एउटै कविताले जीवन, प्रेम, विछोड र प्रकृति सबैको चित्रण गरेको निकै कम पाइन्छ । कुनै कवितामात्र यस्ता हुन्छन् जसलाई जीवनको जुनसुकै पक्षबाट हेर्न सकिन्छ । निर्भीकजंग रायमाझीको हालै प्रकाशित कवितासंग्रह त्यसरी त कहिल्यै सोचिएनभित्र रहेको ‘आँखीझ्याल’ शीर्षकको कविता यस्तै बृहत् अर्थ दिने कविता हो । पाँच हरफमा समेटिएको छोटो कविता भए पनि यसको आयाम फराकिलो देखिन्छ । सुरुमै यो कविताले भन्छ ः
आखीझ्याल सानो छ
तर यसैबाट संसार चियाउन सकिन्छ ।
यो दुई लाइन नै आफैंमा एउटा पूर्ण कविता हो । जापानी हाइकुदेखि संसारका अरु सुक्तिमय कवितालाई हेर्दा यो दुई लाइन नै आफैंमा पूर्ण कविता हो । जस्तो कि, एकपटक पढ्दा नै मज्जा आयो भने त्यो कविता होइन मेरा लागि । प्रत्येक पटक कविता पढ्दा नयाँ–नयाँ भाव खुल्दै जानुपर्छ । जतिचोटि पढ्दा पनि उस्तै लाग्यो भने त्यो समाचार हुन्छ वा कुनै सूचना हुन्छ । तर कविताले प्रत्येकचोटि नयाँ क्षितिज खुलाउन सक्ने हुनुपर्छ भन्ने मेरो निजी धारणा हो ।
अर्कोतर्फ ‘आँखीझ्याल’ एउटा पे्रमिल कविता हो । फेरि प्रेमको मात्र नभएर यो वियोग पनि कविता हो । प्रेमको खाडललाई मानिसले नै पुर्न सक्छ भन्ने आशा र विश्वासको कुरा पनि यसले उठाएको छ । अर्कोतर्फ यो कवितामा दार्शनिक झिल्को पनि छ । दर्शन भनेको कुनै गहन वा शास्त्रीय कुरामात्र होइन । वरपरका साना–साना चिज, वस्तुलाई नै बिम्ब बनाएर दर्शनको झिल्को दिन सकिन्छ भन्ने कुरामा म विश्वास राख्छु ।
अहिले हाम्रो पुराना वास्तुकला हराएर गएका छन् । बनेपा, पनौति वा भक्तपुरमा रहेका पुराना घर, मूलढोका, झ्याल, टुँडाल, पालि हराएर जान थालेका छन् । निर्भीकजंगको कवितामा हराएर जान लागेका हाम्रो समृद्ध संस्कृतिका अवयव पाइन्छन् ।
घरका बुट्टेदार झ्याललाई
रंगमञ्चमा जस्तै पर्दाले छोपेका छन् ।
समग्रमा भन्दा आँखीझ्याल शीर्षकको कवितामाथि बहस गर्दा जति पनि तन्काउन सकिन्छ । तर यो कविताको प्रत्येक हरफ नै आफैंमा छुट्टाछुट्टै पूर्ण कविता हो । पुरै कविता पढिसक्दा यसले तपाईंको मस्तिष्कमा हिर्काउँछ । मनलाई एकपटक ढक्क बनाउँछ किनभने यसको सबैभन्दा मुख्य शक्ति नै कविताको अन्तिम दुई लाइन हो । अन्तिममा ‘चाहन्छु एउटा सानो आँखीझ्याल तिम्रो मनमा पनि भइदियोस्’ भन्नुलाई आग्रह मान्न पनि सकिएला । तर कविले आग्रह नगरी हामी सबैको मनमा एउटा आँखीझ्याल भइदिए हुन्थ्यो भन्न खोजेको प्रतीत हुन्छ । अथवा जीवन र जगत्लाई बुझ्ने आफ्नै छुट्टै विश्वदृष्टी भइदियोस् भन्न खोजेको अर्थ लाग्छ ।
आँखीझ्याल
आँखीझ्याल सानो छ
तर यसैबाट संसार चियाउन सकिन्छ ।
घरका ठूला–ठूला ढोकालाई
अहङ्कारका खापाले बन्द राखेका छन्
घरका बुट्टेदार झ्यालका सिसालाई
पर्दाले छोपेका छन् ।
थुनिएको छ घर चारैतिर
सबै दृश्य बन्द छ ।
तर को आयो साँझमा पाहुना
आँखीझ्यालबाट हेर्न पाइयो
बिहानी घामको पहिलो झुल्को
ओछ्यानबाटै छुन पाइयो ।
आहा ! आँखीझ्याल हुँदै
जस्तो त्रासमा पनि संसार चियाउन पाइयोस्
जस्तो याममा पनि क्षितिज निहार्न पाइयोस्
चाहन्छु, एउटा सानो आँखीझ्याल
तिम्रो मनमा पनि भइदियोस् !