विषय प्रवेश
यतिखेर म शौर्यगाथाको रसपान गर्दैछु । सुप्रद्धि समालोचक गोविन्दराज विनोदीको भूमिका पढेपछि शौर्यगाथा अध्ययन गर्ने कौतुहलता जागेको हो । यस ग्रन्थका रचयिता लकाश पौडेलको आत्मकथ्यले सो कौतुहलतालाई अझै उत्सुकतामा परिणत गरिदियो । त्यही उत्सुकता र कौतुहलता मेटाउन यो महाकाव्य आद्योपान्त अध्ययन गरेपछि मनमा उब्जिएका भावनाहरू अक्षरका माध्यमबाट अभिव्यक्त गर्ने जमर्को गर्दैछु ।
कविको चिनारी
धवलागिरी र अन्नपूर्ण हिमालको काखमा रहेको बागलुङ जिल्लाको बलेवा भन्ने ठाउँमा वि.सं. २००४ सालमा जन्मिएका लक्ष्मीकान्त पौडेलको साहित्यिक नाम हो, लकाश पौडेल । अङ्ग्रेजी, नेपाली र संस्कृत भाषा साहित्यका ज्ञाता लकाशले नेपाली विषयमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक उपाधि हासिल गरेकाछन् । चार दशक बढी शिक्षण, प्राध्यापन पेशामा आवद्ध भएर आफ्नो ज्ञान र सीपलाई परिमार्जित र परिष्कृत बनाएका लकाश छन्दोवद्ध कविताका पारखी हुन् । आफूमा भएको छन्द सम्बन्धी सिद्धान्तको ज्ञान र सीप प्रयोग गरेर उनले ‘पद्माञ्जली’, ‘गीताञ्जली’ र ‘भावाञ्जली’ गरी तीनवटा कविता सङग्रह, ‘बहरका लहर’ गजल सङ्ग्रह तथा ‘फेसबुक सन्देश’ नामक मुक्तक सङ्ग्रहकासाथै ‘शौर्यगाथा’ नामक यो महाकाव्य रचना गरेका छन् । यस महाकाव्यमा प्रयोग गरिएको छन्द बारे गोविन्दराज विनोदीले यसरी स्पष्ट पारेका छन्– “यस काव्यमा प्रत्येक सर्गको अन्त्य स्रग्धारा छन्दबाट भएको छ भने उपान्त्यमा कुसुमविचित्रता, मालिनी, चम्पककला, अनुष्टुप, शार्दुलविक्रडित, पञ्चचमार, दिक्पाल र भुजङ्गप्रयात छन्दको प्रयोग रहेको छ । यसबाट कविमा विविध शास्त्रीय छन्दको मोह र प्रयोग कुशलताको सहजबोध हुन जान्छ ।” (पृ.ठ ) ।
विषयवस्तु
यो महाकाव्य ऐतिहासिक विषयवस्तुमा आधारित छ । खास गरेर मध्यकालको उत्तराद्र्धमा नेपालको गण्डकी क्षेत्रमा स्थापित पर्वत राज्यको प्रशासन सञ्चालन सम्बन्धी विषयलाई लिएर यो महाकाव्य रचिएको छ । पर्वत राज्यमा शासन गर्ने समालवंशी शासकमध्ये अन्तिम राजा कीर्तिबम मल्ल र उनका सहयोगी बलि पाध्याका सुकीर्तिको बखान गर्नु यस महाकाव्यको मुख्य उद्देश्य रहेकोछ । अतः पर्वत राज्य, त्यहाँको प्रशासनिक व्यवस्था, नेपाल एकीकरण अभियान र पर्वत राज्य नेपालमा विलय हुँदाका घटना यस महाकाव्यका विषयवस्तु हुन् । त्यही विषयवस्तुलाई तेह्र सर्गमा विभाजन गरी महाकाव्य तयार गरिएको छ । यस महाकाव्यको पहिलो सर्गमा पार्वतीले आफ्ना नातिलाई पौडेल वंशका पूर्वजहरूको बारेमा गरेको वर्णन राखिएको छ । दोस्रो, तेस्रो, आठौं, एघारौं र तेह्रौं सर्ग बलि पाध्याको यश र कीर्तिको बखानमा खर्च गरिएको छ । यसमा बलि पाध्याको जन्म, किशोरावस्था, शिक्षादिक्षा, गृहस्थ जीवन, कीर्तिबम मल्ललाई राजनीतिक र कुटनीतिक सल्लाह, बलेवामा उमराव नियुक्त, राज्य व्यवस्थामा सुधार र माधव पाध्यालाई उत्तराधिकारी घोषित गरी गृहस्थ जीवन परित्याग गर्दा भव्य रूपमा अभिनन्दन प्राप्त गरेको कुरा उल्लेख गरिएको छ । चौथो, पाँचौं, छैटौं र दशौं सर्गमा पर्वत राज्यका समालवंशी राजाहरूको वंश वृतान्त, राजा प्रीयवर्तद्वारा कीर्तिबम मल्ललाई राज्य हस्तान्तरण र उनको राज्याभिषेक तथा नजरबन्द सम्बन्धी बयान छ । सातौं, नवौं र बाह्रौं सर्गमा गोरखाली राजा पृथ्वीनारायण शाहको शौर्यगाथा, एकीकरण प्रशंग, पर्वतलाई घेर्ने नीतिको रहस्योद्घाटन र पर्वत राज्य नेपालमा विलय भएका घटनाको वर्णन गरिएको छ ।
यो महाकाव्य बलि पाध्याकी नातिनी बुहारी पार्वतीले आफ्ना नाति विद्यापतिलाई सुनाएको पर्वत राज्यका समालवंशी राजाहरूका गुरु पुरोहित रहँदै आएका पौडेल वंशको वृतान्तमा आधारित छ । किनकि यो महाकाव्य पण्डित विद्यापति पाध्याले वि.सं. १८४४ (शक सम्बत् १८०९) मा लेखेको ‘आत्रेय वंशावली’लाई मूल आधार मानेर रचना गरिएको छ ।
कालखण्ड, भूगोल र पात्रहरू
यो महाकाव्यमा पर्वत राज्यको शासन व्यवस्था र त्यसमा संलग्न पात्रहरूको बारेमा अधिक चर्चा गरिएको छ । त्यसको ऐतिहासिक पृष्ठभूमिको रूपमा वि.सं. १४९३ देखि १८४४ सम्मका घटनालाई यस महाकाव्यको विषयवस्तु बनाइएको छ । यो महाकाव्यका मुख्य नायक बलि पाध्याको जीवनकाल वि.सं. १७६५ देखि १८४४ सम्मका घटनाले यसमा विशेष प्राथमिकता पाएका छन् । त्यतिखेर पर्वत राज्यको भूगोल पूर्वमा मोदीखोला, काली गण्डकीहुँदै चन्द्रकोट, पश्चिममा निसीभूजी, उत्तरमा मुक्ति क्षेत्र र दक्षिणमा विउँकोट, बलेवाहुँदै चन्द्रकोटसम्म रहेको थियो ।
यस महाकाव्यका मुख्य नायक बलि पाध्या हुन । उनको सुकीर्तिगाथा नै यो महाकाव्यको मुख्य कथावस्तु हो । त्यसकासाथै पर्वत राज्यका अन्तिम राजा कीर्तिबम मल्ल र गोरखाका राजा पृथ्वीनारायण शाह पनि सह–नायकको रूपमा रहेका छन् भने पर्वत राज्यका युवराज नरसिंह मल्ल खलनायकको रूपमा रहेका छन् ।
यो महाकाव्यमा नेपालको एकीकरण अभियान उत्कर्षमा पुगेको समय, घटना र परिवेशलाई मुख्य कथावस्तु बनाइएको हुनाले यसमा वीर रसको आधिक्यता छ भने शृङ्गार, करूण र शान्त रसको प्रयोग पनि यथेष्ठ मात्रामा गरिएको छ ।
ऐतिहासिक तथ्य
इतिहासको अध्ययन, अध्यापन र अन्वेषण गर्न सहज होस भन्ने विचारले विद्वानहरूले नेपालको इतिहासलाई प्राचीन, मध्यकाल र आधुनिककाल भनी तीन कालखण्डमा वर्गीकरण गरेकाछन् । उक्त विभाजनमा नेपाल सम्बत्को प्रारम्भ अर्थात् वि.सं. ९३६ (सन् ८७९) देखि नेपाल मण्डलका तीनवटै राज्य गोरखा राज्यमा विलय भएको समय वि.सं. १८२६ (सन् १७६९) सम्मको अवधिलाई मध्यकाल भनिएको छ ।
मध्यकालको उत्तराद्र्ध अर्थात् पन्ध्रौं शताब्दीपछि उन्नाइसौं शताब्दीको पूर्वाद्र्धसम्म हाल नेपाल भनेर चिनिने भूगोलभित्र बाइसी, चौबीसी, सेन, नेपालमण्डल र अन्य विभिन्न राज्य गरी पचपन्न वटा बढी राज्य थिए । मध्यकालमा कुनै बेला गण्डकी क्षेत्रमा चौबीस वटासम्म राज्य स्थापित भएको हुनाले त्यस क्षेत्रका राज्यलाई चौबीसी भनी सम्बोधन गरिन्थ्यो । ती चौबीसी राज्यमध्ये एउटा पर्वत राज्य थियो । समालवंशी आनम्मले वि.सं. १४९३ मा स्थापना गरेको पर्वत राज्यमा चन्द्रम्म, डिम्म, नाग मल्ल, नारायण मल्ल, राज मल्ल, शिव मल्ल, नाग मल्ल (द्वितीय), नारायण मल्ल (द्वितीय), शाही मल्ल, घनश्याम मल्ल, शाहबम (प्रीयवर्त) र कीर्तिबम मल्ल गरी चौध पुस्ताले वि.सं. १४९३ देखि १८४३ सम्म ३५० वर्ष शासन गरेका थिए । यी समालवंशी शासकहरूलाई कार्की, खड्का, घिमिरे, चोखाल, थापा, पन्त, पौडेल, बस्नेत, बानियाँ, बोगटी, मल्ल, महत, रुचाल, रेग्मी, सुवेदी आदि विभिन्न थरका मानिसहरूले प्रशासन सञ्चालनमा सहयोग गरेका थिए ।
पर्वत राज्यका अन्तिम राजा कीर्तिबम मल्लको पालामा बलि पाध्या (पौडेल) राजाका मुख्य सहयोगी थिए । गोरखाका राजा पृथ्वीनारायण शाहले प्रारम्भ गरेको नेपालको एकीकरण अभियान बहादुर शाहको नायवीकालमा उत्कर्षमा पुगेको थियो । त्यतिखेर गोरखालीले गण्डकी क्षेत्रका चौबीसी राज्य मध्ये अर्घा, इश्मा, कास्की, खाँची, गलकोट, गरहुँ, गुल्मी, घिरिङ, ढोर, तनहुँ, धुरकोट, नुवाकोट, पैयुँ, भीरकोट, मुसीकोट, रिसिङ, लमजुङ, सतहुँ आदि राज्य आफ्नो राज्यमा गाभिसकेका थिए । गोरखाली विरुद्धका अघिल्ला युद्धहरूमा चौबीसी राज्यहरू आपसमा मिलेर लडेको हुनाले उनीहरूको विजय भएको थियो । तर पछिल्लो चरणमा पाल्पा गोरखासँग मिल्न गएको हुनाले चौबीसीहरूको ताकत कमजोर भएको थियो । त्यही मौकाको सदुपयोग गरेर गोरखालीहरूले गण्डकी क्षेत्रका धेरैजसो राज्यउपर विजय हासिल गरिसकेका थिए । त्यसकारण पर्वत राज्य एक्लै परेको हुनाले गोरखालीसँग मिल्न जाने कि डटेर युद्ध गर्ने भन्ने द्विविधा थियो । त्यस किसिमको सङ्कटकालीन अवस्थामा बलि पाध्याको सल्लाह बमोजिम राजा किर्तिबम मल्लले गोरखालीसँग सम्झौता गर्ने निधो गरेका थिए । तर पर्वत राज्यमा शरण लिइ बसेका तनहुँका राजा हरकुमार दत्त सेन, लमजुङका राजा वीरमर्दन शाह र भक्तपुरका राजकुमार अवधुत सिंहले गोरखालीसँग समझौता गर्नु घातक हुन्छ भनी पर्वतका राजकुमार नरसिंहबम मल्ललाई भड्काएको हुनाले सो सम्झौता हुन सकेन । नरसिंहबम मल्लले आफ्ना बाबु कीर्तिबम मल्ललाई ढोरठानामा नजरबन्दमा राखे भने बलि पाध्यालाई केन्द्रबाट हटाई पर्वत राज्यको दक्षिणपूर्वमा पर्ने बलेवा भन्ने ठाउँको उमराव बनाइ पठाए । उता पर्वत राज्यका हर्ताकर्ता योगनारायण मल्लसमेत गोरखालीसँग मिल्न गइसकेका थिए । यसरी आन्तरिक संघर्षले जर्जर भएको पर्वत राज्यको शक्ति क्षीण भएको अवसर पारी गोरखालीहरूले वि.सं. १८४३ आश्विन १४ गते सो राज्यलाई गोरखा राज्यमा विलय गराएका थिए ।
यही ऐतिहासिक तथ्यलाई आधार मानी पौडेल वंशका बलि पाध्याको सुकीर्तिलाई प्रचारप्रसार गर्ने, पर्वत राज्यको इतिहास उत्खनन् गर्ने तथा नेपालको एकीकरण अभियानको पनि चर्चा गर्ने उद्देश्यले यो महाकाव्य रचना गरिएको छ । अतः यो महाकाव्य ऐतिहासिक तथ्यमा आधारित छ भन्न हिचकिचाउनु पर्ने कुनै कारण छैन ।
कमीकमजोरी
कुनैपनि काम गुणैगुणलेयुक्त हुँदैन कतिपय गल्ती अनजानमै पनि भएका हुन्छन् । पाठकले आफूले देखेका कमीकमजोरी नऔंलाउनु सर्जकलाई गल्ती सच्याउने मौका नदिनुजस्तै हो । यस कृतिमा धेरै ठूलाठूला गल्ती कमजोरीहरू त छैनन् तैपनि देखिएका ससाना कमजोरीहरू औंलाउने काम गरिएको छ । सायद छन्द मिलाउनु पर्ने वाध्यताले होला यस कृतिमा वैयाकरणीय अनुशासन तोडिएको छ । खैर, त्यतातिर नजाउँ । मुद्रण र टङ्कणको असावधानीले हुनसक्दछ केही शब्दहरू अपूर्ण र अस्पष्ट भएका छन् । तिनीहरूलाई सच्याउनका लागि यहाँ उद्धृत गरिएको छ–
पृ. भएको हुनुपर्ने पृ. भएको हुनुपर्ने
५० काजान्जरै कालाञ्जरै ५६ र ६१ वाप्रस्थी वानप्रस्थी
७६ विचत्र विचित्र ९० विचरको विचारको
९७ पोडेल पौडेल
निष्कर्ष
पौडेल वंशका महापुरुष बलि पाध्याले पर्वत राज्य सञ्चालनमा खेलेको भूमिका र उनका सुकीर्तिहरू उजागार गर्ने तथा कविको आफूमा रहेको महाकाव्य रचना गर्नसक्ने खुबी र कलाको पारख गर्ने उद्देश्यले ‘शौर्यगाथा’ नामक यो ग्रन्थ तयार गरी प्रकाशित गरिएको छ । लकाश पौडेलद्वारा विरचित यो महाकाव्य नेपाली साहित्य भण्डारको एक अमूल्य निधि हो । यो ग्रन्थ प्रकाशित गरेर लकाशले एकातिर आफ्ना पुर्खाहरूको शौर्यगाथा प्रचारप्रसार गरी कुलको उद्धार गरेका छन् भने नेपाली साहित्यका पारखीहरूका लागि मिठो खुराक पनि पस्किएका छन् । अतः अथक परिश्रमसाथ नेपाली समाज तथा नेपालको इतिहास र भूगोलको गहिरो अध्ययन, अन्वेषण र भ्रमण गरी मेहनेतपूर्वक यो गहनतम ग्रन्थ तयार गरेकोमा लकाश पौडेललाई धेरैधेरै बधाई दिंदै आगामी दिनमा अझै गहकिला कृतिहरू प्रकाशित हुनसकुन भन्ने शुभकामना अभिव्यक्त गर्दछु ।
भरतपुर मनपा–१२, राधाकृष्ण टोल, २०७५ सालको माघे सक्रान्ति ।