लेखनको बहुमुखी सक्रियता: १
जगदीश घिमिरे नेपाली कथा, उपन्यास र नाटकका फाँटमा एउटा चर्चित नाउ हो । चील र जँड्याहा कथादेखि जगदीश चर्चित हुनुभयो । लिलाम उपन्यासको पनि चर्चा भयो । तर साबिती उपन्यासले उहाँलाई अझै चर्चित बनायो । त्यसपछि सन्तान नाटकले त्यतिकै लहर उमार्यो । विवादरहित चर्चा कम पाइन्छ भने, जगदीशको चर्चासित केही विवाद पनि छिरेर नआएको होइन; तर त्यसले जगदीशको सृजना आयामलाई खुम्च्याउन चाहिँ सकेन ।
गैर साहित्यिक व्यस्तता बढेकोले होला, केही समय अघि एकताका जगदीशको लेखनको सङ्ख्या निकै कम भएको देखिन्छ । तर यता आएर उहाँ फेरि सक्रिय हुनु भएको छ, लेखन र साहित्यिक कार्यकलापहरूमा प्रमाण, पहिरो जस्ता कथाको प्रकाशन र सिसास कार्यसमितिको सदस्यता ।
० तपाईँले ‘सन्तान’ नाटक कसरी लेख्नु भयो ?
मेरो विषय त्यसमा नेपाल थियो । त्यस नाटकको आमा नेपाल आमा हुन् र सन्तान नेपालका सन्तान हुन् । त्यस बाहेक अरू कुनै प्रेरणा छैन ।
सन्तान अहिलेसम्म मञ्चित भएको छैन, हुन सक्छ, त्यसको प्रयोगात्मक कठिनाइले गर्दा । केही धर्मज्ञहरूको विचार छ, सन्तान पनि एउटा कडा नाटक हो, त्यस कारण त्यो मञ्चित हुनु कठिन छ । नाटकमा व्यङ्ग्यलाई निकै तीक्ष्ण रूपमा प्रयोग गरिएको छ । त्यसो त, साबिती उपन्यासमा पनि व्यङ्ग्यको त्यही तीक्ष्णता सर्वत्र पाइन्छ, जसले उपन्यासलाई प्रभावशाली बनाएको छ ।
एउटा शाश्वत खालको प्रश्न पनि मैले सोधेँ – लेखन केका लागि ?
त्यसको उत्तर पनि जगदीशले धेरै मात्रामा शाश्वत मुद्रा धारण गरेरै दिनुभयो – एउटा खास किसिमले हेर्दा, जीवनको उद्देश्य देखिए जस्तै लेखनको पनि उद्देश्य नहुन सक्छ, त्यस कारण लेखनका उद्देश्य कैयौँ पनि हुन सक्छन् ।
(यो त शाश्वत भन्दा पनि २–४ पाइला अघि नै देखियो । म अब गैर शाश्वत प्रश्न सोध्छु भनेर सोधे ।)
० एउटा प्रशासकका रूपमा तपाईँ कस्तो अनुभव गर्नुहुन्छ ?
जवाफ आयो – जसले मलाई प्रशासकका रूपमा देखेका छन्, तिनीहरूलाई म लेखक हुँ भन्ने विश्वासै हुँदैन । तर प्रशासन पनि रचनात्मक हुन सक्छ ।
(तर कहिलेकहीँ एउटा लेखकलाई नै लेखकका रूपमा देख्दा पनि विश्वासै हुँदैन, त्यो लेखक हो । जगदीशको विषयमा यो होइन रहेछ ।)
पाठकहरूलाई लाग्ला, अहिलेसम्म जगदीश घिमिरेको नाटकलाई नै बढी महàव दिएँ मैले, जगदीश घिमिरे सबभन्दा बढी नाटककार नै त होइन ? यस्तो भ्रम नपाल्नु होला । जगदीश विधाको बाधालाई स्वीकार गर्ने पक्षमा हुनुहुन्न । उहाँ गद्यका अरू विधा त लेख्नुहुन्छ नै, कविता पनि रच्नुहुन्छ । मलाई व्यक्तिगत रूपमा सोध्ने हो भने, म चाहिँ जगदीशलाई कवि भन्दा कथाकारकै रूपमा बढी हेर्छु ।
(यसमा दृष्टि–दोष देखिन्छ भने जगदीश घिमिरेसित क्षमा याचना सहित ।)
जगदीशको आफ्नो रुचि सोध्ने हो भने, जगदीश ‘विधा फ्री लेखन’ गर्नमा रुचि राख्नु हुन्छ । तर अहिलेसम्म त्यस्तो हुन सकेको छैन, त्यस कारण जगदीशले विविध विधा अँगाल्नु भएको होला ।
उहाँको मस्तिष्कमा एउटा अद्भुत योजना छ, ‘महानेपाल’ भन्ने एउटा ग्रन्थ लेख्ने ।
– त्यो कस्तो हुन्छ ?
त्यो कृति एउटा विधामुक्त कृति हुनेछ, तर उपन्यासको चाहिँ अलि निकट हुन सक्छ ।
कुरा बुझियो, यो कृति जगदीशको सबभन्दा महत्त्वाकाङ्क्षी कृति हुनेछ । मलाई ‘महाभारत’ को शैलीमा ‘महानेपाल’ शीर्षक–योजना निकै रुचिकर लाग्यो । तर यो पूरा कहिले हुन्छ ?
(यही त यस कृतिका ब्रह्मा अर्थात् जगदीशलाई पनि थाहा छैन)
तर अहिले त साविती पछि जगदीश उपन्यासमा मौन नै बस्नु भएको देखिन्छ किन ?
– एउटा थालिसकेको थिएँ । ५०–६० पृष्ठ लेखि पनि सकेको थिएँ । स्व. कटुवाल र दौलतविक्रम विष्टले सुनेर त्यसलाई पूरा गर्ने आग्रह पनि गर्नुभएको थियो । तर पछि मैले यसको विचार त्यागी दिएँ ।
केही समय पहिले जगदीशको लेखनमा आएको क्षीणताबारे जगदीश भन्नु हुन्छ :
लेखनका लागि जुन वातावरण चाहिने हो, त्यो मसित सम्भव भएन । अध्ययन भ्रमण जस्ता लेखनका लागि उपयोगी कुरा मैले गर्न पाइनँ । म घुम्न त धेरै घुम्थे, तर त्यसको साहित्यिक उपयोग हुँदैन थियो । म पहिले पुरा समयको लेखक थिएँ, एक्कासि पुरा समयको अ–लेखक बन्न पुगेको थिएँ ।
० कस्तो अनुभव गर्नु हुन्थ्यो यस्तोमा ?
– मलाई सधैँ यसले पोल्थ्यो । मेरा अगाडि सधैँ एउटा प्रश्न हुन्थ्यो – एउटा मान्छे भएर बाँच्ने ?
(‘लेखक मान्छे हुँदैन र ?’ यो प्रश्न त्यस बखत सँगै बस्नुभएको नगेन्द्रराज शर्माले गर्नुभएको थियो, जसको जवाफमा जगदीशले भन्नुभएको थियो – “हुन सक्छ”)
यस्तो प्रश्नमा, उहाँले तत्काल निर्णय लिँदा कामलाई रोज्नुभयो । सम्मानपूर्ण जीवन बिताउने मेरो चाहनाले पनि यस्तो भएको हो ।
अहिले फेरि, त्यस्तै व्यस्तताका बिच लेखनमा सकृय कसरी हुन सक्नु भयो त ?
मभित्र एउटा आगो त थियो नि सिर्जनाको । त्यसै हुनाले नलेखेता पनि साहित्यसँग मेरो सम्बन्ध चाहिँ कहिल्यै छुटेन । एउटा थिति बसेपछि फेरि लेख्न थालेको छु ।
(थितिबाहेक यो पनि हुन सक्छ, जगदीशले भन्नु भएको आगो तिनताकै अलि मधुरो थियो, अब मानेन, त्यस कारण जगदीशको आफै बढेको व्यस्ततालाई समेत फोरेर निस्क्यो, आगोलाई धन्यवाद, त्यसले एउटा लेखकलाई बचाई राख्यो ।)
हालैमा प्रकाशित उहाँको कथा, पहिरो उहाँको साहित्यिक मौनलाई भत्काएर आएको थियो । पहिरो निकै चर्चित पनि भयो र त्यसमा जगदीशका पनहरू सबै जोरसोरले समाविष्ट भएका थिए । त्यसपछि बराबर लेख्दै हुनुहुन्छ र अहिले जगदीश आफ्नो एउटा छुट्टै ‘लाइन’ बनाएर उभिएको देखिनुहुन्छ । मलाई सम्झना छ पहिरो निस्केपछि, एक दिन एकाबिहानै जगदीश भेटिनुभएको थियो । मैले भने–बधाई छ, पहिरो पाठकहरूद्वारा निकै रुचाइयो ।
जगदीशले ठट्टा गरेर भन्नुभएको थियो बाघ बूढो र स्याल तन्नेरी भनेको यही हो । एउटा मनोरञ्जक कुरा, जगदीश घिमिरेको अन्तर्वार्ताका विषयमा भनूँ भने, यो छ । यो अन्तर्वार्ता मैले २०३७ तिर लिन थालेको थिएँ तर ‘साप्ताहिक मञ्च’ मा अन्तर्वार्ताको पहिलो किस्ता बुझाइसकेर पनि अस्ति जगदीश, बाहिरको यात्रामा जानु एक दिन अगिसम्म लिइरहेँ । एक प्रकारले भन्न सक्नु हुन्छ, तीन वर्षअगिको अन्तर्वार्ता प्रकाशित हुँदै छ । तर एक प्रकारले मात्र, किनभने १३७ को टिपोट कति पटक हरायो र कति पटक पाएँ, त्यसको साँधी छैन । अन्त्यमा मैले निर्णय गरेँ, पहिलेको टिपोट भन्दा, जगदीशसँग पछि गरिएका कुराकानीलाई मुख्य आधार बनाउँछु लेख्दा । हो, केही कुरा, हुन अहिले पनि लेखक जगदीश घिमिरेमा लागु हुन्छन्, ती चाहिँ पहिले कै टिपोटबाट लिएको छु । तर अहिले यो अन्तर्वार्ताको दोस्रो किस्ता लेख्न बस्दा, मैले पाएँ, पुरानो टिपोट फेरि हराएको छ । त्यसमा केही प्रश्नहरू थिए, जुन अब कि त मैले छाड्नु पर्छ, कि आफ्नो कमजोर स्मृतिलाई निचोर्दै लेख्नुपर्छ । तर जगदीशसँगको ताजा कुराकानीको टिपोट मेरो सामुन्ने छ, त्यस कारण, पाठकलाई त झन् ताजा जगदीश घिमिरेसित साक्षात्कार हुन्छ, राम्रै छ । यसलाई म प्रत्यक्ष प्रश्नोत्तरका रूपमा प्रस्तुत गर्दै छ :
० पिँडीगत भेदका कुराहरू साहित्यमा बराबर सुनिन्छन् । ‘जेनरेशन ग्याप’ आदि त अब परिवार, समाज र फेसन–बजारमा पनि प्रशस्त चालिरहेका छन् । तपाईँको धारणा ?
पिँडी उमेर अथवा साल संवत् भन्दा, वर्षले नाप्नेभन्दा, सोचाइले नाप्नु पर्दछ । रिमाल, देवकोटाका कतिपय कविताहरू मेरो पुस्ता वा त्यस अगिका जस्ता पनि छन् । त्यसै गरी मभन्दा पछिका कविहरूले लेख्ने कविता खास गरी ‘रेडियो मार्का’ कविता, ‘छाया–छवि’ का कविताहरू तीन शताब्दी पुराना पनि छन् । सम्पूर्ण साहित्यमा त्यस्तै हो । त्यो प्रक्रिया हो । बूढो समसामयिक हुन सक्तछ, समसामयिक मान्छेको सोचाइ पुरातनभन्दा पनि पुरातन हुन सक्तछ । कथामा, बी.पी. का सुरु सुरुका युगान्तकारी कथाहरू आज पनि
सामयिक छन् भने, बी.पी.ले नै पछि लेखेका उपन्यासहरू उहाँको आफ्नै कथाका तुलनामा पुरातन छन् ।
० बी.पी.का सबै उपन्यास ?
सबै होइन, मैले पढेकोमा जस्तो तीन घुम्ती अत्यन्त चर्चित छ । मेरो विचारमा त्यो उपन्यास विषयवस्तु शैली सबै दृष्टिले उहाँका पहिलेका कथाहरू भन्दा पुरानो छ । त्यस कारण नयाँ पुरानो वा पीढीगत भन्ने सोचाइको प्रक्रियामा निर्भर गर्दछ ।
० तपाईँ अगि र तपाईँको पुस्तामा के फरक छ ?
हामी बढी जीवनवादी हुँदै गएका छौँ, जीवनको समग्रतालाई लेख्ने खालका जबकि हामी अगिका धेरैजसो लेखकमा बढी एकाङ्गीपना देखिन्थ्यो । उनीहरू पहिले वाद सोच्थे । अहिलेका लेखकहरू र म पनि मान्छे लेख्ने गर्दछु ।
० अनि तपाईँको पुस्ता र तपाईँपछिको साहित्यिक पुस्तामा फरक देख्नु हुन्छ ?
पछाडिका र हामीमा के फरक छ भन्ने कुरा पछाडिकाले भनुन्, हामीले भन्ने होइन ।
० कति पटक यो चर्चा सुनिन्छ, आजका सबै उमेरका धेरै लेखकहरूमा, लेखनमा क्रान्तिकारी र जीवनमा पलायनवादी वा स्वार्थी हुने प्रवृत्ति बढ्दै छ, तपाईँलाई के लाग्छ ?
त्यो प्रशस्त छ ।
० बढेको छ, कि घटेको ?
यसमा मेरो अनुसन्धान पुगेको छैन, तर त्यो प्रबल छ । ‘साबिती’ मा मैले आदर्शको मुकुन्डो उतार्दा, रुचाएनन् । धेरैले भने, राम्रो, तर आदर्श खोइ ? भनेदेखि, आदर्श–पिपासु लेखक–पाठक समालोचक छन् यहाँ ।
० तपाईँको मूल्याङ्कन कतिको भएको छ ?
समालोचकहरूले ठाउँ–ठाउँमा ‘रेफरेन्स’ दिएर ठुलो गुन लगाउनु भएको छ ।
० समग्र रूपको मूल्याङ्कन नि ?
खास लेखिएको छैन मेरो विषयमा । तर मैले यस विषयमा सोचेको छैन । अहिले तपाईँले सोधे पछि सोचेँ । सोच्दा के पाएँ भने, मलाई थाहा छैन, मेरो कति चर्चा वा मूल्याङ्कन हुनुपर्ने हो । मभन्दा धेरै योगदान हुनेको पनि मभन्दा कम मान्यता अथवा मभन्दा कम चर्चा छ । मभन्दा थोरै योगदान हुनेको पनि मभन्दा बढी मान्यता वा चर्चा छ, यतिचाहिँ थाहा छ ।
० यो राम्रो हो त ?
यो साहित्यिक अन्याय हो, अन्यायलाई राम्रो भन्नु भएन ।
० तपाईँले एक पटक कुराकानीमा कला र साहित्यमा ‘सबलिमेसन’ हुनुपर्छ भन्नुभएको थियो । यसको अर्थ र साहित्यमा प्रयोगको प्रक्रियाबारे केही भन्नुहुन्छ ?
नेपालीमा अनुवाद गर्दा त यसको अर्थ ‘उधर्वपातन’ हुन्छ क्यार, यसले अर्थ त्यति स्पष्ट हुँदैन जस्तो लाग्छ । जीवनको साहित्यको क्रूर अर्थात् अपरिष्कृत कच्चा पदार्थ हो । जब त्यो ‘सबलिमेटेड’, भनौँ परिष्कृत भएर व्यक्त हुन्छ त्यो साहित्य हुन्छ । साहित्य सिर्जना त्यही ‘सबलिमेशन’को प्रकृया हो । ‘क्राइम एन्ड पनिसमेण्ट’ मा ‘क्राइम’ ‘सबलिमेटेड’ छ ।
० के ‘सबलिमेसन’ सधैँ आवश्यक छ लेखनमा ?
सधैँ ‘सबलिमेसन’ चाहिन्छ भत्रे छैन । तर कतिपय ठाउँमा चाहिन्छ । लोलिता जस्तो उपन्यास, जसमा असामाजिक, विकृति यौनको चित्रण छ, ‘सबलिमेसन’द्वारा नै कलात्मक उँचाइमा पुग्न सक्यो । त्यस कारण कला र साहित्यमा ‘सबलिमेसन’को ठुलो भूमिका छ । जस्तो ‘महाभारत’मा युद्धलाई ‘सबलिमेट’ गरिएको छ, जीवनको दर्शनका रूपमा । त्यसै गरी ‘रामायण’ वा ‘राधाकृष्ण’को प्रेम, भारत र नेपालका मन्दिरहरूमा कुँदिएका मूर्तिहरू, सबैमा त्यो कुरा पाउन सकिन्छ । हाम्रो संस्कृति र कला ‘सबलिमेसन’ का उदाहरण हुन् । जीवन्त कला त्यही हो, जसले ‘सबलिमेट’ गर्छ जीवनलाई ।
प्रिय पाठकहरू, यति गम्भीर प्रश्नोत्तरपछि, अझै गम्भीर सोध्ने मेरो आँट भएन र हलुको सोधेर माथिको कुराकानीलाई तल झार्न मनले मानेन । एउटा ठट्टा त्यहाँ अवश्य भयो । यो कुरा गर्दा हामी, अर्थात् म जगदीशको एउटा ‘क्लीनशेम्ड’ गुरुका साथ अफिसमा बसेको थिएँ । समय १०–११ बजे बिहानको थियो । जगदीश दुई दिनदेखि लगातार यस्तै समयमा ‘अलिकति स्कच खानु हुन्छ ?’ भन्ने ‘अफर’ दिइरहनु भएको थियो र गुरु त्यतिकै आत्म–बल उत्पन्न गर्दै त्यसलाई अस्वीकार गरिरहेका थिए । अन्त्यमा गुरुले सोधे –तपाईँको यो ‘अफर’ जीवनको ‘क्रूर’ कि ‘सबलिमेटेड फर्म’ हो ?
हामी हाँस्न थाल्यौँ, हाँसोचाहिँ पक्कै पनि ‘सबलिमेटेड’ थिएन, अर्थात् साहित्यिकहरूको असाहित्यिक हाँसो भन्ठान्नुस् ।
यसरी यो अन्तर्वार्ता टुङ्गियो ।
जनमत २०४१ मङ्सिर