‘हेलो रजनीजी बोल्नु भएको हो ? तपाईं तुरुन्त बालाजु बसपार्कबाट २,४ घर पूर्वतिर गीता गेस्ट हाउसमा आउनुस् त ! यहाँ तपाईंले बताए अनुसारको हुलिया भएको एउटा लोग्नेमान्छे फेला परेको छ ।’ इन्स्पेक्टर हरि केसीको फोन आउनासाथ हत्तपत्त ५ वर्षकी छोरी ऋतुलाई च्यापेर रजनी कलङ्की चोक पुग्छे र ट्याक्सीमा बालाजुतिर हुँइकिन्छे ।
पाल्पाको भैरवटोलमा मध्यमवर्गीय परिवारमा जन्मेकी रजनीले तानसेनको सरकारी स्कुलबाट एस्एल्सीसम्मको अध्ययन पूरा गरेकी हो । उसकी जेठी दिदी रमिलाको विवाह भैरहवामा भएको थियो । जब रमिला सुत्केरी भइ उसले आफ्नो हेरचाह पनि हुने र बहिनीलाई कलेज पढ्न सजिलो पनि हुने हुँदा आफूसँगै राख्ने बुबासँग आग्रह गरेपछि रजनीलाई आइ.ए.सम्मको अध्यन भैरहवामै दिदीसँग बसेर पुरा गर्ने अवसर जुर्यो । त्यही भैरहवा बसाइकै क्रममा रजनीको चिनजान रमेश पाण्डेसँग भएको हो । स्थानीय तवरमा राजनीतिकर्मी एवम् समाजसेवीका रूपमा चर्चा कमाएका रमेशको व्यक्तित्व देखेर रजनीको मनभित्र पत्तै नपाइ बैंसका मुनाहरू पलाउन थाले । अन्तत: त्यो चिनजानले विवाहको रूप लियो । आफ्नो सपनाको राजकुमार पाएर रजनीको मन त्यसै प्रफुल्लित थियो । रजनी जस्ती शीलस्वभाव भएकी गुणवती बुहारी पाएर रमेशका बाबु आमा पनि प्रफुल्लित थिए । रमेश र रजनीको मायाको निसानीको रूपमा जब १ वर्षमै ऋतुको आगमन भयो परिवारमा अर्को खुसियाली थपिएको थियो ।
तर एक्कासी यो कस्तो बज्रपात पर्यो जीवनमा आज विनाशकारी भूकम्प गएको सातौँ दिन । यो ७ दिन रजनीका लागि सात युग जस्ता लामा भए । किन यति क्रूर भइन् धर्तीमाता उनको हाँस्दो खेल्दो उज्यालो जीवनमा किन यसरी घोर अन्धकार घोलिदिइन् ? कुन गल्तीको सजाय हो यो ? यही प्रश्न रजनीको मनमा बारम्बार आइरहन्छ ।
भर्खरै बालाजु बसपार्क नजिकै भुइँचालोले भत्काएको घरको भग्नावशेष भित्रबाट ७ दिनपछि नेपाल आर्मी र नेपाल प्रहरीको टोलीले एउटा युवकलाई जीवितै उद्दार गरेको छ र उक्त टोलीलाई त्यहाँ भेला भएका सर्वसाधारणको भीडले उचालेर अभिनन्दन गर्दैछ । गुडिरहेको ट्याक्सीभित्र बजिरहेको एफएम्को समाचारतर्फ रजनीको ध्यान केन्द्रित हुन्छ । उनीभित्रको आशाको दियो तेजिलो बन्छ । उनका श्रीमान् रमेश पनि अवश्य यसरी भेटिने छन् । लामो सास फ्याँक्दै रजनी नेपाली सेना र नेपाल प्रहरीले जुन साहस र जागरुकताका साथ यो विपत्मा उद्दार कार्य गरिरहेका छन् त्यसलाई स–सम्मान सम्झन पुग्छे ।
रमेश महिनाको २ पटक काठमाडौँ पुगेकै हुन्थे । ‘राजनीतिक मान्छे कहिले पार्टीको काम आइ पर्छ, कहिले समाज सेवामा कुद्नु पर्यो, के गर्नु कामै यस्तै पर्छ’ यस पटक पनि यसरी रजनीलाई सम्झाएर रमेश तीन दिनको लागि काठमाडौँ आएका हुन् । दिनभरि घरधन्दा र छोरीको हेरचाहमा जसोतसो समय बिते पनि रमेशविना रजनीलाई रात कटाउन निकै मुस्किल पथ्र्यो । छोरी स्कुल जान थालेपछि त्यसो त रमेशकै सक्रियतामा स्थानीय रूपमा सञ्चालन भएको एन्जीओमा काम गर्न जाने इच्छा उनले व्यक्त गरेकी थिइन् तर रमेशले सहमति जनाएनन् । आफू बिहानदेखि बेलुकासम्म काम भन्दै कुद्थे, घरमा कुनै कुराको अभाव उनले गराएका थिएनन् । कुनै पनि साथीभाइलाई घरमा कमै ल्याउने र ल्याइ हाले पनि रजनीले तिनीहरूसँग बोलेको त्यति मन पराउँदैनथे । रमेशको यो बानी भने रजनीलाई अलि अचम्मको लाग्थ्यो तर उनी खुसी थिइन् आफूलाई संसारका सुखी स्वास्नीमान्छे मध्ये ठान्थिन् ।
यस पटक रमेश काठमाडौँ जाने अघिल्लो रात रजनीले भयङ्कर नराम्रो सपना देखी । रमेशलाई कालो भैँसीले दक्षिणतिर लखेटेको ! आत्तिएर निद्रामैे आफू पनि यस पटकसँगै काठमाडौँ जाने इच्छा व्यक्त गर्दा रजनीको गाला प्रेमले मुसार्दै रमेशले अर्को पटक अवश्य सँगै लग्ने वाचा गरेका थिए । त्यसपछि उनी रमेशको छातीमाथि टाउको राखेर ढुक्कसँग निदाएकी थिइन् ।
‘ल दिदी आइ पुग्यो बालाजु चोक अब भन्नुस् कता जाने ?’ ट्याक्सी ड्राइभरको बोलीले रजनी निद्राबाट बिउँझिए झैँ झस्किन पुगी । अहो ! कस्तो वीभत्स दृश्य, रजनीले बाटोभरिको दृश्य यादै गरेकी थिइन् । ‘हेर्नुस् त दिदी ऊ त्यो दुई वटा घर त एक अर्कालाई अँगालो मारे जस्तो गरेर ढल्किए छन्, थोरै जगमा धेरै तले घर बनाए पछि यस्तै हालत हुन्छ । ऊ त्यो पश्चिमपट्टि भत्केको घर देख्नु भो ! त्यहाँ त १२ जना एकै चिहान परे रे, राती राती त्यो घर भित्रबाट ए भाग ! भाग ! आयो ! आयो ! भनेर कराउँछ रे त !’ एकनाससँग ड्राइभर बोलिरहेको छ तर रजनीका आँखा भने गीता गेस्ट हाउस खोज्न तल्लिन छन् । ट्याक्सीबाट त्यही ओर्लेर रजनी इन्स्पेक्टरले बताए झैँ पूर्वतर्फ लागेकी मात्र थिई, ‘त्यहाँ तपाईं रजनीजी हो ? म इन्स्पेक्टर हरि केसी आउनुस् मसँग’ भन्ने आवाज उनको कानसम्म आइ पुग्छ र त्यही आवाजलाई पछ्याउँदै उनी भत्किएको घरको भग्नावशेषतर्फ लाग्छिन् । दुई तला भासिएर जमिन मुनि पुगेको र तेस्रो तला जमिनको लेबलमा आइ पुगेको घर जसको माथिपट्टि गीता गेस्ट हाउस लेखेको बोर्ड भने झुन्डिनै रहेको थियो । त्यही घरको तेस्रो तलामा ढलान फोरेर बडो मुस्किलले उद्दार टोलीले भित्र हेर्न मिल्ने प्वाल बनाएको रहेछ । भग्नावशेषभित्र पुगेपछि सोही प्वालबाट दोस्रो तलामा हेर्दै इन्स्पेक्टरले रजनीलाई भने, ‘हेर्नुस् त कहीँ यही मान्छे तपाईंको श्रीमान् रमेश पाण्डे त होइन !’ रजनी केही नबोली अगाडि आउँछे र त्यहाँबाट भित्र हेर्छे । इन्स्पेक्टर फ्याँकेको टर्चको उज्यालो दौडिँदै कोठाभित्र छिर्छ । त्यही उज्यालोमा कोठाभित्रको दृश्य चम्किलो बन्छ । जीवनमा यस्तो पनि होला भनेर रजनीले कहिल्यै कल्पनासम्म गरेकी थिइन । रजनीलाई वैशाख १२ को भन्दा ठूलो भूकम्पको धक्का महसुस हुन्छ । रजनी केही बोल्न सक्दिन मात्र हेरिरहन्छे । पछाडि भीडबाट आइरहेका यस्ता आवाजहरू रजनीको कानसम्म आउँछ र हावामा हराउँछ । दुवै प्रेमी–प्रेमिकाले एक अर्कालाई अँगालोमा कसेर सुतिरहेको अवस्थामा भूकम्प गएछ ! दुवै नाङ्गा छन् शरीरमा कपडा छैन आदि, आदि ।
‘रजनीजी तपाईंका श्रीमान् रमेश पाण्डे यिनै त होइनन् ? राम्ररी हेर्नुस त !’ इन्स्पेक्टर हरि के.सी. प्रश्न गर्छन् । रजनीलाई जोरजोरले चिच्याएर त्यो अर्कै केटीको अँगालोमा बाँधिएर सुतेको नाङ्गो लास मेरो बेइमान श्रीमान् रमेश पाण्डेको हो भनौँ जस्तो लाग्छ तर शब्दहरू अनायासै रजनीको कन्ट्रोलमा नबसेर स्वतन्त्र भएर बग्छन्, ‘म यो मान्छेलाई चिन्दिनँ इन्स्पेक्टरसाहेब यी मेरा श्रीमान् होइनन्’ भन्ने शब्द उनको ओठबाट फुत्त बाहिर निस्कन्छ । त्यसपछि उनी जुरूक्क उठ्छिन् र बाहिर बसिरहेकी छोरी ऋतुलाई च्यापेर फटाफट मुल सडकतर्फ अगाडि बढ्छिन् ।