प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ । तपाईंको दृष्टिकोण के हो ?
भन्नलाई त साहित्यको समाजमा रुपान्तरणकारी भूमिका हुन्छ । एउटा सीमासम्म यो ठिकै पनि हो । तर प्रत्येक लेखकहरु ल्यू सून, गोर्की, युद्धप्रसाद मिश्र र मोदनाथ प्रश्रित हुँदैनन् जसका साहित्यले जनताको धुकधुकीलाई समाउँछ, उत्साह भर्छन्, आत्मबल जगाउँछ । बरु आजका हाम्रा लेखनहरु कदाचित भूत्ते हुँदैछन् कि जस्तो पनि लाग्छ । यथार्थका नाउमा कतै अति यथार्थ, अनेकवाद र रङमा साहित्य पन्पिने गरेको यो समयमा साहित्यले आफ्नो परिभाषालाई सम्हाल्न सकिरहेको देख्तिन म त ।
तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
लेखनको प्रकार र शैली, तरिका अनि कर्ममा यतिबेला खोट लागिसकेको छ । पेट भर्नकै निम्ति गोठवालाका महिमा बखानेर मुद्रा आर्जन गर्ने, भूत लेखन, घोष्ट राइट जस्ता कर्मले साहित्यको हुर्मत काढेको छ । युगलाई छाम्ने, धुकधुकीलाई सुम्सुम्याउने र समाजमा सकारात्मक सन्देश दिने, परिवर्तनको तिर्खा बोकेका सिर्जनाहरु नै यतिबेला समयले मागेको साहित्य हो, मलाई पनि मनपर्ने हुन् ।
तपाईं हाल के लेख्तै हुनुहुन्छ ?
यता दुई उपन्यास र एक समीक्षा समालोचनाको बटुलोको तयारी पछि पछिल्लो समय निवन्ध लेखनमा लागिर’छु ।
साहित्यकारहरुको दायित्व कस्तो हुनुपर्छ ? तपाईंको विचार प्रष्ट पारिदिनुहोस् ।
दायित्वकै कुरा गर्ने हो भने त साहित्यकार भन्ने प्राणीको समयको स्पन्दनलाई ठम्याउने औकात हुनुपर्ने ठान्छु म । लेख्नकै नाउँमा आफ्ना मनका लहड र विलौनाहरु पोख्नुलाई साहित्य भन्नै सकिन्न । बरु लेखन जति सरल, जनभाषाको प्रयोग, विचार र सन्देशले युक्त भए एउटा साहित्यकारले आफ्नो दायित्व बुझेको मान्नुपर्छ ।
हालसालको साहित्यलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
साहित्यलाई हेर्न कितावको किरो बन्नु भन्दा आफ्ना विवेकले वर्तमान समयलाई, समाजलाई, परिवारलाई एउटा रचनात्मक दृष्टिले पर्गेल्न सकियो भने आजको साहित्य त्यहीँ नै भेटिन्छ–भन्ठान्छु म ।
तपाईं आफू कुन कुन साहित्यकार चिन्तकहरुबाट प्रभावित हुनुहुन्छ ?
नाम त धेरै नै छन्, ती सबैको नाम गनेर पातो भर्न समस्या नै छ । प्रभाव त चिन्तन भन्दा कर्मगीताका सर्जकहरुबाट म आफू प्रभावित छु । तर प्रभाव परे पनि लेख्ने ढङ्ग भने मेरो आफ्नै छ ।
तपाईंको लेखकीय जीवनको शुरुवात कसरी भयो ? र तपाईंको साहित्यिक यात्रा कुन विधाबाट शुरु भयो ? कृपया सबैभन्दा पहिले प्रकाशित कुनै पनि विधाको लेख रचनाको उल्लेख गर्नुहोस् ।
लेखक बन्न त पहिला वातावरण चाहिने र’छ । मेरा बा पनि आफ्ना समयका पुराना समयका लेखक नै हुन् । छ–सातवटा विभिन्न विधाका पुस्तक वनारसमा हुँदै लेखिएका रहेछन् । पछि मैले देखेरै पनि बङ्गला साहित्यको देवदास उपन्यास अनुवाद गरेको देखें, जुन दार्जिलिङबाट प्रकाशित छ । बा’को पुस्तक संग्रह पनि ठूलै थियो । सुदूर गाउँमा बसे पनि हुलाकबाट विभिन्न पत्र–पत्रिकाहरु आइरहन्थे । ती सबै नै प्राय: म मौका पर्नासाथ चाटिचुटी पार्थें । बा’को साहित्यप्रतिको अभिरुचिले मलाई अज्ञात रुपमै साहित्य लेखनप्रतिको भोक त जागेकै रहेछ । तर प्राय: सबैको जस्तो मेरो पनि प्रथम प्रकाशित कविता दार्जिलिङको धूँवा साहित्यिक मासिकमा छापिएको हो, २०१८ सालतिर ।
तपाईंलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ?
यो प्रश्नको उत्तर त अघिल्लै उत्तरमा आइसकेको छ ।
तपाईंले विविध विधामा कलम चलाउनु भएको छ । कुन विधाको लेखनमा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
यसै भन्न पनि समस्या छ । शुरुमा कविता काव्यबाटै लेखन अघि बढ्यो । पछि निबन्धहरुतिर रुची बढ्यो । यता उपन्यासहरु पनि लेख्न त लेखिए तर उज्यालोमा आउन बाँकी नै छन् । उसो त रुची नाटक लेखनमा पनि नभएको हैन । सन्तुष्टिको कुरो चैं के भन्ने ….. ? जे फुर्यो, त्यही लेख्यो, त्यसैमा सन्तुष्टि ।
साहित्यकारको रुपमा तपाईंको सही मूल्याङ्कन भएको छ, कि छैन ?
खै …. ! मुलुकमा लेखकहरुको घारी नै छ, गर्नेले पनि कसको गरुन् कसको नगरुन् । आफू त यसै पनि सन्तोकी मान्छे । प्रचारमा आउने सीपको पूरै अभाव छ, आफूसित ।
साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
साहित्य भनेको कला पनि हो; त्यहाँ सौन्दर्यको सुगन्ध पनि रहन्छ । राजनीति त धेरै क्रूर पनि हुन्छ । स्वार्थहरुको गन्धले परिपूर्ण । केही सामञ्जस्यता देखिए पनि मान्छेलाई भावनात्मक ऊर्जा त प्राप्त हुन्छ । तर साहित्य सुकोमल ऊर्जा हो भने राजनीति अलिक त क्रूर नै हुन्छ ।
कृपया तपाईंको साहित्यिक सिर्जनाका जीवन–यात्राहरु बताइदिनुहोस् ।
शुरुवातीकालमा लेखिएका कृतिहरु प्रकाशन गर्न निकै समस्या परेकै हो । पछि बाटो खुल्दै गयो । यतिबेला पनि चार थान जति पुस्तक तयार त छन्—तर….. प्रकाशनको पीडाले सिर्जना गर्न अवरोध पर्ला कि जस्तो पनि लाग्छ ।
एकजना सफल लेखक हुन के के गुणहरु आवश्यक हुन्छ ? तपाईंको विचार राख्नुहोस् ।
यो हाम्रो राष्ट्रका र विश्वका अनेक लेखकहरुका के कस्ता गुण र दोष थिए, त्यो त पर्गेली साध्य छैन । पारिजातमा, देवकोटामा, माधव घिमिरेमा, युद्धप्रसाद मिश्रमा भएका गुणहरु केलाउन लागे आफै वैचारिक विचल्लीमा पर्न बेर छैन । बरु यी माथिका लेखकहरुमा एउटा भावनाको सङ्घर्षका आगो सधैं छातीमा बोकिराख्थे क्यार, त्यसैले उनीहरुलाई सञ्चले बस्नै दिदैनथ्यो होला । शब्दका भावनात्मक र कलात्मक अस्त्र बोकेर यी सधैं सिर्जनामा साधनारत रहन्थे क्यार । यही हो कि लेखक बन्नलाई उसमा हुनुपर्ने गुण वा दोष — जे भनेपनि ।
‘लेखक स्वतन्त्र हुनुपथ्र्यो’ यस भनाइप्रति तपाईंको भनाइ के छ ?
स्वतन्त्र त जोगी साधुहरु पनि हुँदैनन्, एक एक पथ पन्थ र विचारको आग्रहमा रहेकै हुन्छन् भने सामाजिक व्यक्तिहरु स्वतन्त्र हुन्छन् भन्न त गाह्रै छ, बरु उनीहरुमा पनि एक–एकवटा आग्रह रहेकै हुन्छ । तर त्यसलाई प्रकट गर्ने नगर्ने व्यक्तिको मन हो । लेखक पनि यस्ता आग्रहबाट कसरी मुक्त होला त…….?
‘नेपालका प्रज्ञा प्रतिष्ठानहरु लेखक कलाकारहरुको स्वतन्त्र प्रतिष्ठान हुनुपथ्र्यो तर त्यसो नभई नेपाल सरकारको कार्यालय जस्तो भयो ।’ यस भनाइप्रति तपाईंको टिप्पणी के छ ?
खै….., ऐलेसम्म त त्यस्तो स्वतन्त्र प्रतिष्ठान रहेको थाह छैन । राजा महेन्द्रले राजनीति गर्न नसक्ने, आफ्ना समर्थक बौद्धिक बूढाहरुलाई थन्काउने र दाना खानदिने तबेला जस्तै थियो । यो प्रजातन्त्र आएपछि पनि अलिअलि स्वरुप र प्रक्रियामा फेरबदल गरेजस्तो गरेर उही आफ्नै वौद्धिक धुपौरेहरुको जमघट पारिएको छ । अब त हुँदा हुँदा प्राज्ञ हुने योग्यताको नापजोख समेत राजनीतिका लयमा जोडिएको छ । असाध्य ठूला विद्वानहरु, तपस्वीहरु, योेग्य मनिषिहरु जताततै देखिन्छन् तर उनीहरु पनि सरकारको प्रज्ञा प्रतिष्ठानलाई हेरेर प्राय विद्रुप मुस्कानसित आत्मसात गरेका होलान् । सरकारले बौद्धिकता र योग्यता पनि आफ्नै भनेकामा मात्र देख्छ । बरु यो प्रश्न नै आज एउटा व्यङ्ग्यात्मक प्रश्न भएको छ ।
जीवनमा कहिल्यै कठिनाइ अनुभव गरी लेखकीय जीवनबाट निराश हुनु भएको छैन ?
लेखकीय जीवनबाट आफू सधैं उत्साहित नै छु । लेख्ने कुरा उत्साहवद्र्धक र रमाइलो लाग्ने कुरा नै हो । तर त्यसपछि उताको समस्याले भने सधैं पिरोलिएको हुन्छु ।
दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरु बारे जानकारी दिनुहुन्छ कि ?
भन्नै पर्दा झण्डै ‘शोक न सुर्ता भोक न भकारी’ जस्तो मान्छे हुँ म । धेरै फिक्री र तनावहरुमा कहिल्यै पर्दिन । मात्र यता केही समयबाट रोगले थिचोमिचो गर्न थालेपछि कहिलेकहीं मृत्यु बिरालोका चालमा यसो आएर फर्किन्छ कि जस्तो पो ठान्न पुग्छु । तर पनि स्वस्थ जीवन बाँच्ने ध्याउन्न भने मेरो सधैं रहन्छ ।
तपाईंको व्यक्तिगत र साहित्यिक जीवनका तीता, मीठा अविस्मरणीय क्षणहरु छन् भने कृपया बताइदिनुहोस् न ।
साहित्यिक जीवनको तीतो अनुभव भने पुस्तक तयार हुँदासम्म आर्थिक जोहो नभएपछि सधैं मनलाई थिचिरहन्छ । प्रकाशित भएर लोकार्पण गरेपछि भने एउटा युद्धै जितेको खुसी पनि ।
भविष्यमा तपाईंको के योजना छ ?
जीवन सङ्घर्षमा खारिंदै गएपछि लेख्ने सीप पनि अलिक खारिने नै रहेछ । अबको समय भनेको सक्तासम्म कलम र कागतकै खेतीमा लागिरहने हो र सक्ने पनि त्यहीँ हो ।
तपाईंको कुनै खास अम्मल छ कि ?
मीठा गीत सुन्ने, चराचुरुङ्गी र फूलहरु धेरै मन पराउने बाहेक सामान्य रुपमा तलतले जीवन नै बिताउँदै आएको छु । अब तपाईं नै अनुमान गर्नोस् ।
तपाईंको चाख कस्तो किसिमको छ ? खासगरी खानपिन र साथीसङ्गाती सम्बन्धमा ?
खानपिनका हकमा आफ्नी घरकी माउले बनाएको सबै खाना स्वादसितै खान्छु । अरुका हातको उति स्वाद पर्दैन । साथी सङ्गाती बनाउने सीप कहिल्यै आएन ।
रोग व्याधिले कतिको सताउने गर्छ ?
मैले थाहा पाएदेखि नै कुनै न कुनै रोगले सताएरै जीवन बिताएको छु । रोग र मेरो सम्बन्ध साह्रै नजिकको छ । ऐले पनि चार पाँच जति गोलीगठ्ठा ती शरीरका पाउनाहरुलाई ख्वाएरै पालेको छु । खान नदिए लाप्पा खेल्न थालिहाल्छन् ।
अन्तमा जनमत र पाठकहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
यो सरकारी भत्ता खाने उमेरमा आइपुग्दा थाहा पाएको निचोड हो — जीवन सङ्घर्ष हो; बाँचुञ्जेल यससित लडिरहनुपर्छ । सफलता र असफलता पनि संयोगकै कुरा रहेछ । अब जनमतलाई भन्याभए — मैले नै जनमत प्रकाशनसित उसको वाङमयिक लामो संघर्ष अनि मुलुक र मुलुक बाहिरसम्म आफ्नो संघर्षका झिल्काहरुले आलोकित पार्न कठिन र श्रमसाध्य जीवनलाई नमन गर्दै श्रम र सङ्घर्षका अनन्त गाथाहरु निर्माण गरेर एउटा वाङ्मयिक वटवृक्ष भइसकेको जनमतलाई श्रद्धापूर्ण अभिवादन गर्दछु । :