कलम– गजबको छ ! आजभोली नै हुनुपर्ने कार्य मुल्तबीमा राखिदिन्छ । हतारोहीन पत्र ‘बैना’ स्वरुप नै लेखिदिन्छ । लेखन पनि फटाफट ! हिजोको लेखन– ‘गणेश–फास्ट’ हुन्थ्यो, सुन्दर अक्षरमा । आजको लेखन– ‘सुपरफास्ट’ भइरहेछ, कम्प्युटरमा । हिजोको ‘पेनम्यान’– आज ‘कम्प्युटरम्यान’ भइरहेछ । हिजो भाव लिपिबद्ध गरिन्थे– कागतमा । आज लिपिवद्ध गरिन्छन्– ‘माई डकुमेन्ट्स’मा । कागतमा ढुसीमात्र लाग्छ, कम्प्युटरमा त भाइरस नै लाग्छ । ह्याकरले रचना हात पार्छ । र, मूल लेखकलाई लात मार्छ । उफ् ! जति सम्झँदै जान्छु,उति अत्यास पो लाग्छ । साथै मेरो वरिपरि गुञ्जिरहन्छ एउटा अमुक आवाज– जीवन थोरै साँचो र धेरै झूठो भई चलिरहन्छ ।
कलम भन्छ– ‘इतिहासका कैयौँ कालखण्ड लुकेका छन् । शब्द हराएका छन् । कतिपय प्रसङ्ग त उल्टापाल्टा नै पारिएका छन् । थुप्रै अभियुक्तहरुप्रति स्तुतिगान भएका छन् । कतिपय निर्दोषहरुको घरखेत नै उठीबास भएका छन् । कतिपय लेखिनै पर्ने प्रसङ्गहरु थन्किरहेका छन् । नक्कली कलमहरु त स्तुतिकार भई मञ्चासनमा रमाइरहेका छन् ।’ सायद आजकल थुप्रै कलमहरु बिक्रीमा छन् । आफूलाई ‘ठूलो’ बनाउनेहरु नै ‘आफू अनुकूल’को कलम छानी–छानी किन्न चतुर छन् । र, आफ्नो इच्छाबमोजिमको मसीमा आफूलाई भिजाउन आतुर छन् । कलम पनि त आखिर कलम नै हो; उसले स्रष्टा मनोभावलाई ‘रिलिज’ गर्न पाउनुपर्छ । मनोभाव पोखिन नपाउँदा त लेखकका औंलाहरु सकसकाइरहन्छन् । मस्तिष्क थर्थराइरहन्छन् । ह्रदय चर्चाइरहन्छन् । सकारण कलमका लागि हरेक दिन ‘गुड फ्राइडे’ हो । ‘ब्ल्याङ्क पेपर शिट’मा रिलिज हुन पाउनु उसको प्राकृतिक अधिकार हो । कलम पहिले मेरो ज्ञान, विवेक र चैतन्य क्षितिजमा पस्दोरहेछ । क्रमश: भिज्दै जाँदोरहेछ । अनि तिनलाई ब्ल्याङ्क पेपर शिटमा लिपिवद्ध गर्दोरहेछ । तिनै लिपिवद्ध शब्दमध्ये कुनै बन्छन् मुस्कान, कुनै बन्छन् आँशु पनि । मेरो जीवनको यस उत्तराद्र्धमा कलम नै भइरहेको छ– मानसिक लौरो पनि ।
अब केहीबेर कफीसँगै कलम–गफ गरौं । हेर्नोस् त ! यो कलम धस्सिँदै–धस्सिँदै जाँदा भावनाहरु क्रमश: लिपिबद्ध हुँदै जान्छन् । हरेक शब्दले केही न केही अर्थ राख्छन् । कतिपय वाक्यले जिन्दगीकै अर्थ पनि राख्छन् । त्यसो त यहाँ छन्– कलम थरिथरिका । तिनका चरित्र छन्– थरिथरिका । र, ती चरित्र पनि छन्– विचित्रका । बेलाबखतमा झोंकैझोंक देखाउने यिनै कलमले ‘पेन डाउन’का घोषणापत्र लेख्छन् ! खुलेका केही फाइल पनि कलम समाजद्वारा बन्द हुन्छन् । र, कलम आफै पनि चुपचाप हुन्छन् । जनतालाई सुविस्तापूर्वक सास फेराउनु पर्ने यिनै कलमले बेलाबखतमा जनतालाई सास्ती पनि खेपाउँछन् । जनता भोकाउँदा यी पनि त भोकाउनुपर्ने हो । जनतालाई दुख्दा यिनलाई पनि त दुख्नुपर्ने हो । तर, बेलाबखतमा आन्दोलनकारी बन्दै यी ‘पेन डाउन’ नै भइदिन्छन् ।
हेर्नोस् त ! यी कलमपिच्छे भाव छन्– फरक–फरक । शब्द एउटै हो तर ठाउँअनुसार अर्थ हुन्छन्– अलग–अलग । अभिव्यक्ति कला छुट्टाछुट्टै । गुनासा पनि भिन्दाभिन्दै । कलम भन्छ– शब्दलाई हसाउँन खोज्छु, रोईमात्र रहन्छ । रुवाउन खोज्छु, हाँसिमात्र रहन्छ । धाराप्रवाह हुन खोज्छु, अड्किमात्र रहन्छ । योसित ऐन छ, कानून छ । वेद र पुराण मात्र हैन रामायण, महाभारत र गीता पनि छ । योसित विधान र संविधान छ । अ, आ, इदेखि क्ष, त्र, ज्ञसम्मको शब्दसागर पनि छ । टाईवालका निम्ति यो एउटा ‘पेन’ हो । र, उसका निम्ति यो एउटा ‘सिग्नेचर’ हो । अनि यो हो ‘रफ’ र ‘म्यानुस्क्रिप्ट’ पनि । टोपीवालको निम्ति यो एउटा कलम हो । र, उसका निम्ति यो एउटा हस्ताक्षर हो । अनि उसका निम्ति यो हो खेस्राक्षर र पाण्डुलिपी पनि । साथै सिफारिसकर्ता र भर्तीकर्ता पनि । कलम त ‘वायोडाटा’ मात्र हैन ‘इन्साइक्लोपेडिया’ पनि हो । आत्मकथा मात्र हैन विश्वकथा पनि हो । अनि यो हो– लेखनकर्ता र आदेशकर्ता पनि । कलम हाम्रो सभ्यता मात्र हैन जीवन मान्यता पनि हो । र, मानवलाई सभ्यतातिर डोर्याउने महत्वपूर्ण माध्यम पनि हो ।
कलम न हो बेलाबखतमा बडो सन्काहा भइदिन्छ । ठेगान छैन; कतिबेला यो म्याराथुनमा लाग्छ, कतिबेला चिप्लेकिराझैं घस्रिन्छ । बेलाबखतमा यसले विविध चरित्र नै देखाउँछ । एउटा स्वरुप– सरोगेसी । यो भाडामा लाग्छ । पुस्तक जन्माइदिन्छ । तर एउटा कुरा, आजकल मै पनि कलमको उपयोग कम गर्छु । सम्पादकका इच्छा, प्रकाशकका चाहना र पाठकका राय पनि त्यस्तै–त्यस्तै छन् । अर्थात्, भन्छन्– ‘कलमले ढिलो हुन्छ, कि बोर्ड थिच्नोस् !’ मायालाग्दा थुप्रै प्रीतिकर फन्टहरु छन् । तपाइँ त्यही ‘प्रीति’सित साइनो गाँस्नोस् । आग्रह हुन्छन्– हुलाकबाट हैन कम्प्युटरबाट । मेलबाट हैन, इमेलबाट । हिजो अक्षर कोरिन्थे– सेता कागतमा । कलम च्या
पिएका हुन्थे– तीन औंलाका बीचमा । आज ठिक उल्टो छ । कहिले एउटा हातले की बोर्ड र अर्को हातले माउस सुमसुम्याइरहेको हुन्छ । र, कहिले दसै औंलाले राज गरिरहेको हुन्छ– कीबोर्डमा ।
हिजोआज कलम टोलाइरहेका छन् । आफू पाखा लाग्दै गएकोमा हीनताबोध गरिरहेका छन् । तर पनि कतिपय कलमले स्वार्थी बर्को ओढिरहेका छन् । आफूलाई कुनै न कुनै ‘साइनबोर्ड’ले छोपिरहेका छन् । यिनले ओढ्ने बर्को पनि रङ्गविरङ्गका छन् । जस्तो– आग्रह–रङ्ग, पूर्वागं्रह–रङ्ग र दूराग्रह–रङ्ग । र, थाहा छैन कुन–कुन कलमले कहाँ–कहाँ काखे आश्रय पाइरहेका छन् । हिजो मेरा लागि ‘क’ माने कलम थिए । तर आज ‘क’ माने कम्प्युटर भए । फलत: कलम त क्रमश: सुकुम्बासी बन्दै गएका छन् ।
आजकल कलम बेरोजगार हुँदै गएका छन्– कागतको अभावमा हैन, कागतको प्रयोग नगरिनुमा । आज म पनि धेरै पर छु त्यो कलमबाट; जसमा निब थियो, जिब्री थियो । निब र जिब्रीको सहारामा कलमले र्याल चुहाउँथ्यो । शैक्षिक परीक्षामा कसैलाई उत्तीर्ण गराउँथ्यो त कसैलाई अनुत्तीर्ण । लोकसेवाका परीक्षाहरुमा कसैको मानो पकाउँथ्यो त कसैको मानो गुमाउँथ्यो । कहिले कसैलाई पदमुक्त गराउँथ्यो त कसैलाई पदभार ग्रहण गराउँथ्यो । तर पनि, म र कलमचाहिँ एक अर्कादेखि कहिल्यै वाक्क भएनौं । एक अर्कादेखि कहिल्यै दिक्क पनि भएनौं । किनकि आधुनिकतालाई हामीले कहिल्यै नकारेनौं । सायद यसैको परिणती हो– न मैले कलमको साथ कहिल्यै छोडें, न कलमले मेरो साथ कहिल्यै छोड्यो ।
कलमले अर्थ र राजनीति पोख्छ । यसले सुरादेखि सुन्दरीसम्म र ब्रेकफास्टदेखि डिनरसम्म, सबै पोख्छ । नपोखेको त आफ्नै वेदना मात्र हो । यो जस्तै अरु कलम पनि देखेको छु । जसका विविध चरित्र थिए । तीमध्ये एउटा चरित्रले अरुको घरखेत आफ्नोमा नाउँसारी गथ्र्यो, ऐलानी जग्गा आफ्नै भनि लेख्थ्यो । मृतकको औंठा छाप लगाएर, निजको श्रीसम्पत्ति आफ्नै नाममा दर्ता गथ्र्यो । हरेक फुलस्केपको साँध–साँध (दायाँबायाँ, अगाडि पछाडि) पनि सक्दो मिचमाच गथ्र्यो । यही कलम हो जसले नाङ््लो जत्रो कागतमा निफननाफन गथ्र्यो । केहीलाई चिरफार गथ्र्यो । केहीलाई केरकार गथ्र्यो । निर्णय गरें भन्दै रातो र्याल चुहाउँथ्यो । यस्तै परिवेशमा त हो नि यसले तथ्याङ्क लेख्थ्यो– अरुको यथास्थितिबारे । तर मिथ्याङ्क सार्वजनिक गथ्र्यो आफ्नै गतिविधिबारे । कुनै तथ्याङ्कले त रातारात भोटो नै फेथ्र्यो । र, बिहानीसम्ममा त्यो मिथ्याङ्क बन्थ्यो । त्यसैले त इतिहास लेखिएका छैनन्, लेखाइएका छन् । यहाँ खेती गरिएका मात्र छैनन् गराइएका पनि छन्– शहीद खेती, लेखन खेती, हिसाब मिलान खेती । यही कलम हो जसले मृत्यु लेख्छ र आममाफी पनि । यो प्रगतिशील छ र स्तुतिवादी पनि । दहीच्युरे बन्छ र काइते पनि । कहिले बुद्धिको भाँडोबाट खन्याउँछ त कहिले ‘प्लेरिज्म’को झ्यालबाट चियाउँछ । कहिले मौन बस्छ त कहिले दार्शनिक बन्छ । कहिले ‘खुकुरिम् शरणम् गच्छामि’ भन्दै वीर गोरखालीको परिचय दिन्छ । कहिले ‘बुद्धम् शरणम् गच्छमि’ भन्दै बौद्ध धर्मावलम्बीको परिचय दिन्छ । तर बेलाबखतमा बडो बेइमानी पनि गरिदिन्छ– टोलै साघुँरो हुने गरेर छिमेकीसित अनावश्यक सम्झौता पनि गरेर ।
एउटा टेबुलको फाइल अर्को टेबुलमा सर्दै नसर्ने रोगी कार्यालयका ‘काली र राती’ कलम त श्रीमान्को खल्तीमा ‘कलरफूल पेन शो’मात्र बनिदिन्छन् । त्यस्तै कतिपय कलम– घरमा घोकाउँछन् । परीक्षामा चोराउँछन् । कल्पनामा नचाउँछन् । भावनामा बगाउँछन् । कहिँ व्यङ्ग्य त कहीँ हाँसो । योजनादेखि आयोजनासम्म । परियोजनादेखि गुरुयोजनासम्म । यो परिचित छ– डाक्टरी अक्षरदेखि अदालती अक्षरसम्म । पढ्दा पटक्कै नबुझिने, हेर्दा मन नै खुम्चिने अक्षरदेखि हेरिरहुँजस्ता लाग्ने सुनौला अक्षरसम्म पनि । हेर्दै जान्छु– कलम राखिने कतिपय खल्ती त भूसका थैलाझैं रहेछन् । तिनले कलमको त भाउ नै नगर्ने रहेछन् । दुनो सोझिएपछिका ती ‘खल्तीम्यान’हरु त कता हो कता हराउँदारहेछन् । कलम भने चुपचाप ‘मुटुमाथि ढुंगा राखि’ हाँस्दारहेछन् ।
म बेलाबखत शून्यमा टोलाउँछु । त्यतिबेला यो कलम नै शून्यता चिर्ने माध्यम भइदिन्छ । र, यो अभिव्यक्तिको आधारशीला मात्र हैन जीवन साथी नै बनिदिन्छ । तर पनि यसले, कहिले आक्रोश पोख्छ– मसि सकिएको झोंकमा । कहिले यो आफैमाथि खनिन्छ– लेखन रफ्तार नबढेकोमा । देख्छु– कोरिएका प्रत्येक अक्षरमा हाँसो र आँशु टुप्लिकिएका छन् । ठान्छु– यी शब्द–शब्दले मेरा कथा–व्यथा बनेका छन् । जसले फरक–फरक परिवेशका अलग–अलग मनोभाव बोकेका छन् ।
कहिलेकाहीँ आफूलाई कल्पनामा डुबाइरहेको हुन्छु । लेखन हार्मोन ब्यूँझदा भने मनोभाव हराउँदै गइरहेको हुन्छु । मनोभाव खोज्दाखोज्दै लेखन हार्मोन हराउँदै गइरहेको हुन्छु । फलत: म त्यसै–त्यसै निराश हुन थाल्छु । निष्कृय हुँदाको हार्मोन (मुड) त डोल्पाली गाउँको नून भन्दा महङ्गो ठान्छु । यस्तै परिवेशमा अर्को गनगन सुन्छु– लेखनदास हुँ भन्छ, कलम माग्छ । ‘तरबारभन्दा कलम बलियो’ भन्ने गर्छ तर उसैले कलम.(शब्द)को सेन्सर गर्छ । सचिव हुँ भन्छ– दस हजार थमाउँछ तर सही भने बीस हजारको गराउँछ । भन्छ– ‘स्वास्नी छोराछोरी पाल्नै पर्यो !’ र, अन्तावार्तामा भन्छ– ‘देशभक्त हुँ !’ जब अन्तर्राष्ट्रिय उडानबाट ‘उता’ उत्रिन्छ तब पीआरको फर्म भर्छ । आफ्नै गाउँमा रोजगारको सिर्जना गर्दैन । बरु ‘फलानो ठाउँ’मा काम गर्न नपाएको भन्दै ‘उफ्रिपाफ्री’ गर्छ । अनि उसैले लेख्छ– ‘त्यो भोटेताल्चा हटाई पाउँ । प्रवेशद्वार खुलाई पाउँ । मैले र मेराले काम गरी खान पाऔं ।’ यी र यस्तै कलम हुन् जसले प्रत्येक बिहान टेबुलमा सजिन आइपुग्ने हट कफीसँगै लेखकको घुम्टो उघार्छ र प्रत्येक रात लेखकले पिउने हट मिल्कसँगै आफूलाई घर्राभित्र विश्राम दिन्छ । ओहो ! यो मसिआन्द्रे कलम एकाएक रोकिन्छ । किन रोकियो हँ ? हेर्दै जान्छु … नियाल्छु …र, थाहा पाउँछु– बलपेन त एकदमै भोकाएछ … थाहै नपाई रिफिल नै रित्तिएछ ।