जात्रा र पर्वको लागि नेपाली संस्कृति निकै धनी छ । दसैँ नेपालमा मनाइने चाडपर्व मध्य महत्त्वपूर्ण पर्व हो । दसैँ मौसमको हिसाबले पनि रोमाञ्चक र मनमोहक समयमा पर्दछ । दसैँको आगमनसंगै नेपालीहरूमा खुसी छाएको छ । दसैँ आएसँगै गुन्जिने गर्छ मालश्री धुन । दसैँमा मात्रै बजाइने यो धुन घटस्थापनाको दिनदेखि पूर्णिमा सम्म नै टोल टोलमा, टेलिभिजन र रेडियोमा बज्ने गर्छ । टुँडिखेलमा फूलपाती भित्राउँदा पनि मालश्री धुन बजाएर भित्र्याउने प्रचलन छ । संस्कृतमा मालश्रीको ‘माल’ भन्नाले आमा बुझिन्छ भने श्री भन्नाले श्रीयन्त्र भन्ने बुझिन्छ .।
नेवारी अर्थात् नेपाल सङ्गीतमा प्रचलितमा रहेको १२ महिना अन्तर्गत अलग अलग धुनहरू गउने परम्परा छ । त्यो परम्परा अनुसार असोज महिनामा घटस्थापना देखि कोजाग्रत पूर्णिमा र तिहारको औँसी भन्दा पहिलाको समयसम्म गाउने, बजाउने परम्परा छ ।
पूर्वीय शास्त्रीय सङ्गीतलाई आधार मान्ने हो भने पनि राग मालश्री निकै पुरानो राग हो । टोल टोलको भजनमा गुन्जिने परम्परागत मालश्री होस्, या अचेल घरघरमा बजाइने मालश्रीका आधुनिक धुन होस्, मालश्री नबजेसम्म दसैँ आएजस्तो पनि लाग्दैन । मालश्रीको इतिहास खोज्ने नै हो भने खासै प्रमाणहरू भेटिदैंन । मल्ल कालका राजाहरू भक्ति सङ्गीत, कला, साहित्य, सम्पदाको हिसाबले निकै सशक्त थिए । मल्लकालका राजाहरू र खास गरि उपत्यकाका नेवारी परम्परामा मालश्री धुनको खास महत्त्व देखिन्छ । मल्ल राजाहरूले यस्ता धुनहरूको रचना धेरै गरेका थिए । भक्तपुरका रनजित मल्ल, काठमाडौँका प्रताप मल्ल र पाटनका सिद्यिनरसिंह मल्ल भजन रचना गर्ने भएकाले पनि यी राजाहरूले मालश्रीका धुनहरूलाई रचना गरेर गाउने परम्परा सुरु गरेको मानिन्छ । अभिलेखा अनुसार सिद्यीनरसिंह मल्लको पाला देखि मालश्रीको आरम्भ भइसकेको देखिएको हुँदा मालश्री ४ सय वर्ष भन्दा पुरानो धुनको रूपमा लिन सकिन्छ । उनको पालामा धेरै धुनहरू र नाच गानको सुरुबाट भएको देखिन्छ । गीत गोविन्द, कार्तिक नाच पनि उनकै पालामा प्रचलनमा आएको हो । तर मालश्री गाउने परम्परा भने लिच्छवी कालदेखि नै चलिआएको हुन सक्ने संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग बताउँछन् । शरद याम आए सँगै बज्न थाल्छन् मालश्री । यो नेपालको ऋतुकालीन धुन पनि हो । उमङ्ग, खुसी, शरद ऋतको वर्णन र भगवतीको उपासना गर्ने धुन हो । यसले देवी भगवती खुसी हुने जन धारणा छ ।
सुनेर नक्कल गरेर अघिल्लो पुस्तामा हस्तान्तरण हुदैं गएको विद्या हो । देवी वन्दना, देवी स्तुति, दुर्गाको, कालीको उपासना, लडाइमा जानु अघि उपासना गर्नै धुनको रूपमा विकसित भएर आएको हो । सेनामा बजाउने पश्चिमी बाजाहरू नै थियो । सेनामा पनि मल्ल काल देखि नै मालश्री देखिने गरी बजाउन थालेको देखिन्छ । नेवारी परम्परामा अत्यधिक बाँसुरीमा बजेको सुनिन्छ । जसमा धिमे, खिंहरुसंग बजेको हुन्छ । सङ्गीतमा एउटा परम्परागत संगति , अर्काै शास्त्रीय सङ्गीत सबैमा यसको प्रयोग हुन्छ । दुई थरीको मालश्री राग प्रचलितमा देखिन्छ । एउटा काठमाडौँ उपत्यकामा अत्यधिक रूपमा बजाइने मालश्री धुन भनेर दसैँ मात्रै गाइन्छ र बजाइन्छ । त्यो एउटा प्रचलनमा छ । जुन काफी ठाँटको नजिकै देखिन्छ । काफी ठाँटको राग पीलुसँग नजिकको देखिन्छ । अर्को शास्त्रीय परम्पराबाट आएको राग छ, जसलाई पनि मालश्री नै भनिन्छ । त्यो चाहिँ कल्याण ठाँटको रागमा आधारित देखिन्छ । डा. धुब्रेश चन्द्र रेग्मी अनुसार कुनै पनि राग बन्नका लागि पाँचवटा सुर हुनै पर्छ । कल्याण ठाँटको आधारित शास्त्रीय राग मालश्रीमा ४ वटा मात्रै सुर हुन्छ । हामीले बजाउने मालश्री धुन अन्त कतै बजेको सुनेको छैन । परम्परागत रूपमा खिं बाजा, टच्छ्या, भुच्छ्या, पोङ्गा, धिमेलगायत बाजाहरूमा मालश्री बजाइन्थ्यो । तर अहिले सितार, इसराज, सरोद, भ्वाइलिन, गितार, बाँसुरीमा बजाइएको सुनिन्छ ।
गोरखाका मर्दसिंह थापाले वि.सं १९७१ मा प्रकाशित गरेको बृहत् राग मालश्री पुस्तकमा लगभग ८० वटा मालश्री गीतहरूको सङ्कलन छ । त्यस मालश्री गीतका रचनाहरू त्यति बेलाका शाह वंशीय राजाहरूका साथमा तुलाराम थापा, अमरसिंह थापा लगायतका छन् । इतिहास हेर्ने नै हो भने पनि पूर्व शाह कालमा यो धुनको बढी प्रयोग भएको देखिन्छ । । नेवार समुदायले उत्पत्ति गरेको यो धुन पृथ्वी नारायण शाहले उपत्यका विजय गरे पछि पनि निरन्तरता दिए । उनी निकै चतुर दूरदर्शी राजा थिए । जनताको संवेदना उनीहरूको संस्कृतिसँग जोडिने ह’दा हरेक स्थानको चली आएको संस्कृति, पर्व, जात्रालाई निरन्तरता दिँदै लगे ।
दसैँको समयमा देशभर जसो गुन्जिने मालश्री धुनलाई मौलिक नेपाली लोक धुन मानिन्छ । मालश्रीको सम्बन्ध शरद ऋतुसँग पनि भएको सितार वादक डा.धुब्रेश रेग्मी बताउँछन् । समय र सङ्गीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको नेपाली सङ्गीत क्षेत्रमा बाह्रै मासअनुसारका सङ्गीत प्रशस्तै पाइन्छन्। तिनै मध्ये एक मालश्री धुन दसैँको समयमा देशभर जसो गुन्जिने गर्दछ। मौलिक नेपाली लोक धुन मानिने मालश्रीको शरद ऋतुसँग पनि सम्बन्ध रहेको बताइन्छ।
करिब साढे चार सय वर्षअघि नेवार समुदायबाट यो मालश्री धुनको उत्पत्ति भएको हो । राजा सिद्धिनर्सिङ्ग मल्लको पालादेखि यस धुनको प्रचार हुन थालेको बताइन्छ । १६ औँ शताब्दीमा नै १२ मासका धुनको सिर्जना भइसकेको थियो । हनुमान ढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा पहिले पहिले दसैँभरि नै मालश्री धुन बजाउने गरिन्थ्यो
रेडियो नेपालले २७ सालदेखि हरेक दसैँमा मालश्री नियमित रूपमा बढाउदै आएको छ । ४१ सालमा नेपाल टेलिभिजन सञ्चालनमा आए लगत्तै यसलाई श्रव्य दृश्यका रूपमा विकास गरिएको छ । मालश्री धुनको आफ्नै मौलिकता छ । यो धुनमा सप्त मातृकाको गुणगान झल्किन्छ । नवदुर्गाको आराधनाका लागि पनि मालश्री धुन अनिवार्यझैँ बनेको छ ।










