निलम कार्की निहारिका मेरो समयको उम्दा लेखक । जवरजस्त किसिमले नेपाली साहित्यमा आफ्नो पहिचान बनाएकी उनी र म एकै समय सृजनाकर्ममा छौं भन्न पाउँदा मलाई खुशी लागेको छ । निलम र मैले साहित्यमा संघर्ष गरेको समय एउटै हो । पचासको दशकमा हामी एकसाथ साहित्यिक गोष्ठीहरुमा सहभागी हुन्थ्यौं । पत्रिकाहरुमा रचना छपाउन एकसाथ दौडिन्थ्यौं । साहित्यिक यात्राहरुमा हाम्रो सामुहिक उपस्थिति हुने गथ्र्यो ।
भर्खरै बजारमा आएको उनको नयाँ उपन्यास ‘द्रौपती अवशेष’ ले उनको लेखकीय उर्जालाई थप प्रष्ट पारेको छ । यो किताव हातमा लिएर ओल्टाइ पल्टाइ गरेर हेरेपछि लाग्छ, निलमले पाउन बाँकी पुरस्कार त अव केही रहेनछ । ‘अर्की आइमाइ’का लागि उनले सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखकको पुरस्कार पाएकी छिन् । ‘चीरहरण’ कालागि उनले पद्यश्री साहित्य पुरस्कार र ‘योगमाया’का लागि मदन पुरस्कार पाइसकिन् । अव यति राम्रो उपन्यास ‘द्रौपदी अवशेष’ ले कुन पुरस्कार पाउने ? म सोचमग्न रहेँ । अव पक्कै अनुवादको आवश्यकता छ र उनलाई कुरिरहेको छ – अन्तराष्ट्रिय पुरस्कारहरुले ।
म कुनै समालोचक या समीक्षक होइन । कथा कविता लेख्न रहर गर्ने र मिलेसम्म राम्रा कृति पढ्न आतुर रहने एक सामान्य मानिस । म यहाँ ‘द्रौपदी अवशेष’ माथि सामान्य पाठकीय अनुभूति राख्न सक्छु । समालोचकीय सिद्धान्तभन्दा पर रहेर सिलसिला नमिलाई लेखिने यस अनुभूतिले लेखक निलम कार्की निहारिकालाई के कस्तो लाभ मिल्ला ? म भन्न सक्दिन । तर मेरो पाठकीय मतले पाठकहरुलाई किताव चिन्न भने पक्कै मददत पुग्नेछ भन्ने मेरो विश्वास छ ।
उपन्यास पढ्न सुरु गर्दा दुई फरक फरक सम्वादले म निकै प्रभावित भएँ ।
पहिलो लेखक निलमले आफ्नो भनाईमा लेखेको — ‘म आएकी हुँ, कर्णालीबाट द्रौपदी अवशेष लिएर ।’
उनको यो उद्घोष उपन्यासका प्रत्येक पानामा पटक पटक महशुश गर्न सकिन्छ ।
र अर्को, उपन्यासको आरम्भमा पेमाले भनेकी — ‘मलाई पनि साथै लैजा है ।’
साथमाथिको यो भरोसाबाट सुरु भएको उपन्यास भरि रित्तोपनको आभाष मिलिरहन्छ ।
यी दुबै सम्वादमा मैले उपन्यासको भिन्न स्वभावको अनुमान र परिकल्पना गर्न पाएँ । अझ हुम्लाका जनप्रतिनिधि छक्कबहादुर लामाले लेखेको — ‘संसारबाट विलुप्त, दुर्लभ र प्राचीन महाभारतकालीन द्रौपदी (बहुपति) वैवाहिक प्रथा उत्तर हुम्ला जस्तो अति दुर्गम हिमाली क्षेत्रमा पाइनुले अन्यथा अर्थ राख्दैन ।’
पढिसकेपछि म झन बढि आतुर भएँ उपन्यास पढ्न । निलमले छोटा वाक्यहरुमा कस्तरी आफुलाई पस्केकी ?। हरेक पाना पल्टाउँदै जाँदा म झन बढि आनन्दित र रोमाञ्चित भएँ । सजिला र छोटा वाक्यहरुमा उनले हिमाली कथा लेखेकी छिन् । बहुपति प्रथालाई खुलस्त पारेकी छिन् ।
हाम्रो देश हिमाली मुलुकका रुपमा विश्वमानचित्रमा परिचित छ । देशभन्दा बाहिर जहाँ पुगेपनि हामीलाई हिमाली देशका मानिस भनेर नै चिन्छन् । माउण्ट एभरेष्टको देशका नागरिकका रुपमा हामी सम्वोधित छौं विश्वसमुदायमा । तर हामी कहाँ हिमाली भेग र परिवेश समेटिएका साहित्य कम छन् । अझ त्यसमा पनि मैले त निकै थोरै पढेको रहेछु ।
मैले पढेका थोरै हिमाली साहित्यमा, उम्दा लागेको दौलतविक्रम विष्टको हिमाल र मान्छे हो । त्यसपछि अहिले निलमकार्की निहारिकाको द्रौपदी अवशेष ले मलाई रन्थनाएको छ । त्यसो त हिमाली परिवेशमा लेखिएका अन्य केही आख्यान र महाकाव्य पनि मैले पढ्ने अवसर नपाएको होइन । नियात्राहरु अझ धेरै पढेको छु ।
चपाइएका अनुहार, ज्योति ज्योति महाज्योति जस्ता अब्बल उपन्यासका सर्जक दौलतविक्रम विष्टको हिमाल र मान्छेको त्यति चर्चा हुन पाएन । जति हुनुपथ्र्यो । किनभने त्यो ०४५ सालमा एकेडेमीबाट प्रकाशित भयो । त्यस लगत्तै मुलुकमा प्रजातन्त्र पुर्नस्थापना भयो र एकेडेमीका तत्कालीन प्रकाशनहरुको प्रचारप्रसार हुन पाएन । त्यो चालिसको दशकको हिमाली परिवेशमाथि लेखिएको प्रेम कहानी हो । त्यसमा हिमाली भेग र त्यहाँको जनजीवन समेटिएको छ । हिउँजस्तै चिसा मानिसका कथा र उनीहरको जीवन पढ्न सकिन्छ हिमाल र मान्छेमा ।
निलमको ‘द्रौपदी अवशेष’ हिमाली भेग, त्यहाँको जीवन र सांस्कृतिक यथार्थताको आख्यान हो । यसमा हिमाली भेगमा विद्यमान बहुपति प्रथा र त्यसले स्वास्नीमानिसका मनमा उब्जाएको रित्तोपनालाई उजागर गरेको छ – त्यो पनि पुरुष मनोविज्ञानको आँखाबाट । पुरुष हेराईमा महिलाको मनको खालीपनालाई निलमले सरर्सती आख्यानमा उतारेकी छिन् ।
मैले सुरुमा पनि भने सजिलो भाषाशैलीमा निलमले एउटी नारीको मनको रित्तोपनालाई उपन्यासभरि विभिन्न सन्दर्भ र प्रशंगहरुबाट व्यक्त गरेकी छिन् । मनैमनले भरिभराउ छिन् की झैँ लाग्ने पेमा, संसार बुझे झैँ लाग्ने दिग्विजय र आफैभित्र कतै हराइरहेको ग्याल्जेनका माध्यमबाट निलमले सुन्दर भावनात्मक कथा बुनेकी छिन् ! म पढिरहन्छु र रोमाञ्चित भइरहन्छु ।
उपन्यास पढ्दा नियात्रा पढिरहेँझै लाग्ने । यात्रा उपन्यास नै भनेपनि फरक नपर्ने जस्तो । कर्णालीको हुम्ली सभ्यता, संस्कृतिको जानकारी लिन चाहनेहरूको लागि यो किताव निकै उपयोगी छ । आफ्नै देशको ओझेलमा परेका संस्कृतिको पहिचान, ऐतिहासिक जानकारी, भौगोलिकता, परम्परा, धार्मिक एवं पारिवारिक जानकारीले उपन्यास भरिएको छ । गज्जव त के भने हिमाली भेगको दैनिकी, मृत्यु संस्कार, अभाव र दरिद्रताको स्केच उपन्यासमा देख्न सकिन्छ । शब्दहरुले तयार पारेको सजिव चित्र ।
वहुपति र वहुपत्नीबारे पक्ष विपक्षमा तर्क वितर्कले उपन्यासकारको कुशलता प्रष्टिन्छ । माया प्रेमका सन्दर्भमा निलमले आफुलाई निकै सम्भालेर प्रस्तुत गरेकी छिन् । प्रेमको संवेगमा उनले आफ्ना पात्रहरुलाई हतारिन दिएकी छैनन् । मलाई मज्जा लागेको कुरा के हो भने सबैभित्र छ चाहना तर सभ्यताले छोपिएका या छोप्न वाध्य पारिएका ।
म टिभीमा काम गर्छु । समाजका विकृत पाटाहरुलाई हामी भिज्युअलका माध्यमबाट देखाउँछौं । खराव चिज देखाउनु अघि हामी लङ्ग सर्टको प्रयोग गरेर पहिला दर्शकलाई त्यसका लागि तयार पार्छौ । यो निकै जोखिमपूर्ण काम हो र त्यसमा अक्सर हामी सफल हुन्छौं । निलमले पनि नेपालमा छदाँ केही समय टिभीमा काम गरिन् त्यही भएर होला उनले उपन्यासको मध्य पुग्नु अघि नै आफुले भन्न खोजेको कुरामा लगभग पाठकलाई तयार पारिसकेकी हुन्छिन् । बडो मिहिन तरिकाले उपन्यासमा उनले दृश्य सम्पादन गरेकी छिन् । उनको यो ‘क्राफ्टिंग स्किल’ गज्जवको छ ।
दुई खण्डमा रहेको यस उपन्यासमा नीलमले दुर्गम जिल्ला हुम्लाको पनि अति दुर्गम उत्तरी भेगको ग्रामीण परिवेशमा रहेको चलनलाई कथावस्तु बनाएकी छन् । उनले समाजशास्त्रीय शैलीमा त्यहाँको बहुपति प्रथालाई केलाएकी छिन् । अमेरिका बसेर नेपालको हिमाली भेगको चलनलाई हुबहु उतार्न सक्नु पक्कै पनि चानचुने कुरा होइन ।
यो हिमाली भेगको दुखको कथा हो । पवित्र प्रेमको कथा हो । बहुपतिप्रथाविरुद्धको कथा हो । ग्रामिण भेगको सुन्दर वर्णन र समाजिक विविधताको राम्रो अध्ययन छ । निलमले यस उपन्यासमा बहुपति प्रथाको कुरीतिबारे बोलेकी छन् तर लेखक हावी भएको आभाष हुदैन । हो, निलमको यही क्षमताले म कायल भएँ । यो कठिन विषयमा उनको लेखनीले निकै सतर्कता अपनाएको छ । आफुले नबुझेको संस्कृति र प्रचलनलाई उनले ठाडै इन्कार गरेकी छैनन । बरु जे हो त्यो देखाएर पाठकलाई नै यो गलत रहेछ भन्ने बुझाउन तम्तयार छिन् ।
बहुपति प्रथामाथि केन्द्रित यस उपन्यासले इतिहास र वर्तमानको पुल बनेर कथा भनेको छ । यसमा द्रौपदीको जस्तै बहुपति विवाह संस्कार मूल विषय रहेको छ । जुन विवाह प्रथा हाम्रो देशमा पनि विद्यमान छ । तर घट्दो क्रममा छ, लोपोन्मुख छ । त्यसो त भारतका हिमाचल प्रदेशलगायत केही स्थानमा यो बहुपति प्रथा छ भन्ने अध्ययनहरुले देखाउँछ । त्यस्तै तिब्बत र भुटानमा पनि छ । श्रीलंकामा पनि थियो भन्ने अध्ययनले देखाएको छ । दक्षिण अफ्रिकाका केही स्थानमा अहिले पनि बहुपति विवाह गर्ने चलन रहेको देखिन्छ ।
निलमले केवल मनोविनोद्को लागि कल्पनाको जलप लगाएर लेखेको उडन्ते उपन्यास होइन यो । वास्तविकतालाई उजागर गर्न भरमग्दुर प्रयास गरेर तयार गरिएको यो यथार्थ र जीवन्त दस्तावेज हो । यस दस्तावेजमा उनले आफ्ना मनका भावहरुलाई निकै कुशलतापूर्वक लेखेकी छिन् । दार्शनिक प्रशंगहरु पनि छन् । पढ्दा मज्जा आउने खालका ।
उपन्यासका मुख्य पात्रहरू दिग्विजय, ग्याल्जेन र पेमा तीन जनाकै चरित्र चित्रण गज्जव छ । पुरै उपन्यास पेमाकै वरिपरी घुमिरहेको छ । एउटा अचम्मको पात्र जसलाई सबैले खुब माया गर्छन् । उसको पीडामा सबै दुखी हुन्छन् । बेलाबेलामा लाग्छ स्वयं दिग्विजय पेमालाई प्रेम गर्छन् । उपन्यास पढिरहँदा नपत्याउँदो किसिमले म आफै पेमालाई प्रेम गर्न पुग्छु । मजस्तै धेरै पाठकले पेमालाई प्रेम गर्नेछन ।
एक ठाउँमा दिग्विजय भन्छन् – पेमाको नकोरेको कपाल, नधोएको अनुहार पनि कति स्निग्ध । कृत्रिमता थिएन त्यहाँ । थियो –सुन्दरता, निश्छलता अनि कोमलता ।
यी तीन पात्रमार्फत सिंगो हिमाली भेग र हुम्ली जीवन कितावमा उतारिएको छ । संस्कृतिको आडमा एउटी महिला एक भन्दा बढी पुरुषको भोगिनी बनेर बस्नु कस्तो पीडादायी अवस्था होला ?। यस परम्पराले कति नारीहरुमा अव्यक्त पीडा होला । ती कहाँ कहाँ कसरी कसरी पोखिए होलान् ? दिग्विजय बाहेक अन्य पात्रले बोलेको भाषाको आञ्चलिक सौन्दर्यले प्रारम्भदेखि नै पाठकलाई निक्कै राम्रोसङ्ग प्रभावित पार्छ ।
निलम लेख्नका लागि मात्र लेख्दिनन् । उनले अघिल्ला उपन्यासमा झैं यस उपन्यासमा पनि समाजका मुद्दामा उपन्यासमार्फत बौद्धिक बहस खोजेकी छिन् । यसरी मुद्दाको रूपमा उठाइएका प्रश्नहरूको आफ्नै अस्तित्व वा सौन्दर्य हुन्छ । हो यो उपन्यास बौद्धिक बहसका लागि एउटा महत्वपूर्ण प्रस्ताव हो । जसमाथि उनको सुन्दर प्रस्तुतिले थप न्याय गरेको छ ।
विषय र प्रचलनमाथि प्रश्न उठाउन सकिदैन । हरेक सन्दर्भ स्वीकार्य छ । बरु पेमालाई नै धेरै जिम्मेवारी दिएकी हुन् की निलमले भन्ने लाग्छ बेलाबेलामा । केही शब्दहरुको छपाईमा गल्ती छ । सामाजिक अभियन्ता, राजनीतिकर्मी, योजनाविद्हरूले यो पुस्तक पढ्नु पर्छ भन्ने मेरो ठम्याइ छ ।