हास्यव्यङ्ग्य प्रस्तुत गर्दा समसामयिक विषयलाई प्राथमिकता दिन खोज्ने प्रकृतिलाई प्रशंसनीय नै मान्नुपर्छ । पुरानै कुरा झिकेर हँसाउने वा छेडपेच हान्न खोजे पनि सकभर नयाँ अवस्थालाई समेत सुहाउने किसिमबाट त्यसो गर्न खोज्नु बढी बेस हुन्छ । तर व्यङ्ग्यको झटारोले हिर्काउँदा कुन कुनामा कसलाई कतिसम्म दुख्ने गरी किन हान्नुपरेको हो भन्ने बारे चाहिँ पुरापुर प्रस्ट रहनुपर्छ । हिर्काउन पाइयो भन्दैमा जसलाई पनि, जुनसुकै विषयमा पनि, जति सारोसँग लाग्ने भए पनि हिर्काएको हिर्कायै गर्ने हो भने त सफल व्यङ्ग्यकार भन्ने पगरी गुत्न कहाँ पाइएला र ?
साहित्यको अरू रसमा जस्तै हास्य रसका रचनाहरूमा पनि स्तरीयता खोज्नु सराहनीय नै कुरा हो । तर स्तरीयताको माग गर्दा केवल उच्चस्तरका सिर्जनाहरु खोज्ने हो भने हास्य रसको पोखरीमा पौडेर रमाउन चाहने धेरै ठुलो सङ्ख्यालाई चाहिँ भुसुक्कै बिर्सन पुगेको पत्तै पाइँदैन । हास्यव्यङ्ग्य मन पराउनेहरूमध्ये उच्च, मध्यम र निम्न गरी मोटामोटी रूपबाट तीनै तहका पाठक, श्रोता तथा दर्शकहरू पर्ने भएकाले नै हामीले ती सबैको स्तरलाई सुहाउने किसिमका थरथरीका रचनाहरू रच्न खोज्नुपर्ला कि नपर्ला ?
एक थरी भाषामा पाइने हास्यव्यङ्ग्यका कृतिलाई अर्को थरी भाषामा समेत दिने कोसिस पनि हामीले किन नगर्ने ? यसो गरेको खण्डमा एउटै भाषाको माध्यमबाट समेत अनेक थरी भाषाको साहित्यमा भएका हास्यव्यङ्ग्यहरूको स्वाद चाख्न पाइने परिस्थिति पनि त तयार हुँदै जान पाउला नि !
हास्यव्यङ्ग्यका विविध रचनाहरूको हँसाउने मात्रा पनि फरक–फरक हुनै पर्छ । कुनै रचनाले हामीलाई मुसुमुसु वा मुसुक्क मात्र हँसाए पुग्छ भने कुनैले चाहिँ ओठ फट्टाएर र खित्का छाडेरै हँसाउन सक्नुपर्छ । अझ कुनै–कुनैले चाहिँ पेट मिचिमिची लडीबुडी गर्दै हाँस्नुपर्ने र धेरै बेरसम्म हाँसो थाम्नै नसकिने अवस्थामा पुर्याइदिन सक्छन् भने त्यस्तो शिल्पका ठुला धनी शिल्पकारहरूलाई पनि हामी हार्दिकतासाथ स्थायी निम्ता पत्र टक्र्याइराख्न चाहन्छौँ ।
हास्यव्यङ्ग्यको मूल लक्ष्य कुप्रथा वा बेथितिमाथि प्रहार गर्नु हो भन्ने भावनालाई पच्चीसै आना अथवा शतप्रतिशत मनासिब हो भनी हामी आँखा चिम्लेर भए पनि ल्याप्चे लाउन वा सहीछाप गरिदिन सक्छौँ । तर ‘कु’ र ‘सु’ को परिभाषा के त ? यो नै आजको हाम्रो प्रमुख प्रश्न हो । तपसिलका प्रश्नहरूमा गहिरिएर विचार गरिहेरौँ –
जनतालाई राजनीतिप्रति आकर्षित पार्दै लैजाने कि विरक्त बनाउँदै ? राजनीति भनेको मुख्यतः असल र राम्रो कामका निम्ति हो वा कमसल र खराब कार्यका निम्ति ? राजनीतिक पार्टीहरू र दलीय व्यवस्थाप्रति जनतामा आस्था जगाइराख्न खोज्नुपर्छ अथवा अनास्था बढाइदिनुपर्छ ? जनतालाई राम्ररी डोर्याउन राजनीतिक सङ्गठनहरू पनि चाहिन्छन् भने नेताहरू पनि चाहिएलान् कि नचाहिएलान् ? पार्टी र नेताहरूबाट बेलाबखत हुन जाने गल्ती तथा कमजोरीहरूतर्फ मात्र ध्यान तानिदिने गर्ने कि नेताहरूलाई गाली गर्ने चलनै चलाउँदै जाने ? सबै जातजाति, सबै धर्म र भाषा, मुलुकका विभिन्न भाग, महिला र पुरुष, सबै उमेरकाहरु, शिक्षित र अशिक्षित, स्वदेशी र विदेशी … इत्यादि सबैप्रति समानता, स्नेह र आदरको भावना लिएर व्यवहार गर्न खोज्नुपर्छ कि तीमध्ये कुनैलाई ठुला र कुनैलाई साना ठानी असमानतापूर्ण व्यवहार नै गर्ने गर्नुपर्छ ? नास्तिकले आस्तिकलाई होच्याउन र आस्तिकले नास्तिकलाई सराप्न हुन्छ कि हुँदैन ?
ख्यालठट्टा र रमाइलो गर्दा केको शिष्टता र सभ्यताको कुरा ? भन्ने मत लिन होला कि नहोला ? आफ्नो राष्ट्र वा नेपाललाई नै होच्याउने, हेला गर्न पुगिने खालको हास्यव्यङ्ग्य प्रदर्शन गर्न हुन्छ हुँदैन ? आफ्नो मुलुकलाई आकाशमा पुर्याएर बयान गरेजस्तै अरूका देशलाई पातालमा खसालेर वर्णन गर्न हुन्छ कि हुँदैन ? जनता पट्टिकाहरुमा बेलाबखत देखा पर्ने गरेका फाटोलाई झन्झन् चर्काइदिने गर्नुपर्ला वा घटाइदिन खोज्नु नै सही ठहरिएला ? जनतामा निराशाको भावना बढाउनुपर्छ कि तिनलाई सधैँ आशावादी र हरेस नखाने खालको राख्न बल गर्नुपर्छ ? अश्लीलतापूर्ण अभिव्यक्तिहरूलाई के–कस्तो प्रसङ्गमा कति सीमासम्म स्वतन्त्रता र छुट दिने गर्दा गल्ती हुन नपाउला ? जनतामा पाइने अन्धविश्वासको मात्रा थपिदिने रचना सही हुन्छन् कि त्यसलाई घटाउँदै लैजाने खालका ? यस्ता प्रश्नहरूको अरू धेरै लामो सूची सजिलैसँग बनाउन सकिन्छ ।
त्यसैले आज अरू सबैजसो विषयमा जस्तै हास्यव्यङ्ग्यपट्टि पनि प्रजातान्त्रिकता र वैज्ञानिकतालाई नै हामीले मुख्य कसी मानेर सामग्रीहरू वा प्रस्तुतिहरूको विश्लेषण र मूल्याङ्कन गर्ने गर्नुपर्छ । प्रजातन्त्र र विज्ञानको विपरीत जाने कुरा जति जम्मै गलत हुन् र यिनको पक्षमा भएका बुँदा जति सबै सही हुन् । यी दुई जरो कुरालाई राम्ररी गाँसेर चल्ने प्रयत्न बढाआंैँ । अनि मात्र हास्य रसबाट पनि आनन्द प्राप्त हुन्छ ।
श्यामप्रसाद शर्मा
जन्म : वि.सं. १९८६ असार ६
सोलिथुम, मकवानपुर
अवसान : वि.सं. २०७४ वैशाख २४