पिताको स्नेह बेग्लै हो पितालाई खास सम्झन्छु
गयौ छाडी कतै टाढा तथापि पास सम्झन्छु ।
कतै अन्यायको बाटो नहिंड्नू बन्दथ्यौ बाबा
जहाँ अन्यायी देखिन्छन् महाका दास सम्झन्छु ।
सधैं ख्वाऊ सधैं प्याऊ कडा सङ्घर्षको ज्वाला
लुकाई राख्तथ्यौ भित्रै म त्यो उछ्वास सम्झन्छु ।
जसै हामी बढ्यौं हुर्क्यौं सर्यौं आफ्नै कटेरामा
पिता पुर्खा जहाँ बस्थे म त्यो आवास सम्झन्छु
अरूकै लागि हे बाबा तिमी भोको सधैं बस्थ्यौ
ठुलो जन्जालको टन्टा महासन्त्रास सम्झन्छु ।
सधैं भोकै सधैं प्यासै रहन्थ्यौ थालको आफ्नो
नखाई भाग नै काटी दिएको गाँस सम्झन्छु ।
हजारौं आशका भारी बिसाएनौ गयौ एक्लै
पिता हे आँसु छन् झर्दै पछिल्लो सास सम्झन्छु ।।