंमा सिपाहीहरु ज्यान जाने खतराको त्रास दबाउन आफूलाई अनेकन् खेलमा व्यस्त राख्छन् । यथार्थमा पियरलाई सबै मानिस त्यसरी नै जीवनका अप्ठ्याराहरुबाट जोगिन कुनै न कुनै धन्दा – कोही आफ्नो महत्वाकांक्षा सिद्ध गर्ने, कोही जुवा खेल्ने, कोही नियम कानुन बनाउने, कोही महिलाहरुसँग विलास गर्ने, कोही राजनीति त कोही मदिरा सेवन आदि इत्यादिमा व्यस्त हुन्छन् जस्तो लाग्थ्यो । आफ्नो पात्रका भावना निचोरेर तोल्सतोय लेख्छन्, ‘जबसम्म मानिसलाई मृत्युको त्रासले सताउँछ उसले केही पनि जित्न सक्दैन । जसको मनमा त्रास हुँदैन त्यसले सबै कुरा जित्छ।’४ बेजुखोभ मृत्युअगावै पनि जीवनमा आएका अनेकन पीडादायी क्षणबाट विचलित हुन चाहन्नथ्यो । उसको विश्वास थियो, दु:खको अनुभूतिबिना मानिसलाई आफ्ना सीमाको ज्ञान हुँदैन र त्यो ज्ञानबिना ऊ आफैलाई चिन्न सक्दैन ।
मृत्युको सन्त्रास जति नै भयानक भए पनि तोल्सतोयमा यो नै सबै कुराको अन्त्य होइन भन्ने विश्वास थियो । युद्ध र शान्तिमा एक प्रसङ्गमा उनले अर्को एक प्रमुख पात्र नताशा रोस्तोभाको५ वार्तालाप मार्फत गीताको सन्देश :
न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूय:
अजो नित्य: शाश्वतोऽयं पुराणोन हन्यते हन्यमाने शरीरे। ६
झण्डै जस्ताको तस्तै उतार्दछन् । किशोरावस्थाका असिम कल्पना र जीवनप्रति जाग्दै गएको उत्सुकताको सागरमा डुबेकी नताशा आफ्ना भाइ–बहिनीसँग साउती गर्दै भन्छे, ‘तिमीहरुलाई थाहा छ, कहिलेकाहिँ म निकै सोंच्न थाल्छु, सोच्दासोच्दा विगतको गहिराइमा डुबेर पूर्वजन्ममा के थिएँ भन्नेसम्म पुग्छु । आखिर आत्मा त अमर हुन्छ भन्छन्, यसको अर्थ म पनि सधैं रहने छु, पहिला पनि थिएँ, अनन्त कालदेखिनै थिएँ ।’७
तोल्सतोयले इसाई, हिन्दू र बौद्ध दर्शनका मान्यताहरु विभिन्न प्रकरण र सन्दर्भमा पृथक–पृथक् ढंगले प्रयोग गरेकाले कतिपय विषयमा एकरुपताको अभाव देखिन सक्छ । उदाहरणको लागि बौद्ध दर्शनको एक प्रमुख मान्यता अनित्य हो जुन अमरभन्दा बिल्कुल भिन्न हो । दुबै दर्शनले पुनर्जन्मलाई माने पनि बौद्ध दर्शनको हकमा आत्मा अमर हुनाले पुनर्जन्म भएको होइन । सबै अन्य संस्कार जस्तै जीवन पनि एक दु:ख भएकाले जसरी यसको उत्पत्ति भयो त्यसरी नै यो निरुद्ध पनि हुन्छ ।
अनित्यान सर्वसंस्कारान जानीते प्रज्ञया यदा।
निर्विण्णोऽथ भवेद् दु:खादेख मायार्गो विशुद्धये।। ८
जन्म नयाँ उत्पत्ति हो यद्यपि एक जीवन निरुद्ध हुनासाथ अर्को जीवनको उत्पत्ति तत्काल भइहाल्छ या केही समयान्तर हुन्छ भन्ने विषयमा बौद्ध साहित्यमा भिन्नभिन्न व्याख्या गरिएको पाइन्छ । तोल्सतोयले पनि जीवनान्तरको यस भावनालाई आफ्नो कृतिमा अनुसरण गरेका छन् । युद्ध र शान्तिमा वर्णन गरिएको एक प्रसङ्गमा त्यसका एक चर्चित पात्र आन्द्रेई बाल्कोन्स्की आफू मरेको सपना देख्छन् । नताशालाई सपना सुनाउँदै भन्छन्, ‘हो, त्यो मेरो मरण थियो । मरण देखेंर म बिउँझे । मरण – जागृतिरहेछ ।’ बाल्कोन्स्कीको अनुभवको चित्रण गर्दै तोल्सतोय लेख्छन्, ‘एकाएक उसको आत्मामा उज्यालो छायो र अन्तर्मनको चक्षुलाई ढाकिरहेको अज्ञानताको पर्दा हट्यो । त्यसै दिनदेखि राजकुमार बाल्कोन्स्कीको निद्राको सट्टा जीवनबाट जागृत हुने क्रम सुरु भयो ।’ घटनाको यस्तो चित्रणद्वारा तोल्सतोय स्पष्ट रुपमा बोल्कोन्स्कीको पुरानो जन्म निरुद्ध भएर नयाँ जीवनको उत्पत्ति भएको देखाउन चाहन्थे । मरणपछि प्राप्त हुने परमानन्दको अभिलाषालाई लक्ष्य गर्दै तोल्सतोयले लेखेका छन् – यदि त्यसको ज्ञान पहिल्यै सम्भव भए कोही पनि मृत्युसँग डराउँदैन थियो होला । मानिस डराउने मृत्युसँग भन्दा त्यसको अनिश्चिततासँग हो ।
जीवनको सिद्धतालाई तोल्सतोय सापेक्षताको आधारमा बुझ्दथे । मानिस सर्वसिद्ध या पूर्ण निष्पाप बन्न सक्दैन, ऊ त्यसको नजिक मात्र पुग्न सक्छ । ऊ कतातिर नजिकिन्छ त्यसैमा उसको जीवनको अर्थ छ । सर्वसिद्धताको उचाईमा निकै माथि पुग्ने मानिसको क्षमता भए पनि ऊ सम्पूर्ण जीवन निष्पाप रहन सक्दैन । किनभने आफ्नो मुक्तिमार्गमा अवरोधहरु ऊ स्वयम् खडा गर्दछ । त्यसैले मरणले दिन सक्ने अन्तिम मुक्ति र सुखद संक्रमणको सुन्दर चित्र प्रस्तुत गरे पनि तोल्सतोय यो नै एक मात्र सत्य र सर्वव्यापी स्वरुप हो भन्ने ठान्दैनथे । मरण अत्यन्त कष्टपूर्ण, व्याकुल र अशान्त पनि हुन सक्छ जहाँ पीडितको चीत्कारले उसका निकटजनहरुको सहानुभूतिको सट्टा अपहेलना पनि निम्त्याउन सक्छ । परिवारमा लामो समयसम्म कोही विरामी लडिरहेको अवस्थाले अन्य सदस्यहरुको नियमित जीवनक्रम अवरुद्ध हुन्छ र त्यसले उनीहरुको धैर्यको बाँध टुटाइदिन्छ । विश्व साहित्यकै एक सर्वोत्कृष्ट कृति मानिएको लघुउपन्यास इभान इल्यीचको मृत्युमा तोल्सतोयले मरणको यस्तै पाटोको चित्रण गरेका छन् । यस रचनाका प्रमुख पात्र इभान इल्यीच एक उच्च अदालतका सम्मानित न्यायाधीश थिए, जसलाई निको नहुने रोग लागेको थियो र उनी मृत्यु शैयामा लडेर असह्य वेदना, अपमान, उपेक्षा र एक्लोपनको सामना गरिरहेका थिए । आफ्नो पात्रको कठोर अनुभूतिको वर्णन गर्दै तोल्सतोयले लेखेका छन्, ‘जीवन बल्झिदै गएको पीडाको श्रृंखला रहेछ जुन तीव्र गतिमा अझ भयानक दु:खान्ततर्फ उडिरहेको हुन्छ ।’९ इभान इल्यीचसँग एक सुखी जीवनका तत्वहरु घर, परिवार, राम्रो जागिर, सामजिक प्रतिष्ठा, आफन्त र मित्रजन सबै मौजुद थिए । तर जब एक दिन उनले मरणको अपरिहार्यता बोध गर्दछन् आफूले सिर्जना गरेका सम्पूर्ण सुख सुविधादेखि लिएर परिवारजन, इष्टमित्र उपचारमा संलग्न चिकित्सकहरु समेत झुट्टा लाग्दछन् ।
यस कृतिमा तोल्सतोयले मरणको मात्र होइन व्यक्ति विशेषको मरणपूर्व र तत्पश्चात समाजमा प्रकट हुने कटुता र अन्तरविरोधहरुको पनि चिरफार गरेका छन् । अनुकूल अवसरको लागि यसका पात्रहरु आफ्ना मूल्य र मान्यता गुमाएर लोभ, स्वार्थ र कपटको सहारा लिन तयार हुन्छन् । कथामा सर्वप्रथम इभान इल्यीचको मृत्युको खबर उनका निकटतम मित्र र सहकर्मीहरुले समेत अखवारमा प्रकाशित समाचारबाट पाएका हुन्छन् । अर्थात महिनौंदेखि रोगाएर लडेका इभान इल्यीचलाई एकपटक भेट्न जाने फुर्सद कसैलाई थिएन र कसैले त्यो आवश्यकता महसुस गरेको पनि थिएन । मृत्युको खबर आउनासाथ उनीहरु मृतकप्रति सहानुभूति देखाउनुमाभन्दा न्यायाधीशको रिक्त स्थान कसले पाउँछ भन्ने चर्चामा ज्यादा व्यस्त हुन्छन् । अन्य सहकर्मीहरु मन नलागी–नलागी सिर्फ औपचारिकताको लागि भए पनि अन्त्येष्टीमा जानैपर्छ र भन्नेसम्म सोंच्छन् । मृत्युपश्चात तत्काल भेट्न गएका सबैभन्दा निकट मानिएका सहकर्मी प्योतर इभानोभीच पनि इभान इल्यीचले भोगेका दु:ख–कष्टवापत सहानुभूति जनाउनुभन्दा उनकी श्रीमती प्रास्कोभ्या फ्योदोरोभ्नाले रोगी पतिको स्याहारसुसारको झंझटबाट मुक्ति पाएकोमा सन्तोष व्यक्त गर्नु श्रेयस्कर ठान्दछन् । तोल्सतोयले इभान इल्यीचकी पत्नीको तर्फबाट समेत शोकभन्दा पनि लालचा प्रकट भएको देखाएका छन् । प्योतर इभानोभीचसँग कुरा गर्दा उनले मृतकको कार्यालयबाट प्राप्त हुनसक्ने नगद रकमको विषयलाई मुख्य प्राथमिकताका साथ उठाउँछिन् । बाँचेकाहरुको मनोविज्ञान चित्रण गर्दै तोल्सतोयले लेखेका छन् – इभान इल्यीचको मृत्युको खबर पाएका उनका हरेक सहकर्मीको मनमा आएको पहिलो कुरो थियो ’मरेको त ऊ हो, म होइन ।’ प्योतर इभानोभीचले समेत इभान इल्यीचको बारेमा यसरी सोधे मानौं मरण भनेको फगत इभान इल्यीचलाई आइपर्ने कुरा हो, उनको जीवनसँग यसको कुनै सम्बन्ध छैन ।
मरणोपरान्त त्यतिका मानिस चर्चामा आएका भए पनि बिछ्यौनामा पर्दा इभान इल्यीच प्राय एक्लै थिए । उपचार गर्न आएका चिकित्सकहरु नानाथरिका परीक्षण गर्थे, परिवारजनहरु यसो गर्नू र त्यसो गर्नू भन्ने सल्लाहका भारी बोकाउँथे तर उनलाई बाँच्छु या मर्छु भन्ने कुराको मात्र चिन्ता थियो र उनको त्यस उत्सुकता मेटाइदिने कोही थिएन । इभान इल्यीचकी पत्नी सारा दु:ख र पीडाका दोष पतिमाथि नै लगाउँथिन् र यसैकारण उनीहरुको सम्बन्ध परस्पर घृणामा परिवर्तन हुँदैथ्यो । उनको एक मात्र सहारा गेरासिम नाम गरेको नौजवान नोकर थियो । गेरासिमले स्याहार–सुसार मात्र गर्दैनथ्यो, इभान इल्यीचको दृष्टिमा ऊ सहानुभूति, करुणा र इमानजस्ता मानवीय गुणले सम्पन्न थियो । इभान इल्यीचको स्वास्थ्य स्थितिबारे सबैले झुटो आश्वासन बाँडिरहेको बेला गेरासिमले एक दिन स्पष्ट भन्यो, ‘हामी सबै मर्नेछौं ।’ त्यसको केही दिनपछि एकरात गेरासिमको अनिदो, दयालु र चौडाअनुहार हेरेर इभान इल्यीचले आफ्नो जीवनको सिंहावलोकन गरे र के निष्कर्षमा पुगे भने उनले जिएको जीवन जे हुनुपर्ने हो त्यो थिएन । घर, परिवार, जागिर, समाज ज–जसको पक्षमा लागेर उनले जीवन दिएका थिए त्यो यथार्थमा सोंचे जस्तो थिएन । त्यो सबै निरर्थक भयो । इभान इल्यीचले आफूलाई प्राप्त जीवनको सदुपयोग गर्न नसकेको कुराको त्यसै क्षणमा बोध गरेर जीवनबाट बिदा हुने अठोट गरे ।
इभान इल्यीचको त्रासदीपूर्ण जीवनको उदाहरण दिएर तोल्सतोयले आफ्नो कथामा बौद्ध दर्शनकै आधारमा के देखाएका छन् भने जीवन एक दु:ख हो तर यो अनित्य भएकाले मानिस अन्त्यमा यसबाट मुक्त हुन्छ । पार्थिव जीवनको आयु हाम्रो बन्धनमा छैन, यो क्षणिक छ र कुनै पनि बेला यस जीवनको अन्त्य हुन सक्छ । तर हामी सधैं यो तथ्यलाई बिर्सिरहेका हुन्छौं र यो विस्मृतिले जति अरु केहीले पनि हाम्रो जीवनलाई विकृत गर्दैन । जब इभान इल्यीच आफ्नो मरणको अपरिहार्यताको बोध गर्छन्, अकस्मात उनमाथि नियन्त्रण जमाएर बसेको रोग, पीडा र वेदना चारैतर्फबाट, दसै दिशाबाट, जताततैबाट हटेर जान्छ । इभान इल्यीच विस्मयमा परेर प्रश्न गर्छन्, ‘खै त्यो पीडा ? छैन, हट्यो । खै मृत्यु, छैन ?’ न त्रास थियो, न पीडा । अन्त्यमा मृत्युको स्थानमा एक ज्योती देखिन्छ र इभान इल्यीच मनमनै भन्छन्, ‘अहा, कति आनन्द !’१० तोल्सतोय अन्तत: मरणलाई त्रासदीबाट मुक्ति र अन्धकारबाट नवज्योती तर्फको संक्रमण हो भन्ने निष्कर्षमा पुगेका थिए । यही विचारलाई पछ्याउँदै विख्यात बंगाली कवि रविन्द्रनाथ ठाकुरले मरणले बत्ती निभेको होइन प्रभातको आगमन भएको जनाउँदछ भनेका थिए भने महाकवि देवकोटाले पनि मरणलाई नवज्योतिकै रुपमा उल्लेख गरेर लेखेका थिए:
बादल मिल्यो, सधैंका निम्ति मदन निदाए,
भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए ।‘११
मरण – जीवनको विकल्प
तोल्सतोयले आफ्नो आस्था र दर्शनको झलक दिने एक आत्मवृत्तान्त प्रकाशित गरेका थिए जसमा लेखेका थिए, ‘जिउन तबसम्म मात्र सम्भव छ जबसम्म हामी जीवनको नशामा हुन्छौं । जब नशाले छोड्छ हामीलाई यो सब एक भ्रम रहेछ भन्ने ज्ञान हुन्छ ।’१२ विश्व साहित्यमै उत्कृष्ट मानिएको उनको अर्को चर्चित उपन्यास आन्ना कारिनिनामा लेखकले प्रेमलाई जीवनको त्यस्तै एक नशाको रुपमा प्रस्तुत गरेका छन् जसले उपन्यासको प्रमुख पात्र आन्ना कारिनिनालाई लठ्याएर प्रचलित सामाजिक मर्यादाबाट विमुख गरेको हुन्छ । जब आन्नालाई प्रेम एक भ्रम रहेछ भन्ने ज्ञान हुन्छ, तब मरणले मात्र उसलाई विकल्प प्रदान गर्छ । यस उपन्यासको प्रारम्भमै तोल्सतोयले बाइबलबाट ईसाको एक सन्देश उद्धृत गरेका छन् जसको अर्थ हुन्छ ’अनिष्टको बदला आफैं लिने कुरा नसोच, हरेकले न्याय पाउनेछ ।’ उपन्यासमा घटनाक्रम विकास हुँदै जाँदा उनले त्यसका पात्रहरु बीच उत्पन्न अन्तरविरोध, मनमुटाव र बदलाको स्थितिको चित्रण गरेर आफ्नो सन्देशको सार्थकता प्रमाणित गर्दछन् । तोल्सतोयले आफ्ना पात्रहरु खास गरी आन्ना स्वयमले सनातनदेखि चल्दैआएका पारिवारिक मूल्य र सामाजिक मान्यताको उल्लंघन गरेको देखाउँछन् तर उनीहरुलाई प्रत्यक्ष द्वन्द र हिंसामा उत्रन दिंदैनन् ।
आन्ना कारिनिना उच्च घरानिया परिवारसँग जोडिएकी महिला थिई जो आफ्नो वैवाहिक जीवनसँग सन्तुष्ट थिइन । उसका दाजु–भाउजूको सम्बन्ध पनि संकटमा परेको थियो र त्यसलाई जोगाउन मद्दत गर्ने सिलसिलामा उनीहरुको घर जाँदा संजोगवश आन्नाको भेट अलेक्सेई भ्रोन्सकीसँग भयो । भ्रोन्सकी एक सुन्दर, सम्पन्न, नौजवान सैन्य अधिकृत थियो । पहिलो भेटपछि नै उनीहरु एक अर्काप्रति आकर्षित भए । चाँडै नै भ्रोन्सकीको मनमा आन्नालाई प्राप्त गर्ने रहर यति बलियो भएर उठ्यो कि उसलाई आफ्नो सामाजिक हैसियत र सेनाको जागिरको विषय फिका लाग्न थाल्यो । आन्ना पनि भ्रोन्सकीको प्रतिवद्धता, प्रेम र सौन्दर्यप्रति आकर्षित भएर आफ्नो पति, पुत्र, आफन्त सबै त्याग्न तयार भई । तर त्यसको परिणाम सुखद निस्केन । जुन समाजमा आन्ना हुर्केकी थिई त्यसले उसको प्रेम र त्यागको सम्मान गर्न चाहेन । उल्टो आन्नाले परम्परागत मूल्य र मान्यताहरुको अवमुल्यन गरेको ठानेर निकटका इष्टमित्र सबै उसबाट टाढिन थाले । फलस्वरुप उसको मान, सम्मान, इमान र निष्ठा क्षतविक्षत भयो । तोल्सतोयको सन्देश थियो प्रेमको लागि केही त्याग आवश्यक भए पनि मानिसले आत्मसम्मान र विवेकलाई एक निश्चित सिमाभन्दा तल गिर्न दिनु हुँदैन । आन्ना र भ्रोन्स्की दुबैले आखिरमा के महसुस गरे भने उनीहरुको सम्बन्धको आधार एक आकस्मिक आकर्षण मात्र रहेछ र यसबाट जीवनमा प्राप्त गर्ने भन्दा गुमाउने कुरा धेरै रहेछ ।
उपन्यासको अन्त्यतिर जब आन्नाले के उसले जीवनमा अझै पनि सुखको अनुभूति गर्न सक्ली भन्ने प्रश्नको उत्तर पाउँदिन, जब भ्रोन्स्कीप्रतिको गहिरो प्रेम असिम घृणामा परिणत भएको महसुस गरेर उसको मन अपार सन्देहले छटपटिरहन्छ, उसलाई जीवन एक भ्रम रहेछ भन्ने लाग्छ । जुन सहजताको साथ आन्नाले कुनै बेला प्रेमको सामना गरेकी थिई त्यही सहजताको साथ उसले मृत्युलाई पनि स्वीकारी । तोल्सतोय के देखाउन चाहन्छन् भने आफ्ना सबै कार्यको लागि पूर्ण जिम्मेवारी स्वीकार गरेर आत्महत्याको निर्णय लिनु जीवनप्रति उसको गहिरो प्रतिबद्धताको पुष्टि हो । बाँचेर गर्न सकिने केही नभएपछि आन्नाले सांसारिक जीवनबाट बिदा लिन्छे । आन्नाको जीवनको अन्त्यको क्षणलाई बौद्ध दर्शनले भनेको निर्वाणको रुपमा चित्रण गर्दै एक दियोको उपमा सहित तोल्सतोयले लेखेका छन्, ‘त्यो दियो जसको उज्यालोमा उसले वेदना, कपट, शोक र क्षुद्रताको पाठ पढिरहेकी थिई, एकैछिन निकै तेजिलो भयो, ‘अनि धिपधिप गर्दै सदाको लागि निभ्यो ।’
आन्नाको दृष्टान्त दिएर आत्महत्यालाई नै तोल्सतोयले जीवनको विकल्प मान्दथे भन्ने निष्कर्ष निकाल्नु चाहिँ गलत हुनेछ । आन्ना कारिनिनाको पहिलो हरफमा नै ‘सबै सुखी परिवार एकनासका हुन्छन् तर दु:खी परिवार आ–आफ्नै कारणले दु:खी हुन्छन्’१३ भन्ने सन्देश दिएर तोल्सतोयले उपन्यासमा दुई परिवारको कथा समावेश भएको जानकारी दिएका छन् । दुखान्तमा टुंगिएको आन्ना र भ्रोन्स्कीको साथसाथै अर्को जोडी लेभिन र किट्टीको जीवनकथा समानान्तर रुपमा बढिरहेको हुन्छ र उनीहरुको कथा आन्नाको मृत्युपश्चात पनि अघि बढ्छ । लेभिनलाई जीवन के हो भन्ने प्रश्नको अर्थ बुझ्न निकै कठिन हुन्छ । ब्रह्माण्ड पुराणमा जीवनलाई संसाररुपी महासागरमा पानीको फोकासँग तुलना गरिएको प्रसंगलाई उतार्दै तोल्सतोय उसको अवस्थाको चित्रण गर्छन् र लेख्छन्, ‘यो विशाल संसारमा ऊ आफूलाई एक्लो महसुस गर्छ र सोंच्छ, यो अनन्तकालमा, यो अनन्त जगतमा प्रकट भएको म एक फोका, जुन भरिन्छ र फुट्छ । म त्यही फोका हुँ ।’१४ अन्तरमनमा परेको संकटले उसलाई आत्महत्यातर्फ प्रेरित गर्दछ र लेभिन निष्कर्ष निकाल्छ, यदि आफ्नै जीवनको प्रयोजनबारे ज्ञान छैन भने बाँच्नु बेकार छ । उसको मनमा पटकपटक आत्महत्याको विचार आउँछ र आफैंबाट जोगिन शिकार खेल्न जान मान्दैन र आवेशमा झुण्डिन नपरोस् भनेर डोरीहरु लुकाउँदछ ।
तर तोल्सतोय लेभिनको जीवन पनि आन्नाको जसरी नै टुंग्याउन चाहँदैनन् र उसको अन्तरमनमा परेको संकट मोचनको लागि आध्यात्मिक उपाय पत्ता लगाउँछन् । एउटा घमाइलो दिन थियो । लेभिन गाउँका किसान फ्योदरसँग जग्गाको विषयमा कुरा गर्दै थियो । गाउँलेहरुबारे कुरा झिक्दै फ्योदरले भन्यो, ‘मानिसहरु थरीथरीका हुन्छन्, कोही केवल आफ्नो आवश्यकताका लागि बाँचिरहेका छन्, पेट भर्न पाए पुग्छ । तर हेर्नोस् त फोकानिच काकालाई, ती बुढा सत्यवादी छन्, आत्माको शान्तिको लागि बाँचिरहेका छन् । ईश्वरलाई सम्झन्छन् ।’ फोकानिच आत्माको लागि, सत्यको लागि, ईश्वरको लागि बाँचिरहेका छन् भन्ने सुन्दा लेभिनलाई धेरै अस्पष्ट विचारहरुको भीडबाट फुत्केर एक दिव्य सन्देश निस्के जस्तो लाग्यो जसको ज्योतिले उसका आँखै तिर्मिर्याई दियो । उसलाई आफूले कुनै चमत्कार खोजिरहेको र त्यो प्राप्त भएको अनुभूति भयो ‘के मैले आफ्ना चिन्ता र कष्टको समाधान पाएँ ?’– लेभिनले मनमनै आफैंलाई सोध्यो र आफूलाई प्राप्त भएको यो सुखको क्षणप्रति विश्वास गर्न नसकेर गहभरिको आँसु पुछ्दै भन्यो, ‘हे ईश्वर आभारी भएँ ।’ लेभिनलाई आफ्ना निहित स्वार्थको लागि मात्र जिउनुपर्छ भन्ने छैन, मानिस सद्विचार, परमात्मा र ईश्वरको लागि निष्पाप र निस्वार्थ जीवन जिउन सक्छ । यसरी जीवन र मरणलाई तोल्सतोय एक अर्काको विकल्पको रुपमा पेश गर्दछन् र ज्ञानको शक्तिले जीवनको विकल्पलाई सार्थक र सम्भव बनाउन सकिन्छ भन्ने देखाउँछन् । जीवनको विकल्प रोजेको लेभिनले अन्त्यमा भन्छ, ‘अब मेरो जीवन, सम्पूर्ण जीवन, जुनसुकै क्षणमा जेसुकै भए पनि पहिला जस्तो निरर्थक रहने छैन र यसलाई मंगलमय बनाउन म शक्तिसम्पन्न छु ।’ (इति भाग १; क्रमश: यस आलेखको दोस्रो भाग अर्को अङ्कमा प्रकाशित गरिनेछ ।)
पाद टिप्पणी :
१ श्रीमद्भगवद्गीता (२, २७)
२ तोल्सतोय, संकलित रचनाहरु, रुसी संस्करण ग्रन्थ ८४
३ दिमित्री बुर्बा: रुसी हिन्दू दर्शनको दर्पण – अज्ञात लेभ तोल्सतोय, मास्को २००६
४ तोल्सतोय; युद्ध र शान्ति (रुसी संस्करण), ग्रन्थ ३, भाग ९
५ लेखकबाट : नताशा रुसी नाम नताल्याकै प्रचलित स्नेहवाचक रुप हो ।
६ श्रीमद्भगवद्गीता (२, २०)
७ तोल्सतोय; युद्ध र शान्ति (रुसी संस्करण), ग्रन्थ २, भाग ४
८ धम्मपद; गाथा २७७
९ तोल्सतोय, इभान इल्यीचको मृत्यु, रुसी संस्करण, अध्याय १०
१० लेभ तोल्सतोय, इभान इल्यीचको मृत्यु (रुसी संस्करण), अध्याय १२
११ लक्ष्मीप्रसाद देवकोटा – मुना मदन
१२ लेभ तोल्सतोय – प्रायश्चित्त, अध्याय ४
१३ लेभ तोल्सतोय, आन्ना कारिनिना, रुसी संस्करण, ग्रन्थ १
१४ लेभ तोल्सतोय, आन्ना कारिनिना, रुसी संस्करण, ग्रन्थ १