नेपाली साहित्यको कविता क्षेत्रमा सुन्दर र सरल भाषामा, राम्रो र मिठो शैलीमा अनि निर्भिक र स्पष्टका साथ कविता अभिव्यक्त गर्ने विशिष्ट कविको नाम हो – तुलसी दिवस
नेपाली साहित्यको भाषालाई लोक भाषा संग सम्बन्ध गराउन र लोक संस्कृति लाई आम जन जीबन संग सम्बन्ध गराउनको लागि अथक र निरन्तर प्रयासरत रहने लोक सांस्कृतिक यात्रीको नाम हो – तुलसी दिवस
तुलसी दिवस (तुलसीप्रसाद जोशी) साहित्यकार तथा संस्कृतिविद् हुन् । दिवस सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्ने व्यक्ति हुन् । तुलसी दिवसको जन्म सन् १९४१ जुलाईमा धनकुटामा महाप्रसाद जोशी र चण्डिकादेवी जोशीको जेठो छोराको रूपमा भएको हो ।
कवितालाई अभिव्यक्तिको माध्यमद्वारा पनि बुझाउन सकिन्छ भन्ने तुलसी दिवस कवितालाई सुन्दर र सरल भाषामा, राम्रो र मिठो शैलीमा साथै कवितात्मक हाउभाउका साथ स्पष्टरूपमा अभिव्यक्त गर्ने विशिष्ट खुबी भएका कवि हुन् । गीत, संगीत, नृत्य, नाटक, चित्रकला, साहित्य, संस्कृति, आदि विविध भए पनि आधुनिक नेपाली कविताको क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल कवि तुलसी दिवसले लोकवार्ता, लोकसंस्कृति, लोकसाहित्य, लोकनाटक, लोकनाच, लोकगीतको अध्ययन–अध्यापन खोजअनुसन्धानको क्षेत्रमा विषयगत अवधारणात्मक स्पष्टताले नेतृत्वदायी भूमिका निभाउन सक्षम छन् ।
प्रथम राष्ट्रव्यापी साहित्यिक सम्मेलनमा गद्य कवितातर्फ प्रथम (२०१८), संगीत सम्मेलनमा लोकगीततर्फ प्रथम (२०१९), कवितामा एकेडेमी पदक (२०२०), अधिराज्यव्यापी नृत्य प्रतियोगितामा प्रथम (२०२२), लोकसाहित्य पुरस्कार (२०२९), सुप्रवल गोरखा दक्षिण बाहु (२०३९), दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार (१९९१) दिल्ली, प्रसिद्ध अन्तर्राष्ट्रिय कवि सम्मान (१९८९) मद्रास, विश्व नागरी सम्मान (१९९९) दिल्ली, राष्ट्रिय प्रतिभा पुरस्कार (२००२) आदि राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका सम्मानका धनी प्राध्यापक दिवस आधुनिक विशिष्ट कवि हुन् र यिनी लोकवार्ता र लोकसंस्कृतिका विशिष्ट प्रतिभा हुन् ।
तुलसी दिवसले नेपाली साहित्यमा गीत, कविता, कथा लेखेका छन्। त्यसैगरी संस्कृति र लोक संगीत विषयमा दर्जनजति पुस्तक लेखेका छन्। यिनले सङ्कलन गरेका कान्छी मट्याङ्ट्याङ लगायतका लोक गीतहरू एक समय निकै चर्चित थिए।
१. हृदयको बालक
समयको गोरो अनुहारमा
रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ,
आकाशको नीलो ढक्कीमा
जब फूल उठेका ताराहरु सजिन्छन्
मेरा थाकेका इन्द्रियहरु
आफूलाई हराउँछन् –
हराएको तेज खोजेर;तर मेरो हृदयमा सुँकसुँकाउँदै
निदाएको बालक बिम्झन्छ-
एक्लो एकलकाँटे सिरेटोले छोएर ।
बगरको ढुङ्गा झैँ
चिसो भुइँमा नाङ्गै
आफूलाई लडाएको पाएर एक्लै
उसको हात-खुट्टा अनुहार
अङ्ग-प्रत्यङ्ग बोल्छ-
म चिसो हिउँ भइसकेँ
म नीलो यूँ भइसकेँ
मलाई मुटुको मकलमा सेकाएको हातले
मायाको चिल्लो लाइदेऊ !
कलङ्कको कालो टीका मेट्न
टुकुचाको पुलमा अफालिएको बालकको झैँ
मेरो पनि नाभि काटिएको छैन,
कसैको पनि म हुन सक्छु
ए, स्वर्ग जानबाट बञ्चित अपुता हो !
म ति म्रै छोरा हु – बाँच्न जन्मेको मान्छे ।
मलाई स्नेहको थाङनामा बेरेर
मेरो निराशाको सर्दी हुर्काइदेऊ !
मलाई आनन्दको छाया होइन
जीवनको माया देऊ !
जानी-नजानी सकी-नसकी
अनायासै उसको आवाज फुट् छ – “मा !”
आँसु अनि अरस्तू भएर बोल्छ-
मानिस सामाजिक प्राणी हो
मलाई समाज चाहिन्छ ।
आत्मामा आकाश-वाणी हुन्छ –
हृदयको अँध्यारो मेट्न
हृदयकै उज्यालो चाहिन्छ ।
२. एउटा युद्धको तयारी
आऊ, विचारहरू केवल कागतमा नवस आऊ !
आऊ, योजनाहरू केवल टेवलमा नवस आऊ !!
आऊ, दर्शनहरू केवल दराजमा नबस आऊ !!!
आऊ, भावहरू केवल पुस्तकमा नवस आऊ !!!!
काख पसारेर पलेंटी कसी बसेका
सुत्केरी तराईहरू तयार छन्,
तराईकै फराकिला काखमा घुँडा धसेर
उभिएका बाल-युवा पहाडहरू तयार छन्,
पहाडकै कम टेकेर उक्ली अग्लिएका
बूढा हिमालहरू तयार छन्,
हामी सबै तयार छौं,
हाम्रा सम्पूर्ण तयारीहरू तयार छन् ।
ओर्ल, हुल बाँधेर ओर्ल, अग्लाइवाट अबै ओर्ल,
मस्तिष्कबाट अलिकति तल ओठसम्म ओर्ल,
श्रोता भएर हामी कान र आँखाहरू दिन तयार छौं ।
ओर्ल, हामफालेर छहराहरू पहराबाट भाषण ओर्ल,
ओठवाट अलिकति तल पाखुरासम्म ओर्ल,
कर्म भएर हामी हात-पाखुरा दिन तयार छौं ।
ओर्ल, कुदेर कोसी र गण्डकीहरू पहाडबाट कर्म ओर्ल,
हातबाट अलिकति तल पाउसम्म ओर्ल,
गति भएर हामी पाउ दिन तयार छौं ।
बग, गतिहरू मेची-काली बग, गन्तव्यसम्म बग,
शक्ति भएर हामी पसीनाको जलशक्ति दिन तयार छौँ ।
तयारी-तयारीहरूको हूलमा ऐले हामी यति तयार छौँ
कि युद्धका सम्पूर्ण तयारीहरूलाई
हाँक दिएर भन्न सक्छौं—
हामीले तयारी मात्र होइन
स्वयं युद्धकै घोषणा गरिसकेका छौं ।
हो अहिले हाम्रा कुनै शत्रु छैनन्
हामीबाहिर- अन्य भूमिमा
र हाम्रा शत्रुहरू ट्रेन्च खनेर बसिरहेछन्-हामीभित्रै
अलिकति हाम्रो अज्ञानतामा,
अलिकति हामो अशिक्षामा ।
हो अहिले हाम्रा कुनै शत्रु छैनन्
हामीबाहिर- अन्य सीमामा
र हाम्रा शत्र पाल टाँगेर बसिरहेछन्-हामीभित्रै
अलिकति हाम्रो अकर्मण्यतामा,
अलिकति हाम्रो आलस्यमा !
हो अहिले हाम्रा कुनै शत्रु छैनन्
हामीवाहिर- अन्य किल्लामा
र हाम्रा शत्रुहरू देवाली मनाएर बसिरहेछन्-हामीभित्रै—
अलिकति हाम्रो अभावमा, अलिकति हाम्रो पछौटेपनमा !
त्यसैले एक होइन, ऐले हामी अनेक युद्धहरू लडिरहेछौं
एउटा युद्ध- अशिक्षा र अज्ञानको विरुद्ध,
एउटा युद्ध- अकर्मण्यता र आलस्यको विरुद्ध,
एउटा युद्ध- अभाव र बेरोजगारीको विरुद्ध,
एउटा युद्ध- अशान्ति र असन्तुलनको विरुद्ध,
यस्तै यस्तै युद्धहरूबीच हामी लडिरहेछौं
अर्को फेरि एउटा युद्ध-खुदै युद्धको विरुद्ध !
आऊ, विचारहरू केवल कागतमा नवस आऊ !
आऊ, योजनाहरू केवल टेबलमा नवस आऊ !!
आऊ, दर्शनहरू केवल दराजमा नवस आऊ !!!
आऊ, भावहरू केवल पस्तकमा नवस आऊ!!!!
३. रूख : एक मानस–चित्र
जहाँ पनि र
जब पनि हामी
भुइँमा लडेको रूखको मुढामा
साना–ठूला सूक्ष्म गोल आकृतिहरू देख्छौँ,
निश्चय नै हामीले बुझे हुन्छ—
गहिरिएको खोँच र बगेको पहिरोबीच
पहाडको ढाडमा एक्लै उभिएको
त्यो बूढो रूखले
आफ्नो जीवनकालमा पटक–पटक
पहाडजत्रै अनन्त पीडाको भारी बोकेको थियो।
रूखसँग पनि आफ्नो मन र संवेदना हुन्छ
र ती आफ्ना जीवनका साना–ठूला घटना
तथा तिनबाट उम्रेर भित्र–बाहिर गर्ने
नितान्त निजी मनोभाव र अनुभूतिलाई
एक–एक गरी
मनको त्यही विस्तारित पोखरीमा उठ्ने
संवेदनाका प्रकम्पित मौन लहरले
अद्र्धवृत्त र पूर्णवृत्त काला–नीला बुट्टाहरूमा
रचनात्मक अभिलेख सूक्ष्म रूपले राख्ने गर्दछन्।
तर तिनलाई प्रकृति आफैले बनाएको
अनुपम कलाकृति ठानेर हामी पुलकित हुन्छौँ,
यथार्थमा ती रूख आफैले लिपिबद्ध गरेका
अनेक शाखाका परिच्छेदहरूमा आबद्ध
तिनका आत्मवृत्तान्तहरूले भरिएका आफ्नै आत्मजीवनी हुन्।
तर रूखको भाषा र लिपि भएको
वर्णमालाको त्यो पहिलो पुस्तक भने
धेरै पहिले जङ्गल छाडेर सहर निस्केपछि
एकाएक हामी आफैलेगुफामा बिर्सिआएका छौँ।
त्यसैले रूखहरू अहिले
समूह–समूहमा
हाम्रो मनको घना जङ्गलबाट
क्रमशः एक–एक गरी बाहिर निस्केर
भुइँमा मुढो भ ईयत्रतत्र लडिरहेछन्।
आह । तिनीहरू नढली जमिनमा
तिनको जीवनी पढ्न हामी असमर्थ छौँ
र लगातार असमर्थ भइरहेछौँ।