ऊ ढुङ्गा बोक्छ
गिट्टी कुट्छ
सबैले बुझ्ने गरी बोल्छ
गजक्क पर्दैन
ठुलो मान्छे हुँदैन
करोड पर्ने गाडी चढ्दैन
टेम्पु चढ्छ
जनताको काम गर्छ
काकाकुल नगरवासीलाई पानी खुवाउँछ
गरिब र अशिक्षितलाई हेप्दैन
माया गर्छ
गितार बजाउँछ
गीत गाउँछ
कहिलेकाहीँ कविता पनि लेख्छ
मातेर हिँड्दैन
नालीमा मुख गाड्दैन
झूटो आश्वासन दिँदैन
कुनै पार्टीको पछाडि लाग्दैन
नेताहरूको खुट्टा ढोग्दैन
नेताका स्वास्नीहरूलाई ब्रिफकेस बुझाउँदैन
एक्लै दौडिन्छ
महान् भन्नेहरूलाई पछार्छ
अत्यधिक मतले जित्छ
किनकि ऊ बहुला हो ।