मेरो हातमा जे उपकरण छ, म त्यसैबाट लेख्दछु । यो मसँग भएको उपकरण मैले आफैले तयार पारेको हुँ । मेरो अनुभूति, अस्तित्व, वरपरका घटनाहरु, युद्ध, किताब पढ्नु, सबैमा म सर्वभोगी छु । म सम्पूर्ण संसारलाई निल्न चाहन्छु । म पूरै समुन्द्रलाई सोस्न चाहन्छु ।
जो कवि यथार्थवादी छैन, त्यो मृत कवि हो । तर, जो कवि यथार्थवादी मात्र छ, त्यो पनि मृत कवि नै हो । जुन कवि उद्देश्यहीन र अर्थ न बर्थका छन् तिनका कविताहरु उनीहरु आफैले मात्र र उनीहरुको मित्रहरुले मात्र बुझ्दछन् । जुन कविको कविता युक्तिसम्मत मात्र हुन्छ त्यसलाई नीरस पाठकले बुझ्नेछन् यो पनि तिनका निम्ति मर्मान्तक हुन्छ । कविताको कुनै तम्तयार नियम हुँदैन । ईश्वर वा राक्षस कसैले पनि कविताका सरजामहरु निर्धारित गरिदिएको हुँदैन । युद्धमा कसैले जित्छन् त कसैले हार्छन् । तर कविताको कुनै हार हुँदैन ।
कविको काम कारवाहीलाई हिजोआज धेरै सीमासम्म विनाश गर्न खोज्दैछन् । यति बेला धेरै नयाँ–नयाँ कविहरु उत्पन्न भइरहेका छन् । चाँडै नै हामी कवि मात्र देख्नेछौं, तर पाठकहरु कतै फेला पर्ने छैनन् । त्यतिखेर पाठकहरुको खोजीमा हामीले उँटको पिठ्यूँमा बसेर मरुभूमिको अभियानमा वा आकाशमा यानमा चढेर अन्तरिक्ष परिक्रमामा जानुपर्नेछ ।
कविताले पाठकसम्म पुग्नै पर्दछ
कविताले आफ्ना पाठकसित सम्पर्क गुमाइसकेको छ, त्यो पाठकसम्म पुग्न सकिरहेको छैन । कविताले पाठकसम्म पुग्नै पर्दछ, यस दिशामा उसलाई तानेर ल्याउनुपर्दछ । अँध्यारोमा पैदल हिँड्नु पर्दछ, मानवको हृदयसित त्यसले सामना गर्न सक्नुपर्दछ । जसले साँझको अँध्यारो वा नक्षत्रको रुनौलो भरिएको रातमा कम्तीमा एउटा कविताको पङ्क्तिलाई अनुभव गरुन् । यो अप्रत्यासित लामो दूरी पार गर्नु समान छ, धेरै–धेरै लेख्नु, पढ्नु र सिक्नु समान छ । हामीले एकदिन बाटोमा धूलो माटोबाट, हजारौं वर्षदेखि आँखाबाट लुकेको जङ्गलमा जुन पातहरु खस्दैछन्, त्यसभित्रबाट मुलायम हातले उठाउनेछन् – हामीले रचना गरेका चीजहरु ….. त्यतिखेर नै हामीहरु वास्तवमा कवि बन्न सक्दछौं । यसरी नै कविता जीवित रहन्छ ।