भारतेली नेपाली आख्यानमा सांस्कृतिक चेतना बुझ्नु र पहिल्याउनु भनेको एउटा विराटकाय कार्य हो । एउटा विराट बटवृक्षको जरादेखि हाँगाबिँगा पात फूल फल सबै समग्रमा जानिलिनु हो । हाम्रा आख्यानहरुमा कतिसम्म हाम्रो सांस्कृतिक झल्का झल्किएका छन् र ती त्यस्ता तत्वहरुसँग हाम्रो लेखक र पाठक दुबै पक्षको सचेतना के कस्तो छ भनेर अध्ययनमूलक केही सोंच राख्नुसम्मै पनि एउटा अति रोचक विषय हो । अब यसरी यस्ता विशाल बट–वृक्षझैं फ्यागिएका, गहिरो जरा हालेका र असीम आयतनमा फैलिएका हाम्रा आख्यानहमा सामाविष्ट भएको हाम्रो संस्कृतिको नालीबेली केलाउने क्रममा उक्त वृक्षको एउटा हाँगोसम्म, एउटा पातसम्मै पनि स्पर्श गर्न सकिए सो बढी महत्वपूर्ण र साहसिक, अथवा भनौं दुस्साहसिक र धृष्टतापूर्ण कार्य सिद्ध हुन सक्छ । भारतेली नेपाली साहित्यका आख्यान्हरुमा नेपाली संस्कृतिको प्रवृष्टि र उपस्थिति नियालेर अवलोकन गर्नु हो भने यति कुरा त प्रष्टै भन्न सकिन्छ कि हाम्रा सम्पूर्ण आख्यान्हरु वास्तवमा संस्कृतिकै धरातलमा दह्रो गरी उभिएका छन् । आख्यान् मात्रै किन र, सटीक प्रकारले भन्नु हो भने हाम्रो सम्पूर्ण नेपाली साहित्य, सम्पूर्ण नेपाली वाङ्मय नै सांस्कृतिक अडेसमा बलियोसँग अडेसिएका छन् । अत: हाम्रो विवेच्य विषय अगाडि बढाउनको निम्ति नेपाली संस्कृति सम्बन्धित कतिपय विमर्श अपेक्षित ठहर्दछ ।
संस्कृति शब्दको शाब्दिक अर्थ र परिभाषा :
संस्कृतको सम्यक+कृति (अथवा सम+कृति) बाट बनेको शब्द संस्कृतिको अर्थ सुन्दर कृति वा परिष्कृत कृति भन्ने बुझिन्छ । संस्कृतिको परिभाषा व्यापक छ र व्यापक अर्थमा नै यसको वोध पनि गरिन्छ । कुनै पनि एउटा जातिको एउटा विशिष्ट जातिगत व्यवहार, आचारण, आस्था, अनुष्ठान, विचारधारा, वेशभूषा, आहार–विहार आदि सांगोपांग कुराहरु संस्कृतिको परिभाषाभित्र पर्दछन् । कतिले एउटा जातिको लोक संस्कृति जो आदिकालदेखि पराम्परागत रुपले विशेष गरी ग्राम्य जनजीवनमा व्याप्त भएर अविरल अखण्ड अर्थात् विद्यमान छ त्यसलाई एकातिर र उही जातिले सभ्यताको र विकासको मार्गमा अवलम्वन गर्दै आत्मसात् गरी परिमार्जन गर्दै आएको संस्कृति अर्कोतिर विशिष्ट संस्कृति भनेर दुई प्रकारले व्याख्याचित गर्न पनि रुचाउँछन् । जसो होस्, हाम्रो नेपाली संस्कृति दुबै अर्थमा, लोक संस्कृति र विशिष्ट संस्कृति दुबैको परिप्रेक्ष्यमा एउटा अति नै धनी संस्कृतिको दृष्टान्त हो ।
नेपाली संस्कृतिको सौन्दर्य :
आजको कालखण्डमा आइपुग्दा हाम्रा नेपाली संस्कृतिको जुन रुप छ त्यसको स्रोत पहिल्याउँदै जाँदा हामी दुईवटा गंगोत्रीमा पुग्दछौं । भारतीय सन्दर्भमा हामी गोर्खा जातिका सांस्कृतिक यी दुई गंगोत्रीका धाराहरु हाम्रा गङ्गा–यमुना हुन् । हाम्रो संस्कृतिको एउटा स्रोत वैदिक स्रोत हो, सुसभ्य आर्य जातिको संस्कृति । हाम्रो भाषा नेपाली भाषा नै संस्कृति भाषाबाट उत्पन्न भएको हो । आर्य संस्कृतिको मेसो खोज्दै जाँदा हामी वैदिक युगसम्म पुग्छौं, पौराणिक कालसम्म हुन्छौं । भारतमा आर्यहरुको सभ्यता विकसित हुँदै गर्दा थाहा लाग्ने एउटा कुरा के छ भने तिनका जीवनवृत्ति सम्पन्न र सुविधाजनक थिए र नै यस जातिले अध्यात्म र ज्ञानतर्फ आफ्नो जातिगत झुकाव पार्नमा जीवनको उद्देश्य भेट्टाए । त्यसैले नेपाली संस्कृतिको एक पाटामा वैश्विक अवधारणा ‘वसुधैव कुटुम्बकम्’, मानवीय प्रेम, आकाश, अन्तरिक्ष र विश्व व्रह्माण्डतर्फको चेत विद्यमान छ र यावत् चराचर जगत्, प्रकृति र वनस्पति जगत्को सह–अस्तित्ववादी चिन्तन रहेको छ ।
नेपाली संस्कृतिको अर्को महान् स्रोत हिमालय क्षेत्रका किराँती संस्कृति हो । हिमाली पाखाका पार्वत्य भौगोलिक परिवेशमा अवस्थित किराँत प्रदेशका संस्कृति पहिल्याउनुपर्दा देवादिदेव शिव र पार्वतीको उत्थानसम्मै खोज्नुपर्ने हुन्छ । किराँतहरुको विश्वास अनुरुप उनीहरुको आदि–अनादि युगल सुम्निमा र पारुहाङकै सन्तान्हरु हुन् उनीहरु । पहाडी प्रदेशमा कठीन जीवनयापन गर्नपर्दा उनीहरु अध्यात्मवादी थोरै र भौतिकवादी अधिक हुँदै आएका छन् । यसैले उनीहरुको जीवन शैंलीमा प्रकृति र वनस्पति जगत्को ठूलो महत्ता छ । प्रकृति पूजनको अवधारणा र अनुष्ठानहरु किराँतहरुले युगान्तरदेखि आफूसँग जोगाएर ल्याएको सांस्कृतिक धरोहर हो । रुखपात, फलफूल, चराचुरुङ्गगी र जीव–जन्तु सर्वप्राणीमा देवत्वको वास देख्ने दृष्टिले किराँत संस्कृतिलाई लोक संस्कृतिको उच्चतामा उठाएको छ ।
अब आएर नेपाली संस्कृतिलाई राम्ररी नियालेर हेर्दा यिनै वैदिक संस्कृति र किराँत संस्कृतिको समिश्रण भएको छलङ्ग देखिन्छ । नेपाली संस्कृतिमा यसैले लोक संस्कृतिका लोकतात्विक, ग्राम्य, भौतिकवादी, भक्तिवादी, प्रकृतिवादी व्यवहारहरु प्रचुरतामा उपस्थित छन् भने अर्कोतिर पारलौकिक, आध्यात्मिक, अमूर्त, ज्ञानवादी आदि जातिगत चरित्रहरु पनि उत्तिकै मात्रामा पाइन्छन् ।
नेपाली संस्कृतिका तात्विक संघटकहरु :
नेपाली संस्कृति भनेको यो वास्तवमा यस जातिको आत्मा हो । हाम्रा पूर्खाहरुले आफ्ना पछिका पुस्ताहरुलाई जोगाउनलाई छोड्दै आएको विशिष्ट जीवन पद्धति हो । भारतमा हामी गोर्खा जाति विभिन्न ठाउँमा बसोवास गर्दछौं । कति ठाउँमा हामी झुरुम्म भएर बसेका छौं भने कति ठाउँमा छरिएर पनि बसेका छौं । तर जहाँ बसे पनि हाम्रो सर्वोपरिको जातिय चिनारी हाम्रो संस्कृति हो, हाम्रो भाषा हो । दार्जीलिङ, सिक्किम, डुवर्स, देहरादुन, थाक्सु आदि ठाउँहरुमा हामी झुरुम्म बसेका छौं भने असमका अनेकौं स्थानहरुमा, उता राँची–डोरन्डा, कलकत्ता, सलुवा, पटना , मिजौराम, मणिपुर, त्रिपुरा, मेघालयजस्ता मुलुकहरुमा छरिएर बसेका पनि छौं । भौगोलिक परिवेश अनुसार धेरथोर भिन्नता आए पनि समग्रमा हाम्रो रहनसहन, रीति–थीति, बोली–चाली र जातीय आस्था तथा चिन्तन धारामा एकरुपता छ, नेपाली संस्कृतिको बलियो बन्धनले हामीलाई एक सूत्रमा उनेको छ ।
हाम्रा चाडपर्वहरु :
भारतमा हामी गोर्खा जाति वर्षदिनमा धेरै नै पर्वहरु मनाउँछौं । यस्ता पर्वहरुमा ‘दशै’ हाम्रो सर्वप्रमुख पर्व हो । दशैंको बेला विशेष गरी नवरात्रीको व्रत गर्ने, दुर्गा माताको पूजा गर्ने र दशमीको दिन विजया दशमीको पर्व मनाउने हाम्रो चलन छ । दशैंका दिनहरु कसरी रमाइला पारौं भनेर हाम्रा पूर्खाहरुले दशैंका दशै दिन केही न केही अनुष्ठान गर्ने सोंचेका हुन् । जमरा राख्छौं हामी, घटस्थापना । कुनै पवित्र स्थलमा, मन्दिरमा अथवा घरघरै घटस्थापना दुर्गा स्तुति मालश्री गाउँछौं । फेरि फूलपातीको रौनक छ । घर–घरबाट फूलापाती उठाई शोभा–यात्रा आयोजना गरिन्छ, यात्रामा मुख्य गरेर मालश्री गायन हुन्छ । अन्त्यमा फूलपाती, अक्षेता, जमरा, घर–घर द्वार–द्वार बाँडेर सभ्यताको निम्ति शुभेच्छा जनाइन्छ । मार हान्छौं । खुकुरी उभ्याएर वीर जातिको प्रतीक यो अनुष्ठान पूरा गर्छौं । टीकाको दिन दही र अक्षताको टीको लगाई जमरा सिउरन्छौं । रमाइलो पर्व दशैंले गोर्खा जातिको जीवनमा ठूलो स्थान राखेको हुन्छ ।
दीयो बत्तीको पर्व दीपावली चाड अर्को हाम्रो मुख्य चाड हो । लक्ष्मी पूजाको रात चेलीबेटीहरु भैलो खेल्छन् । त्यसपछि छोरा मान्छेहरु दुई दिन देउसी खेलेपछि द्वितीयाको दिन चेलीबेटीहरुको हातबाट भाइटिका थाप्छन् । यसै अवसरमा काग ल्यौहर, कुकुर ल्यौहार, गाई ल्यौहारजस्ता पशुपंक्षीलाई सम्मान गर्ने, माया गर्ने पर्व पनि हामीले गाँसेका छौं ।
यसवाहेक तीजको व्रत बस्ने, दर खाने हाम्रा नारीहरुले पालन गर्दै आएको अर्को रमाइलो चाड हामीसँग छ । माघे संव्रmान्तिको ठिहीमा कन्दमूल र सेल–रोटी खाने अनि मेलापात भर्न जाने कति राम्रो पर्व छ । कृष्णअष्टमी र रामनवमीका चाड हामी भक्तिभावले पालन गर्छौं । साउने संव्रmान्ति मान्छौं, विवाहिता हाम्रा दिदी–बहिनीहरु साउने पानी छेल्न माइत जाने अवसर निकाल्छन् ।
हाम्रा वेशभूषा :
हाम्रा स्त्रीहरुले लाउने चौवन्दी चोली र फरिया अनि पुरुषहरुको दौरा सुरुवाल र ढाका टोपी विश्वप्रसिद्ध छ । गर–गहनामा विशेष स्त्री जातिका पोते, शिरवन्दी, च्याप्टे सुन, चुरा, कल्ली, तिलहरी आदि हाम्रा हुन् ।
नेपाली संस्कृतिको झलक दिने हाम्रा भाँडा वर्तन :
काँसको थाल, लोटा, करुवा, बटुका, डबका, तामाको गाग्रो, खड्कुँडा छन् भने हाम्रा हात हतियारहरुमा खुकुरी, कर्द बमफोक आदि छन् । यसरी अन्य कुराहरुमा जाँतो, ठेकी, मदानी, हर्पे हामीसँग अझै पनि छन् । असम प्रदेशका ग्राम्य अञ्चलमा बसोवास गरिआएका हाम्रा सन्तानले त झन् आफ्ना वेशभूषादेखि लिएर यावत् कुराहरु जो हाम्रा विशिष्ट संस्कृतिका प्रतिनिधि छन्, जतन गरेर ल्याइरहेका छन् ।
नेपाली संस्कृतिका परिचायक रीतिथीतिहरु :
हाम्रा शिशु जन्मदाँदेखिका थुप्रै किसिमका संस्कारहरु हाम्रा सम्पन्न हुन्छन् । न्वारान्, भात–खुवाइ, उप–नयन संस्कार आदि हुँदै विवाह बन्धनमा अनेकवलीका रीतिथीति छन् । यता भारतमा हाम्राहरु मर्दा लामो मलामीले ताँत जाने चलन हाम्रो संस्कृति हो । सानाहरुले ठूलाहरुलाई ढोग गर्ने, हात जोडेर नमस्कार गर्ने नियम नै छ हाम्रो ।
नेपाली संस्कृति बोक्ने व्यञ्जनहरु :
नेपाली संस्कृति दर्शाउने अति स्वादिष्ट र स्वास्थ्यको निम्ति लाभकारी हाम्रा परिकारहरु छन् । हिजोआज गोर्खे फूड फेस्टिवलजस्ता कार्यव्रmमहरु गरी अथवा पर्यटकहरुको उत्सवमा विशेष आकर्षण हुने गरी हाम्रा व्यञ्जनहरु पस्किने काम पनि हुँदैछ । गुन्द्रुक, सिन्की र किनेमाको स्वाद हामीले सिलाम, बाँसको तामा, दही, चिउरा, घर तरुल हाम्रा साह्रै स्वादिष्ट खानपानहरु हुन् ।
नेपाली संस्कृतिका वाहक हाम्रा बाजागाजा र लोक सङ्गीत :
हाम्रा लोकबाजाहरुमा मुख्यत: नौमती बाजा, पञ् चै बाजा, मादल, डम्फू, खैंजडी, मुर्चुङ्गा, बिनायो इत्यादि छन् भने गीत सङ्गीतमा मादले, गाइने, बालन, भैलो, झ्याउरे आदि छन् र सोही प्रकारले मारुनी, संगिनी, चुड्के, धाननाचजस्ता नृत्यका रुपहरु छन् ।
यस हिसावले नेपाली संस्कृतिको तानाबाना बुनिएर आजको आधुनिक युगसम्म आइपुग्दा यो विश्वको एउटा अति समृद्ध संस्कृतिसिद्ध भएको छ । हाम्रो जातिको सामूहिक व्यवहार, रीति–परम्परा, वेशभूषा, खान्पान, भाँडा वर्तन, गीत सङ्गीत, धर्मकर्म, पूजा–अर्चना यसरी एक सिङ्गो संस्कृृतिको रुप लिनको निम्ति भने युग–युगान्तरको समय अवश्य लागेको छ । आफ्नो विकासव्रmमका नेपाली संस्कृतिमा अनेकौं प्रकारका रुपान्तरण र परिमार्जनहरु पसेका पनि छन् । समय र परिवेश अनुरुप त्यसमा ढल्दै जानु र जातीय आत्मा भने अक्षुण्ण रहनुमा जीवन्त संस्कृतिको झल्का पाइन्छ ।
संस्कृतिको अवधारणालाई व्यापक अर्थमा अथ्र्याउनु हो भने हाम्रा सम्पूर्ण मान्यता र मूल्यहरु, हाम्रो भाषा, धर्म, साहित्य, आस्था, लोक व्यवहार, लोक परम्परा, वैचारिक धरातल, सामाजिक परिवेशजस्ता यावत् कुराहरु हाम्रो संस्कृतिको घटक अंग–प्रत्यंगहरु हुन् । यस कोणबाट हेरिपठाउँदा के पाइन्छ भने हाम्रा सम्पूर्ण आख्यान साहित्य र तिनमा सामाविष्ट हुनपुगेका सामाजिकस्थिति–परिस्थिति सबै सबै नै सांस्कृतिक घडेरीमा निर्मित छन् । नेपाली संस्कृतिकै वलिष्ठ पृष्ठभूमिमा निर्माण भएका हाम्रा दुई विधा साहित्यका ‘उपन्यास’ र ‘छोटा कथा’ का आख्यानकारहरुले आफ्ना कृतिहरुमा प्रशस्त सांस्कृतिक चेत पर्न दिएका छन् । नेपाली साहित्यका यता भारतेली पृष्ठभूमिमा सृजना भएका उपन्यास र कथा विधाका कृतिहरुको सांगोपांग छानवीन गर्नु अनि तिनमा निहित सांस्कृतिक चेतना निफननाफन पारेर केलाउनु भनेको वृहत्काय समुद्र मन्थन गर्नु नै हो । यसैले, उस विराट समुद्रको किनारमा बसेर किनारका केही केही छालहरु छान्नेसम्म धृष्टता गर्ने एक झमटको निम्छरो जमर्को यो छ ।
भारतीय परिप्रेक्ष्यमा हेर्दा रुपनारायण सिंहको उपन्यास
‘भ्रमर’ को प्रकाशन हुँदासम्ममा नेपाली साहित्यमा आधुनिकताको चेत तथा प्रयोग हुर्किसकेको थियो । सन् १९३६ मा प्रकाशित ‘भ्रमर’ ले एक स्वच्छन्दतावादी गद्यकारी, सामाजिक यथार्थवोध, सांस्कृतिक मूल्ययन्, व्यङ्ग्य र परिवर्तनको दिशामा व्रmान्तिजस्ता कुराहरुको शंखघोष गरेको छ । यस कालखण्डमा प्रकाशित अरु उपन्यासहरुमा हामी अच्छा राई ‘रसिक’ को ‘लगन’ र ‘दोभान’, कृष्णसिंह मोक्तानको ‘चरण धूलि’, शिवकुमार राईको ‘डाकबङ्गला’, ज्ञानेश्वर गिरीको ‘तारा रोएको बेला’, कृष्णसिंह मोक्तानको अर्को उपन्यास ‘अशेष यात्रा’ आदि कृतिहरु पाउँछौं । अच्छा राई ‘रसिक’ का ‘लगन’ र ‘दोभान’ जस्ता सामाजिक उपन्यासहरुमा हाम्रो संस्कृति झल्काउने अनगिन्ती प्रसङ्गहरु परेका छन् भने ‘चरण धूलि’ र ‘अशेष यात्रा’मा नेपाली संस्कृतिकावाहक सन्दर्भहरु भरपूर छन् । तर पनि सांस्कृतिक चेतनाका सबभन्दा प्रवल आख्यानकार भने हामीले शिवकुमार राईलाई मान्नुपर्लाजस्तो लाग्छ । सन् १९५६ मा प्रकाशित उपन्यास ‘डाकबंगला’ उपन्यासभित्र नेपाली संस्कृतिको झल्की दर्शाउने अनगन्ती प्रसङ्गहरु परेका छन् । भनौं नै भने शिवकुमार राईको ‘डाकबंगला’ उपन्यास भारतेली सन्दर्भमा नेपाली संस्कृति र समाजको जरैबाट बखान गर्ने प्रतिनिधि लेखनको सर्वोपरि स्थान ओगट्न पुग्नुपर्ने हो । ‘डाकबंगला’ उपन्यासको विशद् शोध र निरीक्षण परीक्षण गर्ने विद्वान समालोचक प्राध्यापक राजकुमार छेत्री उल्लेखित उपन्यासमा सांस्कृतिक छटाहरु छरिएका बटुलबाटुल पारी आफ्नो समालोचनाको वहत् द्वितीय कृति ‘अवलोकन अववोधन’ मा यसरी उल्लेख गर्छन् – “उपन्यासमा ठाउँ–ठाउँमा सामाजिक–सांस्कृतिक सन्दर्भको पनि उल्लेख भएको पाइन्छ । उपन्यासमा नेपाली जातिको महान् चाड बडा देशैं र तिहारको सन्दर्भ प्रस्तुत गरिएको छ । दशैं आउनु, सोह्र–श्राद्ध लाग्नु, मालश्रीको राग घरघरै सुनिनु, मादल बज्न थाल्नु, नौरथा लाग्नु, टपरीमा दशैंको टीकाको निम्ति जमरा राख्नु, नव–दुर्गा माताको स्थापना राख्नु, खसी, राँगा, भैँसीको मासु घरघरै हुनु, टीकाको दिन ठूला–बडाको आशीर्वाद थाप्न (टीका थाप्न) न्युन्चेमा एक बोतल रक्सी, गाईको दूध, एक काइँयो केरा, कुखुरा–खसी–भ्याङलुङको साँप्रा बोकेर घर–घर जानु टीकाको दिन सबै परिवार भेला भएर रमाइलो गर्नु साथसाथै दीपावलीको प्रसङ्गमा प्रत्येकले आ–आफ्नो घर कमेरो र रातो माटाले पोतेर, सयपत्री मखमली फूल गाँसेर दैलो–खिड्कीतिर झुण्ड्याएर, कागजको बत्ती बाँसको लिंगोमा झुण्ड्याएर, घरघरै औंसीको रातमा चेलीबेटीहरु भैलेनी गाउँदै हिँड्नु, केटाहरु देउसी गीत गाउँदै गाउँ–घर घुमेको प्रसङ्ग पनि आएको छ ।”
(अवलोकन अववोधन, पृष्ठ–१२४)
समकालीन उपन्यासहरुमा इन्द्रबहादुर राईको ‘आज रमिता छ’ ले तत्कालीन राजनैतिक चेतको मूल प्रवाह अँगालेको भएता पनि नेपाली संस्कृति उल्लेख हुने प्रचुर मात्रामा बयान–वितरण समेटेको छ । लेखकका अन्य आख्यान कृतिहरुमा जसरी सांस्कृतिक चेत टड्कारो गरि समावेश भएको हुन्छ, उपन्यास ‘आज रमिता छ’ क्यै गरी पनि अपवाद हुन सक्दैन । उपन्यास लेखन र प्रकाशनको उर्वर त्यस काल अवधिमा यसरी नै सन् १९६५ मा प्रकाशित रवीन्द्रकुमार मोक्तानको उपन्यास ‘दुई पात एक सुइरो’, असीत राईको उपन्यास ‘यन्त्रणा’ तथा ‘नयाँ क्षितिजको खोज’ आदि कृतिहरुमा राजनैतिक चेतनाको हाराहारीमा सांस्कृतिक चेत फेला पर्दछ । सांस्कृतिक चेतनाका वाहक बूँदाहरु ओइरा लागेका असीत राईका अन्य उपन्यास कृतिहरुमा ‘त्यो हिमाल–यो जीवन’, ‘पहिरो जाने पहाड यो’, ‘विसंगति’, तथा ‘सिगरेट र धुवाँ’ आदि उल्लेख्य छन् । नेपालीहरु झुरुम्म बसेको ठाउँको आञ्चलिकतालाई पृष्ठभूमि बनाई उही अञ्चलको सामूहिक पेशा, रहनसहन, चाडपर्व, मूल्य र मान्यता, सांस्कृतिक पक्ष आदिलाई उपन्यासको प्राणसिद्ध गर्दै लेखिएका इन्द्र सुन्दासका तीन उपन्यासहरुको उल्लेख नगरी हुँदैन । उनको बहुचर्चित सामाजिक उपन्यास ‘मंगली’ धेरै अघि ‘डाक बंगला’ कै हाराहारीमा प्रकाशित भएको थियो । यसमा एउटा शहर समीपको ग्राम्य जीवनको राम्रो तानाबाना छ । उनको अर्को उपन्यास ‘जुनेली रेखा’ – दार्जीलिङको चियाबारी र चिया उद्योग, चियाबारीको इतिहास, चियाकमानको पृष्ठभूमि अनि जसे र मालिनीको जीवन कथाले नेपाली जीवनशैली र संस्कृतिको मनग्गे प्रतिनिधित्व गरेको छ । साहित्य अकादमी पुरस्कारले अलंकृत इन्द्र सुन्दासको अर्को सुविख्यात उपन्यास ‘निर्यात’ हो । यसमा फारस बस्तीमा बस्ने हाम्रा सन्तानहरुको जीवन गाथा छ । पल्टनको प्रसङ्ग पनि धेरै छ । हाम्रो सांस्कृतिक पक्षलाई उपन्यासभरि छरिएको अवस्थामा हामी पाठकले सजिलै फेला पार्छौं । उपन्यास विधामा कृतिहरु थोरै प्रकाशित भइरहेझैं लागेता पनि यता हाम्रा साहित्यकारहरुमा भीम दाहाल, एम. डी. कार्की, विन्थ्या सुब्बा, राजबहादुर राई, प्रेम प्रधान, भगीरथ रावत, राधा रसाइली, कमल चामलिङ आदि लागिपरेकै छन् ।
उता असमतिर पूर्वोत्तर अञ्चलतिरबाट प्रकाशित उपन्यासहरुमा लीलबहादुर छेत्रीको ‘बसाइँ’ र ‘अतृप्त’ उपन्यासपछि १९८६ मा प्रकाशित उनकै कृति ‘व्रह्मपुत्रको छेउछाउ’ ले अकादमी पुरस्कार पाउनुको साथै असम प्रदेशमा हाम्रा सन्तानहरुको विशद् कथा र समाजिक परिस्थितिको प्रतिनिधित्व गरेको छ । यसमा असमेली नेपाली जीवन धाराको सामाजिक, शैक्षिक, राजनैतिक र सांस्कृतिक माखेसाङ्लोको विस्तृत विवरण छ । व्रह्मपुत्रका छेउछाउतिर युगौंदेखि बसेर आएका हाम्रो जातिका जीवन–शैली, गाई–गोठ, भैंसी–गोठ राखेर जीवनयापन गरिरहेका, गुमानसिंहजस्ता पात्रद्वारा प्रतिनिधित्व भएका हाम्राहरुको सामाजिक जीवनमा आइपरेका अनगन्ती समस्या बीच जाति र संस्कृतिको अस्तित्वको सङ्घर्षको कथा यस उपन्यासले वहन गरेको छ । त्यताबाट प्रकाशित उपन्यासहरुमा के. बी. नेपालीको ‘मेरो घर मेरो संसार’, ‘समर्पण’ र ‘तस्वीर एक रातको’ गद्दीन उपाध्यायको ‘खोजीमा चन्द्रेश्वर डुबेको’, ‘जिन्दगीको बाटो’, विव्रmमवीर थापाको ‘विगतको परिवेशभित्र’, ‘बिशांै शताब्दीको मोनालिसा’, ‘टिस्टादेखि सतजलसम्म’, गुनु घर्तीको ‘वैरागी’, ‘सपना’, ‘प्रायश्चित’, लोकनाथ उपाध्याय चापागाईंको ‘आँधी’ आदि उपन्यासहरुमा पूर्वाञ्चलमा हाम्रो गोर्खे समाज र संस्कृतिको झल्का दिने असङ्य प्रसङ्गहरु फेला पर्छन् ।
नेपाली साहित्यलाई धनी पार्ने सशक्त विधाहरुमा कथा विधा एउटा महत्वपूपर्ण घटक हो । हाम्रा कथाहरुमा नेपाली संस्कृतिको चेत कतिको तहसम्म छ त्यसको नालीबेली केलाउनु अत्यन्त कठीन कार्य हो । । ‘चन्द्रिका’, ‘भारती’, ‘हाम्रो कथा’ जस्ता पत्रिकाहरुको प्रकाशन कालदेखि जति पनि कथाकारहरु दृश्यपटलमा देखा परे, सबैले साह्रै राम्रा राम्रा कथाहरु लेखेका छन्, सबैजस्ता कथाहरु सामाजिक, आर्थिक, राजनैतिक सँगसँगै सांस्कृतिक सन्दर्भमा सचेत छन् । रुपनारायण सिंहदेखि लिएर प्रसङ्ग उठाउँदै आउने हो भने क्रममा राधिका राया, इन्द्र सुन्दास, शिवकुमार राई, हायमनदास राई ‘किरात’, अच्छा राई ‘रसिक’, एम. एम. गुरुङ, पूर्वाञ्चलका हरिप्रसाद ‘गोर्खा’ राई हुँदै आएर परशुराम रोका, वीरविव्रmम गुरुङ्ग, सानु लामा, इन्द्रबहादुर राई, समीरण छेत्री ‘प्रियदर्शी’, बी. बी. ‘लकान्द्री’, आर्य लामिछाने, ग्राबियल राना, नरबहादुर दाहाल, विव्रmम रुपासा, वसन्तकुमार राई, मणिकुमार सुब्बा, कुमार चामलिङ (दशैंको जामा), मटिल्ला राई, पूर्ण राई आदि आदि कथाकारहरुले रचना गरेका हाम्रा कथाहरुमा जातीय भावना, सामाजिक परिवेश, आर्थिक अवस्था, जीवन यापनका पेशा, मानवीय सम्वेदना साथसाथै सांस्कृतिक चेतका सम्बन्धमा आफ्ना कथानक उभ्याएका छन् ।
समायान्तरमा नवीन प्रवृत्ति र प्रयोगमूलक कथाहरु लेखिए, लेखिँदैछन् । मनोविज्ञानदेखि लिएर अवचेतन मनसम्म पुगेका, चेतनाका धाराजस्ता जटिल पक्षहरुसमेत हुलिएका कथाहरु पनि लेखिँदैछन् । तिनमा पनि तर स्थानीयता र संस्कृतिको सुगन्ध भने हराएको लाग्दैन । यस्ता हाम्रा कथाकारहरुमा, इन्द्रबहादुर राई, विन्ध्या सुब्बा, शरद छेत्री, वीरभद्र कार्कीडोली, कालुसिंह रनपहेली, प्रवीण राई ‘जुनेली’, सञ्जय विष्ट, उदय थुलुङ, मोहन ठकुरी, सिद्धार्थ राई, धनवीर पुरी, भीम ‘सन्तोष’, साङ्मु लेप्चा, शमशेर अली, भानु छेत्री, गुप्त प्रधान, चन्द्र शर्मा, ध्रुव चौहानहरु अगाडि बढिरहेका छन् । कथालाई नयाँ नयाँ परिपाटीमा प्रस्तुत गर्दै यस विधामा क्रान्तिको शङ्खघोष गर्ने हाम्रा कथाकार साहित्यकारहरुमा सतीश रसाइली (ऐनाको मेघ), अञ्जुलीभर कथासंग्रहका कथाकार एम. पथिक, नीना राई (अन्तर्दृष्टिका रङ्गहरु), भानु छेत्री (जिन्दगीका खण्डित अनुहारहरु), शरद छेत्री (सूर्य स्नान), साङ्मु लेप्चा (पैयुँ फेरि फुल्ने आशामा), गोपीचन्द्र प्रधान (धरती) आदिको नाम लिन सकिन्छ ।
हाम्रा कथाहरुमा सांस्कृतिक झल्काका चर्चा गर्नुपर्दा राधिका रायाका कैयौं कथाहरु अघि सार्न सकिन्छ । ‘टिकाको दिन’, ‘दशैंको लुगा’, ‘सम्झनामा’, ‘तिनी नगएकी भए’ आदि अति मर्मस्पर्शी कथाहरुमा नेपाली संस्कृतिको सन्दर्भ धेरै छ । नेपाली सामाजिक जीवन र नेपाली संस्कृतिको विशद् विवरण पाइने ठाउँ भने वास्तवमा शिवकुमार राईका कथाहरु नै हुन् । उनको बहुचर्चित कथा ‘टीका’लाई हाम्रो दशैं पर्वको प्रतिनिधि कथा भन्दा पनि हुन्छ । दुई दाजुभाइ धनवीर र लालवीरको कथा त्यहाँ छ । घरमा सानातिना कुरामा झगडा भएपछि फन्केर निस्कन्छ भाइचाहिँ लालवीर आफ्नी स्वास्नी धनमतीलाई लिएर छुट्टिएर भिन्नै गरिखानलाई । भाई बौंठेर हिँडेपनि दाजुको मनको माया मर्दैैन । समय बितेर जान्छ, लालु फर्कंदैन । दाजु धनवीर बिमार हुँदा पनि आउँदैन । माघे सव्रmान्तिको चाडमा पनि आउँदैन । त्यस दिनको कथाकारको विवरण उद्धरणीय छ – “त्यस दिन माघे सव्रmान्तिको चाड थियो । धनवीरले भाइलाई बोलाउन पठाएको थियो । पुतलीले खड्कौलोभरि तरुल उसेनेकी थिई, फापरको पीठो फुलौरो पोलेकी थिई । बिहानभरि दश घर तरुल पुर्याउँदै आधा दिन गयो । बेलुकीपख गावैं माइबेणी झर्ने भए, तर धनवीर जान मानेन । पुतलीले कति जाउँ भनेर जोड गरी तर धनवीर भाइ पर्खंने भयो । पुतली गाउँका आइमाइहरुसँग सिंगारपटार गरीवरी मेला झरी ।”
माघे संव्रmान्ति चाडको हाम्रो समाजमा महत्व छ । सेल रोटी र कन्दुमूल बाँडी बाँडी खाने हाम्रो रीति छ अनि मेलापात गर्न जाने, पूजाआजा गरेर खोलको गडतिरमा नाचगान लगाउने रमाइलो चलन छ । उसै प्रकारले कथाकार शिवकुमार राईले उक्त कथामा दशैंको टीकाको मीठो वर्णन गरेका छन् । यस चाडले रमाइलो ल्याउनुको साथै वर्षभरि बांगिएर, बौठिएर, मन्टो बटारेर, परपर भएका रहेका कतिपय सम्बन्धलाई फेरि जोड्ने साँघुको काम पनि गर्दछ । जस्तै कचिङ्गल भएर घर परिवारमा, शाखा सन्तानमा छुट्टाछुट्टी भएता पनि दशैंको टीकाको दिन सानाहरु आफूले मान्नुपर्नेकोमा निहुरेर पुगे मनका मैलाधैला सबै मेटमाट भइहाल्छ । धनवीर र लालवीरको कथाको प्रसङ्गमा कथाकारले लेखेका छन् – “यस्तै टीकाको दिन, धूपको मगमग वासना, दीयो–कलश, दुनामा दही चामल अनि राम्राराम्रा लुगा लगाएर दाज्युभाइ सुकुलमा बसेका अनि पालैपालो टीका लगाइदिई आमाले हातमा पैसा हालिदिएका, धैरै वर्षअघि, सानोको याद त्यसलाई क्रट्ट भयो । … … … रात परिसकेको थियो । लालवीर राडीमाथि जम्ले हात गरेर बसिरहेको थियो । धनवीर दुनामा अक्षता लिएर लालवीरको निधारमा टीका लगाइरहेको थियो । … … अक्षताले निधार भरिसके तापनि धनवीरको आसीक तुहिएको थिएन । … शायद संसारमा शंका र फूटको चिहानचाहिँ टीकाले पुर्नु भनेर मानिलिएको होला ।”
शिवकुमार राईका अन्य कथाहरु ‘स्मृति चिन्ह’, ‘सिन्दुर पोते’, ‘प्रेमलालको बिहे’, ‘त्यस रात’, ‘जर्जेटको सारी’ आदिमा धेरै ठाउँहरुमा हाम्रा चाड पर्वका कुराहरु, दीपावलीको उत्सव, त्यसमा मारुनी नाच र मालश्री गायन, बिहे बटुलको रीतिथिति, मरौपरौका कुराहरु, धामी झाँक्री, बोक्सी लागेको, चिन्ता बसेको, खड्को काटेको, लामा पढाएको इत्यादि प्रसङ्गहरु प्रशस्त छन् ।
इन्द्रबहादुर राईका कथाहरुमा पनि उस्तै गरेर सांस्कृतिक, विशेषत: लोक सांस्कृतिक सन्दर्भहरु भरिभराव छन् । उनका प्राय: कथाहरुका आधारभूमि पनि नेपाली संस्कृति र सामाजिक परिवेश रहेको छ । श्री राईका ‘जार: भएकै एउटा कथा’ मा जारलाई सात कदम परबाट खेदेपछि काट्न पाइने पंचको फसेला, मितेरी साइनोका कुराहरु, बिहेबारीका कुराहरु रोचक ढङ्गले राखिएका छन् भने उसरी नै, ‘चपरासी’, ‘जन्ती’, ‘रातभरि हुरी चल्यो’ आदि कथामा नेपाली समाज र संस्कृतिको सचेत समायोजन भएको पाइन्छ ।
हाम्रा अर्का सफल कथाकार बी. बी. लकान्द्रीका कथा कृतिहरु ‘जार एक सम्झौता’ र ‘आमा घर फर्किनन्’ नेपाली साहित्यका अनमोल रत्नहरु हुन् । उनको कथा ‘दशैंको टीका’ मा संचमानको पुग–अपुग बीच दशैंको टीकाको लागि आफ्ना बराजु खदरमानको घरमा पुरानै लुगा लगाएर पात्र संचमान पुगेको, कमानको कष्टकर जीवनको चर्चा भएको सन्दर्भ उठको छ । उनको अर्को कथा ‘जीवन संग्रामको लक्ष्यतिर’, साथै ‘कामको चिठ्ठी’ र ‘गाडीको रफ्तारसँगै टाढिँदै गएको एउटा दूरत्व’ मा तराई अञ्चलमा पाइने सामाजिक परिवेशको राम्रो समावेश भएको छ । सोही प्रकारले ‘टुरमा जाँदा’, ‘हेम सर’ आदि कथामा ग्राम्य जीवनको परिवेश व्याप्त भएको पाइन्छ । लकान्द्रीका कथाहरुमा सरल ग्रामीण जीवनको ग्रामीण परिवेशको प्रचलित हाम्रा चलनहरु जस्तै: मरौपरौ, मलामी, बिहे बटुल, मागी बिहेका रीतिहरु, र तत्सम्बन्धी विशद् कुराहरु प्रचुर मात्रामा छन् ।
नेपाली संस्कृतिका विद्वान, जानकार र पृष्ठपोषक रहेका कथाकार एम. बी. गुरुङका अनेकौं कथाहरु यस सन्दर्भमा उल्लेखनीय छन् । ग्रामीण जीवन र लोक संस्कृतिलाई प्रतिनिधित्व गर्ने उनका कथाहरुमा ‘गाइने’, ‘चेली’, ‘पहाडी जीवन’, ‘माइती पूजा’ आदि अग्रणी रहेका छन् ।
नेपाली सामाजिक जीवनकै धरातलमा तर नव तक्नीकी विधिले लेख्दै कथा लेखनमा अगाडि बढिरहेका हाम्रा कथाकारहरुमा मोहन ठकुरी (हेंग ओभर’), कमला आँसु मिमांशा), अम्बरबहादुर गहतराज (कान्छी साली), ग्याल्पो लामा (डब्लू), जयप्रसाद दाहाल (स्मृति–विस्मृति), साङ्मु लेप्चा (अव्यक्त कथा), साथसाथै होमबहादुर छेत्री, सुरज ‘धड्कन’, मोहन सुवेदी, सुमित्रा अविरल, थीरुप्रसाद नेपाल, खड्कराज गिरी, सिद्धार्थ राई, राजेन्द्र ढकाल, सुधीर छेत्री, पिताम्बर गुरुङ, भिङलिवाङ, धन ‘निर्दोष’हरु उल्लेख छन् ।
प्रसङ्गमा कथाकार मणिकुमार सुब्बाको कथासङ्ग्रह ‘दिग्भ्रम’ मा एउटा कथा परेको छ ‘देह बिसर्जन’ । मलामी र मलामीका कतिपय अनुष्ठानहरुलाई कथा वस्तु हालेर लेखिएको यस कथामा हाम्रो संस्कृृतिको एक पक्ष टड्कारो देखिन्छ । सन् २०१० मा साहित्यकार राजबहादुर राईको सम्पादनमा एउटा राम्रो कथा कृतिले जन्म लियो । नाउँ हो, ‘मिरिकका मार्मिक कथाहरु’ । यस सङ्कलनमा परेका ५८ वटा कथाहरु हाम्रो समाजको सामाजिक परिवेशमा बुनिएको पाइन्छ र सबै कथाहरु साँच्चै मार्मिक र हृदयस्पर्शी छन् । उक्त कृतिमा छनौट भई परेका हाम्रा कथाकारहरुमा विद्रोही साइँला, दशरथ सुब्बा, राजबहादुर राई, माधव बुढाथोकी, धनवीर पुरी, अमर दुङमाली, पूर्ण बान्तवा, गोपीचन्द्र प्रधान, कमला आँसु, जगत राई, पाल्देन तितुङ, मणिप्रसाद राई, राधा रसाइली, रेखा लामा, रोशन वाङदेल, शंकर सुब्बा फागो, शीला लामा, श्याम पुरी, सिद्धार्थ राई आदि सबैका कथाहरुले कुनै न कुनै सन्दर्भमा सांस्कृतिक चेत निर्वाह गरेका छन् । दशरथ सुब्बा ‘फागु’ को कथा ‘रात अँध्यारो छ’ मा दशैं ल्योछारको राम्रो विवरण भएको पाइन्छ ।
“फेरि दशैं आयो, वारिपारि गाउँमा मादल घन्कन थाले … … आज ता टीका, धनमतीले निधाभरि बाबुको हातको टीका ओडेर नयाँ गुन्यूँ चोली लाएर पिङ खेल्न झरी । … … … रोटे पिङ, छोङ्गे पिङ, लिङ्गे पिङ सबै एक–एक सर्को खेलेर धनमती चाँडचाँडै घर फर्किन् । तर किन हो आज उसलाई यसपालाको दशैं, गए दुई सालको जस्तो लागेन । पल्टन जाने सालमा धनेले मादल बजाउँदै रोटे पिङ खेलेको थियो, ‘कुलुलुलु कुलुलुलु’ कुर्लंदै लिङ्गे पिङ मच्चाएको थियो, घुर्नीमा दश रुपियाँ मार्दा उसलाई पाँच रुपियाँ जितौरी पनि दिएको थियो । सरदार बाजेको घरमा मार काट्दा धनेले धोव्रmो सुकुञ्जेल मालसिरी भनेको थियो, मार काटेको थियो … … सरदार बाजेले बोका छिनाएको वीरता स्वरुप उसको निधारमा दुई सिता अक्षेता अनि शिरमा सेतो फेटा र एक थुँगा फूल लगाइदिएको थियो ।”
सोही सङ्कलनमा सङ्कलित जगपाल सुब्बाको कथा ‘जुंगे बाजे’ मा हाम्रो सांस्कृतिक पर्व दशैंको आगमन, मादलको धिनताङ र मालश्रीको आलापको लामो चर्चा चलेको छ – “रात परेपछि कता–कताबाट ‘जै देवी भैरवी’ … भन्दै मालश्री अलापेको, ‘धाङ तिङ नाक तिङ’ गर्दै मादल बजाएको सुनिन्छ … … यसै कारण मादले नाच पनि पहिला सरदारकै घरमा लाउँथ्यो । सरदार सिकुवामा राडी ओछ्याएर बस्थे । अनि डबकाबाट कोदोको जाँड सुरुप्प पिएर पल्टनबाट भतिजोले ल्याइदिएको एक सय बीसको नाडी घडी हेर्दै – ‘लु बाजे त्यही नेहुली चरीको गीत गाऊ गाऊ’ भन्थे । बाजे पनि बिस्तार बिस्तार मादल बजाउँदै खूबै लय हालेर गीत शुरु गथ्र्यो – भैंसीले मार्या बन, गाईले मार्यो बन, नकाराई देऊ न, नेहुली चरी, रुन्छ मेरो मन । यो गीत सुनेपछि सरदारले तप तप गर्दै आँसु चुहाउँथे ।”
‘दशैंको बेला, बितेको सम्झना’ कथामा कथाकार रेखा लामा ‘दीक्षित’ ले अघि–अघिको दशैं पर्वको रमाहट र आएर अहिले त्यो रमाहटमा ह्रास आउँदै गरेको सामाजिक चित्रण गरेकी छन् ।
नेपाली साहित्यको कथा विधामा प्रतिनिधित्व भएको हाम्रो सामाजिक परिवेश, आर्थिक अवस्था, आञ्चलिकता, राजनैतिक र सांस्कृतिक चेतनाका कथाहरु असङ्ख्य छन् । यसरी आफ्नो समाज र वरिपरिको स्थिति–परिस्थिति, अहिलेको शहरी जीवन र त्यहाँ हाम्रो संस्कृतिको अवस्थान, ग्राम्य जीवनमा देखापर्ने कयौं कष्टकारी जीवन प्रणाली माझमाझै सांस्कृतिक उत्सव र अनुष्ठानहरुको स्पर्श–उपचार जस्ता यथार्थिक तथा भावनात्मक संयोजनका कथाहरु जो पाठकले सहजै बिर्संन सक्दैनन् अनि धेरै चर्चित छन्, तिनका नाम स्मरण गर्नु यहाँ यथोचित लाग्दछ । तिनमा लेखिका मटिल्डा राईका कथा कृतिहरु ‘टोटोलाको फूल’ र माई ड्याडी’, लाहुरेको कथा ‘सोनाम डोल्मा’, निर्मल यादको ‘जन्महारा’, वीरविव्रmम गुरुङको कथा ‘तिम्रो बासित पैसा छैन, लेखक सुखनमको कथा ‘कल्वर्ट न. ४६’, गुप्त प्रधानको कथा ‘कालो घोडा’, ग्राबियल रानाको कथा ‘शिकारी साइँलाको कथा’, सञ्जय विष्टको कथा ‘वर्तमान’ जस्ता उत्कृष्ट कथा रचनाहरुले कथा साहित्यका पाठकहरुलाई सधैं लोभ्याइरहनुको साथै कथा विधाको मर्यादा पनि माथि पुर्याएका छन् ।
संस्कृति भनेको वास्तवमा एउटा जाति प्राण हो, ढुकढुकी हो । यसैले हाम्रा कलाकारहरुले कथाहरु निर्माण गर्दा त्यहाँ कथाका प्राणस्वरुप हाम्रो संस्कृतिका झल्काहरु कुनै न कुनै रुप लिएर झल्किएकै हुन्छन् र नै ती यावत् कथाहरु जीवन्त बन्छन् ।