अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको चौथो स्मृति दिवसका दिन माघ २६ गते पाँचथरको फिदिममा एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्न लागेको हो। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार प्रतिष्ठानले हरेक वर्ष अग्रज साहित्यकारलाई प्रदान गर्दै आएको छ। यस वर्षको अमर नेम्बाङ स्मृति पुरस्कार साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझालाई दिइने भएको छ।
यो पुरस्कार गत वर्ष शारदा सुब्बा र बिना थिङलाई प्रदान गरिएको थियो। यस्तै, २०७७ सालमा डा. गोविन्दराज भट्टराई र वीर नेम्बाङ तथा २०७६ सालमा डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई प्रदान गरिएको थियो। सो अवसरमा आगलागी पहिरो पीडितलाई राहत वितरण र गरिब तथा जेहेनदार छात्रवृत्तिसमेत वितरण गर्ने प्रतिष्ठानले जनाएको छ। पर्यावरणीय लेखनका अभियन्ता नेम्बाङको गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा २०७५ माघ २६ गते निधन भएको थियो।